२० मंसिर २०८२, शनिबार
,
Latest
नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते काठमाडौँ उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छः मन्त्री घिसिङ अन्तिम समयमा गोल खाँदा आर्सनल एस्टन भिल्लासँग पराजित कार्यविधिमा मुक्तकमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ: मुख्यमन्त्री शाह
तपाईं के खोज्दै हुनुहुन्छ ?

रेन्बो ट्राउट माछापालनतर्फ आकर्षित कृषक



अ+ अ-

हेटौँडा, (मकवानपुर) । चालु आर्थिक वर्षको छ महिनाम वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत (नयाँ) लिने नेपालीको सङ्ख्या दुई लाख ३० हजार ४३९ र पुन: श्रम स्वीकृति लिनेको सङ्ख्या एक लाख ६२ हजार ६२८ रहेको छ । यो सङ्ख्या अघिल्लो वर्षको तुलनामा केही कम हो । नेपाल राष्ट्र बैंकका अनुसार अघिल्लो वर्षको सोही अवधिमा दुई लाख ६ हजार ३९० जनाले अन्तिम श्रम स्वीकृति र एक लाख ३३ हजार ९४० ले पुन: श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका थिए ।

वैदेशिक रोजगारीमा जाने नेपालीको लर्को लामो छ । वार्षिक आँकडा केलाउँदै जाने हो भने कुनै वर्ष केही हजारको सङ्ख्यामा तलमाथि भए पनि रोजगारीका लागि पलायन हुनेको सङ्ख्यामा खासै कमी आएको छैन । यद्यपी स्वदेशमै केही गरेर आर्थिकस्तर सुधार्न सकिन्छ भन्ने विश्वास पनि जाग्न थालेको छ । स्वदेशमै श्रम गरे, राम्रो आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण देखिन थालेका छन् । हो, विदेशमा काम गरेर पैसा पठाउने नेपालीको ठूलो सङ्ख्यामा सामेल हुने सुरमा रहेका मकवानपुरका कृष्णबहादुर एक उदाहरण बन्नुभएको छ ।

वैदेशिक रोजगारीमा जान निस्केका थाहा नगरपालिका–५ खोलाघारीका कृष्णबहादुर मोक्तान अहिले लखपति किसान हुनुभएको छ । उहाँले ट्राउट माछापालन गरेर मनग्य आम्दानी गर्दै आउनुभएको छ । माछापालनसँगै किबी र तरकारीखेतीमा व्यस्त भएर उहाँले वार्षिक लाखौँ आम्दानी गरिरहनुभएको छ ।

विसं २०७७ देखि रू ६० लाख लगानीमा दुई रोपनी क्षेत्रफलमा ट्राउट माछापालनका लागि नौ खण्डको पोखरी निर्माण ९रेसवे० गरेर उहाँले व्यावसायिक माछापालन सुरू गर्नुभएको थियो । युनिक कृषि फार्म दर्ता गरेर उहाँले पाँच हजार रेन्बो ट्राउट र स्थानीयस्तरमा पाइने सात हजार असला माछापालन गर्नुभएको छ ।

कुनै समय काठमाडौँमा रहेर सवारी चालकका रूपमा काम गर्ने मोक्तान वैदेशिक रोजगारीका लागि साउदी अरब जाने तयारीमा हुनुहुन्थ्यो । मेडिकल गर्ने क्रममा उहाँमा जन्डिस देखिएपछि असफल हुनुभयो । त्यसपछि रोजगारीका लागि विदेशिने मनसाथ बदलेर उहाँ आफ्नै गाउँमा केही गर्ने हेतुले घर फर्कनुभयो । “काठमाडौँमा सवारी चलाउँथेँ, नुवाकोटका एकजना दाइ र म सँगै काम गर्थ्यौ, उहाँकै सल्लाहमा आफ्नै गाउँ फर्केर कृषि कर्ममा लागेँ । काभ्रेमा माछापालनका लागि प्राविधिक ज्ञान लिएँ”, मोक्तानले भन्नुभयो ।

विसं २०७४ को स्थानीय तहको चुनावमा वडा सदस्य जितेका मोक्तान पुन: वडा सदस्यमा चुनिनु भएको छ । हाल उहाँ कार्यवाहक वडाध्यक्ष हुनुहुन्छ । वडाको जिम्मेवारीसँगै उहाँले कृषि कर्मलाई अगाडि बढाउनुभएको छ ।

यहाँको कर्मभूमि सामुदायिक वनबाट निस्केको मूलको पानी काठमाडौँको गोदावरीमा जाँच गर्दा ट्राउट माछापालनका लागि उपयुक्त भएकाले माछापालन सुरू गरिएको मोक्तानको भनाइ छ । आफैँसँग भएको केही रकम र सहकारीबाट ऋण गरेर ट्राउट माछापालन सुरू गर्नुभएका उहाँले रू एक हजार पाँच सय प्रतिकेजीका दरले यहाँको माछा बिक्री गर्दै आउनुभएको छ ।

वार्षिक एक हजार सात सय किलो माछा उत्पादन गरी बिक्री गर्दै आउनुभएका मोक्तानले रू २५ लाख बराबरको कारोबार गर्दै आएको बताउनुभयो । सबै खर्च कटाएर वार्षिक १२ लाख बढी आम्दानी हुने गरेको उहाँको भनाइ छ ।

यहाँ उत्पादन भएको माछा हेटौँडा, काठमाडौँ र स्थानीयस्तर दामन, पालुङ र सिमभन्ज्याङमा खपत हुने गरेको छ । “बजारको समस्या छैन, उत्पादन गर्न सके बिक्री हुन्छ, प्राय: फार्ममै माछा लिन आउनुहुन्छ, माग भए बजार पनि पठाउँछौँ”, मोक्तानले भन्नुभयो । उहाँले सञ्चालन गरेको ट्राउट माछापालन र किबीखेतीको काममा तीन जनाले रोजगारी पाउनुभएको छ ।

किसान मोक्तानले माछापोखरीबाट बगेको पानीलाई घट्ट चलाउन पनि प्रयोग गर्नुभएको छ । भविष्यमा रिसोर्ट बनाएर स्थानीय पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यका साथ काम गरिरहनुभएका उहाँले स्थानीयस्टरमै उत्पादन भएको मकै, कोदो, फापर, माछा, सिस्नु र खोले सागको परिकार खुवाउने योजनाका साथ काम गर्नुभएको हो ।

यस्तै, उहाँले बाँझो र खेर गइरहेको आठ रोपनी जग्गामा हेवाड जातको किबी फल रोप्नुभएको छभने तरकारीखेतीका लागि एक सय मिटरको पाँचवटा टनेल पनि निर्माण गर्नुभएको छ । त्यस्तै २० रोपनी जग्गामा काउली, बन्दा, गाँजर मुला, आलुलगायत तरकारीखेती गर्दै वार्षिक रू ७ लाख बढी आम्दानी गर्दै आउनुभएको छ ।

पछिल्लो समय मोक्तानले दामनमा रहेको बागवानीबाट एक सय २० बोट किबीको बिरूवा ल्याएर रोप्नु भएको छ । गत वर्ष ३० किलो बढी किबी बिक्री गर्नुभएकामा आगामी वर्षबाट पूर्ण रूपमा उत्पादन लिन सक्ने उहाँको विश्वास छ । उहाँ जस्तै मकवानपुरका उत्तरी क्षेत्रका किसान रेन्बो ट्राउट माछापालनतर्फ आकर्षित भएका छन् । यहाँका किसानले आर्थिक उपार्जनका लागि माछापालनसँगै नगदेबाली लगाएर मनग्य आम्दानी गर्दै आएका छन् । रासस