८ श्रावण २०८३, शुक्रबार
,
Latest
सरकारका गतिविधिका कारण न्यायिक स्वतन्त्रता जोखिममा रहेको अन्तर्राष्ट्रिय मानवअधिकारवादी संस्थाको दाबी प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर नगराएपछि रामारोशन गाउँपालिकाका निमित्त प्रमुखको आर्थिक तथा प्रशासनिक अधिकार मन्त्रालयद्वारा रद्द आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र कम्युनिस्टहरू सत्ता केन्द्रित हुँदा वैरीले दीर्घकालीन रणनीति बनाए : प्रचण्ड प्रचण्डको आह्वान– प्रतिक्रान्तिको प्रतिवाद गर्न वामपन्थीले साझा कार्यक्रम बनाउनुपर्छ शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री बाग्मती किनारका हटाइएका बस्ती क्षेत्रमा खुला पार्क, हरित क्षेत्र र पदमार्ग निर्माण गरिने दक्षिण–पूर्व एशियाका स्क्यामिङ सेन्टरबाट ८ सय ६० नेपालीको उद्धार, ४९ जना अझै कम्बोडियाको जेलमा ‘ट्राफिक व्यवस्थापनमा मेट्रो ट्राफिक एफएमको भूमिका प्रशंसनीय’ ट्राफिक एफएम १५ औँ वर्षमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

चिया बेचेरै मासिक एक लाख कमाउँछन् विनोद



अ+ अ-

बरहथवा, (सर्लाही) । सर्लाहीको लालबन्दीस्थित पूर्वपश्चिम राजमार्गसँगै तरकारी बजारको छेवैमा एउटा सानो ठेला उभ्याइएको छ । ठेलामाथि एक थान सिलिन्डर ग्यास, त्यसमा जोडिएको चुलो, दूधले टिलपिल भरिएको डेक्ची, चुलोमा निरन्तर चिया उमालेको ताप्के तथा छेवैमा केही थान गिलास राखिएका छन् । यो विगत १८ वर्षदेखिको दृश्य हो ।

सधैं चियाका पारखीको भीडले घेरिरहने चिया पसले हुन् विनोद साह । लालबन्दी नगरपालिका–९ का ४२ वर्षीय साहले चिया बेचेरै नाम, दाम र पहिचानसमेत बनाउनुभएको छ । बिहान ४ देखि अबेर साँझसम्म उहाँको चिया पसल चियाका पारखीले घेरिरहेको हुन्छ ।

“दैनिक सबेरै पसलमा आउँछु, साँझ ८ बजे मात्र पसल बन्द गरेर घर फर्कन्छु, विगत १८ वर्षदेखिको मेरो दैनिकी यही हो”, साहले भन्नुभयो– “कहिलेकाहीँ बिहान थोरै ढिला हुँदा पनि ग्राहकले गाली गर्नुहुन्छ ।” विसं २०५९ मा लालबन्दी नगरपालिकास्थित बस्तीपुरमामा रहेको जनज्योति माध्यामिक विद्यालयबाट एसएलसी उत्तीर्ण गर्नु पहिला नै उहाँले चिया पकाउनु सुरु गर्नुभएको थियो । रौतहटको दुर्गा भगवतीपुर गाउँपालिका–५ पुख्र्यौली घर भएको साह परिवार बागमतीको बाढीले घरखेत बगाएपछि लालबन्दी बसाइँ सरेको हो । हाल बसोबास रहेको स्थान साहको मामाघर हो ।

“घरखेत बागमतीको बाढीले बगाएपछि मामाघरका हजुरबुबाले आमाबुबालाई यतै बोलाउनुभयो”, उहाँले भन्नुभयो, “त्यसपछि आमाबुबाले हरियो मकै पोलेर, बदाम भुटेर बेच्ने र त्यसबाट आएको पैसाले परिवारको गुजारा गर्नुहुन्थ्यो ।”

आमाबुबालाई सघाउँदासघाउँदै परिवारका लागि आफूले पनि केही गर्नुपर्छ भनेर चिया बेच्न सुरु गरेको साहले बताउनुभयो । “ज्योतिषले हात हेर्दा होटल व्यवसाय फाप्छ भनेका थिए”, उहाँले भन्नुभयो, “होटल खोल्न परिवारसँग पैसा थिएन । धेरथोर ऋण गरेर चिया व्यापार सुरु गरेँ ।” यसैबाट परिवारको गुजारासँगै घरबास जोडेको उहाँले बताउनुभयो । साहले बिहान सबेरैदेखि राति अबेरसम्म दैनिक झण्डै तीन सय कप चिया बेच्ने गरेको सुनाउनुभयो । त्यसबाट उहाँले दैनिक रु छ हजारसम्मको कारोबार गर्नुहुन्छ ।

चियाका लागि दैनिक डेरीबाट ४० देखि ५० लिटर दूध किनेर ल्याउने गरेको साहले बताउनुभयो । “प्रतिलिटर दूधको रु ९० तिर्नुपर्छ”, उहाँले भन्नुभयो, “एक कप चिया रु २० मा बेच्छु ।” उहाँका अनुसार पसलमा आउने धेरै ग्राहक नियमित रुपमा आउने गरेका छन् । चिया बेचेरै आफूले लालबन्दीमा १५ धुर घडेरी किनेर एकतले पक्की घर बनाएको साहले सुनाउनुभयो ।

“त्यतिबेला घडेरी किन्दा रु एक लाख तिरेँ”, उहाँले सुनाउनुभयो, “विस्तारै विस्तारै गरेर रु ३५ लाख खर्च गरेर घर बनाएको छु । दुई छोरा र एक छोरीलाई बोर्डिङ स्कुलमा पढाए । खान लगाउन अहिलेसम्म समस्या भएको छैन ।” महिनामा रु एक लाख ५० हजारभन्दा बढीको कारोबार हुने गरेको उहाँको भनाइ छ । सुरुमा एक वर्ष चिया पसल चलाउँदा उधारो भएर घाटा लागेको साहको अनुभव छ । त्यसयता उहाँले फेरि जीवन गुजाराको विकल्प सोच्नुपरेको छैन । चिया पसलबाट पैसाका साथै साथीभाइ र नाम कमाएको साहको भनाइ छ । साथीभाइकै सहयोगमा पाँच महिना अघि उहाँले छोरालाई उच्च शिक्षा अध्ययनका लागि जर्मनी पठाउनुएको छ ।

साहका अनुसार कान्छो छोरा कक्षा ११ मा र छोरी कक्षा १० मा बोर्डिङ स्कुलमा पढिरहेका छन् । चिया व्यापारकै कारण अन्य व्यापार, जागिर र वैदेशिक रोजगारका बारेमा सोच्न नसकेको उहाँ बताउनुहुन्छ । लालबन्दी साहको मावली गाउँ भएकाले सबैले उहाँलाई भान्जा भनेर सम्बोधन गर्छन । उहाँ पनि चिया खान आउने साना ठूला सबैलाई मामा भनेर सम्बोधन गर्नुहुन्छ । त्यसैले साहको चिया पसल लालबन्दीभरि ‘भान्जाको चिया पसल’का नामले परिचित छ । रासस




भर्खरै