१४ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

एभरेस्ट महिला भलिबल लिगमा ललितपुरले काठमाडौँलाई हरायो



अ+ अ-

काठमाडौँ । ललितपुर क्विन्स पहिलोपल्ट शुरु भएको एभरेस्ट महिला भलिबल लिगमा पहिलो जित निकाल्ने फ्रेन्चाइज टोली बनेको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा सोमवार भएको उद्घाटन खेलमा ललितपुर क्विन्सले काठमाडौं स्पाइकर्समाथि ३–१ को सेटमा नतिजा निकाल्दै एभरेस्ट महिला भलिबल लिगमा पहिलो जित निकाल्ने टोली हो ।

यससँगै ६ टोली सहभागी पहिलो संस्करणको फ्रेन्चाइज लिगमा क्विन्सले तीन अंक बटुलेको छ । तीन थाई खेलाडीको राम्रो साथ पाएको क्विन्सले पहिलो सेट २५–२० ले आफ्नो बनाउँदै राम्रो शुरुवात गर्यो । तर दोस्रो सेटमार्फत काठमाडौं स्पाइकर्सले पुनरागमन गर्ने संकेत गर्यो ।

यो सेट काठमाडौंले २५–२१ ले आफ्नो बनाउँदै बराबरीमा ल्यायो । उषा भण्डारीको काठमाडौं स्पाइकर्सले तेस्रो सेटमा पनि चुनौती दियो । तर, लिबेरो सलिना श्रेष्ठको ललितपुर क्विन्सले २५–२१ ले आफ्नो पक्षमा पार्दै फेरि अग्रता लियो ।

तेस्रो सेटमा ललितपुर क्विन्सकी थाइ खेलाडी र काठमाडौंकी स्वदेशी घाइते हुँदै बाहिरिए । यद्यपि, एक विदेशी खेलाडी बिना नै ललितपुर क्विन्स चौथो सेटमा काठमाडौं स्पाइकर्समाथि हावी भयो । यो सेट पनि २५–१९ ले आफ्नो पक्षमा पार्दै ललितपुर क्विन्सले पहिलो संस्करणमा सुखद् शुरुवात गरेको छ ।

सोमवार नै थप दुई खेल हुनेछन् । दोस्रो खेलमा मधेस युनाइटेडले कर्णाली एसभिस तथा तेस्रो खेलमा चितवन शक्तिले गण्डकी थन्डर्ससँग प्रतिष्पर्धा गर्दैछन् । मधेसको कप्तान निरुता ठगुन्ना र कर्णालीको कप्तानीमा मिडल ब्लकर सुमित्रा रेग्मी हुन् ।

नेपाली राष्ट्रिय टोलीकी कप्तान अरुणा शाहीले चितवन शक्तिको नेतृत्व गर्दैछिन् भने गण्डकीको कप्तानीमा सरस्वती चौधरी छिन् । प्रत्येक टोलीले एक मार्की, तीन विदेशी र १२ खेलाडी राख्न पाउने प्रावधान छ ।

सबै टोलीमा गरेर कुल १८ विदेशी खेलाडी छन् । फ्रेन्चाइज टोलीले अमेरिका, युरोप र एशियाका खेलाडीहरू अनुवन्धन गरिसकेका छन् ।

सबैले एकआपसमा खेलेपछि लिगमा शीर्ष दुई स्थानमा रहने टोलीले उपाधि भिडन्त गर्नेछन् । उपाधि भिडन्त आगामी अक्टोबर ५ मा हुनेछ ।

नेपालमा क्रिकेट र फुटबलपछि भलिबलको फ्रेन्चाइज लिग सुरु भएको हो । इन्फिनिटी ड्रिम्स प्रालिको आयोजनामा पहिलोपल्ट सुरु भएको भलिबलको फ्रेन्चाइज लिगमा कुल ६ टोलीले प्रतिस्पर्धा गर्दै छन् ।

यस फ्रेन्चाइज लिगमा भारतबाट चार जना, टर्किए, रसिया र थाइल्यान्डबाट समान तीन तथा काजकिस्तान, ट्युनिसिया, बुल्गेरिया, अमेरिका र ग्रिसबाट समान एक विदेशी खेलाडीले प्रतिष्पर्धा गर्दैछन् ।