२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
काठमाडौँ महानगरद्वारा सहकारी संस्थाले बहालमा लिएका घर/कोठा तथा फ्ल्याट १५ दिनभित्र खाली गर्न निर्देशन मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण मधेश प्रदेशका अर्थमन्त्रीसँग नाडाको भेटवार्ता, अटोमोटिभ क्षेत्रका नीतिगत विषयमा केन्द्रित छलफल ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय… सुनचाँदीको मूल्यमा सामान्य गिरावट, सुन तोलामा २०० र चाँदी ८५ रुपैयाँ घट्यो मुलुकमा प्रणालीगत सुधारका लागि समयसापेक्ष परिवर्तन र युवा नेतृत्वको आवश्यकतामा विज्ञहरूको जोड जातीय विभेद अन्त्यका लागि चेतना र समान व्यवहार आवश्यक छ : नेता आङदेम्बे रोल्पामा बोलेरो जिप दुर्घटना : ३ जनाको मृत्यु जातीय भेदभाव र छुवाछुत उन्मूलनका लागि संसद प्रतिवद्ध छः सभामुख अर्याल औषधि आपूर्ति सुधारमा मन्त्रालय–विभाग छलफल, विवरण उपलब्ध गराउन निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

तरकारीखेतीको आम्दानीबाट जीविकोपार्जन गर्दै कुशाहाका दलित समुदाय



अ+ अ-

राजविराज । सप्तरीको सुरुङ्गा नगरपालिका–५ स्थित कुशाहाका पबितार पासवानले पाँच वर्षदेखि व्यावसायिक तरकारीखेती गर्दै आउनुभएको छ । उहाँले तरकारीखेतीबाट परिवारको जीविकोपार्जन मात्र होइन, मनग्य आम्दानी पनि गर्दै आउनुभएको छ ।

“आजभोलि तरकारी टिप्ने, बजारसम्म लैजाने र बिक्री गर्ने कामका निकै व्यस्त हुन्छु । परिवारका सबैजना यही काममा लागिपरेका छौँ”, खेतमा गोलभेँडा गोडमेल गर्दै गर्नुभएका पबितारले भन्नुभयो, “वर्षको तीन यामसम्म तरकारी लाउने गरेको छु । यसबाट वार्षिक रु एक–डेढ लाख आम्दानी हुने गरेको छ ।” उहाँले आफ्नो स्वामित्वमा रहेको दुई कठ्ठा तथा लिजमा लिएर चार कठ्ठा जमिनमा तरकारीखेती गरिरहेको बताउनुभयो ।

पबितारले यस वर्षमात्र दुई क्विन्टल काउलीबाट मात्र रु ६० हजार आम्दानी गर्नुभयो भने अहिले खेतमा गोलभेँडा लगाउनुभएको छ । उहाँजस्तै सोही ठाउँका चलितर पासवानले पनि तरकारीखेती गरेर नियमित आम्दानी गर्दै आउनुभएको छ । तरकारीखेतीको आम्दानीबाट आफ्नो १२ जनाको परिवारको जीविकोपार्जन भइरहेको उहाँले बताउनुभयो । गोलभेँडा, काउली, झिङ्नी, बोडीलगायत तरकारी लगाउने गरेको उहाँले जानकारी दिनुभयो ।

पबितार, चलितरजस्तै यस गाउँका अधिकांश विपन्न दलित परिवारको तरकारीखेतीबाट जीवतस्तर उकासिएको छ । उनीहरूले ‘बिर्धना कृषिक समूह’ गठन गरेका छन् । विभिन्न सङ्घसंस्था तथा स्थानीय निकायबाट संस्थागत रूपमा उनीहरूले सहयोग लिने गरेका छन् । उक्त कृषि समूहमा अहिले १६ जना सदस्य छन् ।

यहाँका गरिब तथा विपन्न दलित समुदायलाई तरकारीखेतीतर्फ आकर्षित गर्ने काम सबल नेपालले गरेको हो । किसानलाई खेतीसम्बन्धी तालिम, उपयुक्त बीउबिजन, नयाँ कृषि प्राविधिक सामग्री, मल्चिङ प्रविधि सहयोग गर्दै आएको कार्यक्रमका सुपरभाइजर अशोककुमार साहले बताउनुभयो । उहाँले नगरपालिकासँग समन्वय गरेर आफूहरूले कृषि, शिक्षा, बालबालिकाको क्षेत्रमा निरन्तर काम गर्दै आएको जानकारी दिनुभयो ।

किसानले गरेको तरकारीखेतीको प्रभावकारिता, समस्या, चुनौती तथा समाधानका उपायको पनि संस्थाले पहिचान गर्ने गरेको जनाइएको छ । तरकारीखेतीले विपन्न दलित समुदायको जीवनस्तर नै बदलिएको भन्दै नगरपालिकाका कृषि शाखा प्रमुख रोशन चौधरीले आगामी दिनमा संस्थाले कार्यक्रम छाडेको अवस्थामा पनि नगरपालिकाले किसानलाई आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । रासस




भर्खरै