काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारले सिआईपी सम्मान (व्यवसायिक महत्वपूर्ण व्यक्ति) गर्ने निश्चित मिति घोषणा गर्न माग गर्नुभएको छ ।
शुक्रवार नेपाल सिमेन्ट उत्पादक संघको नवनिर्वाचित कार्यकारी समितिको बैठकमा बोल्दै उहाँले यस्तो माग गर्नुभएको हो । सिआईपी जारी गर्ने निश्चित मिति घोषणा गर्नसके धेरै निर्यात गर्ने, धेरै कर तिर्ने, धेरै भन्दा धेरै रोजगारी दिने र व्यवसायीलाई पनि सक्षम बनाउने काम हुने बताउनु भयो । उहाँले सिआईपी जारी गर्ने निश्चित मिति घोषणा गर्दा समग्रमा सकारात्मक वातावरण दाबी गर्नुभयो । उहाँले नेपाल सरकारका कतिपय नीतिहरुको कारणबाट उद्योगी, व्यवसायीहरुले दुःख पाइरहेको बताउनु भयो । उहाँले आवश्यक भएको ठाउँमा नीतिहरु परिवर्तन गरी समय सापेक्ष बनाउन माग गर्नुभयो । उहाँले दुई ठूला राजनीतिक दलहरु मिलेर बनेको सरकारपछि निजी क्षेत्रले लगानी गर्ने मनोबल बढाएको बताउनु भयो । उहाँले निजी क्षेत्रलाई सँगै लिएर जानसके मात्रै सरकार सफल हुने बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘वास्तवमा नेपाल सरकारका कतिपय नीतिहरुको कारणबाट कतिपय, सरकारको रेभिन्यु खर्च नगरीकन सरकारको तर्फबाट गर्ने केही सरकारी खर्च नगरीकन गर्ने निर्णयहरुले धेरै काम गर्छ भन्नेकुरा राख्न चाहन्छु । माननीय मन्त्रीज्युले निजी क्षेत्रले गरेको, निजी क्षेत्रले रोजगारी सिर्जना, रेभिन्युमा सहयोग गरेको र निजी क्षेत्रलाई सँगै लिएर निजी क्षेत्रको मनोबल बढाउने कुरामा माननीय मन्त्रीज्युले जुन इन्करेज गर्नुभयो । त्यसको लागि मन्त्रीज्यु र सरकारलाई धेरै धन्यवाद दिन चाहन्छु । श्रीमान सचिवज्यु वास्तवमा यो सिआईपीको डेट फिक्स गरौँ । यो दिन नेपाल सरकारले सिआईपी दिन्छ भनेर एउटा पब्लिक डेट घोषणा गरौँ । यसले धेरै निर्यात गर्ने, धेरै कर तिर्ने, धेरै भन्दा धेरै रोजगारी दिने व्यवसायीलाई इन्करेज गर्नेछ । जसले समग्रमा सकारात्मक वातावरण बनाउनेछ ।’
अध्यक्ष ढकालले अहिले सकारात्मक माहोल बनिरहेको भन्दै यसले आगामी दिनमा निजी क्षेत्रबाट महत्वपूर्ण उपलब्धि हुने विश्वास राख्नुभयो । उहाँले दुई ठूला राजनीतिक दल मिलेर बनेको सरकारबाट व्यवसायीक वातावरण मिलेको महशुस भएको बताउनु भयो । उहाँले अहिले लगानीको वातावरण रहेको र आन्तरिक लगानी बढ्नेमा विश्वस्त रहेको जिकिर गर्नुभयो । –न्युज एजेन्सी नेपाल