७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन News Polar मधेस प्रदेशद्वारा प्रहरीलाई ३५ थान मोटरसाइकल हस्तान्तरण News Polar साउदी अरबको ९६औँ राष्ट्रिय दिवस मनाइयो News Polar मौसममा उच्च सतर्कता, कार्यवाहक प्रधानमन्त्री वाग्लेले लिए पूर्वतयारीबारे जानकारी News Polar हिमालय टेलिभिजनका पत्रकार अर्याल र पोखरेलसहित चार जनालाई हेम-सुनिल जोखिमपूर्ण पत्रकारिता पुरस्कार News Polar प्रधानमन्त्री शाह न्यूयोर्कमा News Polar फ्लाई दुबईको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण News Polar आर्थिक विकासमा लघु, घरेलु तथा साना उद्योगको विकास अपरिहार्य: अर्थमन्त्री डा वाग्ले News Polar पत्रकारिताको व्यावसायिकता र संस्थागत गरिमा जोगाउन आत्मसमीक्षा आवश्यक छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ‘सीप तथा रोजगार मेला’मा भाग लिने प्रत्येक युवाले आफ्नो भविष्यको स्पष्ट मार्गचित्र भेट्टाउन सकोस् भन्ने उद्देश्य हो – युवा,श्रम तथा रोजगार मन्त्री यादव News Polar कार्यवाहक प्रधानमन्त्री वाग्ले र कृषि मन्त्री चौधरीबीच भेटवार्ता News Polar मन्त्री बादी र आइएफआरसी क्षेत्रीय निर्देशकबीच भेट News Polar बिपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने News Polar कांग्रेसका ५१२ पालिकामा अधिवेशन, बाँकी २४१ मा असोज ८ र ९ गते जारी रहने News Polar १८ वर्ष नपुगेकालाई कांग्रेसको सदस्यता नदिइने, सुजल चापागाईँको क्षेत्रीय प्रतिनिधि जिम्मेवारी स्थगित News Polar अध्यक्षमाथि मात्रै दोष नथोपरी एमाले एकढिक्का भएर चुनावमा जानुपर्छ : सूर्य थापा News Polar एमाले एकढिक्का भएर सरकारका गलत कामविरुद्ध उभिनुपर्छ : बडाल News Polar भोटेकोशी बाढीले क्षतिग्रस्त पिमलटार–जागाराम झोलुङ्गे पुल पुनः सञ्चालन News Polar भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँदै News Polar रैथाने बाली सङ्कटमा

कर्णालीमा महामारीको जोखिम र कठ्याङ्ग्रिने जाडोमा सकसपूर्ण पढाइ

कर्णालीमा महामारीको जोखिम र कठ्याङ्ग्रिने जाडोमा सकसपूर्ण पढाइ
अ+ अ-

कर्णाली । नेपाल सरकारले विद्यालय खोल्न अनुमति दिएसँगै अहिले देशभर विद्यालय धमाधम सञ्चालनमा आएका छन् । आठ महिनाको अन्तरालमा विद्यालय सञ्चालनमा आएपछि यतिबेला शैक्षिक क्षेत्रमा विस्तारै शिक्षण क्रियाकलापको चहलपहल बढ्न थालेको छ । 

धुलोमाटोसँग खेल्दै आएका बालबालिकाले विद्यालय देख्न पाएका छन् । शहरमा कोठा लिएर पढ्ने बालबालिका गाउँबाट तल झर्ने क्रम चलेको छ । अभिभावक आफ्ना नानीहरु विद्यालय पठाउन पाउँदा खुशी छन् । गाउँबाट दक्षिण झर्नेको लर्को निरन्तर देखिएको छ ।
    
पढ्ने सिलसिलामा होस् या व्यापार व्यवसायका लागि, हिमाली भेगबाट ओर्लिनेको घुइँचो बढ्दै जाँदा यतिबेला यातायात व्यवसायीलाई भ्याइनभ्याइ छ । दैनिक सयौँको सङ्ख्यामा हिमाली बासिन्दा फापर, सिमी, चामल, ओखर, स्याउ लिएर ओरालिँदै गरेका दृश्यहरु जति पनि देख्न पाइन्छ उता गाउँहरु भने सुनसान हुन थालेका छन् ।
    
घरपरिवारका सदस्यको लुगाफाटोका लागि तराई झर्ने र कालापहाड उक्लने वर्षेनीको हिमाली बासिन्दाको बाध्यता यो वर्ष पनि छुटेन । कोरोना महामारीभन्दा गास र कपासको समस्या टार्न मनमष्तिस्कमा कोरोनाको डर पालेर भएपनि घर छोड्नुको विकल्प छैन कर्णालीवासीलाई ।  
    
साविक कर्णालीका चार जिल्लाका लागि यो मङ्सिर महिना शैक्षिक सत्रको अन्त्य हो । यो कठोर चिसोमा हिमाली विद्यालय खुल्दा पहाडी, भित्री मधेश र तराईको बालबालिकाका लागि अनुकूलित वातावरण भएपनि त्यहाँका बालबालिकाका लागि भने यो निकै प्रतिकूल समय हो । 
    
जाडो हुने भएरै नेपाल सरकारले हिमाली जिल्लामा मङ्सिरलाई शैक्षिक सत्रको अन्तिम बनाएर पुस र माघ दुई महिना बिदा दिँदै आइएको थियो । कोरोना महामारीले ल्याएको विषम् परिस्थितिका कारण नेपाल सरकारको निर्देशनमा स्थानीय सरकारहरुले विद्यालय खोलेका छन् । यद्यपि, हिमाली जिल्लाका लागि यो याममा विद्यालय खोल्नु बाध्यकारी नै ठानिन्छ ।
    
मङ्सिर लागेयता कर्णाली प्रदेशका हिमाली जिल्ला हुम्ला, मुगु, डोल्पा, जुम्लाको न्यूनतम तापक्रम माइनस झरिसकेको छ । यही मङ्सिर ६ गते जुम्लाको न्यूनतम तापक्रम माइनस चार डिग्री सेन्टिग्रेटमा झरेको हावापानी फिल्ड कार्यालय जुम्लाका कार्यालय प्रमुख आशामपुरा कार्कीले जानकारी दिनुभयो । “कहिले त जुम्लाको न्यूनतम तापक्रम दुई डिग्री सेन्टीग्रेट छ र अब तल लाग्न पनि सक्छ” उहाँले भन्नुभयो, “जाडो दिन प्रतिदिन बढिरहँदा जनजीवन कष्टकर बन्दै गएको छ ।” 

चिसोले पाइप जमेर घरमा पानीको अभाव हुन थालेको चन्दननाथ नगरपालिका– ६ जुम्लाका स्थानीय सम्झना महतले बताउनुभयो । महतले भन्नुभयो, “हामी बजारकोभन्दा एकाबिहानै उठेर दाउरा बेच्ने, खेतबारीमा मलपर्सो बोक्ने, घर लिपपोत गर्ने गाउँका महिला र विद्यालय जाने बालबालिकालाई चिसोले सताएको छ । रुघाखोकी लागेर समस्या बनाएको छ ।” 
    
कठ्याङ्ग्रिने जाडोले बालबालिका र ज्येष्ठ नागरिकलाई शौचालय जानसमेत कठिन बनाएको बताउने थालिएको छ । तरपनि त्यो कठोर जाडोमा यहाँका बालबालिका विद्यालय गएर पढ्न थालेका छन् । चिसोसँग जुधेर पढ्नु उनीहरुको दैनिकी जस्तै बनेको छ । यसबाट गरिब परिवारका बालबालिका बढी प्रभावित भएका छन् ।  
    
चिसोले गाडीको डिजेल पेट्रोल जम्न थालेपछि यातायात व्यवसायीलाई सास्ती हुन थालेको छ । गाडी सञ्चालनमा ल्याउन उनीहरुले दाउरा किनेर तेल ट्याङ्कर तताउँदै आएका छन् । बिहान बेलुका चिसोले गर्दा हिमाली जनजीवन कष्टकर बन्दै गएको छ ।
    
कठ्याउने चिसोका कारण बालबालिकालाई कक्षा कोठामा बसाएर पढाउने अवस्था छैन । कठ्याङ्ग्रिने जाडोले पढ्ने विद्यार्थी र पढाउने शिक्षक सबैलाई ठूलो समस्या भएको पातारासी गाउँपालिका सरस्वती मावि रिनी जुम्लामा कार्यरत शिक्षक जयशंकर धितालले जानकारी दिनुभयो ।
    
नेपाल सरकारले अहिले हिमाली जिल्लाको शैक्षिक सत्र चार महिना बढाएको छ । यसले मुलुकभरको शैक्षिक सत्र मिलान भएपनि शिक्षण क्रियाकलाप सहज नहुने देखिएको छ । हिमाली क्षेत्रका विद्यालयमा हुने शैक्षिक गतिविधिहरु कोरोना कहर र कठ्याङ्ग्रिने जाडोको कष्टकर अवस्थामा सञ्चालन भइरहेको चन्दननाथ नमूना मावि खलंगा जुम्लाका प्रधानाध्यापक टंक महतले बताउनुभयो । 
    
“हामी र हाम्रा बालबालिकाले एकातिर जाडोबाट बच्नुछ भने अर्कोतिर कोरोना भाइरसको सङ्क्रमण फैलनबाट जोगिन त्यत्तिकै सावधानी अपनाउनु पर्नेछ”, प्रधानाध्यापक महतले भन्नुभयो, “एउटा समस्याले समात्यो भने पनि हाम्रो शिक्षण क्रियाकलाप त्यत्तिकै प्रभावित हुने निश्चित छ । त्यसैले अतिरिक्त बाक्लो लुगा लगाएर बालबालिकालाई विद्यालय आउन भनेका छौँ ।”
    
सरकारले यस वर्ष पाठ्यक्रम खुम्च्याएर पठाएकाले सोहीअनुरुप पठनपाठन भइरहेको बताउँदै उहाँले आधारभूत तहको एक दिन र मावि तहको अर्को दिन भौतिक दूरी कायम गरेर अध्यापन गरिरहेको बताउनुभयो । उहाँका अनुसार चन्दननाथ नमूना माविले स्वास्थ्य सुरक्षाका आवश्यक मापदण्ड अपनाएर विद्यालय सञ्चालन गरेको छ । 
    
यता शिक्षा विकास निर्देशनालय कर्णाली प्रदेशका निमित्त निर्देशक दीपा हमालले चालू आर्थिक वर्षमा कर्णाली प्रदेशमा आधारभूतदेखि मावि तहसम्म अध्ययनरत कूल विद्यार्थी सङ्ख्या पाँच लाख ८२ हजार ११ रहेको जानकारी दिनुभयो । जसमा रुकुमपश्चिममा ५४ हजार ८१८, जाजरकोटमा ७८ हजार २००, सल्यानमा ७९ हजार १७४, दैलेख ९७ हजार १८७ र सुर्खेतमा एक लाख १८ हजार १८२ विद्यार्थीलाई एक देखि १२ कक्षासम्म अध्ययन गरिरहेका छन् ।
    
त्यस्तै साविक कर्णालीको डोल्पामा १० हजार ३८६, हुम्लामा १७ हजार ५६८, मुगुमा २० हजार ७३६, जुम्लामा ३९ हजार ५६० र कालीकोटमा ६६ हजार २८० विद्यार्थी सङ्ख्या रहेको निमित्त निर्देशक हमालले बताउनुभयो । “कर्णालीका हिमाली जिल्लाका रुपमा चिनिने साविक कर्णालीका पाँच जिल्लामा कूल एक लाख ५४ हजार ५३० (२६.५५प्रतिशत) बालबालिका अध्ययनरत छन्,” निमित्त निर्देशक हमालले भन्नुभयो, “यो कोरोना महामारी र कठ्याङ्ग्रिने जाडोको उच्च जोखिममा उनीहरु नै छन् ।” 
    
कोरोनामा महामारीमा स्वास्थ्य सुरक्षा मापदण्डहरु अपनाएको भने देखिँदैन । गाउँका बालबालिकाले दैनिकरुपमा सहजै मास्क प्रयोग गर्न नसक्ने र खोजे पनि भेटिने अवस्था नरहेको तिला गाउँपालिकाका निमित्त प्रधानाध्यापक मानबहादुर सिंहले बताउनुभयो । “हामीले बालबालिका विद्यालय प्रवेश गर्दा अनिवार्यरुपमा साबुनपानीले हात धुने वा स्यानिटाइजर प्रयोग गर्ने गराएका छौं,” उहाँले भन्नुभयो, “चिसोले हात धुन नसक्दा स्यानिटाइजरको प्रयोग भइरहेको छ ।” 
    
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका अस्पताल निर्देशक डा मंगल रावलले भने अहिले हिमाली जिल्लामा कोरोनाभन्दा कठोर जाडोले रुघा खोकी, दम र निमोनियाका बिरामीहरु बढ्न थालेको बताउनुभयो । निर्देशक डा। रावलले भन्नुभयो, “यसमा बालबालिका, ज्येष्ठ नागरिक र महिलाहरु नै बढी प्रभावित छन् । यसको प्रमुख कारण भनेकै जाडो अधिकतम् प्रभाव हो ।” 
    
उहाँले कोरोनासँग नडराउन र हेलचक्र्याइँ पनि नगर्न सबैमा आग्रह गर्नुभएको छ । यो समयमा आफूलाई न्यानो राख्न, झोलिलो पदार्थहरु खान, विशेषगरी अभिभावकहरुले आफ्ना नानीहरुलाई उचित सुरक्षा दिन प्रतिष्ठानले सुझाएको छ । 
    
शिक्षा विकास तथा समन्वय एकाई हुम्लाका कार्यालय प्रमुख विष्णुबहादुर शाहीले हुम्लाका स्थानीय तहहरुले बेलाबेलामा विद्यालय खोल्ने प्रयास गर्दा कोरोना देखिएपछि बन्द भएको बताउनुभयो । पछिल्लो समयमा हुम्ला नाम्खा गाउँपालिकामा कोरोना सङ्क्रमण देखिएकोले अहिले हुम्लामा विद्यालय सञ्चालन नभएको जनाउनुभयो ।
    
“हुम्लामा एकातिर जाडो निकै बढेको छ भने अर्कोतिर कोरोना सङ्क्रमणको प्रभाव त्यस्तै छ,” एकाइ प्रमुख शाहीले भन्नुभयो, “अब माघ १५ गते विद्यालय सञ्चालन हुनेगरी हाललाई यहाँका सबै विद्यालय बन्द गर्ने निर्णय गरिएको छ ।” नेपाल सरकारले विद्यालय सञ्चालनका लागि गरेको निर्देशन कोरोना र जाडोले हिमाली जिल्लाका अनुकूल बन्न नसकेको उहाँको भनाई छ । 
    
हिजोआज हिमाली जिल्लाका विद्यालयबाट चिसोले फाटेका हात, धुलोले लपेटिएका कपडा लिएर बालबालिका घर फर्कछन् । चिसोले बालबालिका न आफै हात धुन सक्छन् नत अभिभावकले सजिलै लुगाकपडा धुन सक्छन् । तर पनि कठ्याङ्ग्रिने जाडो र कोरोनाको महामारीमा सकसपूर्ण पढाई चलिरहेकै छ ।
    
पछिल्लो समयमा विद्यालयमा पनि कोरोना भाइरस सङ्क्रमण देखिँदा यसले शिक्षण क्रियाकलापलाई अझ बढी प्रभावित बनाएको छ । कोरोनाको सङ्क्रमण फैलिने खतरा र कठ्याङ्ग्रिने जाडोको चपेटामा परेका यहाँका बालबालिकाको जीवन अझ बढी जोखिममा रहेको देखिएको छ । यस्तो परिस्थितिमा तीनै तहका सरकारले उनीहरुलाई दुवै जोखिमबाट सुरक्षित राख्ने वैकल्पिक बाटो खोजेर अध्ययन अध्यापनका गतिविधि सञ्चालन गर्न सक्नुपर्दछ ।