२८ आश्विन २०८३, बुधबार Wednesday, October 14, 2026
२८ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar पेट्रोलियम पदार्थको अभाव छैन : आयल निगम News Polar अपाङ्गता भएका बालबालिकालाई विद्यालयमा टिकाउन नीतिगत पहलको खाँचो News Polar खुट्टीखोला सिँचाइ आयोजनाः हेडवक्र्स बन्यो, खेतमा पुगेन पानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar नवरात्रको चौथो दिनः कुष्माण्डा देवीको पूजा आराधना गरिँदै News Polar मार्तडी धाउनुपर्ने बाध्यता हटाउने उद्देश्यसहित जिल्ला प्रशासन कार्यालयद्वारा प्रविधिमैत्री सेवा सुरु News Polar रेशमी मार्गको विरासत धानेको च्याङ्ग्रा व्यापार News Polar बाढीले क्षति पुर्‍याएको प्राकृतिक उपचार स्थल सिङ्गा तातोपानी कुण्डमा पुनःनिर्माण News Polar गृहमन्त्रीबाट ‘बिम्स्टेक क्षेत्रीय विपद् पूर्वतयारी तथा प्रतिकार्य रूपरेखा’ निर्माणको प्रस्ताव News Polar सुदूरपश्चिममा हट्यो ‘बजेट शून्यता’, प्रतिपक्षीको बहिष्कारबीच बजेट पारित News Polar कोलम्बियामा सरकारी सेनाको हवाई आक्रमण, किशोरीसहित चारको मृत्यु News Polar किष्ट क्यान्सर सेन्टर: प्यालिएटिभ केयर सेवाको एक वर्ष पुरा, क्यान्सरका बिरामीलाई निःशुल्क सेवा News Polar अपाङ्गता भएका व्यक्तिको राजनीतिक सहभागिता बढाउन ‘समावेश’ परियोजना सुरु News Polar नवदुर्गाको तेस्रो स्वरूप चन्द्रघण्टाको आराधना News Polar सुदूरपश्चिममा कांग्रेसको बहिष्कारबीच बजेटमाथि छलफल News Polar डा. कृष्णहरि बरालको शब्द र महेश खड्काको संगीतमा ‘दशैं आयो’ सार्वजनिक News Polar ३० हजार दर्शकको सहभागितामा सिद्धार्थ फुड फेस्टिभल सम्पन्न, प्रशन्ना पाण्डेको प्रस्तुति आकर्षण News Polar कांग्रेस महिला सहमहामन्त्रीमा प्रतिमा निर्वाचित News Polar अस्ट्रेलियामा वन्यजन्तु संरक्षणमा एआईको उपयोग बढ्दै News Polar विपद् जोखिम न्यूनीकरणलाई प्राथमिकता दिन राष्ट्रपति जर्दारीको आग्रह

पर्थमा नेपथ्यले कमाएको धन्यवाद

पर्थमा नेपथ्यले कमाएको धन्यवाद
अ अ+ अ-

पर्थ (अस्ट्रेलिया): स्थानीय मेट्रो सिटी हलमा श्रीमतीसँग नाच्दानाच्दै कन्सर्ट सकिएपछि सौगात पौडेल बेस्सरी चिच्याए, ‘अमृत दाइ धन्यवाद !’ ब्यान्डले सबैलाई झुकेर अन्तिम अभिवादन गरिरहेका बेला निस्केको सौगातको आवाजमा मर्म सुनिन्थ्यो ।
‘मैले यस साँझका निम्ति मात्र धन्यवाद दिएको होइन,’ हलबाट निस्केपछि छेउमा उभिएकी श्रीमती ममतातिर संकेत गर्दै सौगातले भने, ‘हाम्रो जीवन बनाइदिएकामा आभार प्रकटसमेत गरेको थिएँ ।’

चितवनका सौगात र भक्तपुरकी ममता पुडासैनी कुनै समय भारतको बेंगलुरुमा बेग्लाबेग्लै कलेज पढ्थे । त्यस्तैमा सौगातको कलेज ‘राजा रेड्डी इन्स्टिच्युट अफ टेक्नोलोजी’ ले नेपालबाट नेपथ्य ब्यान्डलाई निम्तो गर्ने निधो गर्‍यो । सन् २०१४ को त्यो नेपथ्य कन्सर्टमा केही घण्टा परको कलेजबाट नर्सिङकी विद्यार्थी ममता साथीको हुलैसहित पुगेकी रहिछन् । उनीहरूबीच चिनजान भयो, कन्सर्टभरि साथै रमाए र नाचे ।

‘निकै परको कलेजमा पढ्ने हामीबीच भेटघाट हुने सम्भावनै थिएन,’ ममता भन्छिन्, ‘नेपथ्यले जुराइदिएको त्यस संयोगले हामीलाई सदाका निम्ति एकअर्काको बनाइदियो ।’

यतिबेला यी दम्पती भर्खर जन्मेकी छोरीसँग पर्थमा बसोबास गर्दै आएका छन् ।

‘११ वर्षपछि आज नेपथ्यको कन्सर्टमा फेरि आइरहँदा मनमा अनेक कुरा खेले, हाँक्दै गरेको गाडीलाई दुईपटक त गलत मोडमै छिराएँ । नौ मिनेटको बाटो तय गर्न मलाई २३ मिनेट लाग्यो,’ सौगातले हाँस्दै भने, ‘कार्यक्रम हेरुन्जेल पनि ठाउँ–ठाउँमा हुरुक्कै भयौं ।’

हलमा सौगात र ममताजस्ता थुप्रै जोडी अनि अनेक उमेर समूहका खचाखच दर्शकमाझ नेपथ्य ब्यान्डले अस्ट्रेलिया शृंखला २०२५ को दोस्रो शो आइतबार बेलुकी भव्य रूपमा सम्पन्न गरेको छ । 

घडीले स्थानीय समयअनुसार बेलुकी साढे ९ बजेको देखाउने बित्तिकै पर्दामा म्युजिक भिडियोका गीतहरू घन्किन सुरु गरेका थिए । लगत्तै मञ्चमा चढेको नेपथ्यले पहिलो प्रस्तुतिका रूपमा ‘कोशीको पानी’ सुनायो । नेपालसँग केवल सवा दुई घण्टाको समय अन्तर रहेको वेस्टर्न अस्ट्रेलिया राज्यको राजधानी पर्थमा ब्यान्ड तेस्रो पटक प्रस्तुत भइरहेको थियो ।

कार्यक्रममा ब्यान्डका मुख्य गायक एवं अगुवा अमृत गुरुङले गीत मात्र सुनाएनन्, दर्शकसँग संवादसमेत गरे ।

‘उता नेपालमा सद्भावको पर्व फागु मनाउनै लाग्दा तपाईंहरूलाई हिमाल, पहाड र तराईको न्यानो शुभकामना बोकेर आएका छौं,’ उनी भनिरहेका थिए, ‘यहाँ संसारभरिबाट आएका मानिसलाई हामी नेपालीको मिलनसार र असल छविको पहिचान विस्तार गरिदिनुस् ह…इ…।’

लगत्तैको गीत ‘चरि मर्‍यो’ सुनाउने बेला पनि अमृतले रमाइलो प्रसंग निकाले । यो गीत गाउँले लवज र भाकामा ‘ए साइँला…’ भन्दै सुरु हुन्छ । त्यो भाका तान्दातान्दै अमृतले सोधे, ‘तपाईंहरूमध्ये यहाँ कोही साइँला हुनुहुन्छ ?’
जवाफमा कसैले हात उठाएनन् ।

‘पक्कै पनि कोही हुनुहुन्न,’ अमृतले थपे, ‘हिजोआज नेपाली समाजमा पनि ससानो परिवारको संरचनाले गर्दा साइँलाहरू जन्मनै छाडिसके र यो शब्दै लोप हुने क्रममा छ ।’
प्रत्युत्तरमा दर्शकदीर्घाभरि हाँसो र ताली फैलियो ।

त्यसपछि ‘जोमसोमे बजार’ र ‘शिरफूल’ जस्ता गीतले निरन्तरता पाउँदै गए । पालो आयो लाहुरेहरूले कुनै समय भित्र्याएको गीत ‘नैनाताल’ को ।
‘नेपाली जता गए पनि आफ्नो अनुभवलाई गीतमा ढालेर फर्कने परम्परा पुरानै हो,’ अमृतले भने, ‘बाउबाजेले लडाइँको मैदानमा पनि यस्ता गीत बनाइदिए र हामीले आज गाउन पाइरहेका छौं ।’

पर्थमै चिकित्सा अभ्यास गरिरहेका डा. अन्जन शर्मा पनि कन्सर्टमा उपस्थित थिए । उनै अन्जनले कुनै समय दमकस्थित अस्पतालमा कार्यरत रहँदा गायक अमृतको घाँटीको उपचार गरेका थिए । करिब डेढ दशकअघि नेपथ्यको देशभर यात्रा चलिरहँदा दमक पुगेपछि पहिलोपटक अमृतको घाँटीमा समस्या देखिएको थियो ।

‘घाँटीमा त्यस किसिमको रोग देखिएपछि अमृत दाइले अब धेरै समय यस्तो कन्सर्ट गर्न सक्नुहोला जस्तो लागेको थिएन,’ आइतबारको प्रस्तुति सपरिवार नियालिरहेका अन्जन भनिरहेका थिए, ‘तर अनुशासित खानपान र जीवनशैलीले होला, यो बायोलोजिकल एक्सेप्सनका रूपमा उहाँको घाँटी ठीकठाक अवस्थामै देख्दै छु ।’

‘गाउँ–गाउँबाट उठ’ गीत सुरु भएपछि माहोल झन् गर्मायो ।

हलभित्र उफ्रिरहेका दर्शकबीचमा एक्लै उभिएर लुइस जोर्गेन्सन टाउको हल्लाइरहेकी थिइन् । खैरो कपाल र अग्लो ज्यान भएकी लुइस हलमा पनि एक्लै आएकी थिइन् ।

कन्सर्टसँग जोडिएको लुइसको कथा रोचक थियो ।

‘मैले २० वर्षअघि आफ्नो मूल भूमि स्कटल्यान्ड छाडेँ, बसोबास गर्ने मुलुक अस्ट्रेलिया बनाएँ भने माया गर्ने मुलुक नेपाल,’ उनले मोबाइल फोनमा भएका फोटोहरू देखाउँदै थपिन्, ‘गएको भाइटीकाका बेला म उतै थिएँ ।’

बारम्बार नेपाल आवतजावत गरिरहँदा उनलाई नेपाली गीत–संगीत पनि मन पर्न थालेको रहेछ । उनले स्पोटिफाईमा सुन्ने अधिकांश गीत नेपाली नै छन् । त्यसमा पनि उनलाई शब्दै याद भएको र गाइरहने गीत रहेछ– ‘तालको पानी’।

‘पर्थका नेपाली साथीले मलाई यो गीत गाउने ब्यान्ड यसै सहरमा आउन लागेको जानकारी गराए,’ लुइसले भनिन्, ‘त्यसपछि अनलाइनबाटै टिकट काटेर सरासर आएँ ।’

कन्सर्ट सकिएपछि मोबाइलमा सन्देश पठाउँदै लुइसले प्रतिक्रिया दिइन्, ‘वन वर्ड– अमेजिङ (एक शब्दमै भन्छु– गज्जब लाग्यो)।’

थप जिज्ञासा राख्दा लुइसले नेपथ्यको प्रस्तुतिमा हरेक कुरा आफूलाई मन परेको र त्यसमध्ये पनि मुख्य गायक अमृतले त्यति धेरै दर्शकलाई बाँधेर राख्न अपनाएका शैलीहरू विशेष उल्लेखनीय लागेको प्रतिक्रिया दिइन् ।

हलमा नाचिरहेको भीडभित्र टिकट काटेर आउने दर्शक मात्र नभई स्थानीय आयोजक सन्तोष धामी पनि देखिन्थे ।

‘पर्थमा नेपाली कार्यक्रममा यति दर्शक उपस्थित भएको यो रेकर्ड हो,’ उनी भनिरहेका थिए, ‘त्यसमाथि सबै दर्शक रमाएको देख्दा असाध्यै खुसी लागेको छ ।’

मञ्चमा अमृतलाई ड्रमसेटमा ध्रुव लामा, बेस गितारमा सुविन शाक्य, गितारमा नीरज गुरुङ, मादलमा शान्ति रायमाझी र किबोर्डमा दिनेशराज रेग्मीले सघाएका थिए । कलाकारको यो टिमबाहेक व्यवस्थापक र प्राविधिकको १४ सदस्यीय टोली यात्रामा सरिक छ ।

पर्थको प्रस्तुति सकिएपछि ब्यान्ड अस्ट्रेलियाको पूर्वी किनारातर्फ लाग्नेछ । आगामी कन्सर्ट मार्च १४ मा ब्रिसबेनको ‘द टिभोली’ हलमा हुनेछ ।

त्यसपछि मार्च १८ मा अस्ट्रेलियाकै पुछारमा रहेको टापु तास्मानियाको राजधानी होबार्टस्थित ‘ओडियन थिएटर’, मार्च २१ मा एडिलेड सहरको ‘हिन्डले स्ट्रिट म्युजिक हल’, मार्च २४ मा मेलबर्नको ‘फेस्टिभल हल’ मा प्रस्तुत गरेपछि अन्तिम शो गर्न सिड्नीतर्फ लाग्नेछ । पृथ्वीको दक्षिणी गोलार्द्धमा रहेको यस सहरमा मार्च २९ को साँझ ‘होर्डन पभिलियन’ मा आफूलाई प्रस्तुत गरेको दुई दिनपछि ब्यान्ड स्वदेश फिर्नेछ ।