२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
११ बजे मन्त्रिपरिषद् बैठक बस्दै ट्रकमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, एक घाइते नाम्खा गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता घोषणा हुथीद्वारा इजरायलमा क्षेप्यास्त्र प्रहार, लाल सागरमा इजरायली जहाज सञ्चालनमा पूर्ण प्रतिवन्धको घोषणा ओमानको खाडीमा इरानतर्फ जाँदै गरेको तेल ट्याङ्कर अमेरिकी सेनाद्वारा निष्क्रिय दक्षिणी गाजामा इजरायली हवाई आक्रमण, ५ प्यालेस्टिनीको मृत्यु, १० भन्दा बढी घाइते फिलिपिन्समा शक्तिशाली भूकम्पपछि जारी सुनामी चेतावनी इण्डोनेसियाले फिर्ता लियो इरानी पेट्रोकेमिकल उद्योगमाथि आक्रमणको बदलामा इजरायली शहर हाइफामा इरानद्वारा क्षेप्यास्त्र प्रहार यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य ‘बर्डफ्लु’ नियन्त्रणका लागि ‘द्रुत कार्य टोली’ परिचालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

धनगढीमा ‘बायोग्यास प्लान्ट’ पूर्ण क्षमतामा सञ्चालन



अ+ अ-

गोदावरी, (कैलाली) । धनगढी उपमहानगरपालिका–२ सन्तोषी टोलस्थित बायोग्यास प्लान्ट पूर्ण क्षमतामा सञ्चालनमा आएको छ । वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रसँगको सहकार्यमा देव ट्रेनिङ एन्ड म्यानेजमेन्ट सेन्टरले दैनिक ३० हजार किलो सड्ने र दुर्गन्ध फैलाउने फोहर व्यवस्थापन गर्दै आएको छ ।

बायोग्यास प्लान्टले खपत गर्नेमध्ये दैनिक करिब आठ हजार किलो फोहरमैला धनगढी उपमहानगरले उपलब्ध गराउने गरेको देव ट्रेनिङ एन्ड म्यानेजमेन्ट सेन्टरका सञ्चालक रवीनकान्त पन्तले बताउनुभयो । उहाँले बाँकी फोहर गौशाला, कुखुरा फार्म आदिबाट सङ्कलन गरेर ल्याउने गरेको बताउनुभयो । घरबाट निस्कने तरकारी, खानाजन्य फोहर, सडेगलेका फलफूल, गोबर, कुखुराको सुलीलगायत कुहिने फोहर प्रयोग गरेर बायोग्यास प्लान्टले बायोग्यास र गोबर मल उत्पादन गरिरहेको जनाइएको छ ।

बायोग्यास प्लान्टबाट दैनिक ३० हजार किलो फोहरलाई व्यवस्थापन गरी दैनिक तीन हजार पाँच सय किलो जैविक मल र एक हजार किलो बायोमिथेन ग्यास उत्पादन गर्दै आएको पन्तले जानकारी दिनुभयो । उत्पादित ग्यासको बजारीकरणको प्रयास भइरहेको कम्पनीले जनाएको छ । कम्पनीले प्रदेश सरकारसँग मिलेर उत्पादित ग्यास पाइपलाइनबाट घरघरमा पुर्‍याउनका लागि प्रक्रिया सुरु गरेको छ ।

वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको ‘बेस्ट टु इनर्जी प्रोजेक्ट’अन्तर्गत रु २० करोड ८४ लाख लागतमा स्थापना गरिएको ग्यास प्लान्ट गत वर्षबाट सञ्चालनमा आएको हो । कूल लागतमध्ये ४० प्रतिशत वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र र ६० प्रतिशत देव ट्रेनिङ एन्ड म्यानेजमेन्ट सेन्टरले लगानी गरेको पन्तको भनाइ छ । प्लान्ट स्थापनाका लागि जग्गा भने उपमहानगरपालिकाले प्रदान गरेको हो ।

बायोग्यास प्लान्ट सञ्चालनमा आएपछि उपमहानगरलाई फोहरमैला व्यवस्थापनमा सहज भएको छ । पूर्ण क्षमतामा सञ्चालनमा आएपछि बायोग्यास प्लान्टले दैनिक करिब ३० हजार किलोसम्म फोहरमैलाको प्रयोगबाट एक हजार किलो ग्यास उत्पादन गर्दै आएको कम्पनीले जनाएको छ । रासस