काठमाडौं। अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता अन्तर्गत नेपाल फाइनलमा प्रवेश गरेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भर्खरै सम्पन्न खेलमा लेबनानलाई १-० गोलले हराउँदै नेपाल फाइनलमा पुगेको हो । नेपालको जितमा एकमात्र निर्णायक गोल साबित्रा भण्डारीले गरिन् ।
उनले खेलको ४२ औं मिनेटमा गोल गरेकी हुन् । भण्डारीले डि-बक्स बाहिरबाट प्रहार गरेको बल लेबनानका डिफेन्डरलाई लागेर गोल हुन पुग्यो ।
खेलको नवौं मिनेटमा लेबनानका क्रीस्टी मालोफले प्रहार गरेको बललाई नेपालका गोलकिपर एन्जिला तुम्बाप्पो सुब्बाले उत्कृष्ट बचाउ गरिन् । एन्जिलाले उक्त बललाई पोस्टमाथि फ्याँक्दै बचाइन् ।
खेलको दसौं मिनेटमा नेपालले अग्रता लिने सुनौलो अवसर गुमायो । बिमला चौधरीले डि-बक्स भित्रबाट गरेको प्रहार आकाशियो । खेलको १२ औं मिनेटमा लेबनानका लायला इस्कन्दरले गोलकिपर एन्जिलालाई बिट गर्दै प्रहार गरेको बल केही बाहिर गयो ।
खेलको २४ औं मिनेटमा साबित्रा भण्डारीले बल अगाडि बढाउँदै डि-बक्स भित्र लगेपनि उनले सन्तुलन गुमाइन् । २७ औ मिनेटमा साबित्राले नै अर्को अवसर खेर फालिन् । उनले डि-बक्स भित्र पाएको बल फ्रेमभन्दा निकै बाहिर गयो ।
खेलको ५९ औं मिनेटमा नेपालले अग्रता दोब्बर पार्ने अवसर गुमायो । साबित्राले क्रसमा उपलब्ध गराएको बललाई सबिता राना मगरले नियन्त्रणमा लिएर प्रहार गरेपनि उनको प्रहार पोस्टमाथिबाट बाहिरियो ।
खेल सकिनै लाग्दा इन्जुरी समयमा लेबनानले बराबरी गर्ने अवसर गुमायो । लेबनानका जाहा अराबीको डि-बक्स बाहिरबाट गरेको सशक्त प्रहार क्रस बारमा ठोक्किएर फर्कियो । अब नेपालले उपाधिका लागि म्यानमारसँंग प्रतिस्पर्धा गर्नेछ । यसअघि पहिलो खेलमा नेपालले किर्गिस्तानलाई १-० गोलले हराएको थियो ।










