२७ मंसिर २०८२, शनिबार
,
Latest
अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ वर्तमान पाठ्यक्रममा परिमार्जन गर्न जरुरी छः मुख्यमन्त्री बानियाँ ‘सौन्दर्य व्यवसाय महिलाको आर्थिक सशक्तीकरणसँग गाँसिएको छ’
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्थानीय तह जनताको सबैभन्दा नजिकको सरकारः सभापति देउवा



अ+ अ-

महोत्तरी । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले स्थानीय तह जनताका सबैभन्दा नजिकका सरकार रहेका बताउनुभएको छ । आज महोत्तरीको भारतीय सीमावर्ती मनराशिशवा नगरपालिकाको नवनिर्मित प्रशासकीय भवनको उद्घाटन गर्दै उहाँले यहाँबाट सम्पादन हुने सेवा सरल र सहज बन्नसके जनताले असल सरकारको अनुभूति गर्न सक्ने उल्लेख गर्नुभयो ।

“स्थानीय तह जनताको पहुँचको पहिलो सरकार हुन्, यहाँबाट जनताले पाउने सेवा, सुविधा प्रविधिमैत्री र सरल हुनसके जनप्रतिनिधि र कार्यालयबारे सकारात्मक सन्देश प्रवाह हुनेछ”, सभापति देउवाले भन्नुभयो । स्थानीय तह दैननदिन काममा जनतासँग सोझो सरोकारका हुने हुँदा यहाँको प्रभावकारी सेवा प्रवाहमा जनप्रतिनिधि दत्तचित्त भएर लाग्नुपर्ने पूर्वप्रधानमन्त्री रहिसक्नुभएका देउवाको सुझाव छ ।

कृषि क्षेत्रको विकास, स्थानीय पूर्वाधार, प्राकृतिक तथा धार्मिक सम्पदाको संरक्षणदेखि जनताका दैनिक सरोकारका काम स्थानीय तहबाट सम्पादन हुने हुँदा यहाँको कामले केन्द्रीय र प्रदेश सरकारका काम पनि जनताकेन्द्रित हुँदै जाने उहाँको ठम्याइ छ । सङ्घीय सरकारका काम सफल बन्न स्थानीय तह सुदृढ हुनैपर्ने उहाँले बताउनुभयो ।

स्थानीय तहले स्थानीय कृषि उत्पादनको बजार प्रवर्द्धन र आधुनिकीकरणमा ध्यान दिनपर्ने उहाँको भनाइ छ । “स्थानीय सीपको प्रवर्द्धन, यसका लागि समुचित तालिमको व्यवस्था र रोजगारीका सम्भावना स्थानीय तहले पहिल्याउन पर्छ”, उहाँले भन्नुभयो, “खासमा कृषि क्षेत्रलाई प्राथमिकतामा राखी कृषि सडक, बजार र सिँचाइको प्रबन्धमा ध्यान दिन जरूरी छ ।” यस्ता काममा सरकारसँगको समन्वयमा आफूले पहलकदमी लिने उहाँले प्रतिबद्धता जनाउनुभयो ।

कार्यक्रममा पूर्वउपप्रधानमन्त्री तथा कांग्रेस नेता विमलेन्द्र निधिले महोत्तरी जिल्ला र मनराशिशवा नगर नेपालको प्रजातान्त्रिक आन्दोलनमा सपूत जन्माउने ठाउँ रहेको चर्चा गर्नुभयो । “यो ९मनराशिशवा० नेपालको प्रजातान्त्रिक आन्दोलनका योद्धा अमर सहिद मिथिलेश दुबेको जन्मभूमि हो”, निधिले भन्नुभयो, “यहाँ स्थानीय तहले गर्ने काम उहाँको सहादतलाई सम्झेर गर्नपर्छ । दुबेले २०३६ सालको ऐतिहासिक जनआन्दोलनमा मनराशिशवाकै कटैया थाना नजिक सहादत प्राप्त गर्नुभएको थियो ।

नेपाल सरकार र मनराशिशवा नगरपालिकाको रू सात करोड २८ लाख ५० हजार लागतमा निर्मित नयाँ तीनतले प्रशासकीय भवन भूकम्प प्रतिरोधी र वातानुकूलित रहेको नगरप्रमुख मोहन पाण्डेले जानकारी दिनुभयो । जम्मा २६ कोठे भवनमा तीन सय जना अट्ने क्षमताको सभाहल र दुई वटा बैठककक्ष छन् । भवन अपाङ्गता भएकाहरूका लागि सुविधायुक्त, महिलाका लागि नानीहरूलाई स्तनपानकक्ष र अग्नि नियन्त्रक र जल आपूर्तिको सहज व्यवस्था रहेको पाण्डेले बताउनुभयो । भवन निर्माणमा ५० प्रतिशत रकम नेपाल सरकारबाट प्राप्त भएको र बाँकी नगरले व्यवस्थापन गरेको नगर कार्यपालिकाको कार्यालयका प्रमुख प्रशासकीय अधिकृत राजेशकुमार शर्माले जानकारी दिनुभयो ।

नगरप्रमुख पाण्डेको अध्यक्षतामा सम्पन्न समारोहमा कांग्रेस नेता तथा प्रतिनिधिसभा सदस्य महेन्द्रकुमार राय, मधेस प्रदेश सरकारमा शिक्षा तथा संस्कृतिमन्त्री रानी शर्मा तिवारी र कांग्रेस महोत्तरीका सभापति नागेश्वर यादवले नयाँ भवन भव्य बनेझैँ सेवा प्रवाह उत्कृष्ट हुन सकोस् भन्ने शुभेच्छा व्यक्त गर्नुभयो । रासस