२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
टिचिङ अस्पतालको ओपीडी सेवा सुधार्न महानगरको १ करोड ७० लाखको प्रविधि सहयोग पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा पाँच जनाको मृत्यु एमालेको १० बुँदे संकल्प : सदस्यता विस्तारदेखि डिजिटल रूपान्तरणसम्म जोड खिम्ती जलविद्युत्को शेयर हस्तान्तरण टुंग्याउन प्राधिकरणले पुनर्गठन गर्‍यो वार्ता समिति सुशासन सबैभन्दा ठूलो जनअपेक्षा छ : सभामुख अर्याल विद्युत् प्राधिकरणको पुनःसंरचनामा स्थानीय तह र समुदायको भूमिका सुनिश्चित गर्न माग जातीय भेदभाव र छुवाछूत लोकतान्त्रिक र उन्नत समाजको बाधक होः मन्त्री वादी राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकबारे विज्ञहरुसँग छलफल हुने तुलसा अधिकारी पुर्पक्षका लागि थुनामा, सम्पत्ति शुद्धीकरण र ठगी मुद्दा दायर नेपाल समूह विजेता बन्दै एसियन गेम्स पुरुष क्रिकेटमा छनोट, मलेसियामाथि १६७ रनको फराकिलो जित
तपाईं के खोज्दै हुनुहुन्छ ?

हावाहुरीबाट लाखौँको केराखेतीमा क्षति, किसान निरास



अ+ अ-

इनरूवा, (सुनसरी) । सुनसरी भोक्राहा नरसिंह गाउँपालिका–२ का जब्बार मियाँले भोक्राहा र इनरूवा–८ डुम्रहाको बङकुलवामा १४ बिघा क्षेत्रफलमा सामूहिक केराखेती गर्नुभएको छ । करिब रू ५० लाखको लागतमा जनमजदुर, खाद्यमल, बीउको अभावलगायत समस्याको बाबजुद केराखेती गर्नुभएको हो । नगदेबाली केराखेतीबाट राम्रो आम्दानी हुनेमा मियाँ निश्चिन्त हुनुहुन्थ्यो ।

मियाँ जस्तै खुर्सीद अन्सारीले दुई बिघामा केराखेती गर्नुभएको छ । रू नौ लाख लागतमा उहाँले केराखेती गर्नुभएको थियो । उहाँ पनि लगानीसहित नाफा लिने विश्वासका साथ केराको रेखदेख गर्दै हुनुहुन्थ्यो ।

तर केही दिनअघिको हुरीबतासले केराखेतीमा क्षति पुर्‍याँदा उहाँहरू निरास हुनुभएको छ । केराखेतीमा गरिएको लगानीअनुसार प्रतिफल आउने निश्चिन्त भए पनि असिनापानीसँगै आएको हावाहुरीले केराखेतीमा ठूलो क्षति भएको उहाँहरूले जानकारी दिनुभयो ।

उहाँ दुवै जना सुनसरीका लागि उदाहरणको पात्रमात्र हुनुहुन्छ । दुई दिन लगातार असिनापानीसँगै आएको हुरीबतासका कारणले सुनसरीका अधिकांश किसानको केराखेतीमा क्षति भएको कृषि ज्ञान केन्द्र इनरूवा सुनसरीले जनाएको छ ।

गत आइतबार राति र सोमबार साँझको हुरीबतासले खेतमा लगाएको केराको बोट ढलेर ठूलो क्षति भएको छ । स्थानीय किसानले ऋण लिएर गरेको केराखेतीमा एकैपटक यस्तो ठूलो हावाहुरी आएकाले लाखौँको लगानी डुबाउनेगरी क्षति भएको गुनासो स्थानीय किसानले गरेका छन् ।

सुनसरी सदरमुकाम इनरूवासहित दक्षिणवर्ती क्षेत्रमा पटक–पटक आएको ठूलो हुरीले केराखेतीसहित गहुँ र मकैखेतीमा पनि क्षति भएको स्थानीय किसानले बताएका छन् । इनरूवासहित, गढी गाउँपालिका, भोक्राहा नरसिंह, हरिनगर र देवनागञ्ज क्षेत्रका केरा बगानका लगभग सबै केराका बोट ढलेकाले क्षति भएको स्थानीय किसान जब्बर मियाँले बताउनुभयो ।

दुई महिनापछि बजार लान मिल्ने अवस्थामा रहेका केरा ढलेर नोक्सान हुँदा किसानको आर्थिक क्षति भएको इनरूवा केरा पकेट समितिका अध्यक्ष हरि मेहताले बताउनुभयो । इनरूवामा मात्रै सय बिघा क्षेत्रफलमा केराखेती भइरहेकामा अधिकांश केरालाई हुरीबतासले नोक्सान गरेको उहाँले बताउनुभयो । करिब रू एक करोड बराबरको केराखेती ढलेर नोक्सान भएको मेहताले बताउनुभयो ।

एकातिर फल्न लागेको केरामा क्षति अर्कातिर ढलेका बोट हटाएर नयाँ केरा लगाउन जमिन तयार गर्न नै अब प्रतिबिघा लाखौँ खर्च गर्नुपर्ने किसानको भनाइ छ । हुरीबतासले केराखेतीमा अहिलेसम्मकै ठूलो नोक्सानी भएको किसान श्यामकुमार यादवले दाबी गर्नुभयो । सुनसरीमा वार्षिक रूपमा पाँच सय २० हेक्टर अर्थात् एक हजार बिघामा केराखेती हुँदै आएको कृषि ज्ञान केन्द्रका प्रमुख निलकमल सिंहले जानकारी दिनुभयो । रासस