२ पुष २०८२, बुधबार
,
Latest
जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी तत्कालीन सचिव र सहसचिव कार्कीविरुद्ध मुद्दा दर्ता फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे ‘अनुसन्धान शोधवृत्ति’का लागि शोधकर्ता आव्हान राष्ट्रियसभा निर्वाचन : मतदानस्थल तथा केन्द्र निर्धारण प्रलोपाद्वारा लोकतान्त्रिक शक्तिहरूबीच बृहत् ध्रुवीकरणका लागि आह्वान जनमत पार्टीका केन्द्रीय सदस्यहरु आजपामा प्रवेश गरे ‘अन्तर्राष्ट्रिय कला शिविर’ सुरु एपिएफ क्लब ‘साफ महिला क्लब च्याम्पियनसिप’को फाइनलमा अन्नपूर्ण आधार शिविरमा सञ्चार सुविधा विस्तार गर्न सञ्चारमन्त्रीको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

मानसिक विकासका लागि खेलकुद आवश्यक: सभापति देउवा



अ+ अ-

पाटन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले हरेक व्यक्तिको मानसिक विकासका लागि खेलकुद आवश्यक रहेको बताउनुभएको छ ।

नेपाली कांग्रेसको केन्द्रीय खेलकुद विभागद्वारा पार्टीको केन्द्रीय कार्यालय सानेपामा आज आयोजित ‘खेलकुद नीति तथा कार्यक्रम’ विषयक विचार गोष्ठीमा पूर्वप्रधानमन्त्री समेत रहनुभएका उहाँले पार्टीले तय गर्ने नीतिले खेलाडीको मनोबल बढाउने र खेलकुदको विकास हुने बताउनुभयो ।

“तपाईंहरुको सुझाव पार्टीले ग्रहण गर्नेछ, मानसिक स्वास्थ्यका लागि शरीरको स्वस्थता पनि आवश्यक छ, खेलकुदले यी दुवै पक्षलाई स्वस्थ राख्ने काम गर्छ”, उहाँले भन्नुभयो ।

पार्टीका उपसभापति धनराज गुरुङले खेलकुदलाई राज्यले उपेक्षा गरेको बताउँदै यसलाई प्राथमिकतामा राखेर योजना बनाउनुपर्नेमा जोड दिनुभयो । “खेलकुद पूर्वाधार निर्माण गर्नेभन्दा पनि कुनै एउटा प्रतियोगिता जित्नेबित्तिकै पुरस्कार घोषणा गर्नेमा सरकारलाई हतार हुन्छ, खेलकुद विश्वविद्यालयको अवधारणाका विषयमा नेताहरु साक्षात्कार हुन सकेका छैनन्, खेलकुद विश्वविद्यालय, खेलकुद उद्योग र खेलकुद पर्यटनलाई ध्यान दिनुपर्छ, नेपालमा प्रशस्त सम्भावना छ”, उपसभापति गुरुङले भन्नुभयो ।

युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले मन्त्रालयमा खेलकुदसम्बन्धी नीतिगत व्यवस्था अगाडि बढेको उल्लेख गर्दै बजेट बन्नेक्रममा रहेको बताउनुभयो । उहाँले नीति तथा कार्यक्रममा खेलकुदका कार्यक्रमलाई सम्बोधन गरिए पनि लगानीको समस्या रहेको बताउनुभयो ।

पार्टीका सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिनाले पार्टीले खेलकुदलाई महत्त्वपूर्ण स्थानमा राखेको बताउँदै खेलकुदलाई पनि अरु विषयलाई जस्तै ध्यान दिएर अगाडि बढाउने धारणा राख्नुभयो ।

लोकतान्त्रिक खेलकुद सङ्घका अध्यक्ष देवेन्द्र शेरचनले हाल जिल्लाजिल्लामा खेलकुद सङ्घको अधिवेशन गराइरहेको जानकारी गराउँदै अधिवेशनसँगै खेलकुदका गतिविधि र नीतिगत विषयमासमेत बहस भइरहेको जानकारी गराउनुभयो ।

संविधानसभा सदस्य मोहन राईले कांग्रेसको नीतिमा खेलकुदलाई समेटेर खेलकुद परिषद्, ओलम्पिक कमिटी र मन्त्रालयबीचको समन्वयलाई जोड दिनुपर्ने बताउनुभयो । रासस