१६ आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

श्रममन्त्री श्रेष्ठ आबुधावीमा, आज नेपाल-युएई संयुक्त समितिको वैठक हुँदै



अ+ अ-

आबुधावी । नेपाल र संयुक्त अरब इमिरेट्सको संयुक्त समिति वैठक आज यूएईको राजधानी आबुधावीमा हुँदैछ । नेपाल-युएई संयुक्त समितिको वैठक उद्घाटन सत्रमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ र युएईका मानव संशाधन मन्त्री डा अव्दुलरहमान अव्दुलमानन अल अवारले सम्बोधन गर्नुहुनेछ । उद्घाटन सत्रपछि सुरु हुने प्राविधिक समुहको वैठकमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व मन्त्रालयका सहसचिव राजीव पोखरेलले गर्नुहुनेछ । बैठकमा नेपाल र संयुक्त अरब इमिरेट्सबीच सन् २०१९ मा भएको श्रम-सम्झौता कार्यन्वयनबारे समीक्षा हुनेछ भने यसअघि भएको संयुक्त समितिको वैठकका निर्णय कार्यन्वयनको अवस्थाबारे पनि छलफल हुनेछ । वैठकमा वैदेशिक रोजगारीका लागि युएई जाने नेपाली श्रमिकको सामाजिक सुरक्षा, कार्यस्थल सुरक्षा, स्वास्थ्य र वीमाको व्यवस्था, सीप विकास, पारिश्रमिक वृद्धि लगायतका बिषयमा पनि छलफल हुनेछ ।  साथै पर्यटन भिसामा आएर अलपत्र परेका नेपालीहरुको समस्या समाधानबारे पनि वैठकमा छलफल हुनेछ । 

श्रममन्त्री श्रेष्ठ र युएईका समकक्षीबीच भेटवार्ता हुँदै

संयुक्त अरब इमिरेट्स (युएई) भ्रमणमा रहनुभएका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ र युएईका मानव संशाधन मन्त्री डा अव्दुलरहमान अव्दुलमानन अल अवारबीच आज भेटवार्ता हुँदैछ । भेटवार्ताको क्रममा नेपाली श्रमिकको सुरक्षा र हितका विभिन्न आयामबारे छलफल हुनेछ । सो अवसरमा मन्त्री श्रेष्ठले भिजिट भिसा र सोबाट सिर्जित समस्या समाधानका उपायहरूबारे आफ्ना समकक्षीसँग छलफल गर्नुहुनेछ । 

मन्त्री श्रेष्ठ नेतृत्वको टोली सोमबार युएईको राजधानी आबुधाबी आइपुगेको हो । आबुधाबी विमानस्थलमा मन्त्री श्रेष्ठ नेतृत्वको टोलीलाई संयुक्त अरव इमिरेट्स (यूएई)का लागि नेपाली राजदूत कृष्णप्रसाद ढकालले स्वागत गर्नुभएको थियो । बुधवार मन्त्री श्रेष्ठले आबुधावीस्थित नेपाली दूतावासमा नेपाली श्रमिकले भोगेका समस्या र समाधानबारे नेपाली समुदायसँग छलफल गर्नुहुनेछ ।