काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवले जनमत पार्टीका अध्यक्ष सीके राउतलाई लक्षित गर्दै हिंसा भड्काउने विवादास्पद अभिव्यक्ति दिएकी छन् । बुधबार ‘बलिदानी दिवस’ का अवसरमा रौतहट सदरमुकाम गौरमा आयोजित कार्यक्रममा २०६३ सालको ‘गौर नरसंहार’ को उदाहरण दिँदै उनले हिंसा भड्काउने खालको अभिव्यक्ति दिएकी हुन् । उनले बलिदानी दिवस भएकाले हिंसाको काम नगर्न चेतावनी दिँदै गौर नरसंहार ताजै रहेको उल्लेख गरिन् ।
गौर नरसंहारको साक्षी राइसमिल अहिले पनि छ भन्दै मन्त्री यादवले गौरको राइस मिलमा भएको जस्तै तुफानसँग भिड्न आए सिके राउतको त्यस्तै हालत बनाइदिने चेतावनी दिइन् । उनले जनमत पार्टीसँग कुनै एजेण्डा नभएको भन्दै सीके राउतलाई मधेसको एजेन्डा स्थापित गर्न सिंहदरबार घेर्ने हिम्मत भए आफूले उनलाई साथ दिने बताइन् । सिके राउतको जनमत पार्टीले किसानले समयमा मल नपाएको र झूटा मुद्दा लगाइएको भन्दै तराईमधेशका विभिन्न जिल्लामा आन्दोलन गरिरहेको छ ।
सो पार्टीले सङ्घ र प्रदेश सरकारका मन्त्रीहरूलाई बहिष्कार गर्दै आएको छ । बुधबार पनि जनमत पार्टीका कार्यकर्ताले गौरमा मन्त्री यादवलाई लखेटेका थिए । विसं २०६३ चैत ७ गते गौर नगरपालिकास्थित राइस मिलमा तत्कालीन माओवादी र तत्कालीन मधेसी जनअधिकार फोरमबीच झडप हुँदा २७ जनाको मृत्यु भएको थियो । एकै स्थानमा कार्यक्रम आयोजना गर्न लाग्दा दुवै पार्टीबीच झडप भएको थियो । सो झडपमा मधेसी जनअधिकार फोरमका कार्यकर्ताबाट वाइसीएलका २७ कार्यकर्ताको मृत्यु भएको थियो ।











