१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

सुरक्षित ठानिएको घर नै पहिरोले पुरेपछि…

सुरक्षित ठानिएको घर नै पहिरोले पुरेपछि…
अ अ+ अ-

गलकोट (बागलुङ) : बागलुङको बडिगाड गाउँपालिका–१० आरुपाटा गाउँका स्थानीय लगातारको वर्षाले त्रसित थिए । सोमबार साँझदेखि परेको भारी वर्षाबाट निम्तिन सक्ने विपद्को अनुमान लगाउँदै आरुपाटाका स्थानीयले सतर्कतासमेत अपनाएका थिए ।

आरुपाटाका स्थानीय आज बिहानै सुरक्षित घर खोज्दै छिमेकी जोगबहादुरको बुढाको घरमा पुगे । अपसोच बिहान ११ बजेर २० मिनेट पुग्दा सुरक्षित भनेर स्थानीय जम्मा भएकै घरलाई पहिरोले बगायो । पहिरोले जोगबहादुर बुढाको घर पुर्दा छ जनाको मृत्यु भयो  ।

पहिरोमा चार जना अझै बेपत्ता रहेको आशङ्का रहेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी प्रमुख ऋषिराम कँडेलले जानकारी दिनुभयो । कँडेलका अनुसार घटनास्थल निकै दुर्गम स्थानमा भएका कारण प्रहरी चार घण्टापछि मात्रै उद्धारका लागि त्यहाँ पुगेको थियो ।

बडिगाड गाउँपालिका–१० का वडाध्यक्ष वीरेन्द्रकुमार बुढामगरका अनुसार भारी वर्षापछि स्थानीय सुरक्षित स्थान खोज्दै जोगबहादुर बुढामगरको घरमा पुगेका थिए । “गाउँमा पहिराको जोखिम थियो, जोगबहादुर बुढाको घरभन्दा तलको घर पहिरोको जोखिममा रहेका कारण सुरक्षित घरमा बसेर बुर्तिवाङ जाने योजनाका साथ छिमेकी यस घरमा आएका रहेछन्”, वडाध्यक्ष बुढामगरले घटनास्थलको दृश्य सम्झँदै भन्नुभयो, “जुन घर अलि सुरक्षित छ भनेर छिमेकी आएर जम्मा भएका थिए, त्यही घरलाई नै पहिरोले लग्यो, पहिरोले घरसहित गोठसमेत बगाएको छ, स्थानीयको सहयोगमा प्रहरी पुग्दा पाँच जनाको शव निकालिएको थियो, एक जनाको उद्धारपछि मृत्यु भएको थियो अन्य बेपत्ताको खोजीका लागि प्रहरी र नेपाली सेना परिचालन भएको छ ।”

घटनास्थलमा पुगेका प्रहरीले एउटै घरमा ठूलो मानवीय क्षति भएको र शवको पहिचान गर्दा एउटै घरका नभएर छिमेकी परेको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी विजय यादवका अनुसार आश्रय लिएको घर नै पहिरोले बगाएपछि ठूलो मानवीय क्षति भएको हो । केही पहिरोको जोखिम टार्न जोगबहादुर बुढाको घरमा आएका थिए भने केही बुर्तिवाङ जानलाई त्यस घरमा पुगेका थिए ।

“एउटै घरमा यति धेरै मानिस रहेछन्, फरकफरक समुदायका मानिस आश्रय लिनका लागि त्यस घरमा पुगेको पाइयो”, यादवले भन्नुभयो, “त्यही घर नै पहिरोले पुर्दा छ जनाको मृत्यु भएको छ, अन्य चार जना बेपत्ता रहेको स्थानीयले बताएका छन्, बेपत्ताको यकिन भएको छैन, खोजीका लागि प्रहरी र नेपाली सेना परिचालन भइरहेको छ ।”

प्रहरीका अनुसार मृत्यु हुनेमा बागलुङ जिल्लाको बडिगाड गाउँपालिका १० निवासी ७० वर्षीया देवी कामी, पाँच महिनाकी सीता विक, सात वर्षीय मालती बुढा, आठ वर्षीय अमल बुढा, ११ वर्षीया सीता पुन र घरधनी ७८ वर्षीय जोगबहादुर बुढा रहनुभएको छ ।

पहिरोमा परेर नौ जनासमेत घाइते हुनुभएको छ । पहिरोमा परी घाइते हुनेमा बडिगाड गाउँपालिका–१० बस्ने २६ वर्षीय ओमप्रकाश पुन, ४६ वर्षीय सङ्गीता बुढा, २३ वर्षीया सिर्जना विक, ४३ वर्षीय मङ्गल सेन बुढा, १९ वर्षीया रिमा पुन, ६० वर्षीया सुमित्रा विक, ५१ वर्षीय  शशिराम विक, नौ वर्षीय ज्ञाने बुढा र ३१ वर्षीया सीता थापा घाइते हुनुभएको छ । घाइतेको बडिगाड गाउँपालिकाले पठाएको स्वास्थ्यकर्मीबाट प्राथमिक उपचार गरिएको छ । घरधनी जोगला बुढाको जीवितै उद्धार गरे पनि उद्धारको एक घण्टापछि मृत्यु भएको हो । पहिरोमा परी १० वर्षीय मनोज बुढा, तीन वर्षीय आरुष थापा, ६० वर्षीया मधु बुढा र ११ वर्षीय सुमन विक पहिरोमा बेपत्ता हुनुभएको प्रहरीको भनाइ छ ।

पहिरोमापरी गम्भीर तथा घाइतेको उद्धार र उपचारका लागि नेपाली सेनाको हेलिकप्टर परिचालन गरे पनि मौसम बाधक बनेको प्रमुख जिल्ला अधिकारी नेत्र सुवेदीले बताउनुभयो । पहिरोमा परेर गम्भीर घाइते भएकाको उद्धारका लागि काठमाडौँबाट आएको नेपाली सेनाको हेलिकप्टर बागलुङ बजारमा अवतरण गरेको छ । उद्धारका लागि हेलिकप्टर पुनःबुधबार बिहानै पठाउने उहाँले बताउनुभयो ।

बडिगाड गाउँपालिका–१० आरुपाटाको पहिरोमा परेर गम्भीर घाइते भएकाको उद्धारका लागि नेपाली सेनाको हेलिकप्टर पटकपटक प्रयास गर्दा पनि मौसमका कारण बडिगाडमा अवतरण गर्न नसकेपछि श्री नम्बर २३ बाहिनी अड्डा बागलुङमा अवतरण गरेको हो ।

कुहिरो, हाइटेन्सन लाइन र नखुलेको मौसमका कारण हेलिकप्टर बागलुङमै अवतरण गर्नुपरेको श्री नम्बर २३ बाहिनी अड्डा बागलुङका प्रमुख कर्नेल शीतल बानियाँले जानकारी दिनुभयो । हेलिकप्टर बुधबार बिहान पुनःउद्धारका लागि घटनस्थलतर्फ जाने प्रहरीले जनाएको छ ।

यस्तै पहिरोका कारण बडिगाड गाउँपालिका–९ स्थित नयाँ बस्तीका १४ वर्षीय विधान परियार र सोही वडाको खहरे भन्ने ठाउँका २४ वर्षीय गङ्गा बस्नेतको मृत्यु भएको छ । घर माथिबाट आएको पहिरो पन्छाउने क्रममा परियारको र बाटोमा हिँड्दै गर्दा माथिबाट आएको पहिरोले बस्नेतको मृत्यु भएको थियो । रासस