काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीको विवाद हदैसम्म पुगेको छ । यहाँसम्म कि नेकपाका कार्यकारी भनिएका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नै सचिवालय बैठक बोलाउन अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीसँग लिखित रुपमा नै माग गर्नुपरेको छ । प्रचण्डसहितका नेकपाका पाँचजना नेताले नेकपाको सचिवालय बैठक बोलाउन ओलीसँग आज लिखित रुपमा नै माग गरेका छन् ।
प्रचण्डसँगै शनिबार वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष बामदेव गौतम र नारायणकाजी श्रेष्ठ प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुलाटार पुगेका थिए । उनीहरुले तत्काल सचिवालय बैठकको माग गरेका हुन् । 'हामीले आज भोलिमै बैठक बस्न माग गरेका छौं'भेटपछि प्रवक्ता श्रेष्ठले बताएका छन् ।
उता प्रधानमन्त्री ओलीले पनि आफू बैठकबाट भने नभागेको बताएका छन् । तर पनि आज या भोलि नै बैठक डाक्न भने नसकिने उनले स्पष्ट गरे । प्रधानमन्त्रीलाई उद्धृत गर्दै एक सचिवाय सदस्यले भने- 'प्रधानमन्त्रीले आजै भोलि बैठक बोलाउन नसकिने र छलफल गरेर मात्र बैठकको मिति तय गरिने बताएका छन् ।'











