१९ आश्विन २०८३, सोमबार Monday, October 5, 2026
१९ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar भोटेकोशी बाढीपीडित बालबालिका आफन्त र नातेदारको संरक्षणमा News Polar भिरबाट खसेर एक जनाको मृत्यु News Polar दसैँअघि निकुञ्जमा जिप सफारी News Polar स्थानीय रोजगारीका अवसर खोज्दै युवामाझ पुगे मन्त्री यादव News Polar कर्णाली सरकारका मुख्य न्यायाधिवक्ता जोशीद्वारा शपथ ग्रहण News Polar मनकामना केबलकार मङ्गलबार बन्द रहने News Polar पूर्वाधार निर्माणमा अघि बढ्दै बन्दीपुर News Polar तीन दिनसम्म वर्षाको सम्भावना, झरी नपर्ने News Polar चिनियाँ राजदूत चाङद्वारा नेपाल–चीन सीमा क्षेत्रको स्थलगत निरीक्षण News Polar सवारी दुर्घटनामा एकको मृत्यु, दश जना घाइते News Polar ड्रोनमार्फत ४०० लिटर डिजेल ढुवानी, बेनी–जोमसोम–कोरला सडक पुनःनिर्माण तीव्र News Polar चोलेन्द्र प्रकरण: सशस्त्र प्रहरी महानिरीक्षक वंशी राज दाहाल निलम्बित News Polar कांग्रेसको विधान पारित, केन्द्रीय कार्यसमिति २९७ सदस्यीय News Polar व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल News Polar १,००० दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान गर्ने सरकारको लक्ष्य News Polar २७ जलविद्युत आयोजनाको आरसीओडी थपियो, ५४० मेगावाटको बाटो खुल्यो News Polar दृश्यचित्रमा कमजोर महिला हिंसा माथि थप हिंसा News Polar काँग्रेसको विधान संशोधनः केन्द्रिय समिति २९७ सदस्यीय, समावेशी प्रतिनिधित्वसहित कार्यक्षेत्र विस्तार News Polar नेपाली काँग्रेसको विधान संशोधन प्रश्तावः केन्द्रिय कार्यसम्पादन समिति ४१ सदस्यीय हुने News Polar मन्त्रालयले खटाएको प्रमुख प्रशासकीय अधिकृत हाजिर नगराएपछि पालिकाको आर्थिक तथा प्रशासनिक अधिकार रद्द

उपत्यकाका १३६ ठाउँमा संक्रमित, संक्रमितको संख्या ६४६

उपत्यकाका १३६ ठाउँमा संक्रमित, संक्रमितको संख्या ६४६
अ अ+ अ-

काठमाडौँ । काठमाडौं उपत्यकामा एउटै परिवारका सात जनासहित १ सय २४ जना कोरोना संक्रमित थपिएका छन् । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) ले उपत्यकामा शुक्रबार एकै दिन अहिलेसम्मकै सबैभन्दा बढीमा संक्रमण पुष्टि भएको जनाएको छ । ईडीसीडीका वरिष्ठ जनस्वास्थ्य अधिकृत उत्तमकुमार कोइरालाका अनुसार पुष्टि भएकामध्ये ६० प्रतिशतभन्दा बढी उपत्यका बाहिरबाट आएका छन् । ‘त्यसमा पनि प्रदेश २ बाट आएकाको संख्या बढी छ । भारतबाट आएका पाँच जना छन्,’ कोइरालाले भने । 

शय्या अभावका कारण शुक्रबार पनि संक्रमितमध्ये २५ जनालाई मात्र अस्पतालको आइसोलेसनमा पठाइएको छ । ६८ जना घरकै आइसोलेसनमा बसेका छन् । केही सम्पर्कविहीन र उपत्यकाबाहिर छन् । ‘रोगको उपचार गर्न अस्पताल भर्ना भएका केहीलाई त्यहीं बस्न भनेका छौं,’ कोइरालाले भने ।

शुक्रबार संक्रमण पुष्टि भएकामध्ये ३४ जना महिला छन् । उपत्यकाको एक परिवारमा सात जनालाई संक्रमण भएको छ भने अर्को एक परिवारमा दुई जना संक्रमित भएका छन् । लकडाउन हटेयता लक्षणसहितको संक्रमितको संख्या पनि बढेको छ । उपत्यकामा शुक्रबार लक्षणसहितका संक्रमित ३० जना पाइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबारसम्म उपत्यकामा ९ सय ८२ जनामा कोरोना देखिएको छ । तीमध्ये काठमाडौंमा ७ सय ६६, भक्तपुरमा ८२ र ललितपुरमा १ सय ३४ जना छन् । ६ सय ४६ जना सक्रिय संक्रमित हुन् । मन्त्रालयले काठमाडौंसहित ६ जिल्लालाई जोखिममा राखेको छ । साउन १ देखि १२ सम्म उपत्यकामा दिनहुँ १६ जनाभन्दा कम संक्रमित थपिएका थिए ।

साउन १३ मा एकै दिन ६१ जनामा संक्रमण पुष्टि भएको थियो । दिनमा ५० जनाभन्दा बढी संक्रमित थपिन थालेपछि आइसोलेसनमा राख्ने शय्याको अभाव हुन थालेको छ । ईडीसीडीको संक्रमित व्यवस्थापन गर्ने टोलीले घरमै आइसोलेसनमा बस्न चाहनेलाई अनुमति दिने गरेको छ । उनीहरूलाई स्थानीय तहका चिकित्सक र स्वास्थ्यकर्मीले निगरानी गर्नुपर्ने भए पनि अधिकांशलाई निगरानी नगरिएको गुनासो छ । बुधबार संक्रमण पुष्टि भएका १ सय २ जनामध्ये २० जना घरमै आइसोलेसनमा बसेका थिए । बिहीबार पनि ८१ जना संक्रमित देखिएकामा ४० जना प्रहरी र तिनका आफन्त प्रहरी अस्पतालमा आइसोलेसनमा राखिएको छ । अरू घरमै छन् ।

संक्रमित भर्ना गर्न तोकिएको अस्पतालको शय्या खाली नभएपछि कीर्तिपुरको आयुर्वेद अस्पताललाई दुई सय शय्यामा विस्तार गरिएको स्वास्थ्य मन्त्रालयका सहायक प्रवक्ता डा। समीरकुमार अधिकारीले बताए । तर ती प्रयोगमा आइसकेका छैनन् । त्यस्तै, छाउनीस्थित सैनिक अस्पताल र महाराजगन्जको प्रहरी अस्पताललाई पनि लेबल २ को अस्पताल बनाउने निर्णय मन्त्रालयले गरिसकेको अधिकारीले जानकारी दिए । तर सेनाले सैनिकलाई मात्रै र प्रहरीले आफ्नो संगठनभित्रका संक्रमित मात्र भर्ना गर्ने भनेका छन् ।

न्युरोड क्षेत्रमा बजार बन्द

काठमाडौं महानगरपालिका वडा नं। २२ ले न्युरोड, इन्द्रचोक क्षेत्रमा तीन जना संक्रमित देखिएपछि वडाभरि बजार बन्द गर्ने निर्णय गरेको छ । काठमाडौंको न्युरोड नजिकैको खिचापोखरीमा बुधबार एक माछा पसलेलाई कोरोना देखिएको थियो । प्रदेश २ बाट आउनेबित्तिकै उनलाई वडाध्यक्ष चिनीकाजी महर्जनले पीसीआर गर्न पठाएका थिए । शुक्रबार वटुमा एक जना र कोइला गल्लीमा एक जना संक्रमित देखिएपछि स्थानीय व्यापार संघसँग समेत परामर्श गरेर न्युरोड क्षेत्रको पसल बन्द गर्ने वडास्तरीय निर्णय भएको महर्जनले बताए । उनका अनुसार शुक्रबार संक्रमण पुष्टि भएका दुवै जना रेडिमेड कपडाका होलसेल व्यापारी हुन् । दुवैलाई लक्षणसहितको कोरोना देखिएको छ । ‘पसल बन्द गरेर कन्ट्याक्ट ट्रेसिङ र बजार क्षेत्रलाई निर्मलीकरण गर्छौं । त्यसपछि स्थिति हेरेर पसल खोल्ने वा नखोल्ने निर्णय गर्छौं,’ वडाध्यक्ष महर्जनले बताए ।

यही वडासँगै जोडिएको वडा नं २६ मा पर्ने असनमा एउटै परिवारका ५ जनासहित ९ जना संक्रमित भइसकेको वडाध्यक्ष चिनियामान बज्राचार्यले बताए । ‘९ मध्ये ७ जना असन र महाबौद्ध क्षेत्रका व्यापारी हुन्,’ उनले भने, ‘भारतबाट फर्केकी महिलाबाट संक्रमण फैलिएको अनुमान छ ।’ उनले उक्त वडामा पनि आइतबारदेखि पसल बन्द गराउन लागेको बताए । काठमाडौंका महाबौद्ध, असन, भोटाहिटी, इन्द्रचोक, न्युरोड सर्वसाधारणको बढी चाप हुने क्षेत्र हुन् । काठमाडौंलाई नै उच्च जोखिमको सूचीमा राखेको मन्त्रालयका सहायक प्रवक्ता डा। अधिकारीले बताए । काठमाडौं उपत्यकामा लक्षणसहितको संक्रमित देखिएकाले सावधानी अपनाउन जरुरी छ,’ उनले भने ।

दुई सातामा ४८५ संक्रमित

ईडीसीडीका अनुसार साउन ९ देखि २१ सम्म काठमाडौं, भक्तपुर र ललितपुरमा करिब ४ सय ८५ जना कोरोना संक्रमित देखिएका छन् । यसमा काठमाडौं महानगरमा मात्र करिब ६५ प्रतिशत अर्थात् ३ सय १५ जना संक्रमित भेटिएका छन् ।

उपत्यकामा दुई सातायता १ सय ३६ स्थानमा संक्रमित भेटिएका हुन् । २४ स्थानमा संक्रमितको संख्या ५ वा ५ भन्दा बढी छ । सबैभन्दा बढी ७५ जना संक्रमित नेपाल प्रहरीको मुख्यालयमा भेटिएको छ । कालीमाटी, बागबजार र सामाखुसी क्षेत्रमा १०/१० जना संक्रमित पाइएको छ । यी क्षेत्रका संक्रमितमध्ये अधिकांश लकडाउनपछि भारत र तराईबाट फर्केकाहरू रहेको ईडीसीडीले जनाएको छ । कालीमाटी, बागबजार र सामाखुसी उपत्यका बाहिरबाट आएका मानिसको बढी चहलपहल हुने स्थान हुन् ।

ईडीसीडीका अनुसार ललितपुरको सानेपामा ९ जना संक्रमित फेला परेका छन् । वनस्थली, टेकु र टंगाल क्षेत्रका आठ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै बालाजु, बाँसबारी र त्रिवि शिक्षण अस्पतालमा पनि ७/७ जना संक्रमित फेला परेका छन् । काठमाडौंमा व्यापारिक केन्द्रका रूपमा चिनिने असनमा मात्रै ६ संक्रमित फेला परेका छन् । बिजुली बजार क्षेत्रमा पनि ६ संक्रमित पाइएको छ । वीरगन्जको एक बैंकका म्यानेजर काठमाडौं फर्केपछि बिजुली बजारमा पहिलो संक्रमित भेटिएको थियो । त्यसपछि त्यहाँ अरूमा संक्रमण पुष्टि भएको हो ।

बूढानीलकण्ठ, धुम्बाराही, घट्टेकुलो, कोटेश्वर, माछापोखरी, नक्साल, पुतलीसडक, सीतापाइला तथा ताल्छीखेलमा ५/५ जना संक्रमित फेला परेका छन् । घट्टेकुलोमा भेटिएका संक्रमित अख्तियार दुरुपयोग अनुसन्धान आयोगका एक उच्च अधिकारीको परिवारका हुन् । बालुवाटार, काठमाडौं महानगरपालिकाको कार्यालय, कुपन्डोल, टोखा र थानकोट क्षेत्रमा ४/४ जना संक्रमित पाइएका छन् ।

अनामनगर, बल्खु, बालुवाखानी, बौद्ध, भंगाल, चाबहिल, दक्षिणढोका, इमाडोल, जोरपाटी, कलंकी, कीर्तिपुर, सोह्रखुट्टे क्षेत्रमा ३/३ जनामा संक्रमण देखिएको छ । बाफल, बसुन्धरा, भोटाहिटी, भोटेबहाल, च्यासल, क्षेत्रपाटी, दुवाकोट, धापासी, डल्लु, डिल्लीबजार, गोठाटार, गहनापोखरी, कपन, खुमलटार, कुलेश्वर, लगनखेल, महाबौद्ध, न्युरोड, नयाँबजार, पेप्सीकोला, रातोपुल, सुनाकोठी, ठैंबलगायत स्थानमा २/२ जनामा संक्रमण पुष्टि भएको छ । उपत्यकाका अन्य ७० स्थानमा पनि पछिल्लो दुई सातामा संक्रमित भेटिएका छन् ।

पीसीआर काठमाडौं उपत्यकामा गराउँदा संक्रमण देखिए यतै व्यवस्थापन गरिन्छ । कतिपय व्यक्तिले काठमाडौं उपत्यकाको ठेगाना खुलाएका हुँदैनन् । यो विश्लेषणमा उनीहरूलाई समेटिएको छैन । ईडीसीडीले उपलब्ध गराएको विवरणमा जसको काठमाडौंको ठेगाना खुल्छ, त्यसका आधारमा कुन ठाउँमा कति संक्रमित छन् भनेर विश्लेषण गरिएको हो ।, समाचार कान्तिपुर दैनिकमा प्रकाशित छ ।