२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय… सुनचाँदीको मूल्यमा सामान्य गिरावट, सुन तोलामा २०० र चाँदी ८५ रुपैयाँ घट्यो मुलुकमा प्रणालीगत सुधारका लागि समयसापेक्ष परिवर्तन र युवा नेतृत्वको आवश्यकतामा विज्ञहरूको जोड जातीय विभेद अन्त्यका लागि चेतना र समान व्यवहार आवश्यक छ : नेता आङदेम्बे रोल्पामा बोलेरो जिप दुर्घटना : ३ जनाको मृत्यु जातीय भेदभाव र छुवाछुत उन्मूलनका लागि संसद प्रतिवद्ध छः सभामुख अर्याल औषधि आपूर्ति सुधारमा मन्त्रालय–विभाग छलफल, विवरण उपलब्ध गराउन निर्देशन भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा सामाजिक चेतनाको अभावले जातीय भेदभाव विरुद्धका कानून कार्यान्वयनमा चुनौतीः महान्यायाधिवक्ता कँडेल नयाँ दिल्लीको एक होटलमा भीषण आगलागी, २१ जनाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

तालिम पाएपछि महिला च्याउखेतीतर्फ आकर्षित



अ+ अ-

बन्दीपुर, (तनहँ) । बन्दीपुर गाउँपालिकाले चालु आर्थिक वर्ष २०८१/८२ मा २५ किसानलाई च्याउ उत्पादनसम्बन्धी तालिम दिएपछि उनीहरू च्याउखेतीतर्फ आकर्षित बनेका छन् । तालिम लिनेमा गाउँपालिकाका ६ वडाका १९ महिला समेत छन् ।

उत्पादित च्याउ बिक्री गरेर आम्दानी लिनथालेपछि उनीहरू आत्मनिर्भर बन्न थालेका छन् । तालिमपछि किसानलाई च्याउ उत्पादन गर्न बीउ, टनेलका लागि प्लाष्टिक र ग्रोइङ ब्यागजस्ता सामग्री गाउँपालिकाले उपलब्ध गराएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत यादवराज आचार्यले जानकारी दिनुभयो । उहाँका अनुसार गाउँपालिकाले रु एक लाख ५० हजारमा च्याउखेतीका लागि तालिम, बीउबिजन, प्लाष्टिक र ग्रोइङ ब्यागजस्ता सामग्री उपलब्ध गराएको थियो ।

गत पुसमा तालिम लिएपछि २४ किसानले ३।६ मेट्रिक टन च्याउ उत्पादन गर्ने लक्ष्यका साथ काम गरिरहेका कृषि शाखाका अभिषेक भट्टराईले जानकारी दिनुभयो । उनीहरूले उत्पादन गर्न थालेको च्याउ स्थानीय बजारमा खपत हुँदै आएको छ । च्याउबाट लक्षित गरिएको उत्पादन हुँदा रु सात लाखसम्म आम्दानी किसानले गर्न सक्ने भट्टराईको भनाइ छ ।

तालिमपछि च्याउखेतीतर्फ लागेकी बन्दीपुर गाउँपालिका–५ फलामडाँडाकी सपना गुरुङले रु ६ हजार बराबरको च्याउ बेचेको बताउनुभयो । उत्पादित च्याउ गाउँमै बिक्री भएको र घरखर्च चलाउन सहयोग पुगेको उहाँको धारणा छ । गाउँमा सामान्य खेती किसानीमात्र गर्दा जीविकोपार्जनमा गाह्रो भएको सुनाउँदै गुरुङले कम मेहनतबाट पनि नगद आम्दानी गर्न सकिने बताउनुभयो । पर्याप्त च्याउ उत्पादन गरेर अन्य ठाउँमा बिक्री गर्ने उहाँको योजना छ ।

यस्तै, बन्दीपुर–६ केराबारीकी धनकुमारी गुरुङले तालिमबाट आफूले धेरै कुरा सिकेको र भविष्यमा थप लगानी गरेर व्यावसायिक च्याउखेती गर्ने सोच बनाएको बताउनुभयो । तालिम लिएका किसानले कन्य च्याउखेती गरेका छन् । कन्य च्याउ ढुसी धागोजस्तो मसिनो र सेतो रङको हुन्छ । यो च्याउखेती धानको पराल वा गहँुको छवालीमा गर्न सकिन्छ । गर्मी र जाडो दुवै मौसममा गर्न सकिने यो खेतीबाट किसानले पर्याप्त लाभ लिन सक्छन् ।

एक किलो परालबाट सरदरमा पाँच सय देखि छ सय ग्रामसम्म च्याउ उत्पादन गर्न सकिन्छ । बन्दीपुर गाउँपालिका–३ की चन्द्रकला भट्टराईले आम्दानीको सम्भावना देखेर तालिम लिई च्याउखेती गर्न थालेको बताउनुभयो । उहाँले आफूले सिकेको ज्ञान र सीप गाउँका अन्यलाई पनि बाँड्ने गरेको बताउनुभयो । च्याउ उत्पादन गरेर बन्दीपुरका होमस्टेमा बस्ने पाहुनालाई खुवाउने योजना बनाएको भट्टराईले बताउनुभयो ।

यस क्षेत्रमा च्याउखेती गर्नेमा अधिकांश महिला छन् । घरायसी कामसँगै आम्दानी पनि हुने भएपछि च्याउ उत्पादनमा संलग्न भई आत्मनिर्भर बन्ने दिशामा उनीहरु अग्रसर भएका हुन् । उत्पादित च्याउ बजारमा बिक्री गर्न सहजीकरणका लागि गाउँपालिकाले सहयोग गर्ने गाउँपालिकाका अध्यक्ष सुरेन्द्रबहादुर थापाले बताउनुभयो । उत्पादित च्याउ जिल्लाको प्रमुख पर्यटकीय केन्द्र बन्दीपुरका होटल तथा रेष्टुरेन्ट, डुम्रे बजार, दमौलीलगायत क्षेत्रमा लैजान गाउँपालिकाले पहल गर्ने उहाँले बताउनुभयो । रासस