६ श्रावण २०८३, बुधबार
,
Latest
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति राजनीतिको अन्तिम लक्ष्य समाजसेवा नै होः सभापति थापा अर्जुनधाराका अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै अनधिकृत रूपमा सीप परीक्षण र प्रमाणीकरण गर्ने संस्थाको कार्यालयमा सिलबन्दी हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु स्वास्थ्यसम्बन्धी ऐन संशोधनका मस्यौदामा सुझाव दिन आग्रह वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता एनआरएनए पोर्चुगलको नयाँ सदस्यता तथा नवीकरण खुला, १६ संयोजकमार्फत सदस्यता अभियान सञ्चालन थप छानबिनका लागि टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

विद्युतीय प्रणालीबाट सडक कर उठाइने



अ+ अ-

काठमाडौँ । सडकमै कार्यालय स्थापना गरी ढाट लगाएर सडक उपभोग दस्तुर उठाउने प्रणालीको अन्त्य हुने भएको छ । सेवाग्राहीको सुविधाका लागि विद्युतीय भुक्तानी प्रणालीमार्फत कर तिर्ने तयारी सुरु गरिएपछि विगत २५ वर्षदेखि ठेकेदारमार्फत सडकबाटै कर उठाउने प्रणाली अन्त्य हुने भएको हो ।

सडक उपभोग दस्तुर सङ्कलन गर्न प्रयोग गर्दै आएको ढाट प्रणालीलाई हटाएर विद्युतीय भुक्तानी प्रणाली जडान गर्ने तयारी सडक बोर्ड नेपालले सुरु गरेको छ । सडक बोर्डले २०५२ सालदेखि ठेकेदारमार्फत सडकमा ढाट लगाएर दस्तुर उठाउँदै आएको छ । अहिले मुलुकका केही राजमार्गका विभिन्न आठ ठाउँमा ढाट लगाएर सडक दस्तुर सङ्कलन हुँदै आएको छ ।

सडक मर्मत सम्भारका लागि उठाउँदै आएको सडक उपभोग दस्तुर उपभोगकर्ताले बिनाझन्झट सहज किसिमले भुक्तानी गर्न सकियोस् भन्ने उद्देश्यले ढाट प्रणालीलाई हटाएर विद्युतीय भुक्तानी प्रणाली राख्न लागिएको सडक बोर्ड नेपालका कार्यकारी निर्देशक कृष्णसिंह बस्नेतले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, ‘‘पूर्णरूपमा स्वचालित हुने यो प्रणालीमार्फत सडक उपभोगकर्ताले तिरेको रकम सीधै सडक बोर्ड नेपालको खातामा जम्मा हुनेछ ।’’ 

अहिलेसम्म सङ्कलन भएको रकम सम्बन्धित सडक खण्डको मर्मत सम्भारमा नै खर्च हुँदै आएको उहाँले बताउनुभयो । विद्युतीय भुक्तानी प्रणाली जडान गर्नका लागि चालू आर्थिक वर्षभित्र नै परामर्शदाता चयन गरी अध्ययन कार्य सम्पन्न गरिने भएको छ । यो प्रणाली जडान भइसकेपछि उपभोक्ताले उपभोग दस्तुर तिर्न घण्टौँ लाइनमा लाग्नु पर्दैन । ‘‘विद्युतीय प्रणाली जडान भइसकेपछि सडक बोर्डले सडक उपभोगकर्ता सवारीधनीलाई एउटा कार्ड उपलब्ध गराउँछ, त्यसैगरी अहिले ढाट राखिएको ठाउँमा ‘डिभाइस’ जडान गरिनेछ,’’ कार्यकारी निर्देशक बस्नेतले भन्नुभयो । सवारीसाधन लिएर आएका उपभोक्ताले आफ्नो कार्ड डिभाइसमार्फत दस्तुर तिर्न सक्छन् ।

आर्थिक वर्ष २०७६/७७ मा सडक उपभोग दस्तुरबापत ३५ करोड ४० लाख ७६ हजार ८१९ रुपियाँ सङ्कलन भएको छ । बोर्डका अनुसार गत आर्थिक वर्षमा नौबिसे–मुग्लिन सडक खण्डमा १५ करोड ५२ लाख ५१ हजार ४६ रुपियाँ, हेटौँडा–नारायणगढ सडक खण्डमा नौ करोड तीन लाख ७७ हजार १५० रुपियाँ, नारायणगढ–बुटवल सडक खण्डमा चार करोड ६७ लाख, भैरहवा–भुहमी सडकखण्डमा ७४ लाख ३४ हजार चार सय रुपियाँ सङ्कलन भएको थियो ।

त्यसैगरी खुर्कोट–सिन्धुली–बर्दिबास सडकखण्डमा दुई करोड १५ लाख ६१ हजार ८०३, धुलिखेल–खुर्कोट–सिन्धुली सडकखण्डमा दुई करोड ७४ लाख ५० हजार ८७५ र पाँचखाल–मेलम्ची सडक खण्डमा ५२ लाख ९८ हजार ४४५ रुपियाँ सङ्कलन भएको थियो ।, समाचार गोरखापत्र दैनिकमा प्रकाशित छ ।