८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar नेपाल-आइसल्यान्ड परराष्ट्रमन्त्रीस्तरीय साइडलाइन भेटवार्ता News Polar प्रधानमन्त्री न्युयोर्कमा, भोलि सम्बोधन, नेपालले जलवायु न्याय माग्ने, साइडलाइन भेट नगर्ने News Polar जलवायु जोखिममा रहेका मुलुकबीच सुदृढ सहकार्य आवश्यक छः परराष्ट्रमन्त्री News Polar परराष्ट्रमन्त्री खनाल र जर्मनीकी आर्थिक सहयोग तथा विकासमन्त्री राडोभानबीच भेटवार्ता  News Polar तनहुँमा ११ हजार एक सय ३४ उद्योग News Polar बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा विस्तारमा प्रदेश सरकारको ध्यान News Polar निजी अस्पतालको निःशुल्क सेवा लक्षित वर्गसम्म पुर्याउन  प्रशासन सक्रिय News Polar सुरक्षित स्थानमा प्रभावितको व्यवस्थापन गर्न पूर्वप्रधानमन्त्री नेपालको आग्रह News Polar पूर्वप्रधानाध्यापक थापाद्वारा विद्यार्थीलाई न्यानो कपडा वितरण News Polar प्रधानमन्त्री राहत कोषमा तनहुँ ख्रिष्टियन समाजको सहयोग News Polar कर्णाली प्रदेश मन्त्रिपरिषद् बैठकः यस्ता छन् निर्णय News Polar राहुघाट निर्माणको १६ वर्षे यात्राः असफल ठेक्कादेखि परीक्षण उत्पादन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar अकबरेमा ‘कोत्रे’ रोग देखिएपछि किसान चिन्तामा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar भोटेकोशी विपद्पछि पुनःस्थापना र पुनर्निर्माणका लागि जी–७ को सहयोग आवश्यक: परराष्ट्रमन्त्री खनाल News Polar शान्ति स्थापनामा नेपालको योगदान निरन्तर रहनेछ : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीः पातारासीका १५ जनाको सामूहिक अन्त्येष्टि News Polar चाँडो शिक्षा नियमावलीको ११ औं संशोधन टुङ्ग्याउन शिक्षामन्त्रीको निर्देशन News Polar देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन

तराईमा शुरु भयो छठपर्वको तयारी

तराईमा शुरु भयो छठपर्वको तयारी
अ+ अ-

– वीरेन्द्र कर्ण
वीरगञ्ज । वीरगञ्ज छपकैयाकी २९ वर्षीया सेवकीदेवी कांखे आफ्नो बालक च्यापेर एकाबिहानै घण्टाघरमा देखा पर्छिन् । उनीसँगै अरु एक हुल बालिका पनि हुन्छन् । सबैको हातमा बाँसले बनाएको ढाकी, सुपा, कोनिया हुन्छ । आस्था, विश्वास र लोकपर्वको रूपमा रहेको छठपर्व मनाउन उनीहरुले चन्दा माग्दै हिँड्ने गरेका छन् । हिन्दूहरुको आस्थाको पर्वका रूपमा रहेको यो पर्व अन्तर्गत भिक्षा मागेर छठपर्व गर्नेहरुको सङ्ख्या प्रत्येक वर्ष बढ्दै गएको देखिएको छ । यस पर्वप्रति आस्था र विश्वास गर्नेहरु यसरी भिक्षा मागेरै भए पनि पर्व मनाउने गरेको परम्परा रहिआएको छ । लोक आस्था, विश्वास र श्रद्धाको पर्वका रूपमा रहेको छठको तयारी अहिले द्रुतगतिमा थालिएको छ । गरिब या धनी सबैले श्रद्धापूर्वक मान्ने यो पर्वमा दलित, गरिब, असहायले भिक्षा मागेरै भए पनि परम्परा धान्ने गरेका छन् । छठीमाताको भाकल गर्ने पनि चलन रहेकाले यस्ता महिलाले चन्दा मागेर भए पनि यो पर्व गर्दै आएका छन् । अहिले बजारमा छठपर्वको लागि चन्दा माग्ने महिला तथा बालिकाहरु देखिन्छन् । व्यापारी तथा बटुवाले आफ्नो गच्छेअनुसार छठीमइयाको नाममा चन्दा दिने गरेको देखिन्छ ।

तराईमा छठको आफ्नै तथा अलग्गै महत्व रहेको छ । मिथिलाञ्चलको पौराणिक महत्व बोकेका सरोवरहरु घडिअर्वा, नगवापोखरी, छपकैया, श्रीपुर, रानीघाट, रामगढवालगायतका ग्रामीण क्षेत्रमा रहेका पोखरी तथा तलाउ सरसफाइ गरी सजाउने काम भइरहेको छ । स्थानीयवासीको विशेष सक्रियतामा सरसफाइ शुरु भएको देखिएको छ ।  स्थानीयवासीका अनुसार प्रत्येक वर्ष छठ मनाउनेहरुको सङ्ख्यामा पनि वृद्धि भइरहेकोले देखिन्छ । छठपर्व आउन अझै धेरै दिन बाँकी रहे पनि छठका लागि आवश्यक पर्ने सामान किनमेल गर्नेहरुको बजारमा अहिल्यैदेखि भीड देखिन थालेको छ । स्थानीयवासीका अनुसार विगतभन्दा यस वर्ष कोभिड–१९ को त्रास देखिए पनि यो पर्व गर्नेहरुको सङ्ख्यामा भने कमी आउने देखिँदैन, बरु बढ्दै गएको छ । छठपर्वका लागि आवश्यक पर्ने सामानको जोहो महिना दिन पहिल्यैदेखि शुरु हुन्छ । छठमा प्रयोग हुने सामानको मूल्य निकै चर्को भए पनि यसको जोहो गर्नैपर्ने र तयारी थाल्नैपर्ने भएको स्थानीय विजय पण्डितले बताउनुभयो । 

यस वर्ष मङ्सिर ४ गते छठपर्वअन्तर्गत खरना विधि अपनाइन्छ । सो दिनलाई षष्ठी भनिन्छ । सोही दिन विधिपूर्वक साँझको अघ्र्य दिने भए पनि यसको मुख्य विधि तीन दिनअगावैदेखि निष्ठापूर्वक शुरु हुन्छ । अहिले गाउँघरमा अहिले छठपर्वको गीत गुञ्जिन थालेको छ । सूर्यषष्टीलाई छठपर्व प्रारम्भ हुने दिनको रुपमा लिइन्छ । छठको पहिलो दिन व्रतीहरु नहायखाय गरी छठपर्व आरम्भ गर्छन् । मङ्सिर ४ गते पञ्चमीको दिन खरना विधि गरिन्छ र सोही दिनदेखि मिथिलाञ्चलमा रहेका भाइबहिनीबीचको पवित्र पर्व सामा चकेवा पर्व पनि शुरु हुन्छ । छठपर्वअन्तर्गत गरिने विधि खरनालाई पापको क्षय हुने दिन पनि भनिन्छ । खरनाका दिन राति गाईको गोबरले घरआँगन लिपपोत गरी अरबा चामलको पिठोबाट तयार पारिएको झोलले भूमि सुशोभित गरेर व्रतीहरु दिनभरि उपवास बस्ने गर्छन् ।

बेलुकीपख चन्द्रमाको दर्शन गरेपछि माटोको नयाँ चुल्होमा र माटोकै नयाँ भाँडोमा सख्खर, दूध र चामलको खिर पकाइन्छ । यस्तो खिर केराको पातमा राखेर छठीमातालाई चढाइन्छ र व्रतीले प्रसादका रुपमा ग्रहण गर्छन् । यो प्रसादलाई परिवारका अन्य सदस्यले पनि प्रसादका रुपमा ग्रहण गर्ने चलन छ । अर्को दिन बेलुकी अस्ताउँदो सूर्यलाई अघ्र्य दिन व्रतालुहरुले रातभरि जागाराम बसी भोलिपल्ट बिहान उदाउँदो सूर्यलाई फेरि अघ्र्य दिएर व्रत समाप्त गर्ने गरिन्छ । सो दिनलाई छठको पारन भन्ने गरिन्छ । पारिवारिक सुख, शान्ति, रोगबाट मुक्ति तथा विभिन्न मनोकाङ्क्षा पूरा होस् भन्ने उद्देश्यले श्रद्धापूर्वक मनाइने छठपर्वका अवसरमा भीड लाग्ने गर्छ ।

सूर्यको आराधनाबाट सुख, समृद्धि र सन्तान प्राप्ति एवं चर्मरोग निको हुने जनविश्वास रहेको व्रती सुधा कर्णले बताइन् । ज्योतिषशास्त्रका आधारमा छठपर्वको समयमा ब्रम्हाण्डमा सूर्य दक्षिणायन हुने भएकाले कन्या राशी समय पर्ने र यस बेलाको सूर्यको प्रकाश प्रभावकारी र मानव स्वास्थ्यका लागि पनि फलदकारी हुनेसमेत मानिएको छ । छठको तयारीमा रहेका श्रद्धालुहरुले एक महिनाअघिदेखि नै बजारमा किनमेल शुरु गर्ने गर्छन् । छठपर्वको मुख्य प्रसादको रूपमा रहेको केरा फलफूल, मिठाइ, अदुवा, उखुको हरियो पात, मुला, भोगटे कागतीलगायत बाँसबाट बनेका अन्य सामग्रीको किनमेल गर्ने गरेको पाइन्छ । छठ पूजाका लागि नगर क्षेत्रमा विशेष सुरक्षा व्यवस्था मिलाइएको छ । छठघाटमा सुरक्षाका लागि थप प्रहरी परिचालन गरिने जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । चार दिनसम्म मनाइने यो पर्वमा व्रती महिलाले भोजनमा माछा, मासु, लसुन, प्याज, कोदो, मसुरो, आदिको सेवन गर्नु हँुदैन । महाभारत ग्रन्थका अनुसार द्रौपदीसहित पाँच पाण्डव अज्ञात बासमा रहँदा उक्त गुप्तबास सफल होस् भनी सूर्य देवतालाई आराधना गरेको उल्लेख गरिएको छ । उक्त समयमा पाण्डवहरु मिथिलाको किराँत राजाका राज्यमा बास बसेका पनि बताइन्छ । लोकगाथाअनुसार गुप्तबास सफल भएपछि सोही समयदेखि छठपर्व मनाउने परम्परा चलिआएको देखिन्छ ।

त्यस्तै सूर्य पुराणअनुसार सर्वप्रथम अत्रिमूनिका पत्नी अनसुइयाले छठव्रत गरेपश्चात अटल शौभाग्य र इच्छा पूरा भएपछि त्यही दिनदेखि छठपर्वको शुरुआत भएको तर्क रहिआएको छ । सातौँ शताब्दीमा श्रापबाट पीडित प्रसिद्ध कवि मधुर भट्टले सूर्यको उपासनापश्चता सुन्दर र कञ्चन शरीर पुनः प्राप्त गरेकाले त्यही दिनदेखि सूर्यको आराधना प्रारम्भ भएको जनविश्वाससमेत रहेको छ । छठपर्व मनाउनुको पछाडि धार्मिक मान्यता, वैज्ञानिक, ज्योतिषसम्बन्धी तत्वहरु पनि त्यत्तिकै महत्व राख्दछ । जसअनुसार सूर्य तत्वबाट आफ्नो ज्ञानको अभिवृद्धि गरी जनकल्याणका लागि महत्वपूर्ण ठानिन्छ । भनिन्छ कि भौतिक विकास सूर्यमाथि नै आधारित भएकाले रुख, बिरुवा, वनस्पति, प्राणी, जीवजन्तु सबैको अस्तित्व सूर्यमाथि निर्भर भएको हुन्छ । त्यसैले छठपर्वमा व्रत गरे दुःख र दरिद्र हुनबाट मुक्ति पाइन्छ । सूर्य उपासना परम्पराको मोहकपद्धति मानिएकाले संसारमा यही एउटा पर्व हो जसमा भिक्षा मागेर पनि सूर्यको पूजा गर्ने परम्परा परापूर्वकालदेखि चलिआएको छ ।

छठपर्वलाई लक्षितगरी व्यापारीहरुले भारतबाट केरा तथा स्याउ आयात गरेका छन् । यस पर्वमा मुख्यरूपमा उखु, केरा, स्याउ, भोगटे, बेसारको हरियो झारपात, अदुवा, मुला, सिंगहारा, विभिन्न प्रकारका मिठाइ र विभिन्न प्रकारका पकवान चढाइन्छ भने बाँसले बनाएको विभिन्न प्रकारका ढाकीहरु प्रयोग गरिन्छ । यसैगरीे माटाका भाँडाको अनिवार्यरूपमा प्रयोग गरिन्छ । छठीमइयालाई अनिवार्यरूपमा चढाइने यी सामग्रीको बजार मूल्य चर्को भए पनि लोक आस्थाको पर्वको रुपमा रहेको छठपर्व हिन्दू धर्मावलम्बीका लागि महत्वपूर्ण भएकाले यो पर्वको तयारी एक महिना पहिलेदेखि शुरु गरिन्छ । शहरी क्षेत्रमा तडकभडकका साथ यो पर्व मनाइए पनि सुदूर ग्रामीण क्षेत्रमा यो पर्व विशिष्ठरूपमा मनाइने गरेकाले यसको मौलिकता अझसम्म कायमै रहेको छ ।

विश्वव्यापीरूपमा फैलिएको कोरोना सङ्क्रमणका कारण लामो समयदेखि सीमानाका बन्द हँुदा यसपटक सूर्य उपासनाको पर्वको रुपमा रहेको छठपर्व निकै महङ्गो हुने व्रतालुहरु बताउँछन् । विगत लामो समयदेखि नेपाल–भारत सीमानाका बन्द रहेका कारणले पर्वको लागि चाहिने आवश्यक सामग्रीसमेत पर्याप्त मात्रामा नआएपछि यसपटकको छठ महङ्गो हुनसक्ने अनुमान गरिएको छ । सूर्य उपासनाको पर्वका रूपमा रहेको छठपर्व तयारी मिथिलाञ्चल क्षेत्रमा एक महिना पहिलेदेखि शुरु भएको छ । व्रतालुहरु अहिले छठको तयारीमा जुटेका छन् भने बजारमा किनमेल गर्नेहरुको पनि घुइँचो लाग्न थालेको छ । यसपटकको छठ भने महङ्गो हुनसक्ने स्थानीयवासीको कथन छ । विगत वर्षको तुलनामा यसपटक सामानको मूल्य पनि बढेकाले महङ्गोमै सामान किन्न  स्थानीयवासी बाध्य भएका छन् । अधिकांश सामानहरुको मूल्य आकाशिएको छ । सीमाका नाकाहरु छठको अवसर पारेर खुकुलो बनाए पनि बजारमा पर्याप्त सामान नआएकाले सामानहरुको मूल्य आकाशिएको हो ।