१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar म्याग्दीमा प्रसारण लाइन मर्मत सुरु News Polar तटबन्धले जोगायो गैँडाकोटको बस्ती News Polar नेपाली क्रिकेट टोली जापानबाट स्वदेश फिर्ता News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar कालीगण्डकीको भेलले बगाएको फर्सेवासीको सपना News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar गोकर्णेश्वर–४ का महाधिवेशन प्रतिनिधि उम्मेदवार श्रेष्ठद्वारा कांग्रेसको निर्वाचन प्रक्रिया छानबिन गर्न माग News Polar पोर्चुगलमा एनआरएनए राष्ट्रिय समन्वय परिषद्को कार्यालय सञ्चालनमा आउने News Polar कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशनः तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न News Polar बाँध भत्किएपछि जलेश्वर जलमग्न News Polar भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय समितिको कार्यविधि पारित News Polar कोरला सडक अवरुद्ध हुँदा भन्सारमा १५० बढी कन्टेनर रोकिए News Polar ३५ वर्षीया युवा महिला नेतृ बसन्ती भाट कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्विरोध News Polar नेपाल टेलिकमले ल्यायो भर्चुअल सेट–टप बक्स News Polar नापी कार्यालय कलङ्कीका सर्भेक्षक श्रेष्ठविरुद्ध चार करोड ७४ लाखको बिगोसहित आरोपपत्र News Polar क्यान-११ सँग भुटानको राष्ट्रिय क्रिकेट टोली पराजित News Polar सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति News Polar करेन्ट लागेर गम्भीर घाइते भएका तामाङलाई १७ लाख ७८ हजार क्षतिपूर्ति News Polar दुग्ध विकास संस्थानले किसान भुक्तानी अवधि एक महिनामा झार्‍यो News Polar फिर्के खोलाको खोलाघरभित्रका संरचना हटाउन थालियो

कीर्तिपुरमा विकास र सुशासनका मुद्दासहित चुनाव प्रचार तीव्र

कीर्तिपुरमा विकास र सुशासनका मुद्दासहित चुनाव प्रचार तीव्र
अ अ+ अ-

कीर्तिपुर । स्थानीय तहको उपनिर्वाचन नजिकिएसँगै कीर्तिपुर नगरपालिकामा प्रचार–प्रसार तीव्र रुपमा अघि बढेको छ । राजनीतिक पार्टीसम्बद्ध उम्मेदवारहरू पार्टीको झण्डा र ब्यानरसहित जनताको घरदैलो पुगी आफ्नो पक्षमा मत माग्न व्यस्त देखिन्छन् ।

यसैगरी, स्वतन्त्र उम्मेदवारहरू पनि राजनीतिक पार्टीहरू असफल भएको भन्दै विकल्पका रूपमा साथ दिन जनतासँग अनुरोध गर्दैै दौडधुप गरिहेका भेटिन्छन् । कीर्तिपुर नगरपालिकामा प्रमुख र दुईवटा वडाअध्यक्षका लागि चुनाव हुन लागेकाले अन्य विषयवस्तु ओझेल पर्नेगरी चुनावी सभा र घरदैलो अभियानले यतिबेला कीर्तिपुरको राजनीतिक माहोल तातिएको अवस्था छ ।

यही मङ्सिर १६ गते हुन गइरहेको उपनिर्वाचनअन्तर्गत कीर्तिपुर नगरपालिकाको प्रमुखमा राजनीतिक दलका आठ र स्वतन्त्र १२ गरी २० जनाले उम्मेदवारी दिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

नेपाली कांग्रेसबाट उम्मेदवारी दिनुभएका कृष्णमान डङ्गोल हाल घरदैलो अभियानमा व्यस्त हुनुहुन्छ । रासससँग कुरा गर्दै उहाँले कीर्तिपुरको विकास र सम्पदा संरक्षण आफ्नो मुख्य मुद्दा भएको बताउनुभयो । “कीर्तिपुरका सम्पदा संरक्षण गर्दै विकास कार्य अघि बढाउँछु, यसो गर्दा कीर्तिपुरलाई सांस्कृतिक सहरमा परिणत गर्न सकिन्छ भन्ने विश्वास छ”, उहाँको भनाइ छ । आर्थिक अभावका कारण कोही पनि बालबालिकालाई विद्यालय जानबाट वञ्चित हुन नदिने र विद्यालयमा प्राविधिक शिक्षा अघि बढाउने आफूसँग स्पष्ट योजना रहेको उहाँले बताउनुभयो ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का नगरप्रमुखका उम्मेदवार डा सुरेन्द्र मानन्धर आमजनतासँग जोडिएको विकास निर्माणसँग सम्बन्धित प्रक्रिया अघि बढाउँदा स्थानीय जनताको भावना र विषयविज्ञका रायसुझावसहित जनता केन्द्रित कार्यक्रमले प्राथमिकता पाउनुपर्छ भन्ने पक्षमा आफू रहेको स्पष्ट गर्नुभयो । “कीर्तिपुरलाई कीर्तिपुरकै सांस्कृतिक र प्राकृतिक सम्पदाहरुले पाल्न सक्छन् भन्ने विश्वास मलाई छ । ती सम्पदाको विकास र प्रयोग गर्दै ‘एआई’सँग रमाइरहेका अहिलेको ‘स्मार्ट’पुस्ता सुहाउँदो कीर्तिपुर बनाउने मेरा योजना छ”, उहाँले भन्नुभयो । कीर्तिपुरको सबैभन्दा ठूलो समस्या अव्यवस्थित र खाल्डाखुल्डीयुक्त सडक भएको बताउँदै डा मानन्धरले त्यसलाई सडक बोर्ड बनाएर स्थायी समाधान गर्ने अवधारणा आफूसँग रहेको बताउनुभयो ।

नेकपा (माओवादी केन्द्र)का तर्फबाट प्रमुखमा उम्मेदवारी दिनुभएका प्राडा शिवशरण महर्जन कीर्तिपुरमा समृद्धि ल्याउनु नै आफ्नो मुख्य ‘एजेन्डा’ रहेको बताउनुहुन्छ । उहाँले नगरपालिकाका कामकाजमा सुशासन कायम गर्ने, पुस्तकालय एवं सङ्ग्रहालय स्थापनासहित विकास निर्माणलाई जोड दिने तथा त्रिभुवन विश्वविद्यालयसँग नगरपालिकाको समन्वय गराउने पक्षमा आफ्नो उम्मेदवारी रहेको बताउनुभयो ।

राष्ट्रिय प्रजातन्त्र पार्टीबाट उम्मेदवारी दिनुभएका इन्जिनियर ध्रुव महर्जन नगरपालिकामा सुशासन, खानेपानीको उचित व्यवस्थापन र सार्वजनिक विद्यालयमा प्राविधिक शिक्षाको व्यवस्था आफ्नो मुख्य चुनावी एजेण्डा रहेको बताउनुहुन्छ ।

नेपाल मजदुर किसान पार्टीले श्रीकृष्ण महर्जनलाई उम्मेदवार बनाएको छभने राष्ट्रिय स्वतन्त्र पार्टीले कीर्तिपुर नगरपालिकामा उम्मेदवारी दिएको छैन ।

यसैगरी नगरप्रमुख पदमा उम्मेदवारी दिनुहुने स्वतन्त्र उम्मेदवारहरुले पनि चुनावी प्रचार–प्रसार अघि बढाएका छन् । उहाँहरूले विकास निर्माण, सुशासन, सांस्कृतिक सम्पदाको संरक्षण गर्न यसअघि राजनीतिक पार्टीबाट निर्वाचित मेयरहरू असफल भएको भन्दै यसपटको निर्वाचनमा स्वतन्त्र उम्मेदवारलाई साथ दिन कीर्तिपुरवासीसँग आग्रह गर्नुभएको छ । यसरी स्वतन्त्र उम्मेवारका पक्षमा मतदान गर्न आग्रह गर्नुहुनेहरूमा कविकुमार महर्जन, नरेश महर्जन, आनन्द महर्जन, राजमान मानव, डा नवरथ बानियाँलगायत हुनुहुन्छ ।

प्रमुखबाहेक कीर्तिपुर नगरपालिका–१ र ४ मा वडाअध्यक्ष पदका लागि हुन गइरहेको उपनिर्वाचनमा पनि प्रमुख राजनीतिक पार्टीसहित स्वतन्त्र उम्मेदवारहरूले निर्वाचन प्रचारप्रसारलाई तीव्र बनाएका छन् । सबैजसो उम्मेदवारहरूले वडास्तरीय विकास र सुशासनलाई चुनावी मुद्दा बनाएको देखिन्छ ।