५ पुष २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

बुढानीलकण्ठ बैठकः अध्यादेशमा एकीकृत समाजवादीसँग सहयोग माग्ने



अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसका संस्थापन पक्षीय नेताहरूबीच छलफल भएको छ ।

पार्टीका राष्ट्रियसभा संसदीय दलका नेता कृष्णप्रसाद सिटौलाको पहलमा सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा नेताहरु छलफलमा जुटेका हुन् ।

अध्यादेश पास गर्न अपनाउन सकिने वैकल्पिक उपायबारे छलफल भएको बताइएको छ । जनता समाजवादी पार्टी (जसपा) नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले सरकारले ल्याएका अध्यादेश अस्वीकार गर्ने निर्णय गरेसँगै देखिएको समस्या समाधानबारे बैठकमा बहस भएको थियो ।

नेकपा (एकीकृत समाजवादी)लाई मनाएर राष्ट्रियसभाबाट अध्यादेश स्वीकृत गराउन पहल गर्ने निर्णय आजको छलफलमा भएको स्रोत बताउँछ ।

सत्तामा रहेको लोसपा र गठबन्धन सरकारलाई समर्थन गरेको जसपा नेपालले भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश–२०८१ अस्वीकार गर्ने निर्णय गरेका थिए ।

यी दुई दलबिना राष्ट्रियसभामा अध्यादेश निर्णयार्थ प्रस्तुत हुँदा स्वीकृत हुने सम्भावना नभएपछि कांग्रेसका राष्ट्रियसभा संसदीय दलका नेता सिटौलाको पहलमा संस्थापन पक्षीय नेताहरूले विकल्प खोजेर समस्या समाधानबारे कुराकानी गरेका हुन् ।

बैठकमा सभापति देउवासँगै नेता सिटौला उपसभापति पूर्णबहादुर खड्का, उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंह, गोपालमान श्रेष्ठ, बालकृष्ण खाण, डा. प्रकाशशरण महत र एनपी साउद सहभागी थिए ।

प्रमुख सत्तारुढ दल कांग्रेस भएकाले अध्यादेश अस्वीकृत हुँदा नैतिकताका प्रश्न उठ्ने भन्दै जसरी भए पनि पास गर्न कांग्रेसले पहल कदमी लिनुपर्ने कुरा बैठकमा उठेको थियो ।

जसको विकल्पमा माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादीलाई राष्ट्रियसभामा अध्यादेश पास गर्न सघाउन आग्रह गर्ने निर्णय गरिएको छ । यद्यपि, एकीकृत समाजवादी अध्यादेशको पक्ष–विपक्षमा रहे के गर्ने भन्ने आधिकारिक धारणा भने सार्वजनिक गरिएको छैन ।

एकीकृत समाजवादीसँग कांग्रेसले छलफल गर्नेछ ।
साथै, बैठकमा सरकार निर्माणका बेला भएको ७ बुँदे सहमति कार्यान्वयनको सन्दर्भमा पनि छलफल भएको थियो ।