काठमाडौं । नेपालका महिला र पुरुष दुवै टिमले आज खोखो विश्वकपको उपाधिका लागि प्रतिस्पर्धा गर्दैछन् । भारतको नयाँदिल्लीमा भइरहेको पहिलो खो–खो विश्वकप प्रतियोगिताको फाइनलमा नेपालका महिला र पुरुष दुवै टिम पुगेका हुन् । कुनै पनि टिम गेममा नेपाल विश्वकपको फाइनल पुगेको यो पहिलो पटक हो । दुवै टिमले उपाधिका लागि आज भारतसँग प्रतिस्पर्धा गर्ने छन् ।
पुरुषतर्फ २० र महिलातर्फ १९ टिम सहभागी प्रतिस्पर्धामा नेपालका दुवै टिम फाइनलमा पुगेका हुन् । महिलातर्फको सेमिफाइनलमा युगान्डालाई पराजित गर्दै नेपालले फाइनल यात्रा तय गरेको हो । सरस्वती कडायतको कप्तानीमा उत्रेको नेपाली टिम ८९–१८ स्कोरमा विजयी भएको थियो । नेपाल अपराजित रहँदै फाइनल पुगेको हो । सेमिफाइनलमा नेपालकी पूजा ओड बेस्ट प्लेयर भइन् भने बेस्ट डिफेन्डर दीपा विक चुनिइन् । युगान्डाकी नागवा डोरोथी बेस्ट एट्याकर भइन् ।
त्यसैगरी नेपाली पुरुष टोलीले पनि सेमिफाइनलमा इरानलाई ७२–२० स्कोरमा पराजित गर्दै फाइनल पुगेको हो । हेमराज पनेरुको कप्तानीमा उत्रेको नेपाललाई उपाधिसामु पुर्याउन उत्कृष्ट प्रदर्शन गरेका जनक चन्द बेस्ट प्लेयर घोषित भए भने सुरज पुजाराले बेस्ट एट्याकरको ट्रफी पाए । इरानका मेहरब बेस्ट डिफेन्डर भए ।
नेपालले खो–खो खेलमा १२ र १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा पदक जितिसकेको छ ।
घरेलु भूमिमा सन् २०१९ मा भएको १३ औं सागमा नेपाली महिला टिमले खो–खोमा रजत जितेको थियो । त्यतिबेला भारतसँग १७–५ स्कोरले पराजित भएर नेपालले स्वर्ण गुमाएको थियो ।
नेपाललाई भारतसँग सागको बदला विश्वकपमा उसकै भूमिमा लिने अवसर छ । पुरुषतर्फ नेपाली टोली १३ औं सागमा बंगलादेशसँग २४–२३ ले पराजित भएर फाइनल पुग्नबाट वञ्चित भएको थियो । नेपालले विश्वकपमा बंगलादेशलाई क्वाटरफाइनलमै रोकेर बदला लिइसकेको छ ।
नेपालले सागमा श्रीलंकालाई १७–७ ले हराएर कांस्यमा चित्त बुझाएको थियो । स्वर्ण भने भारतले नै जितेको थियो । सन् २०१६ मा गुवाहाटीमा सम्पन्न १२ औं सागमा नेपालका महिला र पुरुष दुवै टिमले कांस्य जितेका थिए । त्यतिबेला पनि दुवै स्वर्ण भारतले जितेको थियो भने बंगलादेश रजतमा सीमित भएको थियो ।
खो–खो २०५२ सालमै राष्ट्रिय खेलकुद परिषद्मा दर्ता भएको खेल संघ हो । कीर्तिपुरस्थित कभर्डहलमा एक महिना बन्द प्रशिक्षणमारहेर नेपाली टोली विश्वकप खेल्न गएको हो ।