२८ जेष्ठ २०८३, बिहीबार
,
Latest
रोल्पामा मिनी ट्रक दुर्घटना हुँदा एकको घटनास्थलमै मृत्यु आईएमई लाइफको सहयोगमा १०० विपन्न नागरिकको निःशुल्क मोतीबिन्दु शल्यक्रिया हुने भन्सार छलेका १४ थान आइफोन मोबाइल बरामद सांसद बोल्ने, सरकार नसुन्ने परम्परा अन्त्य हुनुपर्छः रास्वपा सांसद आचार्य बागलुङको चार पालिकामा ३० हजारलाई दादुराविरुद्धको खोप मुस्ताङमा ड्रोन क्यामेरा नियन्त्रणमा मेची राजमार्ग किनारका घर भत्काउने निर्णय फिर्ता लिन सांसद सुब्बाको माग ओलीलाई रास्वपा सदस्य देखाइएको नक्कली पोस्टरबारे संसदमा प्रश्न, दोषीमाथि कारबाहीको माग राज्य व्यवस्था समितिद्वारा कार्यविधि मस्यौदा र विभिन्न उपसमितिहरू गठन, कारागार र अख्तियारको अनुगमन गरिने सरकारसँग एमाले सांसद सुब्बाको मागः मेची राजमार्ग सडक सीमा भित्रको भौतिक संरचना हटाउने निर्णय तत्काल…
तपाईं के खोज्दै हुनुहुन्छ ?

टुँडिखेलमा प्रजातन्त्र दिवसको अवसरमा प्रधानमन्त्रीको सम्बोधन–पूर्णपाठ



अ+ अ-

फागुन ७ गते ! आजको दिन– हामी नेपालीको जीवनमा सर्वाधिक महत्वको दिन हो, बलिदानपूर्ण संघर्षद्वारा आफूलाई रैतीबाट जनताको दर्जामा पुर्‍याएको दिन हो ।

गौरवपूर्ण एवम् ऐतिहासिक यस दिनमा सर्वप्रथम म, सम्पूर्ण लोकतन्त्रप्रेमी नेपालीहरुमा ७५औँ राष्ट्रिय प्रजातन्त्र दिवसको हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छु ।

जहानियाँ राणा तन्त्रको बर्बरता बिरुद्ध आफ्नो अमूल्य जीवन उत्सर्ग गर्नुहुने शुक्रराज शास्त्री, दशरथ चन्द, धर्मभक्त माथेमा र गंगालाल श्रेष्ठसहित सम्पूर्ण अमर शहीदहरुप्रति भावपूर्ण श्रद्धासुमन अर्पण गर्दछु ।

नेपाली लोकतान्त्रिक आन्दोलनको इतिहासमा केही दिनहरु विशेष छन्– चैत २६, वैशाख ११, जेठ १५, र असोज तीन । निर्दलीयताको समाप्ती, लोकतन्त्र, गणतन्त्र र संघीयता सहितको संविधान प्राप्तिमा यी दिनको विशेष महत्व छ । प्रत्येक दिनले एकपछि अर्को गर्दै जनतालाई सार्वभौम बनाएका छन्, थप अधिकार दिलाएका छन् ।

तर ती सबै दिन भन्दा युगान्तगारी महत्व फागुन ७ गतेले राख्छ । २००७ साल फागुन ७ गते ! नेपालको इतिहासमा यस्तो सन्धिकाल हो, जसले हाम्रा पुर्खालाई हुकुमी शासनको क्रूर जन्जिरले बाँधिएको घना रातबाट स्वयंको विवेकले चल्ने स्वतन्त्रताको न्यानो विहानीमा पुर्‍याएको यातनादायी, कहालीलाग्दो तर साहसिक लामो यात्राको स्मरण गराउँछ ।

फागुन ७ गतेले हाम्रो, खेर गएको सिङ्गो शताव्दीको स्मरण गराउँछ । विज्ञान–प्रविधिमा संसारले फड्को मारिरहँदा नेपालमा भने जहानियाँ शासकको एउटा सनकी आदेशले अन्वेषणमा लाग्ने प्रतिभाको हात काटिएको घटनाको स्मरण गराउँछ । सत्य/तथ्य बोल्नेको जिब्रो थुतेर पातमा राखिएको, आँखा फोरिएको र नव प्रवर्तनमा लाग्नेहरुको जात काडिएको जस्ता पिडादायी घटनाहरुको याद गराउँछ ।
फागुन ७ गते !

आजको दिनले, शासकका पटाङ्गिनीमा बज्ने बिगुलको इसारामा मात्र घरबाहिर निस्कन र भित्र छिर्न पाइने निरङ्कुश परम्परा सम्झाउँछ । आफ्नै नागरिकले राजधानी काठमाडौं छिर्न समेत ‘भिसा’ लिनु पर्ने र तानाशाही शासकका वैध/अवैध सन्तानका लागि भव्य महल ठड्याउन सयौं नागरिकलाई रैतान भन्दै झाराको उर्दी लगाएर जवरजस्ती श्रम शोषण गर्नेको इतिहास सम्झाउँछ ।

हाम्रो इतिहासको पुरानो कालखण्डमा दौड प्रतिस्पर्धाबाट राजा छान्ने युग थियो । तर, दौडमा समेत झेल गरी शासन हत्याउने र शासनाधिकार आफ्नै बंशमा राख्ने षडयन्त्रकारीहरुको कुरुप अनुहारलाई पनि यस दिनले सम्झना गराउँछ ।

यसरी फागुन ७ गतेले शासनको स्वरुप मात्रै फेरेको होइन, हुकुमी निगाहबाट हुने पजनी फेरेर निजामती प्रशासनको जग हाल्यो । योजनावद्ध विकासको थालनी गर्यो । सार्वभौम समानताको आधारमा मित्रराष्ट्रहरुसँग कुटनैतिक सम्बन्धको शुरुवात गर्‍यो ।

* समग्रमा फागुन ७ ले मुलुकलाई सबै हिसावले स्वतन्त्र र सार्वभौम बनाउने दृढ संघर्ष अघि बढायो ।
यसरी हामी फागुन ७ लाई प्रजातन्त्र दिवसको रुपमा मनाउँछौं । शहीदहरुको महान त्यागलाई सम्झन्छौं । नयाँ पुस्तालाई, उनीहरुको उज्ज्वल भविष्यको लागि, पुर्खाले भोगेको हण्डर, ठक्कर तथा बलिदान र समर्पणको महान–गाथा स्मरण गराउँछौं ।
प्रजातन्त्रको उज्यालोमा हुर्किएको, अत्याधुनिक सूचना प्रविधि मार्फत अनलाइन सेवा लिने बानी परिसकेको आजको पुस्ताका लागि हिजोको शासनको त्यो क्रूरता– अनुभव होइन, कथा मात्र हो !

* तसर्थ, हाम्रो भविष्यका रुपमा उदाउँदै गरेको भोलिको पुस्ताले यो दिन, बिर्सनै नमिल्ने दिन हो !
पुस्तान्तरको समयचापले कहिलेकाहीँ न्यानो दिनमा रहेका बेला समाजले त्यस कालरात्रीको क्रूरतम् स्मृतिलाई गुमाउन पुग्छ र भन्छ– ‘प्रजातन्त्रले के गरेको छ?! त्यसले त अझै राणाकालका दरवारहरुबाट निर्वाह गरिरहेको छ !’

*जहानियाँ शासकले आफ्ना सन्तानका लागि दरवार बनायो,

* प्रजातन्त्रले जनताका लागि सडक, पुल, कुलो, बिजुली, व्यवसायिक व्यापार केन्द्र, अस्पताल र विद्यालय बनायो ।
निरंकुश शासनले आफ्नो अभिजातीय विलासका लागि बनाएका संरचना र लोकतन्त्रले नागरिकको जीवनमा परिवर्तन ल्याउन बनाएका संरचनाको तुलना वस्तुगत र तथ्यगत हुन सक्छ र?!

* यसलाई आजको पुस्ताले असान्दर्भिक तुलनाबाट होइन, विवेकको तराजुमा राखेर तौलनु पर्दछ । निरंकुश शासनको कहालीलाग्दो रात पार गरी लोकतान्त्रिक अधिकार उपभोग गरिरहेको हाम्रो समाजले पूर्वाधार विकासमा तुलनात्मक फाड्को मारेको छ । सामाजिक सुरक्षाका प्रवन्धहरु विस्तार भएका छन् । सामाजिक न्यायमा प्रगति गरेको छ । समाज, हुकुमी जन्जिरले बाँधिएको अवस्थाबाट सूचना–प्रविधिको सञ्जालमा जोडिएको छ । यसको प्रयोग मार्फत् आफूलाई निर्वाध अभिव्यक्त गर्ने स्वतन्त्रताको राजमार्गमा पुगेको छ ।

* स्वतन्त्रताको यही राजमार्गमा यात्रारत यी यात्रीहरुको विवेकले हुकुमी जन्जिरको औचित्य सावित गर्न सक्दैन भन्नेमा म विश्वस्त छु ।
१०४ वर्ष लामो निरंकुश जहानियाँ तन्त्रको अन्त्य पछिको ७५ बर्षमा अनेक आरोह/अवरोह बीच छरिएको लोकतन्त्रको उज्यालोमा नै हामीले मुलुकलाई विपन्नबाट सम्पन्नतातिर, विकासोन्मुखबाट विकसित राष्ट्रतिर र असमानताबाट समानतातिर लैजान थालेका हौं ।

* राष्ट्रको समृद्धि प्रत्यक्षतः जनताको सुख, सन्तुष्टि र खुशीसँग जोडिएको हुन्छ ।

* सम्पन्नताको यात्रा अनवरत चलिरहन्छ । ‘राष्ट्रको समृद्धि र जनताको सुख’लाई मैले ‘परिपूर्ण लोकतन्त्र’ भन्ने गरेको छु । चलन चल्तीमा भनिने प्रजातन्त्रले ‘संगठन र अभिव्यक्तिको स्वतन्त्रता’को मात्र वकालत गर्‍यो । परिपूर्ण लोकतन्त्रले सबैलाई ‘अधिकार र अवसर, समानता र सामाजिक न्याय, सुरक्षा र सम्मान’मा समान पहुँचको पैरवी गर्छ । समृद्धि भनेको समग्र विकास हो, सुख भनेको व्यक्तिको मानवीय र जैविक न्यायोचित आवश्यकताको सहज परिपूर्ति हो । हामी त्यसतर्फ इमान्दारीपूर्वक हिंडिरहेका छौं ।

* बढ्दो जनआकांक्षा र चुनौतीहरूबीच, राज्यको संस्थागत र सामथ्र्यवीच लय मिलाएर संगतिपूर्ण ढङ्गले अगाडि बढिरहेका छौं ।
हाम्रो युवा पुस्ता देशको भविष्य हो । उनीहरुलाई शिक्षा, स्वास्थ्य, रोजगारी र उद्यमको अवसर उपलब्ध गराउन र स्टार्टअप मार्फत् उद्यमशीलताको थालनी गरिएको छ । युवाहरुलाई सशक्त बनाएर नै मुलुकलाई समृद्धितर्फ लैजाने यस सरकारको नीति छ ।

* लोकतन्त्रको खुला मैदानमा नै जनताको जीवनमा प्रगति भएको छ । तर हाम्रा चुनौती अझै बाँकी छन् ।

* लोकतन्त्रलाई पारदर्शी र अझ जवाफदेही बनाउँदै, समाजमा व्याप्त असमानता, गरिवी र भ्रष्टाचारलाई हटाउँदै हामी ती चुनौतीलाई चिर्ने छौं ।
लोकतन्त्रको उज्यालोकै कारण आज हामीले डिजिटल माध्यमबाट नागरिकलाई शीघ्र सार्वजनिक सेवाको थालनी गर्न सकेका हौं, जसले सरकारी सेवालाई झन्झटरहित र पारदर्शी बनाउन सुरु गरेको छ ।

सन् २०२६ सम्ममा नेपाललाई अति कम विकसित मुलुकको हैसियतबाट स्तरोन्नति गर्ने र त्यसको दीगो व्यवस्थापनका लागि आर्थिक सूचकहरुको बढोत्तरी गर्ने आधार पनि लोकतन्त्र नै हो । सन् २०३० भित्र दीगो विकासका लक्ष्यहरु हासिल गर्ने अभियानमा हामी हाम्रा हरेक क्षण, सम्भावना र सामर्थ्यको सदुपयोग गरिरहेका छौं । यसबाटै हामी ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गर्न सफल हुने छौं ।
फागुन ७ गतेले,

* सम्पूर्ण नेपालीहरूलाई इतिहासप्रति गौरव गर्न,
* वर्तमानमा क्रियाशीलले जिम्मेवारी निर्वाह गर्न र
* भविष्यप्रतिको उत्तरदायित्वलाई सामाजिक सम्पत्तिका रुपमा पूँजीकृत गर्न अभिप्रेरित गरिरहने छ ।
अन्त्यमा,

फागुन ७ गते, नेपाली जनताको प्रजातान्त्रिक हक अधिकार स्थापनाका लागि विगतमा भएका अथक र अनवरत संघर्षमा आफूलाई समाहित गर्ने वीर/वीरङ्गनाहरुको स्मरण गर्ने दिन पनि हो । प्रजातन्त्र स्थापनाको हाम्रो संघर्षपूर्ण इतिहासलाई स्मरण गर्दै त्यस संघर्षमार्फत् जनताले चाहेको राष्ट्रको समृद्धि र जनताको सुख प्राप्तिको आकांक्षा साकार पार्न संकल्प गर्ने दिन पनि हो ।
जहानियाँ निरङ्कुश शासन प्रणालीलाई समाप्त पारी नागरिक अधिकार स्थापित गरेको यस ऐतिहासिक दिनको स्मरणमा आयोजित यस विशेष समारोहमा म पुनः एकपटक नेपालको लोकतान्त्रिक आन्दोलनमा अमूल्य जीवन बलिदान गर्ने सम्पूर्ण अमर शहीदहरुप्रति हार्दिक श्रद्धासुमन अर्पण गर्दछु । मुलुकको सुशासन, विकास, समृद्धि र जनताको सुखको सुनिश्चितताको लागि प्रभावकारी शासन प्रणाली र सुव्यवस्थाको राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने अभियानमा एकजुट भई योगदान गर्न सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरुमा म हार्दिक आह्वान गर्दछु ।
धन्यवाद !