१९ असार २०८३, शुक्रबार
,
Latest
३६ लाख मूल्यका भन्सार छलीका सामान बरामद हेलिकप्टरबाट यात्रु र सवारी खोजी गर्न निर्देशन बर्डफ्लु सङ्क्रमणबाट सचेत र सुरक्षित हुन आग्रह प्रहरीसँग गोली हानाहान, लागुऔषध कारोबारी पक्राउ बैतडीमा बस दुर्घटना : घाइतेको सङ्ख्या २० पुग्यो एमालेको नजरमा सरकारको १०० दिन: सुशासनको आवरणमा प्रतिशोध र स्वेच्छाचारिता जनअपेक्षा सम्बोधन गर्दै सुशासनको जग बसाल्न सरकार सफल भयोः सभापति लामिछाने विभागद्वारा पन्छीजन्य उत्पादनको ओसारपसार गर्दा अनिवार्य रूपमा भेटेरिनरी प्रमाणपत्र लिन निर्देशन सरकार मुलुकको आर्थिक सङ्कट समाधान गर्न अग्रसर हुनुपर्ने : एमाले भारतीय प्रधानमन्त्री मोदी अर्को साता इन्डोनेसिया, अस्ट्रेलिया र न्युजिल्यान्डको भ्रमण गर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

बालाचतुर्दशी पर्व, पशुपतिमा महादीपदान नहुने



अ+ अ-

काठमाडौँ ।  प्रत्येक वर्ष मार्गशीर्षकृष्ण त्रयोदशीका दिन बेलुकी दिवङ्गत पितृका नाममा दीपदान र चतुर्दशीका दिन बिहान शतबीज छरी मनाइने बालाचतुर्दशी पर्व आज बेलुकीदेखि हुँदैछ ।

पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवमन्दिरमा बालाचतुर्दशीको अघिल्लो रात आज दिवङ्गत पितृका नाममा दीपदान गर्न लाखौँ भक्तजन आउने गरेकामा यसवर्ष पशुपतिनाथमा भने मेला नलाग्ने पशुपति क्षेत्र विकास कोषले जनाएको छ । बाला चतुर्दशीमा लाखौँ भक्तजन पशुपतिमा आउने गरेकाले कोरोना फैलने डरले यसवर्ष दीपदान नगर्न अनुरोध गरिएको कोषका कोषाध्यक्ष डा मिलनकुमार थापाले बताउनुभयो । आज दीपदान गरी आइतबार बिहानै पितृको सम्झनामा शतबीज छरी बालाचतुर्दशी पर्व मनाइन्छ । 

प्रत्येक वर्ष मार्गशीर्ष कृष्ण चतुर्दशीका दिन बालाचतुर्दशी पर्व मनाउन देशका विभिन्न स्थानबाट भक्तजन पशुपतिमा आउने गरेकामा यस वर्ष मेला नलाग्ने भएपछि श्रद्धालुले नजिकैको शिवालयमा दीपदान गर्ने भएका छन् । प्रत्येक मार्गशीर्षकृष्ण त्रयोदशीको बेलुकी पशुपतिमा दीपदान गर्न जाने गर्नुभएका कागेश्वरी मनोहरा नगरपालिका–६ का श्रीराम सापकोटा यसवर्ष नजिकैको शिवालयमा दीपदानको तयारी गरिएको बताउनुहुन्छ ।
 
आफ्नो परिवारभित्रका दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्दै १०८ शिवलिङ्ग, कैलाश, सूर्यघाट, गौरीघाट, आर्यघाट, गुह्येश्वरी, पशुपति, मृगस्थली, विश्वरूप र किराँतेश्वर आदि ठाउँमा शतबीज छर्ने गरिन्छ । पशुपतिमा दूरी कायम गरी चतुर्दशीका दिन बिहान शतबीज भने छर्न सकिने कोषले जनाएको छ । बालाचतुर्दशीको पूर्वसन्ध्या मार्गशीर्ष कृष्ण त्रयोदशीका दिन राति भक्तजनले पशुपतिनाथको मन्दिर वरपर बसी दिवङ्गत आत्माका नाममा महादीप बाली भजनकीर्तन र लोक झाँकी प्रस्तुत गरी रात बिताउने गर्ने परम्परा छ । 

शतबीज भनिए पनि हाल सप्तबीज (धान, जौ, तिल, गहँ, चना, मकै, कागुनो) छर्दै मृगस्थलीमा रहेका बहिरा गणेश नजिक आइपुगेपछि उक्त गणेशको शिलालाई हल्लाउँदै ठूलो स्वरले दिवङ्गत आत्माले पाउने गरी सन्देश पु¥याउन अनुरोध गरिन्छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष एवं धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतम हेमाद्रि नामक धर्मग्रन्थमा उल्लेख गरिएअनुसार धानका सय गेडा चढाउनुपर्ने अरु अन्न होइन भन्नुहुन्छ । 

 “भगवान् शिव मृगरूप लिएर घुम्नुभएको पुण्यक्षेत्रमा आजका दिन एक गेडा बीज छर्दा एक गेडा सुन दान गरेबराबरको पुण्य मिल्ने र दिवङ्गत आत्माले पनि मुक्ति पाउने चर्चा विभिन्न धर्मग्रन्थमा गरिएको छ” उहाँले भन्नुभयो । 

 वाग्मती किनारको मृगस्थलीमा भगवान् शिव मृगरूप धारण गरेर विहार गर्नुभएको थाहा पाई त्यस शिवरूपी मृगलाई चिन्न पार्वतीले विभिन्न किसिमको बीज छरेको र ती बीज उम्री हरिया भएपछि मृगहरू आउँदा सो बथानमा भगवान् शिवलाई पार्वतीले चिन्न सकेको किम्बदन्ती छ । यसैगरी बालाचतुर्दशीसँग जोडिएको अर्को एउटा कथा पनि छ । सो कथाअनुसार उहिले पशुपतिको मुर्दाघाटमा बस्ने ‘बालानन्द’ नामका एक मानिस खाजा खान लाग्दा त्यसै बखत पोलिएको शवको टाउको फुट्न गई उछिट्टिएको गिदी उनको च्युरामा परेको थियो । सो गिदीसँगै च्युरा खाँदा झन् मीठो भएकाले त्यसै बेलादेखि उनी मुर्दाको गिदी खान पल्किए । 

त्यसपछि मानिसको गिदी खाने तथा लामालामा दाह्री, जुँगा र कपालले गर्दा मानिस डराई उसलाई बालासुर राक्षस भन्न थालेको र त्यसै बखत उसको राम्रो परिचय पाएका एकजना थकाली बूढाको सल्लाहअनुसार स्थानीय बासिन्दाले बालासुरको मित वृषसिंहमार्पmत् उसलाई मार्न लगाएको कथा पनि प्रचलित छ । 

आफ्ना मितको हत्याबाट छट्पटाएका वृषसिंहलाई एक रात सपनामा भगवान् शिवजीले दर्शन दिई शतबीज छर्ने आज्ञा दिनुभएको थियो । मार्गकृष्ण चतुर्दशीका दिन श्लेषमान्तक वनको वरिपरि शतबीज छर्दा बालासुर वैतरणी तरेर गएकाले त्यसै बेलादेखि यस दिनलाई बालाचतुर्दशी भनी दिवङ्गत आत्माको शान्तिका लागि शतबीज छर्ने गरिएको हो । 
 
मातापिता दिवङ्गत भई एक वर्ष पूरा नभएकाले भने शास्त्रीय रुपमा दीपदान एवं शतबीज रोपण गर्नुनहुने समितिका अध्यक्ष गौतमले सुनाउनुभयो । धर्मसिन्धु नामक ग्रन्थमा बरखी बारेकाले शिवको पूजा आजा त परको कुरा नामसमेत लिनु नहुने उल्लेख गरिएको छ । यस अवसरमा पशुपति क्षेत्र पुग्ने भक्तजनले वासुकी र गुह्येश्वरीको पूजा गर्नुपर्ने शास्त्रीय वचन रहेको छ । चतुर्दशीको बिहान शतबीज छरी हवन गरेपछि बाला चतुर्दशी पर्वको विधि पूरा हुने शास्त्रीय परम्परा छ ।(रासस)
–––