२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा हामी संसदीय व्यवस्थाका निर्माता हौँ, उपभोग गर्न मात्रै आएका होइनौँः एमाले प्रमुख सचेतक महर ‘डोनाल्ड ट्रम्प’ नाम दिइएको दुर्लभ एल्बिनो भैँसी ढाका चिडियाखानामा रु २१ खर्ब २४ अर्बको बजेटप्रति मिश्रित प्रतिक्रिया, कार्यान्वयन र राजस्व लक्ष्यमा देखिए प्रमुख चुनौती सगरमाथामा ६ दिन हराएर उद्धार गरिएका हिलारी दावा शेर्पा उपचारका लागि ह्याम्स अस्पतालमा भर्ना सरकारको ऊर्जा लक्ष्य बजेटले पूरा गर्न सक्दैनः दुलाल राप्रपाका १८३ जना नेता–कार्यकर्ताले सामूहिक रूपमा गरे पार्टी परित्याग कुशलको लगातार दोस्रो शतक सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिवद्ध छः परराष्ट्रमन्त्री खनाल गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम पुनः सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

लामीचौरमा ४२ वर्षपछि खानेपानी सुविधा



अ+ अ-

ढोरपाटन । बागलुङ नगरपालिका–८ सिगाना लामीचौरमा करिब दुई सय घरपरिवारको बसोबास छ । बाक्लो बस्ती रहेको लामीचौरमा खानेपानीको एकदमै अभाव थियो । बयालीस वर्ष अगाडि निर्माण भएका तीन धाराबाट यहाँका सयौँ स्थानीयले पानी उपभोग गर्दैआएका थिए । एक गाग्री पानी भर्न रातभर धारामा लाइन बस्नुपर्ने अवस्था थियो । सहजै पानी भर्ने पालो आउँदैनथ्यो । विसं २०३९ मा निर्माण गरेको धारा जीर्ण बनेका थिए ।

लामो समयदेखि खानेपानीको समस्या भोग्दै आएका लामीचौरवासीलाई अब भने खानेपानीको समस्या छैन । यसपाली नगरपालिकाले जमिनमुनिबाट पानी निकालेको छ । लामो समयको मेहनतपछि ड्रिलिङ गरी लामीचौरमा पानी निस्किएपछि स्थानीयमा खुसीयाली छाएको छ ।

नगरपालिकाले प्राविधिक खटाएर यसबारे सर्वेक्षण गरेको थियो । पानी निकाल्न सकिने सम्भावना देखेपछि ड्रिलिङ मेसिन प्रयोग गरी यहाँ पानी निकाल्ने काम गरिएको हो । यही चैत १ गते मेसिनले करिब एक सय ७० मिटर जमिन खोदेर पानी निकालेको हो । यही चैत ९ गतेदेखि नियमित रुपमा पानी निकाल्न थालिएको लामीचौर खानेपानी उपभोक्ता समितिका अध्यक्ष टीकाराम थापाले जानकारी दिनुभयो ।

“गाउँमा खानेपानीको निकै समस्या थियो, बल्ल माग पूरा भएको छ”, अध्यक्ष थापाले भन्नुभयो । नगरपालिकाको रु २६ लाख र स्थानीय जनसहभागिताबाट जुटेको रु तीन लाखको लागतमा पानी निकालिएको हो । “सिङ्गो गाउँमा पानीको समस्या थियो, दुई सय घरका लागि तीनवटा मात्र धारा थिए, धारामा थोरै पानी आउँथ्यो, स्थानीयले कुवा र खोलाको फोहर पानी उपभोग गर्दैआएका थिए”, उहाँले बिगतको समस्या बताउनुभयो ।

स्थानीय बिना परियारले एक गाग्री पानी भर्नका लागि आठ घण्टासम्म लाइन बस्नुपरेको सुनाउनुभयो । खानेपानी अभावले धेरैले गाउँ छोड्न बाध्य भएको उहाँले बताउनुभयो । स्थानीय ७१ वर्षीय चन्द्रमणि गौतमले २०३९ सालदेखि नै लामीचौरमा खानेपानी समस्या रहेको बताउनुभयो । जनसङ्ख्या बढ्दै गएपछि खानेपानीको अभाव भएको उहाँले बताउनुभयो । रासस