७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar शान्ति स्थापनामा नेपालको योगदान निरन्तर रहनेछ : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीः पातारासीका १५ जनाको सामूहिक अन्त्येष्टि News Polar चाँडो शिक्षा नियमावलीको ११ औं संशोधन टुङ्ग्याउन शिक्षामन्त्रीको निर्देशन News Polar देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन News Polar मधेस प्रदेशद्वारा प्रहरीलाई ३५ थान मोटरसाइकल हस्तान्तरण News Polar साउदी अरबको ९६औँ राष्ट्रिय दिवस मनाइयो News Polar मौसममा उच्च सतर्कता, कार्यवाहक प्रधानमन्त्री वाग्लेले लिए पूर्वतयारीबारे जानकारी News Polar हिमालय टेलिभिजनका पत्रकार अर्याल र पोखरेलसहित चार जनालाई हेम-सुनिल जोखिमपूर्ण पत्रकारिता पुरस्कार News Polar प्रधानमन्त्री शाह न्यूयोर्कमा News Polar फ्लाई दुबईको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण News Polar आर्थिक विकासमा लघु, घरेलु तथा साना उद्योगको विकास अपरिहार्य: अर्थमन्त्री डा वाग्ले News Polar पत्रकारिताको व्यावसायिकता र संस्थागत गरिमा जोगाउन आत्मसमीक्षा आवश्यक छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ‘सीप तथा रोजगार मेला’मा भाग लिने प्रत्येक युवाले आफ्नो भविष्यको स्पष्ट मार्गचित्र भेट्टाउन सकोस् भन्ने उद्देश्य हो – युवा,श्रम तथा रोजगार मन्त्री यादव News Polar कार्यवाहक प्रधानमन्त्री वाग्ले र कृषि मन्त्री चौधरीबीच भेटवार्ता News Polar मन्त्री बादी र आइएफआरसी क्षेत्रीय निर्देशकबीच भेट News Polar बिपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने News Polar कांग्रेसका ५१२ पालिकामा अधिवेशन, बाँकी २४१ मा असोज ८ र ९ गते जारी रहने News Polar १८ वर्ष नपुगेकालाई कांग्रेसको सदस्यता नदिइने, सुजल चापागाईँको क्षेत्रीय प्रतिनिधि जिम्मेवारी स्थगित News Polar अध्यक्षमाथि मात्रै दोष नथोपरी एमाले एकढिक्का भएर चुनावमा जानुपर्छ : सूर्य थापा News Polar एमाले एकढिक्का भएर सरकारका गलत कामविरुद्ध उभिनुपर्छ : बडाल

पृथ्वीजयन्तीमा ‘पृथ्वीनारायण शाह’ पुस्तक

पृथ्वीजयन्तीमा ‘पृथ्वीनारायण शाह’ पुस्तक
अ+ अ-

काठमाडौं: नेपाली इतिहास, संस्कृति र पुरातत्वका विविध क्षेत्रको अनुसन्धानमा सक्रिय विद्वान् महेशराज पन्तले पृथ्वीनारायण शाहबारे पुस्तक तयार पारेका छन् । पुस्तक पब्लिकेसन नेपालयबाट यही पुस २७ मा पृथ्वी जयन्तीका दिन बजारमा आउनेछ ।

नेपालको आधुनिक इतिहास निर्माण गर्ने श्रेय पाएका राजा पृथ्वीनारायण शाहका कदम एवं भूमिकाबारे विभिन्न पाटोबाट चर्चा परिचर्चा चलिरहेकै छ । इतिहास उत्खनन र त्यसको तथ्यसंगत पुनर्लेखनमा राणाकालदेखि नै सक्रिय मुलुककै अग्रणी संस्था संशोधन मण्डललाई नेतृत्व दिँदैआएका पन्तले यो पुस्तक तयार पारेका हुन् । यसमा पन्तले झण्डै आधा शताब्दी लगाएर पृथ्वीनारायण शाहबारे गरेका खोजी अटाएका छन् । पन्तले २०२९ सालदेखि २०७६ सालसम्म पृथ्वीनारायण शाह र उनको काम वरिपरि रहेर लेखेका थुप्रै आलेखबाट छनौट गरिएका ११ लेखको विस्तारित–परिमार्जित–अनूदित रूप पुस्तकमा समेटिएको छ ।

पिता प्राज्ञ नयराज पन्तद्वारा स्थापित संस्था ‘संशोधन मण्डल’को पाठशालामा संस्कृत भाषा र वाङ्मय अनि नेपालको इतिहास अनुसन्धानका लागि आवश्यक विद्या आर्जन गरेका पन्त हाल त्यसै संस्थाका अध्यक्ष छन् । पछि उनले जर्मनीको ह्याम्बर्ग विश्वविद्यालयबाट इन्डोलजीमा विद्यावारिधि गरे । जर्मनी र भारतबाट एक–एकवटा पुस्तकसहित उनका हालसम्म अठारवटा पुस्तक र आठ सयजति अनुसन्धानमूलक लेख प्रकाशित छन् । नेपाल–जर्मन हस्तलिखित ग्रन्थ संरक्षण परियोजनामा लामो समय काम गरेका पन्तले जर्मनीका विभिन्न विश्वविद्यालयमा शोध अध्यापन तथा फ्रान्सको ‘सेन्टर फर साइन्टिफिक रिसर्च’मार्फत शोध गरेका छन् । पन्त इतिहासप्रधान त्रैमासिक जर्नल ‘पूर्णिमा’को स्थापनादेखि हालसम्मकै सम्पादक पनि हुन् । वि.सं. २०२१ देखियता यी ६० वर्षसम्म उनी ‘पूर्णिमा’को निरन्तर सम्पादक छन् ।

नेपालको आधुनिक इतिहास पृथ्वीनारायण शाहबाटै सुरु हुने भएकाले उनको कामलाई नबुझी नेपाल बुझ्न नसकिने पन्तको ठहर छ ।

‘पृथ्वीनारायण शाहको समयका आधिकारिक सामग्रीको परिशीलन गरी पृथ्वीनारायण शाहबारे चल्दैआएका विभिन्न भ्रम चिर्दै वस्तुस्थिति खोतल्ने काम यस पुस्तकमा गरिएको छ,’ ऐतिहासिक पन्त भन्छन्, ‘यतिबेला यस विषयमा धेरै चासो रहे तापनि तात्कालिक सामग्रीका अनुशीलनको अभाव भएकाले मैले यसलाई पुस्तकाकार दिने निधो गरेको हुँ ।’

‘पृथ्वीनारायण शाहमा ‘इतिहासको चेतना’, ‘पृथ्वीनारायण शाह पहिले नायक, अनि प्रतिनायक, अहिले नायकदेशीय’, ‘एकीकरण दिवस कहिले ?’, ‘के पृथ्वीनारायण शाहको उपदेश नकली हो ?’, ‘पृथ्वीनारायण शाहको उपदेशको औचित्य’, ‘आज्ञापत्र, उपदेश र राजविधानसार’, ‘जर्ज किन्लकको डायरी’, ‘पृथ्वीनारायण शाहले कीर्तिपुरेहरूका नाक काटे कि काटेनन् ?’, ‘नाकाबन्दी र पृथ्वीनारायण शाह’, ‘काठमाडौंमा द्यौभाजू र पृथ्वीनारायण शाह’, ‘भक्तपुर विजयको प्रत्यक्ष वर्णन’ जस्ता शीर्षक पुस्तकमा छन् । यसबाहेक पृथ्वीनारायण शाहले आफू दिवंगत हुनु केहीअघि आफ्ना भाइभारदारबीच नुवाकोट दरबारमा गरेको भाषण अर्थात् चल्तीको भाषामा दिव्योपदेशको सम्पूर्ण पानाको फोटो तथा पूर्णपाठ पनि पुस्तकमा समेटिएको छ ।

‘पब्लिकेशन नेपालय २० वर्ष पुगेको सुखद् अवसरमा हामी नयाँनयाँ योजनामा छौं,’ नेपालयका टिम लिडर किरणकृष्ण श्रेष्ठ भन्छन्, ‘यस क्रममा हरेक विधाका खासखास अध्येताहरूसँग सहकार्य बढाउँदै पाठकहरूसम्म पुग्ने लक्ष्य लिइएको छ ।’

पब्लिकेसन नेपालय दुई दशक पुगेको अवसरमा हरेक अंग्रेजी महिनाको दोस्रो शनिबार पुस्तक लोकार्पण अथवा चर्चापरिचर्चा गर्ने उद्देश्य पब्लिकेसनले लिएको छ । जनवरी महिनाको दोस्रो शनिबार पृथ्वी जयन्तीसमेत परेको  हुँदा त्यसै दिनदेखि यस पुस्तकलाई बजारमा उपलब्ध गराइने योजना रहेको श्रेष्ठ बताउँछन् ।

‘नेपालको इतिहासका धेरै तथ्य बाहिर ल्याएको संशोधन मण्डलका अध्यक्ष ऐतिहासिक महेशराज पन्तको यस पुस्तकले पृथ्वीनारायण शाहबारेका धेरै भ्रम र यथार्थ पर्गेल्छ,’ पब्लिकेसन नेपालयका सम्पादक विमल आचार्य भन्छन्, ‘इतिहास अध्येता तथा नयाँ पुस्ताका लागि सजिलो होस् भनेर पृथ्वीनारायण शाहको उपदेशको सम्पूर्ण फोटोसहित पूर्णपाठ पनि पुस्तकमा समाविष्ट छ ।’

एक सय ३३ पृष्ठको पुस्तकलाई चार सय ९५ रुपैयाँ मूल्य तोकिएको छ । पर्सि शनिबार पुस २७ अर्थात् पृथ्वी जयन्तीका दिन देखि पुस्तक देशभरका पुस्तक पसल तथा थुप्रैडटकम www.thuprai.com बाट खरिद गर्न सकिने छ । त्यस दिन पश्चात विश्वभरका पाठकहरुले पनि अमेजनबाट सोझै पुस्तक खरिद गर्न सक्ने छन् ।