७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar शान्ति स्थापनामा नेपालको योगदान निरन्तर रहनेछ : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीः पातारासीका १५ जनाको सामूहिक अन्त्येष्टि News Polar चाँडो शिक्षा नियमावलीको ११ औं संशोधन टुङ्ग्याउन शिक्षामन्त्रीको निर्देशन News Polar देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन News Polar मधेस प्रदेशद्वारा प्रहरीलाई ३५ थान मोटरसाइकल हस्तान्तरण News Polar साउदी अरबको ९६औँ राष्ट्रिय दिवस मनाइयो News Polar मौसममा उच्च सतर्कता, कार्यवाहक प्रधानमन्त्री वाग्लेले लिए पूर्वतयारीबारे जानकारी News Polar हिमालय टेलिभिजनका पत्रकार अर्याल र पोखरेलसहित चार जनालाई हेम-सुनिल जोखिमपूर्ण पत्रकारिता पुरस्कार News Polar प्रधानमन्त्री शाह न्यूयोर्कमा News Polar फ्लाई दुबईको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण News Polar आर्थिक विकासमा लघु, घरेलु तथा साना उद्योगको विकास अपरिहार्य: अर्थमन्त्री डा वाग्ले News Polar पत्रकारिताको व्यावसायिकता र संस्थागत गरिमा जोगाउन आत्मसमीक्षा आवश्यक छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ‘सीप तथा रोजगार मेला’मा भाग लिने प्रत्येक युवाले आफ्नो भविष्यको स्पष्ट मार्गचित्र भेट्टाउन सकोस् भन्ने उद्देश्य हो – युवा,श्रम तथा रोजगार मन्त्री यादव News Polar कार्यवाहक प्रधानमन्त्री वाग्ले र कृषि मन्त्री चौधरीबीच भेटवार्ता News Polar मन्त्री बादी र आइएफआरसी क्षेत्रीय निर्देशकबीच भेट News Polar बिपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने News Polar कांग्रेसका ५१२ पालिकामा अधिवेशन, बाँकी २४१ मा असोज ८ र ९ गते जारी रहने News Polar १८ वर्ष नपुगेकालाई कांग्रेसको सदस्यता नदिइने, सुजल चापागाईँको क्षेत्रीय प्रतिनिधि जिम्मेवारी स्थगित News Polar अध्यक्षमाथि मात्रै दोष नथोपरी एमाले एकढिक्का भएर चुनावमा जानुपर्छ : सूर्य थापा News Polar एमाले एकढिक्का भएर सरकारका गलत कामविरुद्ध उभिनुपर्छ : बडाल

कोरोना कहरमा पोखराका शक्तिपिठ, नियमित खर्च जुटाउनै मुस्किल

कोरोना कहरमा पोखराका शक्तिपिठ, नियमित खर्च जुटाउनै मुस्किल
अ+ अ-

गण्डकी । पोखरा अन्तर्राष्ट्रिय ख्याति कमाएको पर्यटकीयस्थल हो । प्रकृति र संस्कृतिका अनुपम छटाले यहाँको गरिमा र महत्व बढाएको छ । पोखरा बह्य तथा आन्तरिक पर्यटकको पनि प्रमुख गन्तव्यमा हो । यहाँका गन्तव्यसथलहरुमा धार्मिक तथा सांस्कृतिकस्थल विन्ध्यवासिनी, तालबाराही, भद्रकालीलगायत पनि पर्दछन् । यहाँको पर्यटनमा धार्मिकस्थल, मठमन्दिरले पनि उत्तिकै भूमिका खेलेका छन् ।

विश्वव्यापी फैलिएको कोरोना भाइरसको महामारीका कारण देशका विभिन्न क्षेत्र प्रत्यक्ष प्रभावित भएजस्तै यहाँका धार्मिक पर्यटकीयस्थल पनि त्यसको प्रकोपबाट अछुतो रहन सकेका छैनन् । कोरोनाको कहरसँगै बन्द भएका मठमन्दिर अहिलेसम्म पनि खुल्न सकेका छैनन् ।

मन्दिरमा आउने भक्तजनले चढाउने भेटीघाटी तथा दान सहयोगबाट मन्दिरको दैनिक प्रशासनिक खर्च चलाउँदै आइएकोमा दर्शनार्थी नै नभएपछि उक्त नियमित खर्चसमेत जुटाउन धौधौ परेको छ । पोखरा आउने पर्यटकले यहाँका विन्ध्यवासिनी, तालबाराहीलगायतका धार्मिक तीर्थस्थल नपुगेसम्म पोखरा भ्रमणलाई अपुरो ठान्दछन् । देशका विभिन्न स्थानबाट आउने आन्तरिक पर्यटकका साथै छिमेकी मुलुक भारतबाट आउने पर्यटक त अनिवार्यरूपमा विन्ध्यवासनी, तालबाराहीलगायतका मठमन्दिर पुग्ने गरेका छन् । लकडाउन यता हालसम्म मन्दिर नखुल्दा भक्तजनबाट विगतमा प्राप्त हुने गरेको दान तथा भेटीघाटी सङ्कलन नभएको विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिका सचिव तीर्थ श्रेष्ठले जानकारी दिनुभयो ।

“अघिल्लो वर्षमा यस अवधिमा विन्ध्यवासनी मन्दिरमा करिब रु तीन करोड ५० लाख भेटीघाटी सङ्कलन भएको थियो”, उहाँले भन्नुभयो, “यस वर्ष त चैतदेखि नै बन्दाबन्दी शुरु भएयता मन्दिरमा पूजाआजामा रोक लगाइएका कारण भेटीघाटी तथा दान सहयोग प्राप्त हुने कुरै भएन ।” दर्शनार्थीका लागि मन्दिर खुला नभए पनि मन्दिरमा बिहान बेलुका नियमित पूजाआजा भने सञ्चालन भइरहेको छ । लामो समयदेखि मन्दिर बन्द भएपछि भक्तजन तथा विभिन्न स्थानबाट आएका दर्शनार्थीले पूजाआजा गर्न पाउनुपर्ने माग गर्दै आएको अवस्थामा समितिले सुरक्षा मापदण्ड अपनाएर मन्दिरमा पूजाआजा गराउन पहल गरेको थियो । 

समितिको पहलमा गत असोज २२ गते गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको अध्यक्षतामा बसेको बैठकले सुरक्षा मापदण्डसहित मन्दिर खोल्ने निर्णय गरिए पनि प्रशासनबाट उक्त निर्णयको कार्यान्वयनमा रोक लगाइएको सचिव श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार उक्त निर्णयमा एकपटकमा २५ जनालाई मात्र मन्दिर परिसरमा प्रवेश गराउँदै सामाजिक दूरी, मास्क तथा स्यानिटाइजरको अनिवार्य प्रयोगलगायतका कुरालाई समेटिएको थियो । कोरोना कहरसँगै मन्दिरको आम्दानी घटेपछि विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिले यसअघि रहेका ५५ कर्मचारी कटाएर १५ जना कायम गरेको छ । 

पोखराको इतिहासको साक्षीजस्तै बनेको विन्ध्यवासिनी मन्दिर कसले र कहिले निर्माण ग¥यो भन्ने यकिन तथ्य प्राप्त नभए पनि पूजा सञ्चालन गरिरहेका ब्राह्मणले प्राप्त गरेको सनद तथा लालमोहरबाट कम्तीमा पनि ३०० वर्षअघि मन्दिर वर्तमान स्वरुपमा निर्माण भइसकेको अनुमान गर्न सकिन्छ । कास्की जिल्लाको मध्यभागमा अवस्थित २७ रोपनी क्षेत्रफलमा फैलिएको यो मन्दिर वरपरको समथरिलो भूभागबाट केही उच्च थुम्कोमा अवस्थित छ । थुम्कोमा रहेका कारण दर्शनार्थीलाई केही सिँढी चढेर उक्लनुपर्ने अवस्थामा समितिले अघिल्लो वर्षदेखि हिँड्न नसक्ने तथा असक्त दर्शनार्थीलाई लक्षित गरी लिफ्टसमेत निर्माण गरेको छ । मन्दिरमा कोरोना कहरअघि दैनिक ३००÷४०० देखि तीन÷चार हजार जनासम्म दर्शनार्थी आउने गर्दथे ।

विशेषतः आश्विन शुक्ल पक्ष, चैत्र शुक्ल पक्ष, नयाँ वर्ष र महत्वपूर्ण तिथि एवं पर्वका बेला यहाँ दर्शनार्थीको भीड लाग्ने गर्दछ । धार्मिक महत्वका साथै पोखराको दृश्यावलोकन एवं  मन्दिर परिसरबाट विभिन्न ११ वटा हिमशिखर देख्न सकिन्छ । यहाँबाट आठ हजार ९१ मिटरको अन्नपूर्ण प्रथम, सात हजार ९३७ मिटरको अन्नपूर्ण दोस्रो, सात हजार ५५५ मिटरको अन्नपूर्ण तेस्रो, सात हजार ५२५ मिटरको अन्नपूर्ण चौथो, सात हजार ४८५ मिटरको खाङसारकाङ र सात हजार २९१ मिटरको अन्नपूर्ण दक्षिण हिमाल देख्न सकिन्छ । त्यस्तै छ हजार ९९७ मिटरको माछापुच्छ«े, छ हजार ९८३ मिटरको लमजुङ, छ हजार ४४१ मिटरको घान्द्रुक हिउँचुली र पाँच हजार ७८१ मिटरको मर्दी हिमाल यहाँबाट अवलोकन गर्न सकिन्छ ।

विन्ध्यवासिनी मन्दिर गुम्बज शैलीमा सेतो रङको अष्टभुजाकार रहेको छ भने गजूरबाट तामाको श्रीवन्दी लत्रिएको छ । समितिले मन्दिरको वरपर प्रदक्षिणा पथ निर्माण गरेको छ । मन्दिरको चारैतर्फ विसं १८९६ यताका विभिन्न तिथिमितिमा राखिएका घण्टहरू छन् । पित्तलको द्वार अघि राखिएका पित्तलबाटै निर्मित दुई सिंहका आकृतिले मन्दिरको शोभा बढाएको छ । मन्दिर वरपर गणेश, हनुमान, सरस्वती, राधाकृष्ण, शिव, नवग्रह तथा अष्टचिरञ्जीवीका मन्दिर, अष्टभुजाकार कुण्ड आदि रहेका छन् ।

कोरोनाको कहरले यहाँको भद्रकाली मन्दिरमा पनि प्रभाव पारेको छ । लकडाउन शुरु भएयता हालसम्म दर्शनार्थीका लागि मन्दिर खुला नगरिएको श्रीगणेश तथा भद्रकाली मन्दिर सेवा समितिका सचिव योगेन्द्रमान श्रेष्ठले जानकारी दिनुभयो । मन्दिरमा दर्शनार्थी नआएपछि विगतका वर्षमा हुने आम्दानी नहुँदा दैनिक प्रशासनिक खर्च जुटाउन पनि हम्मेहम्मे परेको उहाँले बताउनुभयो । अघिल्लो वर्षमा यस अवधिमा लगभग रु १५ लाख दान तथा सहयोग प्राप्त भएको उहाँले बताउनुभयो । भद्रकाली मन्दिर आजभन्दा झण्डै २०० वर्ष पुरानो हो । मनोकाङ्क्षा पूरा गर्ने देवीका रूपमा प्राचीनकालदेखि पोखरा र यस आसपासका क्षेत्रमा अत्यन्त आस्था र विश्वास बोकेको मन्दिर स्थापनाको इतिहास खोतल्दा विसं १९०१ मा रामचन्द्र खत्रीले गणेश मन्दिरको स्थापना गरेको र विसं १९०३ मा गुठीको लालमोहर प्राप्त गरी मन्दिरको नित्य पूजाआजा गर्ने गरिएको पाइन्छ ।

मन्दिर परिसरमा राखिएको अभिलेखमा स्व बुद्धिमान ढेवाजु तथा कालिदास ढेवाजुले भद्रकाली माताको प्रतिमा काठमाडौँबाट ल्याई मन्दिरको निर्माण गरी नित्य पूजाआजा सञ्चालन गराएको उल्लेख छ । वरपर जङ्गलले घेरिएको ढिस्को र माथि मन्दिर रहेका कारण दर्शन र वरपरको दृश्यावलोकन गर्न पनि पर्यटक भद्रकाली मन्दिर आउने गर्दछन् । वरपर जङ्गलले घेरिएको ढिस्को भएका कारण मन्दिरमा पुग्न फेदीबाट दुई बाटो रहेकामा पूर्वी भागबाट २९२ सिँढी उक्लनुपर्छ भने दक्षिण भागबाट २६५ सिँढी उक्लनुपर्छ । प्रत्येक वर्षको आश्विन शुक्लपक्ष र चैत शुक्लपक्षका साथै बाला चतुर्दशीमा मन्दिर परिसरमा विशेष मेला लाग्ने गरेको छ ।

पोखराको गहनाको रुपमा रहेको फेवातालको बीचमा रहको तालबारही मन्दिर पनि कोरोना कहरका कारण लकडाउन यता खुल्न नसकेको तालबारही मन्दिर गुठी व्यवस्थापन समितिका अध्यक्ष हिक्मतबहादुर कुँवरले जानकारी दिनुभयो । मन्दिरको दानपेटिकामा नियमित रुपमा सङ्कलित रकमका साथै कोजाग्रत पूर्णिमा तथा नयाँ वर्षका दिन राम्रै दान सहयोग प्राप्त हुने गरेको थियो । प्राप्त दान तथा सहयोगले दैनिक प्रशासन सञ्चालनमा सहजता ल्याउने गरेको उहाँले बताउनुभयो । मन्दिर नखुले पछि यहाँका डुङ्गा व्यवसायी पनि प्रत्यक्ष मारमा परेका छन् । माछापुच्छ हिमालको छायाँ देखिने तालको बीचमा रहेको सानो टापूमाथि प्यागोडा शैलीको कलात्मक मन्दिर अवस्थित छ र यसलाई प्राचीनकालदेखि तालबाराही मन्दिरका रुपमा पुजिँदै आइएको छ । तालको बीचमा रहेका कारण तालबाराही हुन गएको सहजै अनुमान गर्न सकिने यो मन्दिर कसले र कहिले निर्माण गरेका हुन् भन्ने यकिन तथ्य भने अझै अनुसन्धानकै पर्खाइमा छ ।
 
यो मन्दिरको अस्तित्व विसं १६६७ देखि कायम रहिआएको छ । कतैकतै विसं १४४७ देखि अस्तित्वमा रहेको भन्ने पनि अभिलेख पाइएको छ । कास्कीका राजा कुल मण्डन शाहले मन्दिरमा खरको झुप्रो हालेर पहिलोपटक मन्दिर स्थापना गरेका थिए । प्राचीनकालमा माटोको ढिस्कोमा एउटा शिला थियो त्यहीँ मन्दिर स्थापना गरी बाराहीका रूपमा पूजाआजा गर्न थालिएको किंवदन्ती छ । किंवदन्तीअनुसार तालको बीचमा टापू बनेको र त्यहीँ मन्दिर स्थापना गरिएको इतिहास निकै रोचक छ । बाराही देवीको शक्तिले तालको बीचमा टापू बनेको विश्वास छ । तालबाराही देवी सन्यासीको भेषमा रातको समय मन्दिर रहेको वरपरको गाउँ पुग्दा अरू कसैले बास दिएनछन् । एउटी बुढीआमाले बास दिएर रातमा आफूसँग भएको ढुटाको रोटी खान दिनुभएछ । श्रुतिअनुसार भोलिपल्ट बिहान बुढीआमालाई देवीले अब यहाँ जलमग्न हुन्छ त्यहाँ गएर बस्नु भनेकामा ठूलो बाढी भएर जलमग्न भयो र बीच भागमा ढिस्को मात्रै रह्यो । 

विसं २०१७ मा राजा महेन्द्रले अहिलेको स्वरूपमा मन्दिर निर्माण गरिदिएपछि यसले थप चर्चा पाउन थालेको हो । फेवाताल र यसको बीचमा अवस्थित तालबाराही मन्दिरको दर्शन गर्न वर्षभरि नै दर्शनार्थी आउने गर्दछन् । यी धार्मिकस्थलका साथै पोखराको गुप्तेश्वर महादेव गुफा, पुम्दिकोटका साथै लेखनाथ क्षेत्रमा रहेका ऐतिहासिक धार्मिक पर्यटकीयस्थल ठूलाकोट, कोटभैरव, नर्मदेश्वर मोक्षाश्रमधामलगायतका धार्मिकस्थलमा पनि कोरोनाले केही न केही प्रभाव पारिरहेको छ ।  

पोखरा र आसपासका धार्मिक पर्यटकीयस्थलले धर्म र पर्यटन दुवै जोडेको पर्यटन व्यवसायी एवं पोखरा पर्यटन परिषद्का पूर्वअध्यक्ष चीरञ्जीवी पोखरेल बताउनुहुन्छ । धार्मिक आस्थाका साथै यहाँको ऐतिहासिकता र दृश्यावलोकन आदि प्रयोजनका साथ पर्यटकहरू आउने गरेको बताउँदै उहाँले पोखरामा पर्यटकको बसाइँ लम्ब्याउन यहाँका धार्मिकस्थलले केही न केही भूमिका खेलेको बताउनुभयो । पोखरामा पर्यटकलाई लक्षित गरी सुरक्षा मापदण्डका साथ पर्यटन बजार खुला गरिए पनि आसपासका पर्यटकीय गन्तव्य नखुल्दा आउने पर्यटक निराश बनेर फर्कनुपरेको पोखरेलको भनाइ छ ।