११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार News Polar पितृपक्ष (सोह्र श्राद्ध) सुरुः आज प्रतिपदा तिथि श्राद्ध News Polar मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह News Polar पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता News Polar वडा कार्यालयबाट मालपोत कर तिर्ने व्यवस्था लागू News Polar जर्मनीमा बस दुर्घटनामा दुई फिलिपिनी पर्यटकको मृत्यु News Polar भारतमा बाढी–पहिरोमा ५६ जनाको मृत्यु, उत्तर प्रदेश सबैभन्दा प्रभावित News Polar संकटको बेला जुनसुकै नियतले फैलाइने भ्रामक प्रचार पूर्ण रूपमा अस्वीकार्य: प्रधानमन्त्री वालेन्द्र शाह News Polar चाडपर्व नजिकिँदै गर्दा सहुलियत दरमा चामल बिक्री News Polar कोरला सडक पूर्ण रूपमा अवरुद्ध News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छः पर्यटनमन्त्री News Polar मुख्यमन्त्री थापाद्वारा शङ्खधर साख्वा सङ्ग्रहालयको अवलोकन News Polar फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन News Polar बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा News Polar ‘सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण’ News Polar चोलेन्द्र पक्राउ प्रकरण: भोलि सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने

बढ्दो मानव–हात्ती द्वन्द्वः २० वर्षमा दुई सय ७४ जनाको मृत्यु

बढ्दो मानव–हात्ती द्वन्द्वः २० वर्षमा दुई सय ७४ जनाको मृत्यु
अ अ+ अ-

काठमाडौँ । पछिल्लो समय वन्यजन्तुको सङ्ख्यामा वृद्धि तथा बासस्थानमा भएको क्षयीकरण एवं सङ्कुचनले गर्दा वन्यजन्तु आफ्नो बासस्थान छाडी गाउँबस्तीमा पस्ने गरेका छन् । यसबाट संरक्षित क्षेत्रभित्र तथा यसको वरिपरि बसोबास गर्ने समुदायको वन्यजन्तुबाट मानवीय तथा आर्थिक क्षति हुँदै आएको छ ।

हात्ती, बाघ, गैँडा, हिउँ चितुवा, हिमाली कालो भालु, काठे भालु, बाँदरलगायत वन्यजन्तुको आक्रमणबाट मानवीय क्षति (मृत्यु तथा घाइते) बालीनाली, घर, गोठको क्षति हुने गरेको छ । यो अवस्थामा मानव–वन्यजन्तु द्वन्द्व एक टड्कारो समस्याका रूपमा बढ्दै गएको छ ।

आर्थिक वर्ष २०७९/०८० मा मात्र नेपालभर वन्यजन्तुबाट मृत्यु हुने मानिसको सङ्ख्या ३९, सामान्य घाइते सङ्ख्या ७२ र सख्त घाइते हुनेको सङ्ख्या एक सय २४, घरगोठको क्षति पाँच सय ३१ रहेको छ । वन तथा वातावरण मन्त्रालयको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका अनुसार सबैभन्दा बढी हात्ती र त्यसपछि बाघको आक्रमणबाट मानिसको मृन्यु हुने गरेको तथ्याङ्क छ ।

विगत २० वर्षमा मात्रै नेपालमा ११ हजारभन्दा बढी मानव–हात्ती द्वन्द्वका घटना रेकर्ड गरिएका छन् । यी घटनामा दुई सय ७४ जनाको मृत्यु भएको छ भने एक सय ३८ जना घाइते भएका देखिन्छ । विशेषगरी झापालगायत पूर्वी क्षेत्रमा मानव–हात्ती द्वन्द्व ठूलो समस्यामा रूपमा देखिएपछि वन मन्त्रालयले प्राथमिकता दिएर न्यूनीकरणका लागि विभिन्न कार्यक्रमसमेत गर्दै आएको छ ।

मङ्गलबार मात्रै वनमन्त्री ऐनबहादुर शाही ठकुरीले झापा पुगेर मानव–हात्ती द्वन्द्व समाधानका लागि छुट्टै कार्यविधि ल्याउने बताउनुभयो । सुदूरपूर्वी झापाको हात्ती प्रभावित क्षेत्र मेचीनगरमा सरोकारवालाले बुझाएको मागपत्र ग्रहण गर्दै उहाँले मानव–हात्ती द्वन्द्वबाट उत्पन्न समस्या समाधानका लागि छुट्टै कार्यविधि बनाइने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । उहाँले कानुनी बाधा अड्चन फुकाएर भए पनि स्थानीय प्रभावित समुदायका माग र सुझावलाई कार्यान्वयन गर्ने उल्लेख गर्नुभएको थियो ।

सोही कार्यक्रममा झापा निर्वाचन क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य एवं नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मासहित सर्वपक्षीय छलफल गरी मानव–हात्ती द्वन्द्व समाधानका लागि १४ बुँदे साझा निष्कर्षसमेत निकालिएको थियो ।

महामन्त्री शर्माले झापामा हात्ती प्रभावित क्षेत्रका जनप्रतिनिधि र सरोकारवालाबीच पहिलो पटक साझा धारणा बनेको उल्लेख गर्दै मानव र हात्तीबीच सहअस्तित्व कायम गरेर समस्याको समाधान खोज्न सरकारलाई ध्यानाकर्षण गराउनुभएको थियो । मन्त्री ठकुरीसहितको टोलीले मेचीनगरको बाहुनडाँगीस्थित भारतबाट हात्ती प्रवेश गर्ने सीमावर्ती क्षेत्र र स्थानीय सामुदायिक वनको निरीक्षणसमेत गरेको थियो ।

हात्ती रोक्न ९२ किलोमिटर विद्युतीय तारबार

मानव–हात्ती द्वन्द्वलाई कम गर्न सरकारले केही महत्वपूर्ण कदम चालेकोसमेत छ । विभागका अनुसार आर्थिक वर्ष २०७१÷७२ देखि हालसम्म झापामा करिब ९२ किलोमिटर विद्युतीय तारबार जडान गरिएको छ । यस कार्यमा करिब रू ११ करोड खर्च भएको छ । त्यस्तै मानव–हात्ती सह–अस्तित्व बलियो बनाउने सचेतना कार्यक्रम पनि सञ्चालन गरेको विभागका महानिर्देशक डा रामचन्द्र कँडेलले जानकारी दिनुभयो ।

मानव–हात्ती द्वन्द्व कम गर्न लगाएको तारबारको उचित मर्मत सुधार गरी हात्तीलाई बस्तीमा पस्नबाट रोक्ने, अतिप्रभावित क्षेत्रमा थप विद्युतीय तारबार गर्नुपर्ने, हात्ती धपाउनका लागि आवश्यकपर्ने उचित गाडी, ट्र्याक्टरको व्यवस्था गर्नुपर्ने, समस्याग्रस्त हात्तीको पहिचानगरी र तीनको व्यवस्थापन गर्नुपर्ने उहाँको सुझाव छ ।

त्यस्तै हात्ती पर्यटनमा जोड दिने, हात्तीले नखाने चिया, कागती, ल्वाङ, सुपारी, बेसार आदिको खेतीपाती प्रणालीको सुरू गर्ने, पीडितलाई आर्थिक सहुलियत दिनुपर्ने महानिर्देशक डा कँडेलले बताउनुभयो ।

विश्वमा दुई प्रजातिका हात्ती पाइन्छन् । एसियाली र अफ्रिकी हात्ती । एसियाली हात्ती नेपाल, भारत, भुटानलगायत १३ राष्ट्रमा पाइन्छन् । र तिनको सङ्ख्या हाल करिब ५० हजारको हाराहारीमा रहेको बताइन्छ । विश्व संरक्षण सङ्घले हात्तीलाई सङ्कटापन्न प्रजातिको सूचीमा राखेको छ । नेपालले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ अन्तर्गत हात्तीलाई अनुसूची–१ मा राखेर यसको संरक्षणमा विशेष ध्यान दिइएको छ ।

चुरे तराई क्षेत्रको करिब १३ हजार वर्ग किलोमिटर क्षेत्र हात्तीको बासस्थानका लागि उपयुक्त मानिन्छ । यद्यपि, विगत ९० वर्षमा करिब २२ प्रतिशत बासस्थान विनाश भएको तथ्यले यो क्षेत्र हात्तीका लागि कम सुरक्षित हुँदै गएको बताइएको छ । मानव र हात्ती दुवैलाई पर्ने क्षतिलाई कम गर्न सरकारले विभिन्न पहलहरू गर्दै आएको छ ।

हात्तीकै विषयमा विद्यावारिधि गर्नुभएका बर्दिया राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत डा अशोक रामका अनुसार तराईका रूपन्देही र पश्चिमी नवलपरासीबाहेक सबै जिल्लामा हात्ती पाइन्छ । “परापूर्वकालदेखि नै हात्तीको ओहोरदोहर गर्ने हात्तीमार्गमा हाल बस्ती र खेती भएकाले त्यस्ता स्थानमा बेलाबेलामा हात्तीसँग मानिसको द्वन्द्व हुने गर्छ । साथै मानिस र हात्तीले एउटै बासस्थान र आहार प्रयोग गर्ने गरेकाले पनि यो समस्या देखिएको हो”, डा रामले भन्नुभयो । बासस्थान विनाश हुनु र खण्डीकरण हुनु मानव–हात्ती द्वन्द्वको मुख्य कारण बनेको उहाँको भनाइ छ ।

बढ्दो मानव–हात्ती द्वन्द्व र कतिपय स्थानमा मानव बस्ती सुरक्षाका लागि भनेर राखिएका तारबाट करेन्ट लागेर हात्ती मर्ने गरेका छन् । त्यस्तै बासस्थानको क्षयीकरण र अतिक्रमण, हात्तीमार्गमा मानवबस्ती विस्तार, पूर्वाधार विकास निर्माणका कारण चोरी सिकारी मुख्य चुनौती देखिएका छन् ।

जङ्गली हात्ती पाँच सय, निजी हात्ती एक सय ७०

वरिष्ठ संरक्षण अधिकृत डा रामका अनुसार सन् २०२० को गणनाअनुसार नेपालमा जङ्गली रैथाने करिब दुई सय २७, ९हाल झापामा पश्चिम बङ्गालबाट आई स्थायी रूपमा बस्न थालेका ५० थप० हात्ती रहेका छन् । यस्तै भारतबाट सिजनमा झापा र आसपास क्षेत्रमा एक सय, बर्दियामा ५०, कैलाली र कञ्चनपुरमा ७० को हाराहारीमा जङ्गली हात्ती आउने र केही समय बसेर जाने गरेको उहाँले बताउनुभयो ।

यसबाहेक नेपालमा घरपालुवा एक सय ७० (सरकारी एक सय १० र निजी ६०) को सङ्ख्यामा हात्ती छन् । हात्तीको गर्भावस्था २२ देखि २४ महिनाको हुन्छ । घरपालुवा हात्ती कोसी टप्पु वन्यजन्तु आरक्ष, चितवन राष्ट्रिय निकुञ्ज, पर्सा राष्ट्रिय निकुञ्ज, बाँके राष्ट्रिय निकुञ्ज, बर्दिया राष्ट्रिय निकुञ्ज र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा रहेका छन् । चितनवमा हात्तीको प्रजनन केन्द्र सफल रूपमा सञ्चालित छ ।

द्वन्द्वका कारण हुने मानवीय क्षतिलाई सम्बोधन गर्न सरकारले राहत प्रदान गर्ने व्यवस्था गरेको छ । मानव मृत्यु भएमा पीडित परिवारलाई रु १० लाखसम्म राहत प्रदान गरिन्छ । गम्भीर घाइते भएमा दुई लाख, सामान्य घाइते भएमा २० हजार र अङ्गभङ्ग भएमा रु पाँच लाखको राहत उपलब्ध गराइन्छ ।

त्यस्तै, घरगोठ क्षतिका लागि रु २० हजार र अन्नबाली क्षतिका लागि रु १० हजार राहत दिने कानुनी प्रावधान छ । झापामा मात्र विगत पाँच वर्षमा आठ सय ८४ घटना दर्ता भएका छन्, जसमा सरकारले करिब रु चार करोड तीन लाख राहतस्वरूप वितरण गरेको विभागको तथ्याङ्क छ ।

हात्ती जमिनमा पाइने सबैभन्दा ठूलो जनावर हो । हात्तीलाई हिन्दू धर्ममा भगवान्का रूपमा पूजा गर्ने गरिन्छ । विश्वका ५० देशमा हात्ती पाइए पनि दुर्लभ र लोपोन्मुख भएकाले नेपालको कानुनअनुसार हात्ती संरक्षित जनावरमा रहेको छ । सरकारले घरपालुवा हात्ती प्रयोग गरेर जङ्गली हात्ती र अन्य वन्यजन्तुको संरक्षण गर्दै आएको छ भने पर्यटन प्रवद्र्धनमा पनि हात्तीको ठूलो योगदान रहेको छ । भीष्मराज ओझा/रासस