पोखरा। गण्डकी प्रदेशका नौ सरकारी र छ निजी गरी १५ वटा स्वास्थ्य संस्थाबाट आठ सय १५ जना मिर्गाैलाका बिरामीले निःशुल्क डायलासिस सेवा लिइरहेका छन् ।
चालु आर्थिक वर्षको गत पुससम्ममा २० हजार पाँच सय पटक डायलासिस सेवा प्रवाह गरिएको प्रदेशको स्वास्थ्य मन्त्रालयले जनाएको छ । प्रदेशभर एक सय ४० वटा डायलासिस मेसिन सञ्चालनमा छन् ।
सरकारले निःशुल्क डायलासिस सेवा सुरु गरेपछि गण्डकी प्रदेशभित्रका बिरामीको १६ करोड ५० लाख रुपैयाँ व्यक्तिगत खर्च घटेको प्रादेशिक स्वास्थ्य निर्देशनालयका महानिर्देशक खिमबहादुर खड्काले बताए ।
उनका अनुसार अझै एक सय एक जना बिरामी उक्त सेवा लिन प्रतिक्षारत छन् । डायलासिसका लागि पर्खाइमा रहेका बिरामीको सङ्ख्यालाई शून्यमा झार्ने स्वास्थ्य मन्त्रालयको योजना छ । यसअघि अस्पतालमा लामो समयसम्म पालो नपाउँदा डायलासिस सेवाका लागि बाहिर जानुपर्ने अवस्था थियो ।
प्रदेश सरकारले कास्कीको प्रादेशिक जनरल तथा सरुवा रोग अस्पतालमा २५ शय्याको सुविधासम्पन्न डायलासिस केन्द्र सञ्चालनमा ल्याएपछि उक्त सेवा सहज बनेको हो । प्रदेशभित्रका बिरामीलाई प्रदेशभित्रैका अस्पतालमा डायलासिस सेवा प्रदान गर्न स्वास्थ्य संस्थाहरुको क्षमता विस्तार भइरहेको महानिर्देशक खड्काले जानकारी दिए ।
“पहिलेजस्तो डायलासिस सेवाका लागि शय्या नपाएर बाहिरका अस्पतालमा जानुपर्ने अवस्था छैन”, उनले भने, “विस्तारै यो सेवा सहज बन्दै गएको छ ।” मनाङ र मुस्ताङबाहेकका जिल्लामा डायलासिस सेवा विस्तार भइसकेको उनले बताए ।
मिर्गौलाका बिरामीको बढ्दो सङ्ख्याअनुसार अस्पतालमा उपकरण र जनशक्ति व्यवस्थापन गर्दै लगिने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।नेपाल सरकारले सात वर्षअघि डायलासिस सेवालाई निःशुल्क बनाउने घोषणा गरेको थियो । रासस










