८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक समितिबाट सर्वसम्मत पारित News Polar विधि विज्ञान प्रयोगशालालाई ‘लर्निङ प्लेटफर्म’ बनाउन सांसद थापाको प्रस्ताव News Polar काभ्रेका १२ स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व चयन News Polar संसद बैठकमा सांसदको उपस्थिति व्यवस्थित गर्न रास्वपाले तोक्यो समूहगत तालिका News Polar जुफालमा अवतरणका क्रममा सीता एयरको जहाजको पांग्रा बाहिरियो, सबै यात्रु सुरक्षित News Polar भारी वर्षाको सम्भावना: बिदाका दिन समेत स्वास्थ्यकर्मीलाई सम्पर्कमा रहन मन्त्रालयको निर्देशन News Polar नेपाल-आइसल्यान्ड परराष्ट्रमन्त्रीस्तरीय साइडलाइन भेटवार्ता News Polar प्रधानमन्त्री न्युयोर्कमा, भोलि सम्बोधन, नेपालले जलवायु न्याय माग्ने, साइडलाइन भेट नगर्ने News Polar जलवायु जोखिममा रहेका मुलुकबीच सुदृढ सहकार्य आवश्यक छः परराष्ट्रमन्त्री News Polar परराष्ट्रमन्त्री खनाल र जर्मनीकी आर्थिक सहयोग तथा विकासमन्त्री राडोभानबीच भेटवार्ता  News Polar तनहुँमा ११ हजार एक सय ३४ उद्योग News Polar बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा विस्तारमा प्रदेश सरकारको ध्यान News Polar निजी अस्पतालको निःशुल्क सेवा लक्षित वर्गसम्म पुर्याउन  प्रशासन सक्रिय News Polar सुरक्षित स्थानमा प्रभावितको व्यवस्थापन गर्न पूर्वप्रधानमन्त्री नेपालको आग्रह News Polar पूर्वप्रधानाध्यापक थापाद्वारा विद्यार्थीलाई न्यानो कपडा वितरण News Polar प्रधानमन्त्री राहत कोषमा तनहुँ ख्रिष्टियन समाजको सहयोग News Polar कर्णाली प्रदेश मन्त्रिपरिषद् बैठकः यस्ता छन् निर्णय News Polar राहुघाट निर्माणको १६ वर्षे यात्राः असफल ठेक्कादेखि परीक्षण उत्पादन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar अकबरेमा ‘कोत्रे’ रोग देखिएपछि किसान चिन्तामा

किन भनिन्छ नेपाललाई सतीले सरापेको देश ?

किन भनिन्छ नेपाललाई सतीले सरापेको देश ?
अ+ अ-

नाम – भीम मल्ल  
जन्म – कान्तिपुर 
पद– काजी, सेनानायक 
योगदान – राज्यविस्तार, व्यापारबाट देशको समृद्धि 
अभियोग– आफैँ राजा हुने योजना बनाएर भक्तपुरका राजासँग मिलेको 
मृत्युदण्ड– दिइएको मिति   वि.सं. १७०७ (ने.सं.७६२) 

आजभन्दा करिब ३७० वर्ष अघिको काठमाडौँको कुरा हो । तत्कालीन नेपाल मण्डल (काठमाडौँ, ललितपुर र भक्तपुर) लाई गोर्खा२.का राजा पृथ्वीनारायण शाह (वि.सं. १७९९—१८३१) का सेनाले विजय गर्नुअघि, नेपाल एकीकरणपूर्व. नेवार मल्ल राज्यहरू भक्तपुर, ललितपुर र कान्तिपुर राज्य४.समेत छुट्टाछुट्टै तिन स्वतन्त्र राज्य थिए । यहाँ भिन्दाभिन्दै मल्ल राजाहरूले राज्य गर्दथे । यसक्रममा राजा लक्ष्मीनरसिंह मल्ल जीवित छँदै वि.सं.१६९८ तिर उनका छोरा प्रताप मल्ल कान्तिपुर राज्यका राजा भएका थिए । गोर्खामा यिनका समकालीन राजा डम्बर शाह, ललितपुर मा श्रीनिवास मल्ल र योगनरेन्द्र मल्ल थिए भने भक्तपुरमा जितामित्र मल्ल थिए ।

राजा प्रताप मल्ल महत्वाकाङ्क्षी र उत्साही राजा थिए । यिनले आफ्ना बाबु राजा लक्ष्मीनरसिंह मल्ल जीवित छँदै उनलाई नजरवन्द गरी आफू राजसिंहासनमा बसेका थिए । त्यसबेला कान्तिपुर राज्यको तिब्बतसँगको व्यापारिक सम्बन्ध राम्रो थियो । तिब्बतमा कान्तिपुर राज्यको मुद्रा चल्दथ्यो । कान्तिपुरबाट तिब्बततर्फ खाद्यान्न, भाडाकुँडा लगायतका सामानहरू निर्यात हुने गर्दथ्यो । कान्तिपुर र तिव्बतबीच व्यापार सुदृढ तुल्याउन तत्कालीन कान्तिपुर राज्यका काजी. भीम मल्लले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । व्यापारका अलावा भीम मल्लले कान्तिपुर राज्यको सेनाको समेत नेतृत्व सम्हालेका थिए ।

त्यसैले प्रताप मल्लका बाबु राजा लक्ष्मीनरसिंह मल्लले भीम मल्ललाई काजी पद दिई राज्यका तर्फबाट सक्दो सहयोग गर्दै आएका थिए । काजी भीम मल्लको घर काठमाडौँको तत्कालीन राजदरबार रहेको स्थान हनुमानढोका नजिकको कोतखाना व्यारेकबाट उत्तर–पश्चिमतर्फ पर्ने ढोकाटोल. मा थियो । तर यिनी अधिक समय तिव्बतमै बसेर कान्तिपुर र तिब्बतबीचको व्यापार–व्यवसाय तथा दुई राज्यबीचको सु–सम्बन्धलाई टेवा पुर्याउँदै आएका थिए । काजी भीम मल्लको नेतृत्वमा कान्तिपुरका सेनाले तिव्वतमाथि युद्ध छेडेको थियो । भीम मल्ल नेतृत्वको सेनाको टोलीले तिव्बतको आन्तरिक राजनीतिमा तालमेल नहुँदा तिव्बतको कुत्ति, केरुङ र खासा लगायतका क्षेत्रमा कान्तिपुरको अधिकार स्थापित गर्नुका साथै कान्तिपुरका व्यापारीहरूलाई तिव्बतमा व्यापारिक कोठी र पसलहरू खोल्न पाउने सुविधासमेत मिलाएका थिए ।

यसका साथै तिव्बतका व्यापारीहरू कान्तिपुरकै बाटो भएर व्यापार–व्यवसायका लागि भारतका विभिन्न स्थानमा जाने व्यवस्थासमेत काजी भीम मल्लले मिलाएकाले कान्तिपुरको आर्थिक स्थिति सुदृढ र मजबुत बनेको थियो । काजी भीम मल्लको नेतृत्वमा कान्तिपुरका सेनाले भक्तपुरका केही भू—भाग समेत कान्तिपुरमा मिलाएको थियो । कान्तिपुरको अवस्था मजबुत बनाउन महत्वपूर्ण योगदान गर्दै आएका काजी भीम मल्लको राज्यभित्र धाक–रवाफ बढ्नु स्वाभाविक थियो । यसबाट कान्तिपुर दरबारभित्रका उनका विरोधीहरू भित्रभित्रै रुष्ट थिए । लक्ष्मीनरसिंह मल्ललाई नजरबन्द गरी प्रताप मल्ल राजा भएपछि विरोधीहरूले नयाँ राजालाई भीम मल्लविरुद्ध कुरा लगाउन थाले ।

खासगरी भक्तपुर घर भएका महादेव ओझा नामक अवसरवादी व्यक्ति कान्तिपुरका नरदेव र मयासिंह नामक व्यक्तिमार्फत् प्रताप मल्लको नजिक भएर भीम मल्ललाई कान्तिपुरको हर्ताकर्ताबाट निकाल्न चाहन्थे । भनिन्छ, यिनले नरदेव र मयासिंहलाई प्रयोग गरी राजा प्रताप मल्लका कानमा काजी भीम मल्लको विरुद्ध विभिन्न आरोपहरू प्रस्तुत गर्न लगाउने र नक्कली साक्षी उपस्थित गराउने समेत गर्दथे । त्यसबेला काजी भीम मल्लविरुद्ध विशेषगरी उनका विरोधीहरूले तिव्बतसँग कान्तिपुरले जितेका भू—भागहरू र पूर्वका केही इलाका कान्तिपुरबाट अलग्याएर ती भू—भागको स्वतन्त्र प्रशासक (राजा) आफैँ बन्न लागेको झुट्टा आरोप लगाएका थिए । 
प्रताप मल्लले काजी भीम मल्लविरुद्धका आरोपहरूको सत्य तथ्य गहिरोसँग बुझेनन् । उनले तिव्बतमा अर्काे प्रशासक पठाएर भीम मल्ललाई कान्तिपुर फिर्ता बोलाए । राजाको बोलावट अनुसार यिनी हनुमानढोका राजदरबारमा हाजिर हुन आए । राजदरबारमा राजालाई दर्शनभेट गर्नुअघि हनुमानढोका दरबार नजिकको मल्ल राजाहरूकी ईष्टदेवी तलेजु भवानीको दर्शन गरी राजदरबारभित्र प्रवेश गर्न लाग्दा, राजा प्रताप मल्लको आदेशपालक सैनिकद्वारा मूलद्वारमै यिनलाई काटियो । यो दुःखद् घटना वि.सं. १७०६ माघ ३ गते ९.को हो । 
काजी भीम मल्लले कान्तिपुर राज्यको भलाइको लागि दिलोज्यानले काम गरेका थिए । भीम मल्लले दुराशययुक्त कार्य गरेको तथ्य इतिहासमा कत्ति पनि पाइन्न । उनी निर्दाेष एवं कान्तिपुर राज्य तथा राजाप्रति पूर्ण समर्पित थिए । यस्तो अवस्थामा उनका तर्फबाट कुनै सफाई नपर्खिई झुट्टा आरोपमा मृत्युदण्ड दिइएको थियो । काजी भीम मल्लकी धर्मपत्नी भुवनलक्ष्मी मल्लले– ‘देशको भलाई गर्न चाहने कुनै पनि व्यक्तिको यस देशमा कहिल्यै पनि राम्रो नहोस्’ भन्ने श्राप दिएर पतिको चितामा बसेर सती. गएकी थिइन् । 
राजा प्रताप मल्लले राजकाज गर्दै जाँदा सत्य तथ्य खुल्दै गए । उनलाई थाहा भयो ः काजी भीम मल्ल निर्दोष रहेछन् । उनले पश्चाताप त गरे तर भीम मल्लको प्राण त उनले लिइसकेका थिए । 
भीम मल्लका बारेमा धेरै इतिहासकारहरूले कलम चलाएका छन् । इतिहासकार डा.पेशल दाहालले ‘नेपालको इतिहास’ पुस्तकमा उल्लेख गरे अनुसार–कान्तिपुरका तत्कालीन राजा लक्ष्मीनरसिंह मल्ल सोझा र धार्मिक प्रवृत्तिका थिए । उनका काजी भीम मल्लसहित मयासिंह र नरदेव निकटका भारदार थिए । यीमध्ये भीम मल्ल बढी विश्वासपात्र थिए । तर विश्वासी मानिएका भीम मल्लले नै राजा लक्ष्मीनरसिंह मल्ल जीवित छँदै उनलाई कैद गरी उनका छोरा युवराज प्रताप मल्ललाई राजा बनाए । दाहालका अनुसार प्रताप मल्ल राजा भएको दुई वर्ष पछिसम्म काजी भीम मल्ल जीवित रहेको तथ्य पाइएको छ । ठ्यास्फुको वर्णनलाई उदृत गर्दै डा. दाहालले पुस्तकमा लेखेका छन् ः “ ने.सं. ७६१ (वि.सं. १६९८) भाद्र शुक्ल पञ्चमी, यस दिन राति प्रताप मल्ल र भीम मल्ल दुई जना मिली श्री लक्ष्मीनरसिंह मल्ललाई बन्दीखानामा राखे ।” 
डा. दाहालका अनुसार प्रताप मल्ल राजा भएको केही समयपछि भीम मल्लका विरोधीका कुरा सुनेर राजा प्रताप मल्लले काजी भीम मल्लको हत्या गरेका हुन् । जुन कार्यप्रति पछि उनले प्रायश्चित गरेका थिए । काजी भीम मल्ललाई मृत्युदण्ड दिएको मिति र राजाका बारेमा इतिहासमा फरकफरक मत पाइन्छ । बालचन्द्र शर्माका अनुसार तत्कालीन कान्तिपुर राज्यका काजी भीम मल्ल निर्दाेष हुँदाहुँदै उनका विरोधीहरूको कुरा सुनेर कान्तिपुरका राजा लक्ष्मीनरसिंह मल्ल (राजा प्रताप मल्लका पिता) ले उनलाई मृत्युदण्ड दिएका थिए । उनी सैन्य परिचालनमा कुशल थिए, व्यापारमा चतुर थिए, कुटनीतिमा पारङ्गत थिए । देशहितका लागि प्रतिवद्ध थिए ।

इतिहासकार शर्माका अनुसार भीम मल्ल राजा लक्ष्मीनरसिंह मल्लका छोरीका पतिका सम्धी थिए । यिनले कान्तिपुर राज्य र भोटबीचको व्यापार बढाएका थिए । भीम मल्लकै प्रयासमा भोटको कुत्ति कान्तिपुरको अधीन भएको थियो । भीम मल्ल कान्तिपुरको राज्य बिस्तार गरी सिङ्गो उपत्यकामा लक्ष्मीनरसिंह मल्लको राज भएको देख्न चाहन्थे । उनले त्यसको तयारीसमेत गरेका थिए । तर उनका विरोधीले राजालाई भीम मल्ल स्वयं सेनाको बलमा राजा बन्ने योजनामा छन् भन्ने गलत कुरा लगाइदिँदा राजाले उनलाई मृत्युदण्ड दिए । उनकी श्रीमतीले सराप दिएर सती गइन् । पछि सत्य थाहा भयो भीम मल्ल निर्दाेष थिए भन्ने । तब राजाले पश्चाताप गरे र यही पिरकै कारण राजा पागल भए । राजकाज उनका छोरा युवराज प्रताप मल्लले सम्हाले । पागल अवस्थामा १६ वर्ष जिएर राजा लक्ष्मीनरसिंह मल्लको वि.सं. १७१४ तदनुसार सन् १६५७ मा मृत्यु भयो । 
काजी भीम मल्ललाई मृत्युदण्ड दिइएको सम्बन्धमा चित्तरन्जन नेपालीले आफ्नो पुस्तकमा कान्तिपुरका राजा प्रताप मल्लले भूलवस मृत्युदण्ड दिएको उल्लेख गरेका छन् । पुस्तकका अनुसार कवीन्द्र उपाधि लिएका कान्तिपुरका राजा प्रताप मल्लले राज्य बिस्तारको इच्छाले आफ्ना मन्त्री काजी भीम मल्ललाई सेनासहित उत्तरतर्फ हमला गर्न पठाएका थिए । भीम मल्ल नेतृत्वको सेनाले त्यसबेला भोट अर्थात् तिव्बत अन्तर्गत पर्ने कुत्ति र केरुङ्गमाथि कव्जागरी अघि बढ्न खोज्दा तिव्बतले सन्धिको प्रस्ताव गर्यो । कान्तिपुर र तिब्बतबीच युद्ध बन्द गर्ने सन्धि हुँदा कान्तिपुरका व्यापारीहरूले तिब्बतमा कोठी खोल्न र निर्वाध व्यापार गर्ने अधिकार पाएका थिए । तिब्बत सरकारले कान्तिपुरका व्यापारीहरूसँग कुनै प्रकारको शुल्क वा दस्तुर लिन नपाउने र तिब्बतबाट भारततर्फ सामानहरू लैजाँदा कान्तिपुरकै बाटो भएर लैजानुपर्ने प्रावधान राखी नेपालीहरूलाई अधिक फाइदा हुने सुकार्य गरेका थिए ।

तर कुत्ति र केरुङ्गमाथि अधिकार गरी तिब्बतसँग नेपाल र नेपालीलाई हित हुने, आफ्नो अनुकूल सन्धि गरी स्वदेश फर्किएका भीम मल्ललाई कान्तिपुर दरबार आइपुग्नासाथ दरवारी षडयन्त्रले गर्दा मृत्युदण्ड मिल्यो । त्यसैबखत पतिसँग सती गएकी भीम मल्लकी धर्मपत्नी भुवनलक्ष्मीले श्राप दिएकी थिइन नेपाल दरबारमा विवेक नरहनुपर्यो । आजपनि यदाकदा सच्चा र इमान्दार मानिसलाई फन्दामा पारिँदा र बदमास व्यक्तिले राज्यका महत्वपूर्ण निकायको हालीमुहाली सम्हाल्दा भन्ने गरिन्छ ः सतीले सरापेको देशमा यस्तै हुन्छ ! हुन पनि कान्तिपुर राज्यमा त्यसपछि कहिल्यै शान्ति र समृद्धि आएन ।

कान्तिपुर राजधानी बनाएर शासन शुरु गरेका भीम मल्लको जीवन पछिका मल्ल राजाहरू, शाह राजाहरू र कार्यकारी अधिकार लिएर शासन सञ्चालन गरेका राणा पूर्वका काजीहरू, राणा प्रधानमन्त्री तथा जनताबाट प्रतिनिधित्व गरेर आएका प्रधानमन्त्री पनि कदापि जनतामा लोकप्रिय हुन सकेनन् । असल र भलो चाहना भएकाहरू सधैँ पछि परिरहे । धूर्त, मूर्ख, स्वार्थी, छली र अवसरवादी मनस्थितिका व्यक्ति नै सत्ता, शक्ति र पहँुचमा रहँदै आए । आज पनि कान्तिपुर (काठमाडौँ राजधानी भएको हाम्रो देशको अवस्थामा कुनै सुधार आएको छैन । 
ओखलढुङ्गा र भीम मल्लको प्रसङ्ग 
कान्तिपुर राज्यका तत्कालीन काजी भीम मल्ललाई मृत्युदण्ड दिइएको सम्बन्धमा वासु पासा (वासुदेब) ले प्रताप मल्ल शीर्षकमा एक ऐतिहासिक उपन्यास लेखेका छन् र कान्तिपुर राज्यका राजा प्रताप मल्ल (१६४१–१६७४) का बाबु राजा लक्ष्मीनरसिंह मल्लले तत्कालीन भादगाउँ(भक्तपुर) राज्यका महादेव ओझा र आफ्नै काजी नरदेव र मयासिंहको गलत उक्साहटमा भीम मल्ललाई मृत्युदण्ड दिएको उल्लेख गरेका छन् । 
वासु पासाका अनुसार राजा लक्ष्मीनरसिंह मल्ल कान्तिपुरका राजा हुँदा काठमाडौँ उपत्यकाबाट पूर्व ३ नं. भनिने (हाल रामेछाप पूर्वका ओखलढुङ्गा, खोटाङ, उदयपुर लगायतका जिल्ला) भक्तपुरको अधीनमा थिए । लक्ष्मीनरसिंह मल्ल कान्तिपुर राज्यका राजा भएपछि काजी पदमा भीम मल्ललाई नियुक्त गरेर राज्यविस्तार गर्ने अभियान थाले । त्यतिबेलाका प्रतापी राजा र मन्त्री (काजी) को मुख्य काम नै राज्यविस्तार अभियान हुने गर्दथ्यो । राज्यका सैनिकको नेतृत्व एवं परिचालन काजीले गर्ने गर्दथे । काजी भीम मल्लले कान्तिपुरका जनताबाट सङ्गठित ठूलो संख्याको सैनिक दल बनाएर पूर्व विजय गर्न लागे । भक्तपुर पूर्वका स्थानहरू विजय गर्दै उनी हालको ओखलढुङ्गा पुगे ।

त्यस इलाकालाई राणाकाल पूर्व ३ नम्वर भनिन्थ्यो । ३ नम्बर विजय भयो । अब सैनिकलाई खुवाउन रासन भएन । विपक्षी सैनिक र असन्तुष्ट जनता भाग्दा घरघरमा चामल आदि खानेकुरा लुकाउने र शत्रु सैनिकलाई भोकभोकै बनाएर कमजोर भएपछि आक्रमण गर्ने त्यसबेलाको प्रचलन थियो । तर भीम मल्लले घर घरबाट धान संकलन गरे र एउटा ठूलो खोपिल्टो परेको ढुङ्गामा राखेर माथिबाट ढुङ्गाले नै कुटेर चामल तयार गरी सैनिकलाई भात खुवाए । धान कुट्ने आधुनिक मेशीनहरूको प्रयोग नभएको त्यस समयमा काठको ढिकीले ओखलमा कुटेर चामल तयार पारिन्थ्यो । तर ती साधन नपाउँदा भीम मल्लले ढुङ्गाको सहारा लिन पर्यो । 
कान्तिपुरका सैनिकले धान कुटेपछि त्यस ढुंगाको खोपिल्टो अझ ठूलो भयो र त्यस ढुङ्गालाई स्थानीयले ओखलजस्तो भएकाले ओखल ढुङ्गो भन्न थाले । यता कान्तिपुर लगायत उपत्यकाबाट पनि त्यस इलाकाको कुरा गर्दा र लेखापढी गर्न पर्दा ओखलढुङ्गाबाट यता वा उता भनी सम्बोधन हुन थाल्यो । कालान्तरमा सो इलाकाको नाम नै ओखलढुङ्गा रहन गएको उपन्यासमा उल्लेख पाइन्छ । 
भक्तपुर अधीनको पूर्वक्षेत्र विजय गरी काजी भीम मल्ल कान्तिपुर फर्केपछि कान्तिपुरका राजा लक्ष्मीनरसिंह मल्लले अर्काे काजी नरदेव र मयासिंहलाई उत्तर तर्फको तिव्बत हान्न फौज पठाउन आदेश दिए । तर नरदेव र मयासिंह आँटिला र सैन्य परिचालन गर्ने गुण भएका थिएनन् ।

तसर्थ उनीहरुले यस कामका लागि भीम मल्ल नै योग्य भएको र आपूmहरु कान्तिपुरको आन्तरिक कार्य सम्हालेर बस्ने बताएर राजालाई आश्वस्त पारिदिए । अब राजाको आदेशमा भीम मल्ल नै सैनिकको नेतृत्व गरी तिब्बतसँग लडाइँ गर्न बाटो लागे । काजी भीम मल्लमा कुटनीतिक चातुर्य र सैनिक परिचालनका गुणहरू थिए । फलतः उनले तिब्बतका कुत्ति, केरुङ्ग र खासा आदि भू—भाग जितेर कान्तिपुरको अधीनमा ल्याए । बाध्य भएर तिव्बतले कान्तिपुरसँग सन्धि गर्नुपर्यो । अब भीम मल्लले कान्तिपुरका साहूहरूको ३२ कोठी ल्हासामा खोल्न लगाए । ती व्यापारीले तिव्बतमा विवाह गरी जन्मेका सन्तान छोरा भए नेपालीको र छोरी भए तिव्बतीका हुने व्यवस्था बनाए । सन्तानहीन व्यापारी मरेमा निजको सम्पति नेपाल सरकारको हुने नीति भयो । भीम मल्लको कुटनीतिक चातुर्यबाट खासा, कुत्ति र केरुङ्गमा नेपालको झण्डा गाडियो । 
पूर्व क्षेत्र पनि कान्तिपुरको भयो । तिब्बतमाथि त विजयसँगै व्यापारको बृद्धिले धन धान्यको पनि लाभ भयो । यसबाट कान्तिपुरको छिमेकी राज्य भक्तपुर पनि भित्र भित्र रुष्ट थियो नै, यता अब भीम मल्ल कान्तिपुर फर्केर आएपछि उनको रवाफ बढ्ने नै भो । राजा, प्रजा र व्यापारीले उनको तारिफ गर्ने भए । आफ्ना कुरा कम तौलको हुने शंकाले कान्तिपुरका अर्का काजी नरदेव र मयासिंह चिन्तामा डुब्न थाले । उनले भक्तपुरका एक अवसरवादी र छलकपटमा पोख्त महादेव ओझा नामक व्यक्तिको सल्लाहमा कान्तिपुरका राजालाई भीम मल्ल कान्तिपुर फर्केर आफैँ राजा 
बन्ने विचारमा छ । उसले तिब्बतका राजाको फौजको सहायतामा हजुरलाई समाप्त पारी आफैँ राजा हुदैँछ भन्ने गलत कुरा लगाएर काजी भीम मल्ललाई मृत्युदण्ड दिने योजना बुने ।

महादेव ओझा, नरदेव र मयासिंहको गलत उक्साहटमा लागेर राजा लक्ष्मीनरसिंह मल्ल काजी भीम मल्ललाई मृत्युदण्ड दिन तयार भए । यो कुरा गोप्य राखियो र तिब्बतबाट उनलाई कान्तिपुर बोलाइयो । पूर्व फसिकेव पश्चिम कोत र अशोक विनायक, दक्षिणमा बसन्तपुर र उत्तरमा मखन, यी चार किल्लाभित्र त्यतिबेलाको कान्तिपुर राज्यको राजदरबार थियो । राजदरबारभित्रको चोकको दक्षिणमा डबली र उत्तरमा राजाको बंगला, तल सिंहासन राखेको बैठक कक्ष थियो । 
रातो चिराग बालेर दरबार र भित्र–बाहिर उज्यालो पारिएको त्यसरात ढोकामा मात्र चिराग बालेर भित्र अँध्यारो पारिएको थियो । यहीबीच करिब साँझतिर केही सहयोगीसहित काजी भीम मल्ल राजदरबारभित्र पस्न लागे । मूलढोकाबाट भित्र पसेपछि उनी राजाको दर्शनका लागि सिंहासनतर्फ जान लाग्दा सैनिकले राजा भित्रको त्रिशूल चोकमा रहेको बताएर उतै जान आदेश गर्यो । त्रिशुल चोक पुग्नासाथ तयारी हालतमा रहेका सैनिकले भीम मल्लका हात र खुट्टा समाते र जमीनमा पछारे ।

तिनै मध्येको एक सैनिकले आफ्नो म्यानबाट तरबार झिकेर शिर छिनालिदियो । त्यस चोकमा बडा दशैँमा राँगा र बोकाहरू बलि दिइन्थ्यो । चोक र डबलीभरि राँगा र बोकाको रगत बग्दथ्यो । तर त्यसदिन देशभक्त र इमान्दार काजीको हत्या गरियो र उनको रगतले चोक भिज्यो । सैनिकले मृत भीम मल्लको शरीर खानतलासी गरे । केही कागज र बहुमूल्य जुहारत, सुन तथा रत्नहरू फेला परे ती सबै राजा लक्ष्मीनरसिंह मल्ललाई दिए । राजाको आदेशमा भीम मल्लको अन्तिम संस्कार गरियो । उनकी धर्मपत्नी भुवनलक्ष्मी पतिको शवसँग सती गइन् । पतिको शवसँग जल्नुपूर्व उनले ः “….यस दरवारभित्र कसैको पनि विवेक नरहोस्….” भनी सराप दिइन् । 
अर्काे दिन राजा लक्ष्मीनरसिंह मल्लले काजी भीम मल्लको शरीरमा भेटिएका कागज पत्र पढ्न थाले । त्यो कागज तिव्बतका राजाले कान्तिपुरका राजालाई लेखेको पत्र थियो । पत्रमा यस्तो उल्लेख थियो – “……काजी भीम मल्ल तपाइँका वफादार सुशासक सुयोग्य हुन् । उनको कुशल व्यबहारले गर्दा नेपाल र तिव्बत दुई देश भए पनि यहांका देशवासीले एक राष्ट्रको रुपमा तपाइँलाई नै राजा भन्ने गर्दछन् । किनकि नेपाल र तिव्बत बीचमा भएका बाणिज्य सन्धिले गर्दा दुबै देशका जनता नेपाल (कान्तिपुर) प्रति साहै्र नतशिर भएका छन् । यसको श्रेय दुबै देशले काजी भीम मल्ललाई दिनु पर्दछ । यहां काजी भीम मल्लको आवश्यकता सदैव परिरहन्छ । मैले मसँग भएका केही बहुमुल्य रत्न र जुहारतहरू भेट स्वरुप काजी भीम मल्लमार्फत हजुरलाई चढाएको छु । ग्रहण गर्नु होला …. ।” लेखिएको थियो । 
पत्र पढेपछि राजा लक्ष्मीनरसिंह मल्ल अर्धमुच्र्छित भए । आफूलाई गलत मानिसले झुट्टा कुरा गरेर पापकर्म गर्न लगाएको र उक्साहटमा आपूmबाट पनि गलत कर्म हुन गएकोमा पश्चातापमा जल्न थाले । अब उनी दिनदिनै टोलाउने, मौन बस्ने र चिन्तामा लीन हुन थाले । आपूmले आफैँलाई राजाका लागि अयोग्य ठान्न थाले । जीवित छँदै आपूm राज्य संचालन गर्न अयोग्य ठानी श्रीपेच युवराज प्रताप मल्ललाई लगाउन र राज्य चलाउन भनी सुम्पिदिए । छोरा, अर्थात् युवराज प्रताप मल्लले बाबुको आज्ञा अनुसार श्रीपेच पहिरिए र आफैँं राज्य चलाउन थाले । त्यसपछिका दिनमा लक्ष्मीनरसिंह मल्ल दरबारको एउटा कोठामा सीमित रहे र त्यसै अवस्थामा करिब १६ वर्षपछि उनको मृत्यु भयो । उपन्यासमा उल्लेख भए अनुसार यो कुरा नेपाल संवत् ७६२, सन् १६४२ को हो । 

राजा प्रताप मल्ललाई काजी भीम मल्लको हत्याबारे सबै रहस्य थाहा भइसकेको थियो । उनले अभय सिंहलाई सेनापतिमा नियुक्त गरे र भारदार तथा जनता सबैका सामु पूर्व काजी नरदेव र मयासिंहलाई देशभक्त र निर्दाेष काजी भीम मल्ललाई मृत्युदण्ड दिन बाध्य तुल्याएकोमा दोषी ठहर गरी उनको पगरी, ढाल, तरवार, सबै उतारी मृत्युदण्ड दिने आदेश दिए । प्रताप मल्लका सल्लाहकारले राजदरवारले सो पापकर्मबाट प्रायश्चित गर्न र काजी भीम मल्लको मृतआत्माको शान्तिको लागि भूलखः देग ः को मूर्ति खडा गरी, मन्दिर बनाउने र मन्दिरभित्र काजी भीम मल्लको नाममा भीमेश्वर महादेव स्थापना गर्ने सल्लाह दिएका थिए । 
तत्कालीन कान्तिपुर राज्यका काजी तथा सेनानायक भीम मल्ललाई मृत्युदण्ड दिने कान्तिपुरका राजाको नाम इतिहासमा फरकफरक पाइन्छ तर पनि काजी तथा 
ऐतिहासिक उपन्यास – प्रताप मल्ल । पृष्ठ -११ ।
सेनानायक भीम मल्लले विना अपराध प्राण गुमाउनु परेको चाहिँ सत्य हो । कान्तिपुरका राजा वाबु लक्ष्मीनरसिंह मल्ल वा छोरा प्रताप मल्ल, जोसुकै हुन्, भीम मल्लको हत्याले शंका, शक्तिको अभिमान र विवेकहीनता त्यतिबेलाका राजामा कतिसम्म रहेछ भन्ने छर्लङ्ग पारेको छ । भीम मल्लजस्ता योग्य, निपूर्ण र हैसियतयुक्त काजीको त जुनसुकै समय प्राण लिइन्थ्यो भने अरु निरीह, आयुधजीवी सैनिक तथा व्यक्तिको अवस्था कस्तो थियो होला ? सहजै अनुमान गर्न सकिन्छ । 
तत्कालीन नेपालका साना–ठूला राज्यहरूमध्ये कान्तिपुर राज्य तुलनात्मकरुपमा शक्तिशाली र कला, संस्कृति, सभ्यता र व्यापार आदिका कारण सम्पन्न पनि थियो । वरपरका अरु राज्यहरूमा कान्तिपुर राज्यको उदाहरण लिइन्थ्यो । कान्तिपुरका प्रायः सबै राजामा अरु राज्य विजय गरेर राज्य बिस्तार गर्ने, जनतालाई सम्पन्नता दिलाउने धोको हुन्थ्यो । अरु राज्यका राजाहरूमा पनि ठूला आकाङ्क्षा त हुन्थे तर त्यसलाई साकार तुल्याउने स्रोत, साधन र अनुभवी, साहसी, सहयोगी व्यक्तिको कमीले त्यो पूरा हुन सक्दैनथ्यो । यी सबैकुराका लागि तत्कालीन कान्तिपुर राज्यका राजाका लागि अनुकूलता थियो । 
समग्रमा अनुकूल पक्ष धेरै भए तापनि समस्या राजामा रह्यो । भीम मल्ल जस्ता कुशल सल्लाहकार काजी पदमा रहेर व्यापार, सेना आदिमा कान्तिपुरलाई लाभ र सफलता मिलिरहेको समयमा कान्तिपुरका राजाले भारदारहरूभित्रको कुटीलतालाई पहिचान गर्न सकेनन् । कुशल र अनुभवी अधिकारीलाई सिध्याएर आपूm राजाको निकट बन्ने भारदारबीचको षडयन्त्रलाई जान्न नसक्दा एक जना योग्य, अनुशासित, देशभक्त, स्वामीभक्त, होनहार सैनिक प्रमुखको ज्यान लिइयो ।

न्याउरी मारी पछुतो भनेझैँ, आफ्नो र सिङ्गो राज्यको हित गरिरहेका कुशल प्रशासक, सैनिक नेतृत्वप्रति अनाहकमा शंका गरी, गलत मनसायले युक्त व्यक्तिको कुरा सुनी मृत्युदण्ड दिँदा, राजा स्वयं गल्तीले शिर झुकाउन बाध्य भए । त्यसपछिका दिनमा जतिसुकै इमान्दारीका साथ मरिमेटेर राजाको र देशको सेवा गरे तापनि अन्तमा भीम मल्लकै घटना दोहोरिने पो हो कि भन्नेमा उनी भन्दा पछिका भारदार एवं सैनिकमा शंका रहिरह्यो । देशभक्त सैनिककी धर्मपत्नीले चितामा जल्नुअघि– इमान्दार र देशको भलो चाहनेको यो देशमा कहिल्यै भलो नहोस् भन्ने श्राप दिएकीले कर्तव्यपरायण मानिसमा निराशाले बास गरिरहेको छ कि भन्ने अनुभव अझै पनि गर्न सकिन्छ । 
आजसम्म पनि काजी भीम मल्लको आत्माले शान्ति पाएको छैन । भीम मल्ललाई मृत्युदण्ड दिएपछिका दिनमा कान्तिपुरमा धेरै शासकहरू उदाए र अस्ताए तर उनको मृत आत्माप्रति, त्यसयताका कुनै शासकबाट गल्ती महसुस गरी प्रायश्चित गरिएको स्पष्ट तथ्य पाइँदैन । कान्तिपुर राज्यलाई राजधानी बनाएर शासन गर्ने नेतृत्वमा ढिलै भए पनि काजी भीम मल्लको मृत आत्मालाई शान्ति प्रदान गर्ने र उनकी धर्मपत्नी भुवनलक्ष्मीको श्रापबाट यस भूमिलाई मुक्त तुल्याउनेतर्फ आगामी दिनमा प्रयास हुनेछ भन्ने अपेक्षा गरौँ । 

सती, सतीप्रथा र सतीश्राप । 

पुरुष अर्थात् श्रीमान्को मृत्युपछि मृतककी श्रीमतीलाई भाङ लगायतका बेहोस हुने जडीबुटीबाट बनेका पदार्थ खुवाइन्थ्यो । बेहोस् पारिएकी श्रीमतीलाई मृतक श्रीमान्को शव (लाश) सँगै चितामा सुताइन्थ्यो । मलामीहरू हातमा बलिया लाठा बोकेर तैनाथ रहन्थे । पण्डित अर्थात् पुरेतहरू धार्मिक विधि वाचन गर्न खडा रहन्थे । चितामा आगो बल्न थालेपछि जीवित रहेकी महिला भाङको नशाबाट ब्यूँझिएर कराउन थाल्दथिन् । चिच्याउँदै सहयोगका लागि गुहार माग्दथिन् । तर नारीको त्यो चिच्याहट र आक्रोस अरु मानिसले नसुनून् भन्नाका खातिर बाजाहरू बजाइन्थे । दमाहा, शंख र घण्ट ठूलो आवाजका साथ बजाइन्थे । सतीको चित्कार सुने पाप (श्राप) लाग्नेछ भन्ने मान्यता थियो । 
मृत श्रीमान्सँग बाँधेको डोरी जब आगोले डढाएर टुटाउँछ तब नारी आगोको ज्वालाको ताप खप्न नसकेर छट्पटाउँदै हाम्फाल्ने असफल प्रयास गर्दथे । तर वरिपरि बलिया लाठाहरू बोकेर तैनाथ रहेका मलामीहरू पण्डितको आदेशसँगै नारीलाई चिताबाट उठ्न नसक्नेगरी ती लाठाले जोडले प्रहार गर्दथे । ती असहाय महिलामाथि अनेकन् अपशब्द बोल्दथे । आगोको ज्वाला र लाठाको प्रहारबाट थिल्थिलो बनेकी नारीलाई क्रमशः आगोले भष्म पार्दै जान्थ्यो । जीवित र निर्दाेष नारीको शरीर सतीप्रथाका नाममा क्षणभरमा खरानीमा परिणत हुन्थ्यो । 
कतिपय स्थानमा ठूला काठका मुढाहरूमा फलामको साङ्लोले महिलालाई बाँधेर चिता बनाएर आगोमा जलाइन्थ्यो । ती नारीले जतिसुकै प्रयास गरे तापनि त्यो फलामको साङ्लो चुँडाएर उम्कने सम्भावना हुँदैन थियो । 
एकभन्दा बढी श्रीमतीहरू हुने सबैलाई जिउँदै जलाइन्थ्यो । यदि श्रीमान्को मृत्यु हुँदा श्रीमती गर्भवती छ भने, बच्चा जन्मेपछि सती पठाउने भन्दै मृतक श्रीमान्को कुनै कपडा राखेर, त्योसँग जीवितै जलाइन्थ्यो । श्रीमती घर बाहिर टाढा भए पनि त्यहीँ ल्याएर वा केही दिनपछि भए पनि सती पठाउने नाममा जीवितै जलाइन्थ्यो । सामन्त, शासक, राजा, महाराजाहरूका श्रीमतीका अलावा निजी सेविका, कमारी, यौनदासीहरू समेतलाई सती पठाउने नाममा जीवितै जलाइन्थ्यो । सती जानु अर्थात् मृतक श्रीमान्सँग जीवितै चितामा जल्नुलाई सतीधर्म भन्दै पण्डित र पुरेतहरू यसको महिमा गाउने गर्दथे । 
भारतवर्षका गंगा, यमुना, जमुना लगायतका ठूला नदी किनारमा रहेका घाटहरूमा र नेपालका वाग्मती, कोशी, नारायणी, गण्डकी, कर्णाली, महाकाली लगायतका नदी किनारमा मृतक जलाइने र ती मृतकसँगै सती पठाउने नाममा नारीलाई जीवितै जलाउने गरिन्थ्यो । सती जलाएको देखेमा शुभ हुने अन्धविश्वासका कारण नारी चित्कार र छट्पटीको करुण दृश्य हेर्न घाटहरूमा मानिसको भीड लाग्ने गर्दथ्यो । 
प्राचीन हिन्दू समाजमा व्याप्त यही त्रूmर प्रथा अन्तर्गत जीवित जल्ने नारीलाई ‘सती’ र त्यस्तो प्रथालाई ‘सतीप्रथा’ भनिन्थ्यो । श्रीमान्को मृत्यु वा हत्या भइसकेको र श्रीमान्को शवसँग चितामा जीवित जल्नु–जलाइनुपूर्व निजले दिने श्राप नै सतीश्राप हो । समाजमा यस प्रकारको डरलाग्दो सतीप्रथा कहिलेदेखि चल्यो ? निश्चित भन्न सकिन्न । हिन्दूधर्मका अति प्राचीन ग्रन्थहरूमा सतीप्रथाको वर्णन पाइन्न र यदाकदा चर्चा पाइन्छ तर त्यसबेला सती जान बाध्यात्मक थिएन । प्राचीन हिन्दू समाजमा पतिव्रता धर्म व्यापक पाइन्छ । एउटा मात्र पुरुषप्रति समर्पण वा भक्तिमा रहने प्रचलन प्राचीनकालमा व्यापक थियो । हिन्दू समाजमा मृतक पुरुष अर्थात् श्रीमान्को शवसँगै श्रीमतीलाई जलाउने प्रथा पछि मात्र फैलिएको हो । भारतवर्षमा ईश्वीको तेस्रो सदीमा समाजमा सतीप्रथा सुरुवात भइसकेको अनुमान गरिएको छ । नेपालमा भने चौथो शताब्दी अर्थात् लिच्छविकालबाट सतीप्रथाको शुरुवात भएको पाइन्छ । 
नेपालमा सतीप्रथाका केही उदाहरण ः लिच्छवि राजा मानदेव(वि.सं.५२१—५६३) की आमा राज्यवतीलाई छोरा मानदेवले सती जान नदिएको प्रसङ्ग इतिहासमा पाइन्छ । यस तथ्यबाट लिच्छविकालमा सतीप्रथा समाजमा व्याप्त रहेको पाउन सकिन्छ । त्यसयता नारीलाई जबर्जस्ती सती पठाइएको दृष्टान्त इतिहासमा प्रशस्त पाइन्छ । राजा प्रतापसिंह शाहको वि.सं.१८३४ मा मृत्युभएपछि उनकी महारानी राजेन्द्रलक्ष्मीलाई सती पठाउने र नपठाउने पक्षबीचमा भारदारहरु विभाजित थिए । अन्त्यमा गोर्खाली भारदार र काजीहरूको जोडमा राजेन्द्रलक्ष्मीलाई सती नपठाएर उनकी भित्रेनी (ल्याइते मैजु रानीलाई छोरा शेरबहादुर शाहको जन्मपछि प्रतापसिंह शाहको जुत्ता साथमा राखी जीवितै जलाइएको थियो ।

यस प्रकरणमा राजदरवारभित्रको आपसी शक्ति संघर्षका कारण राजाको मृत्युको धेरै दिनपछि सती पठाइएको प्रष्ट हुन्छ । रणबहादुर शाहको मृत्युको १४ दिनपछि हेलम्बु निर्वासनमा रहेकी उनकी जेठी रानी राजराजेश्वरी र रणबहादुर शाहका कमारी तथा यौनदासी समेत करिब १६ नारीलाई काठमाडौँको साँखुनजिकको मनोहरा खोलामा र पशुपति आर्यघाटमा सती पठाउने भन्दै जीवितै जबर्जस्ती जलाइएको थियो भने जंगबहादुर कुँवर राणाको मृत्युपछि उनका केही श्रीमतीहरु स्वेच्छाले सती गएका थिए । 
सतीप्रथाको अन्त ः केही शासकहरूले बेलाबेलामा सतीप्रथामाथि बन्देज लगाउने प्रयास गरेको पाइन्छ । कानूनी रुपमा वि.सं. १९१० मा जंगबहादुर कुँवर राणा प्रधानमन्त्री तथा प्रधानसेनापति रहेका बेला मुलुकी ऐन तर्जुमा गरी सतीप्रथामाथि बन्देज लगाउने प्रयास गरेर गौँडा गौँडामा रहेका क्षेत्रीय तथा इलाकाहरूमा तैनाथ प्रशासकहरूलाई ८ बुँदे निर्देशन पठाएका थिए । त्यसपछि वि.सं. १९४४ असार १४ गते श्री ३ महाराज वीरशमशेर जबराले देशका विभिन्न स्थानमा तैनाथ गढी–गौँडाका हाकीमहरूलाई सती पठाउनपूर्व अनिवार्यतः स्वीकृति लिनैपर्ने, पठाइंदा नारीको स्वीकृति चाहिने, छोराछोरी हुर्केका हुनुपर्ने, गर्भवती हुन नहुने लगायतका कडा नियम तर्जुमा गरी कार्यान्वयन गर्न लिखित निर्देशन दिएका थिए । 
वीरशमशेरपछि वि.सं. १९७७ मा श्री ३ महाराज तथा प्रधानमन्त्री रहेका चन्द्रशमशेर जबराले सतीप्रथालाई पूर्णतया प्रतिबन्ध लगाउन मुलुकी ऐनमा संशोधन गरेका थिए । यसपछि क्रमशः नेपालमा सतीप्रथा खारेज भयो । 
सतीप्रथा र धार्मिक ग्रन्थमा सतीश्राप 
सतीप्रथा – प्राचीन हिन्दू समाजको विशेषता हो । यो नारी जातिमाथि दमन गर्न तत्कालीन हिन्दू धर्मका अगुवाहरूद्वारा चलाइएको घृणित प्रथा थियो । 
दासयुगमा समाजमा पुरुषले नारी जातिलाई आफ्नो अधीनमा राख्न पण्डित र शासकहरूको सहयोगमा विभिन्न धार्मिक नियमहरू बनाएर लागू गर्दै आएका थिए । यहीक्रममा हिन्दू समाजमा पतिको मृत्युपछि उसको शवसँगै पत्नीले जल्ने÷गाडिने अर्थात् सती जाने परम्पराको सुरुवात भएको मानिन्छ । दासयुगपछिको सामन्ती युगमा, पण्डित र शासकको सहयोगमा यस डरलाग्दो प्रथाले हुर्कने, बढ्ने र फैलिने अवसर पाउन सक्यो । 
केही प्राचीन हिन्दू ग्रन्थ र शास्त्रहरूमा सतीधर्म र सतीश्रापका चर्चा पाइन्छन् । यसमध्ये प्रत्येक वर्ष माघ महिनामा व्रतसहित वाचन गरिने श्री स्वस्थानी व्रतकथामा उल्लेख भए अनुसार उहिल्यै, अन्तःपुर नामक नगरमा बसोबास गर्दै आएको जालन्धर नामक एक पुरुषकी श्रीमती वृन्दाले सती जानुपूर्व विष्णुलाई दिएको श्रापको कथा सामयिक छ । 
जालन्धर र वृन्दाको दाम्पत्य जीवन सुखमय थियो । वृन्दा पतिव्रता थिइन् । एकदिन जालन्धरले कैलाश पर्वतमा बस्ने महादेवकी श्रीमती पार्वतीको राम्रो रुप वर्णन सुन्यो । जालन्धर पार्वतीको रुप वर्णनबाट लोभियो र एकपटक दर्शन गर्ने अठोट गर्यो । दर्शन अर्थात् पार्वतीलाई भोग्ने विचार उसको मनमा आयो । 
जालन्धर श्रीमतीको सल्लाहमा पार्वतीसमक्ष जान रुप परिवर्तन गरी आपूmलाई महादेवझैँ बनायो र कैलाश पर्वत पुग्यो । पार्वती सुनको कलशमा पानी लिएर महादेवझैँ ठानेर पाउ धुन आइन् । तर पार्वतीलाई देख्नासाथ भेष बदलेको जालन्धर बेहोस भएर पछारियो । पार्वतीले अनुमान गरिन् ः यो महादेव होइन । उनले एकान्तमा रहेर दूतमार्फत् महादेवलाई खबर गरिन् । महादेव त्यसबेला मानसरोवरमा हाँसहरूसँग क्रीडा गर्दै थिए । 
महादेव यो खबर सुन्नासाथ कैलाश फिर्ता भए र जालन्धरसँग युद्ध गरेर उसलाई मार्ने निर्णय गरे । आफ्ना समर्थक देवताहरु बोलाएर सेना तयार गरे । नारदमार्फत यसको जानकारी जालन्धरलाई गराए । जालन्धर पनि आफ्ना समर्थक तयार गरी युद्धका लागि तयार भयो । 
अब महादेवका सेना र जालन्धरका सेनाबीच युद्ध भयो । जालन्धरका सेना सखाप पारिए । तर जालन्धरलाई देवताले मार्न सकेनन् । यसको कारण बुझ्दा उसकी श्रीमती वृन्दाको पतिव्रता धर्मका कारण जालन्धर अजेय बनेर रणमा टिक्नसकेको तथ्य पत्ता लाग्यो । देवता सबैको सल्लाहमा वैकुण्ठमा बस्ने विष्णुलाई जालन्धर पत्नी वृन्दाको पतिव्रता धर्म च्युत गर्न पठाइयो । 
वैकुण्ठवासी विष्णुले छल गरेर वृन्दाको नारी अस्मिता नष्ट गरिदिए । यता जालन्धर युद्धमा कमजोर बन्दैगयो । उसले धरतीमा टिक्न नसकेर आकाशमा गई मायायुद्ध गर्न थाल्यो । महादेवले आकाशमै युद्ध गरी जालन्धरलाई त्रिशूलले छातीमा रोपेर मारिदिए । जालन्धरको शव ठूलो आवाजकासाथ अन्तःपुरको चोकमा बज्रनपुग्यो । 
आवाजतर्फ नियाल्दा वृन्दाले आफ्नो पति जालन्धरको मृत शव देखिन् । उनलाई थाहा भयो ः विष्णुले छलपूर्वक आफ्नो सतित्व नष्ट गर्न जालन्धरको रुप धारण गरेर आएर आफ्नो योजनामा सफल पनि भए । तब बृन्दाका पति जालन्धर महादेवबाट मारिए ।द्दघ द्दद्ध 
वृन्दा पतिव्रता थिइन् । जालन्धरबाहेक अर्काे पुरुष उनको मनमस्तिष्कमा थिएन । तसर्थ छल गरेर आपूmसँग सहवास गर्ने वैकुण्ठवासी विष्णुलाई श्राप दिएर उनी पति जालन्धरको मृत शवसँगै स्वेच्छापूर्वक चितामा जलिन् । चितामा जल्नुअघि आपूmलाई छल गरेकोमा विष्णुलाई चार श्राप दिइन् । ती श्राप ः विष्णु, तिमीले घाँस भएर रहनु परोस् । झार भएर रहनु परोस् । वृक्ष भएर रहनु परोस् । ढुङ्गा भएर रहनु परोस् । 
धार्मिक ग्रन्थ र शास्त्रका अनुसार सतीको श्राप अत्यन्त कडा हुन्छ । त्यो श्राप पूरा भएरै छाड्छ । सतीको श्राप टार्न सत्ययुगका महान् ऋषि, महात्मा र ज्ञान एवं विवेकको उचाइमा आसीन व्यक्तित्वलाई समेत कठिन पर्दछ । तसर्थ त्यसबेला शक्तिशाली मानिने वैकुण्ठनाथ विष्णु पनि सती श्राप भोग्न महादेवसँग बिदा भएर गए । अब विष्णु  घाँसको रुपमा कुश, झारको रुपमा तुलसी, वृक्षको रुपमा पीपल र ढुङ्गाको रुपमा कालोढुङ्गा, शालिग्राम बनेर रहे । आज पनि हिन्दू धर्मावलम्वीहरू कुश, तुलसी, पीपल र शालिग्रामलाई विष्णुको स्वरुप मानेर पूजा गर्ने गर्दछन् । 
स्वस्थानी व्रतकथाकी पात्र वृन्दाका अलावा महाभारत कथामा राजा पाण्डुकी कान्छी धर्मपत्नी माद्री पतिको शवसँगै सती गएकी थिइन् । 
भनिन्छ, सतीको श्राप भोग्नुको विकल्प छैन । वि.सं. १७०७ तिरको कुरा हो, कान्तिपुर राज्यका काजी भीम मल्लकी पत्नी भुवनलक्ष्मीले पतिको शवसँग चितामा जल्नुअघि श्राप दिइन् ः देशको भलाई गर्न चाहने कुनै पनि व्यक्तिको यस देशमा कहिल्यै पनि राम्रो नहोस् । 
के आज यस देशमा भुवनलक्ष्मीको श्राप चरितार्थ भैरहेको त होइन ? कान्तिपुर राज्यका सेनापति सुकुल मास्के, काशीराम थापा सहितका ८ सैनिक, कान्तिपुरलाई राजधानी बनाएपछिका गोर्खाली भारदार वंशराज पाँडे, स्वरुपसिंह कार्की, सर्वजीत रानामगर लगायत यस पुस्तकमा उल्लिखित देशभक्त, कर्तव्यपरायण सैनिक एवं राजा वीरेन्द्रसम्मको हत्या कतै भुवनलक्ष्मीको श्रापको परिणाम त होइन ? प्रश्न गम्भीर छ । प्रश्न, प्रश्नमा नै सीमित छ ।  

मोहन कुमार थापा द्वारा लिखित पुस्तक  ती सैनिक बाट साभार