२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

समीरको लुक्स सार्वजनिक गर्दै आगामी फूलपातीमा ‘बलिदान’ रिलिजको औपचारिक घोषणा



अ+ अ-

काठमाडौं । लामो समयदेखि नेपाली चलचित्र क्षेत्रमा चर्चामा रहेको ‘बलिदान’ को रिलिज मिति औपचारिक रूपमा घोषणा भएको छ ।

निर्देशक सन्तोष सेन नेतृत्वको निर्माण टिमले चलचित्रलाई २०८२ सालको फूलपाती (असोज १३) मा सार्वजनिक गर्ने निर्णय गरेको छ । सेनले प्रमुख कलाकार समीर भट्टको दुई पोस्टर लुक्स सार्वजनिक गर्दै यो चलचित्र नेपालको सार्वभौम भूमिमा भइरहेको शोषण, अन्याय र समाजका तथाकथित नाइकेहरूको विरुद्धको सङ्घर्षमा केन्द्रित रहेको उल्लेख गरेका छन् ।

सार्वजनिक गरिएको एक पोस्टरमा पृष्ठभूमिमा कालिमातालाई राखिएको छ भने समीरले हातमा त्रिशूलसहितको ठुलो हतियार बोकेका छन्, जहाँ उनी आफ्नो लक्ष्य पुरा गरेपछिको भावमा देखिएका छन् । निर्देशक सेनका अनुसार यो पोस्टरमा समीरले दानव प्रवृत्तिका मानिसहरूको बलि चढाएपछिको दृश्य हो । दोस्रो पोस्टरमा समीर यत्रतत्र छरिएका लासहरूको बीचमा छन्, जहाँ उनले एक व्यक्तिको खुट्टा समाई लतारिरहेका छन् । यो पोस्टरले समीर नरसंहारमा रहेको सङ्केत गर्छ ।

निर्देशक सेनका अनुसार ‘बलिदान’ निर्माणको निर्णय लिनु मात्र सहज थिएन, यसको तयारी, छायाङ्कन र सम्पादन प्रक्रियामा टिमले अपार मेहनत गर्नुपरेको छ । उनले भने, “जब मैले यो चलचित्र निर्माण गर्ने सोच बनाएँ, तब यति ठुलो बलिदान दिनुपर्छ भन्ने कल्पनासम्म गरेको थिइनँ । जीवनभर बगाएको रगतपसिनामध्ये सबैभन्दा धेरै यसैमा बगाएको महसुस भएको छ ।”

चलचित्रको कथा लेखकहरूसँगको निरन्तर संवादपछि तयार पारिएको सेनले जनाए । उनका अनुसार यो कुनै एउटा समयको कथा मात्र नभई, हिजो, आज र भोलीसम्मको सन्देश बोकेको छ । शोषित वर्गको आवाज बुलन्द पार्न कुनै सम्झौता नगरिएको उनले बताएका छन् । कलाकार छनोटदेखि प्रविधि र प्रविधिजन्य पक्ष, निर्माण व्यवस्थापन, गीत-सङ्गीत र सम्पादनसम्म उच्च स्तरको बनाउन अहोरात्र परिश्रम गरिएको उनले उल्लेख गरे । सेनले चलचित्रको प्रि-प्रोडक्सन प्रक्रिया अब पूर्ण भएको र पोस्ट(प्रोडक्सनको लागि दक्षिण भारतीय चलचित्र उद्योगको प्रविधि र सीप उपयोग गरिरहेको बताए ।

चलचित्रको ‘फर्स्ट ल्यान्डिङ’ प्री-टिजर एक वर्षअघि सार्वजनिक गरिएको थियो, जसमा २०८१ सालको फूलपातीलाई रिलिज मिति तोकिएको थियो । तर, अझ उत्कृष्ट प्रस्तुति दिनका लागि एक वर्षको थप समय लिइएको सेनले प्रस्ट्याए । उनले भने, “हामीले निर्माणको कुनै पक्षमा सम्झौता गर्न चाहेनौँ, त्यसैले थप समय लिनु उपयुक्त ठान्यौँ ।”

चलचित्रमा दक्षिण भारतीय चर्चित एक्सन निर्देशक स्टन्डर साम को नेतृत्वमा करिब ३० जनाको टोलीले अत्याधुनिक प्रविधिबाट एक्सन दृश्य खिचेको छ । विशेष गरी, चलचित्रको क्लाइमेक्स दृश्यका लागि बुढासुब्बा मैदानमा ४२ फिट अग्लो कालीमाताको भव्य मूर्ति निर्माण गरिएको थियो, जसले निकै चर्चा बटुलेको थियो ।

यस चलचित्रमा कलाकारको सशक्त टिम रहेको छ । चलचित्रमा ‘१२ गाउँ’ बाट चर्चामा आएका अभिनेता समीर भट्ट प्रमुख भूमिकामा छन् । साथै, अनुभवी कलाकारहरू सौगात मल्ल, अर्पण थापा, ऋचा शर्मा लगायतका कलाकारहरूको अभिनय रहेको छ ।

चलचित्रको सङ्गीत आर्टमान्डु टिम को सहकार्यमा तयार पारिएको छ । गायक सुजन चापागाईँ, गीतकार हर्क साउद र निर्देशक नवीन चौहान सहितको समूहले चलचित्रका गीत, ब्याकग्राउन्ड म्युजिक र अन्य साङ्गीतिक पक्षमा काम गरिरहेको छ ।

चलचित्र ‘आसुसेन फिल्म्स्‌ प्रा.ली.’ को प्रस्तुति हो । यसका निर्माता पवन ब्राडफोर्ड बिस्ट हुन् भने प्रेम पुरी कार्यकारी निर्माताको रूपमा संलग्न छन् ।

टिमले चाँडै नै नयाँ भिडियो कोसेली लिएर आउने जानकारी गराएको छ । निर्देशक सेनले दर्शकहरूको माया र साथबिना यो यात्रा अपूर्ण रहने उल्लेख गर्दै भने, “हामी तपाईँहरूको गाउँ, टोल, बस्ती, घर(जहाँ जहाँ पुग्नुपर्छ, तयार छौँ । जय बलिदान !”