८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar नेपाल-आइसल्यान्ड परराष्ट्रमन्त्रीस्तरीय साइडलाइन भेटवार्ता News Polar प्रधानमन्त्री न्युयोर्कमा, भोलि सम्बोधन, नेपालले जलवायु न्याय माग्ने, साइडलाइन भेट नगर्ने News Polar जलवायु जोखिममा रहेका मुलुकबीच सुदृढ सहकार्य आवश्यक छः परराष्ट्रमन्त्री News Polar परराष्ट्रमन्त्री खनाल र जर्मनीकी आर्थिक सहयोग तथा विकासमन्त्री राडोभानबीच भेटवार्ता  News Polar तनहुँमा ११ हजार एक सय ३४ उद्योग News Polar बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा विस्तारमा प्रदेश सरकारको ध्यान News Polar निजी अस्पतालको निःशुल्क सेवा लक्षित वर्गसम्म पुर्याउन  प्रशासन सक्रिय News Polar सुरक्षित स्थानमा प्रभावितको व्यवस्थापन गर्न पूर्वप्रधानमन्त्री नेपालको आग्रह News Polar पूर्वप्रधानाध्यापक थापाद्वारा विद्यार्थीलाई न्यानो कपडा वितरण News Polar प्रधानमन्त्री राहत कोषमा तनहुँ ख्रिष्टियन समाजको सहयोग News Polar कर्णाली प्रदेश मन्त्रिपरिषद् बैठकः यस्ता छन् निर्णय News Polar राहुघाट निर्माणको १६ वर्षे यात्राः असफल ठेक्कादेखि परीक्षण उत्पादन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar अकबरेमा ‘कोत्रे’ रोग देखिएपछि किसान चिन्तामा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar भोटेकोशी विपद्पछि पुनःस्थापना र पुनर्निर्माणका लागि जी–७ को सहयोग आवश्यक: परराष्ट्रमन्त्री खनाल News Polar शान्ति स्थापनामा नेपालको योगदान निरन्तर रहनेछ : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीः पातारासीका १५ जनाको सामूहिक अन्त्येष्टि News Polar चाँडो शिक्षा नियमावलीको ११ औं संशोधन टुङ्ग्याउन शिक्षामन्त्रीको निर्देशन News Polar देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन

पहिलो पटक सुस्तामा बिजुलीको पहुँच

पहिलो पटक सुस्तामा बिजुलीको पहुँच
अ+ अ-

 नवलपरासी । सुस्तामा पहिलो पटक विद्युत्को पहुँच पुगेको छ । 

पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५ स्थित नारायणी नदीपारि पर्ने विकट क्षेत्र बहुचर्चित नेपाली भूमि सुस्तामा सौर्य मिनीग्रिड प्लाण्ट निर्माण गरी बिजुलीको पहुँचमा पुर्याइएको हो । बिजुलीको पहुँच पुगेपछि स्थानीयवासीमा खुशीयाली छाएको छ । 

नारायणी नदीका कारण राष्ट्रिय प्रसारणलाइन लैजान असहज हुँदा वर्षौँदेखि सुस्तावासी अन्धकारमा बस्दै आएका थिए । टुकीको भरमा जीवन बिताउँदै आएका स्थानीयवासीको समस्यालाई मध्यनजर गर्दै सरकारले सौर्य प्लान्टमार्फत बिजुलीको व्यवस्था गरेको हो । ग्रिड निर्माण सम्पन्न भइसकेकाले अब घर घरमा बिजुली बाल्न मात्र बाँकी रहेको सुस्ता गाउँपालिका अध्यक्ष रामप्रसाद पाण्डेले जानकारी दिनुभयो । 

बिजुली बाल्न अहिले घर घरमा तार जडान गरिएको छ । टपसन इनर्जी प्रालीले निर्माणको जिम्मा पाएको उक्त सौर्य ग्रिडको एकवर्ष अघि ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले शिलान्यास गर्नुभएको थियो । 

कूल रु चार करोड ८० लाख ९२ हजार २६८ मा निर्माण गरिएको ग्रिडमा ६० प्रतिशत अर्थात रु दुई करोड ८८ लाख ५५ हजार ३६१ वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको अनुदान छ भने तराई–मधेस समृद्धि कार्यक्रमको रु एक करोड ७५ लाख र सुस्ता गाउँपालिकाको रु १७ लाख ३६ हजार ९०७ लगानी रहेको छ । 

तिहारअघि नै सुस्तालाई झिलिमिली बनाउने गरी सौर्य ग्रिडको उद्घाटन गर्ने तयारी गरिएको गाउँपालिका अध्यक्ष पाण्डेले बताउनुभयो । “दशैँ अघि नै उद्घाटन गर्ने तयारी थियो, तर वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका कर्मचारीमा कोरोना भाइरस सङ्क्रमण भएपछि प्रभावित हुन पुग्यो, अब लक्ष्मीपूजा अघि नै सुस्तामा झिलिमिली बत्ती बल्ने गरी उद्घाटन गर्छौँ”, उहाँले भन्नुभयो । 

प्रधानमन्त्री केपी शर्मा ओलीले यहाँ निर्माण भएको सौर्य ग्रिडको विशेष चासो राख्नुभएकाले उहाँबाटै भर्चुअल माध्यमबाट उद्घाटन गर्ने तयारी गरिएको अध्यक्ष पाण्डेले बताउनुभयो । सय किलोबाट क्षमताको सो आयोजनाबाट सुस्ताका २६६ घरधुरी लाभान्वित हुनेछन् । अब सुस्तावासीले सौर्य ऊर्जाको माध्यमबाट घर घरमा विद्युत् सेवा उपभोग गर्न पाउनुका साथै स–साना उद्योग पनि सञ्चालन गर्न सक्ने उल्लेख गर्दै गाउँपालिका अध्यक्ष पाण्डेले भन्नुभयो, “अब सुस्तावासीलाई धेरै सहज हुन्छ, अन्धकारमा बस्नुपर्ने अवस्थाको अन्त्य हुँदैछ”

बिजुलीको अभावमा सुस्तावासीले गर्मी मौसममा पङ्खा चलाउन, अध्यारोमा हिँडडुल गर्दा सर्पदंशको समस्या भोग्नुका साथै तरकारी तथा अन्नबालीमा सिँचाइ गर्नबाट पनि वञ्चित थिए । 

बिजुलीको अभावले स–साना उद्योग व्यवसाय सञ्चालन गरेर आम्दानी गर्न समेत नपाएको सौर्य मिनी ग्रिड निर्माण समितिका अध्यक्ष रवीन्द्र जयसवालले बताउनुभयो । “२१औँ शताब्दीमा पनि हामी टुकी बालेर बसेका थियौँ, अब बिजुली आएपछि हामी धेरै उत्साहित भएका छौँ, अब त हाम्रो जीवनशैली नै परिवर्तन हुन्छ’, उहाँले भन्नुभयो । घर घरमा बिजुली बत्ती बाल्न मात्र नभइ अब टेलिभिजन, फ्रिज, पङ्खालगायत विद्युतीय उपकरण प्रयोग गर्न, स–साना पानी तान्ने मोटर चलाउन र विद्युत्बाट सञ्चालन हुने साना खालका उद्योग स्थापना गर्न समेत सहज हुने उहाँको भनाइ छ ।

सौर्य ऊर्जाबाट उत्पादित बिजुलीले विद्युत् प्राधिकरणमार्फत वितरित बिजुलीले जत्तिकै काम गर्ने भएकाले कृषि सिंँचाइका लागि बोरिङ सञ्चालन गर्न पनि सजिलो हुने उहाँको भनाइ छ । पछिल्लो पटक सुस्तामा बिजुलीको विस्तारसँगै सुरक्षित आवास, सडक स्तरोन्नति, झोलुङ्गे पुल, खानेपानी, तटबन्धलगायतका पूर्वाधार निर्माण भइरहेका छन् । ‘विकासको दृष्टिकोणले अहिले सरकारले राम्रो गरेको छ, अब हामी स–साना घरेलु उद्योग सञ्चालन गरेर आयआर्जन गर्ने सोचमा छौँ’, जयसवालले भन्नुभयो । 

बिजुलीको पहुँचसँगै यहाँको कृषि उत्पादनमा पनि वृद्धि हुने अपेक्षा गरिएको छ । नारायणी नदीमा पुल नहुँदा डुङ्गामार्फत जोखिमपूर्ण यात्रा गर्न बाध्य सुस्तावासी वर्षातको समयमा आफ्नै भूमिमा आउजाउ गर्न पनि भारतीय भूमिबाट ओहोरदोहोर गर्नुपर्ने बाध्यता छ । हाल सुस्तामा आफ्नैै देशबाट जान मिल्नेगरी नारायणी नदीमा झोलुङ्गेपुल निर्माण भइरहेको छ । पुल निर्माण कार्य अबको डेढ वर्षभित्र सकिने र त्यसपछि सौर्य मिनीग्रिडबाट उत्पादन भएको विद्युत्लाई राष्ट्रिय प्रशारणलाइनमा जोडिने गाउँपालिका अध्यक्ष पाण्डेले बताउनुभयो । 

अन्धकारबाटमुक्त भएसँगै अब सुस्तावासीलाई सहज आवातजावतका लागि पुल निर्माणलाई पनि तीव्रता दिइएको उहाँको भनाइ छ । विगतमा सरकारबाटै उपेच्छित भएको अनुभूति गर्दै आएका सुस्तावासीले पछिल्लो पटक सरकारले सुस्तामा आफ्नो उपस्थितिलाई बलियो बनाउँदै गएको महसुस गर्न थालेको बताइएको छ । 

सीमा विवादको विषयलाई पनि प्राथमिकताका साथ सरकारले टुङ्गो लगाईदिए भारतीय पक्षबाट समय समयमा हुनेगरेको अतिक्रमण र अनावश्यक दबाबबाट छुटकरा मिल्ने सुस्तावासीको भनाइ छ । 

सुस्ता बचाउ अभियानका प्रवक्तासमेत रहनुभएका जयसवालका अनुसार सुस्तामा तीन हजार १३३ जनाको बसोबास छ । सुस्तामा विसं २०२२ देखि बसोबास शुरु भएको थियो । सुगौली सन्धिअनुसार सुस्ताको कूल क्षेत्रफल ४० हजार ९८० हेक्टरमध्ये भारतले १४ हजार ५०० हेक्टर अतिक्रमण गरिसकेको छ । करिब १९ हजार ४८० हेक्टर जमीन विवादित छ भने बाँकी रहेको सात हजार हेक्टर मात्र अहिले सुस्ताबासीले भोगचलन गर्दै आएका छन् ।