७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar शान्ति स्थापनामा नेपालको योगदान निरन्तर रहनेछ : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीः पातारासीका १५ जनाको सामूहिक अन्त्येष्टि News Polar चाँडो शिक्षा नियमावलीको ११ औं संशोधन टुङ्ग्याउन शिक्षामन्त्रीको निर्देशन News Polar देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन News Polar मधेस प्रदेशद्वारा प्रहरीलाई ३५ थान मोटरसाइकल हस्तान्तरण News Polar साउदी अरबको ९६औँ राष्ट्रिय दिवस मनाइयो News Polar मौसममा उच्च सतर्कता, कार्यवाहक प्रधानमन्त्री वाग्लेले लिए पूर्वतयारीबारे जानकारी News Polar हिमालय टेलिभिजनका पत्रकार अर्याल र पोखरेलसहित चार जनालाई हेम-सुनिल जोखिमपूर्ण पत्रकारिता पुरस्कार News Polar प्रधानमन्त्री शाह न्यूयोर्कमा News Polar फ्लाई दुबईको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण News Polar आर्थिक विकासमा लघु, घरेलु तथा साना उद्योगको विकास अपरिहार्य: अर्थमन्त्री डा वाग्ले News Polar पत्रकारिताको व्यावसायिकता र संस्थागत गरिमा जोगाउन आत्मसमीक्षा आवश्यक छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ‘सीप तथा रोजगार मेला’मा भाग लिने प्रत्येक युवाले आफ्नो भविष्यको स्पष्ट मार्गचित्र भेट्टाउन सकोस् भन्ने उद्देश्य हो – युवा,श्रम तथा रोजगार मन्त्री यादव News Polar कार्यवाहक प्रधानमन्त्री वाग्ले र कृषि मन्त्री चौधरीबीच भेटवार्ता News Polar मन्त्री बादी र आइएफआरसी क्षेत्रीय निर्देशकबीच भेट News Polar बिपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने News Polar कांग्रेसका ५१२ पालिकामा अधिवेशन, बाँकी २४१ मा असोज ८ र ९ गते जारी रहने News Polar १८ वर्ष नपुगेकालाई कांग्रेसको सदस्यता नदिइने, सुजल चापागाईँको क्षेत्रीय प्रतिनिधि जिम्मेवारी स्थगित News Polar अध्यक्षमाथि मात्रै दोष नथोपरी एमाले एकढिक्का भएर चुनावमा जानुपर्छ : सूर्य थापा News Polar एमाले एकढिक्का भएर सरकारका गलत कामविरुद्ध उभिनुपर्छ : बडाल

यस्तो अलपत्र अवस्थामा छ बागलुङको तामाखानी

यस्तो अलपत्र अवस्थामा छ बागलुङको तामाखानी
अ+ अ-

बागलुङ । ‘टुप्पीभन्दा माथि ठाउँ छैन, गुर्जाभन्दा माथि गाउँ छैन”, यो उक्ति म्याग्देलीको हो । ठ्याक्कै उस्तै भनाइ पश्चिम बागलुङतिर पनि सुन्न पाइन्छ– ‘टुप्पीभन्दा माथि ठाउँ छैन, नर्जाभन्दा माथि गाउँ छैन ।’ 

नर्जा र गुर्जा दुवै सुदुर सुन्दर गाउँ हुन् । त्यहाँको विकट भूगोल र कठिन दिनचर्या झेलेका कसै न कसैले ती उक्ति रचेको हुनुपर्छ । तिनै उक्ति पछि आएर जनबोलीमा मिसिए  अनि ती गाउँका दुःख सुनाउने सहारा बने । कतिले त नर्जा र गुर्जालाई अन्तिम गाउँका रुपमासमेत लिन्छन् । अहिलेको पुस्ताले सुगम क्षेत्रमात्र बस्न रुचाउने भएकोले यी दुई सुन्दर गाउँको इतिहास थाहा नपाएको पनि हुनसक्छ । 

बागलुङको तमानखोला गाउँपालिका–६ स्थित नर्जा र म्याग्दीको धवलागिरि गाउँपालिका–१ मा पर्ने गुर्जा गाउँबीचको भौगोलिक दुरी लामो छ । जटिल भू–वनोट छ । केही अघिसम्म सबैभन्दा दुर्गमको परिचय यिनै गाउँले बोक्थे ।  

गाउँको अवस्थिति तथा भूगोलको बनोटले नर्जा र गुर्जा विकट लागेपनि प्राकृतिक स्रोत, साधन र खनिजका दृष्टिले यी दुई गाउँको निकट साइनो छ । 

दुवै गाउँमा अल्पसङ्ख्यक छन्त्याल जातिको बाहुल्य बसोबास छ । आफ्नै संस्कृति र रहनसहन छ । कुनैबेला छन्त्याल जातिको पुख्र्यौली पेशा तामाखानीमा निर्भर थियो । यही क्षेत्रमा पर्ने ‘उपल्लो बाइस खानी’को सञ्चालन छन्त्यालहरुले नै गर्थे ।

म्याग्दीको मल्कबाङखानी, मच्छिमखानी, गुर्जाखानीहुँदै बागलुङको लाम्मेलाखानी, गुर्जाखानी, खुङ्खानी, बोङ्खानी, घोसाखानी, घैयाखानीलगायत ‘उपल्लो बाइस खानी’ अन्तर्गत थिए । पछि खानीकै नामबाट गाउँ चिनिन थाले । लेखाइ र बोलीचालीमा नर्जा÷नर्जाखानी र गुर्जा/गुर्जाखानी दुवै शब्द प्रचलित छन् ।

तमानखोला गाउँपालिकाको केन्द्र बोङ्गादोभानबाट १५ किमि मोटर यात्रापछि नर्जा आइपुग्छ । भिमकाय पहाडले घेरिएर बीचमा थपक्क बसेको छ नर्जा गाउँ । बयली, मालिका र नौडल्लेको धुरी हेर्दा चल्तीको उक्ति स्मृतिमा आइपुग्छ–‘टुप्पीभन्दा माथि ठाउँ छैन, नर्जाभन्दा माथि गाउँ छैन ।’ 

माथि गाउँ नभएर के भो चारैतिर प्राकृतिक स्रोत र खनिजले युक्त छ नर्जा । वडाध्यक्ष कुलबहादुर छन्त्यालको भनाइमा नर्जा गाउँ ‘तामाको सिरानी राखेर सुतेको’ छ । त्यस वडाका नर्जाखानी, भित्रीवन र पात्ले गाउँको सिरानपट्टि तामाखानीका सयौँ तोबा (प्वाल), सुरुङ र अवशेष छन् ।

माटो सुँघेर खानी पत्ता लगाउने पुस्ता

स्थानीयवासी ओमप्रकाश छन्त्यालले आफ्ना बाजे, पुर्खाले ‘माटो सुँघेर’ खानी पत्ता लगाउने गरेको किस्सा सुनाउनुभयो । “त्यतिबेला सलाई भन्ने थिएन, निगालो काटेर, हप्तौँ दिनसम्म पानीमा भिजाएर त्यही बालेर सुरुङ खन्ने, तामा निकाल्ने काम हाम्रा पुर्खाहरुले गर्थेे”, उहाँले भन्नुभयो ।

खानी खन्दै नर्जा आइपुगेका छन्त्यालका पूर्वजहरुले पछि यतै थातथलो बसाएको उहाँको भनाइ छ । “छन्त्यालको मुख्य पेशा नै तामाखानी चलाउने थियो, खानी बन्द भएपछि यही ठाउँमा खेती र पशुपालन गरेर बसे”, स्थानीय विष्णु आधारभूत विद्यालयका प्रधानाध्यापकसमेत रहनुभएका छन्त्यालले भन्नुभयो ।

उहाँले घरछेउको आँगनमा छिनो, घनसहित र निगालोको नमुना बत्ती बनाएर तामाखानी खन्ने परम्परागत विधिसमेत देखाउनुभयो । बुबा रुपलालले खानीबाट उत्खनन गरेको तामाको धाउ (टुक्रा) देखाउँदै उहाँले नर्जा गाउँ वरिपरि पहिरो जाँदासमेत तामाका धाउ निस्कने गरेको बताउनुभयो ।

छन्त्यालका अनुसार खानीका अवशेष रहेका ठाउँमा अहिले पनि तामाका धाउ भेटिन्छन् । वडाध्यक्ष कुलबहादुरका अनुसार पुस्तौँदेखि चलेका तामाखानी श्री ३ चन्द्र शमशेरको पालामा विसं १९८१ देखि बन्द भएका हुन् । तत्कालीन सरकारले कर (भेजा उठाउने) नियम बसालेपछि गाउँलेले तामा निकाल्न छाडेका थिए । छन्त्यालहरुले रैथाने प्रविधिबाट तामा उत्खनन गर्थे । 

घन र छिनोको सहायताले महिनौँ लगाएर सुरुङ खन्थे, तामाका धाउ निकाल्थे । धाउ गालेर भाडावर्तन बनाउँथे । कतिले त्यही बेचेर जिवीका धान्थे । अहिले पनि नर्जाका कतिपय घरमा त्यहीँको तामाबाट बनेका परम्परागत भाँडाकुँडा छन् । “यहाँका तामाखानी उत्खनन गर्न सके राज्यले ठूलो लाभ लिने थियो”, वडाध्यक्ष कुलबहादुरले भन्नुभयो, “अहिले त अवशेष पनि मेटिन थालेका छन्, तामाखानीको अस्तित्व नै हराएर जाने भयो ।” 

स्थानीयवासीले बेलाबेलामा तामाखानी संरक्षण र उत्खननको आवाज उठाउने गरेपनि सुनिदिने कोही छैन । नर्जा पुगेका आगन्तुकलाई गाउँलेले तामाखानीका सुरुङ र अवशेष देखाउँछन् । खानी उत्खनन गर्नुपर्ने आफ्नो मागलाई सम्बन्धित पक्षसम्म पु¥याइदिन माग गर्छन् । गाउँलेलाई तामाखानीको अस्तित्व नामेट हुने हो कि भन्ने चिन्ता छ ।

तामाखानीका सुरुङ वन्यजन्तु लुक्ने थलो बनेका छन् । कति पुरिइसकेका छन् । पहिले छन्त्यालहरुको मुख्य पेशा नै तामाखानी चलाउने थियो । कर बापत तामा नै सरकारलाई बुझाउने प्रावधान आएपछि पुरानो पुस्ताले खानी खन्न छाडेको प्रअ ओमप्रकाशको भनाइ छ । राज्यलाई तिर्नुपर्ने करलाई त्यसबेला भेजा उठाउने भनिन्थ्यो । 

“हाम्रो ठाउँमा कर उठाउने जिम्मा सात गाउँका डिठ्ठा वर्षवीर छन्त्यालले लिएका थिए” उहाँले भन्नुभयो, “कर बढी लागेपछि गाउँलेले खानी खन्नै बन्द गरे, पछि खानी सञ्चालनमा आउन सकेनन् ।” खोज, उत्खनन गर्ने हो भने तामाखानीको प्रचुर सम्भावना रहेपनि त्यसतर्फ कसैको ध्यान नगएकामा उहाँको दुःखेसो छ ।

 त्यहाँका खानीबाट निकालिएको तामा महँगा भाँडावर्तन र सिक्का बनाउन प्रयोग गर्ने गरिन्थ्यो । खानीमा महिनौ बिताएर उत्खनन गरेको तामाबाट स्थानीयले जिवीकोपार्जन गर्थे । एक पाथी कच्चा पदार्थबाट साढे ७ सय ग्रामसम्म तामा निक्लन्थ्यो । तामा उत्खननको जिम्मा छन्त्यालले लिएपनि त्यसलाई आफर लगाउने (पगाल्ने) काम दलित र बेच्ने काम थकालीले गर्थे । 

तामाखानी उत्खननको लागि सङ्घीय सरकारबाटै पहल हुनुपर्ने वडाध्यक्ष कुलबहादुरले बताउनुभयो । खोज, अनुसन्धानमा आधुनिक यन्त्र, प्रविधि र जनशक्ति चाहिने उहाँको भनाइ छ । नर्जाको उपल्लो भेगमा तामाखानीका एक किलोमिटरभन्दा लामा सुरुङहरु रहेको स्थानीयवासी बताउँछन् । उत्खननपछि तामा सजिलै भेटिनेमा गाउँलेलाई कुनै शङ्का छैन ।

तामाखानी पहिचान र सूचीकृत गरिने

गाउँपालिका अध्यक्ष जोकलाल बुढाले तामाखानी रहेको क्षेत्रको पहिचान र सूचीकृत गर्न पहल थालिएको बताउनुभयो । “पहिले प्रयोगशालामार्फत नमूना परीक्षण गरेपछि कुन गुणस्तर र कति मात्रामा तामा छ भन्ने पत्ता लाग्दोरहेछ”, उहाँले भन्नुभयो, “यहाँ रहेको तामा परीक्षणका लागि चिनियाँ प्राविधिकलाई देखाउने तयारीमा छौँ ।”

उहाँले अहिले बागलुङ नगरपालिका–८ तित्याङमा तामाखानी उत्खनन गरिरहेको चिनियाँ टोलीमार्फत नमूना परीक्षण गरिने बताउनुभयो । तामाखानीको सम्भाव्यता अध्ययनपछि खोज र उत्खननका लागि सङ्घ सरकारलाई आग्रह गरिने अध्यक्ष बुढाको भनाइ छ । उहाँका अनुसार गाउँपालिकाको लाम्मेला, नर्जाखानी, खुङ्खानी र बोङ्खानीमा तामाखानी छन् । तीमध्ये पनि सबैभन्दा बढी खानीका अवशेष नर्जाखानीमा छन् । वडा नं ३ स्थित तमान गाउँनजिक नयाँ वनमा फलामखानीसमेत रहेको वडाध्यक्ष बुढाले बताउनुभयो ।

तामाखानी उत्खनन गरेर सञ्चालनमा ल्याउन सके रोजगारी सिर्जनाका साथै गाउँको आर्थिक समृद्धिले ठूलो फड्को मार्ने उहाँको भनाइ छ । गाउँपालिकाले खानी तथा भूगर्व विभागमार्फत पनि तामाखानी अध्ययनको काम अघि बढाउन पहल गरिएको जनाएको छ । खानी सञ्चालनमा आउन सके लामो समय विकासमा पछि परेको तमानखोलालाई आर्थिक रुपमा सबल र आत्मनिर्भर बनाउन मद्दत पुग्ने देखिन्छ ।

खनिज उत्खननमा राज्यले लगानी गर्न सकेमा त्यसबाट मुलुकले तय गरेको समृद्धिको यात्रालाई सघाउ पुग्नेछ । जसको प्रत्यक्ष लाभ नर्जाजस्ता सुदुर गाउँका जनसाधारणले पनि लिन पाउनेछन् । सडकलगायतका पूर्वाधार पुगेपछि विस्तारै नर्जाको मुहार त फेरिदैँछ तर गाउँललेको जीवनस्तर उकासिन अझै बाँकी छ । स्थानीय सरकार आएपछि नर्जा गाउँको विकासले केही गति लिएको छ ।

अब नर्जावासीलाई आत्मनिर्भर र स्वरोजगार बनाउनुपर्ने चुनौती छ । स्थानीय स्रोत, साधनको उपयोगमार्फत ग्रामीण अर्थतन्त्र चलायमान बन्न सक्छ । सदरमुकामदेखि ३६ कोष पश्चिममा अवस्थित नर्जामा पछिल्ला दुई वर्षमा सडक, खानेपानी, स्वास्थ्य, शिक्षा, सञ्चारलगायत आधारभूत सुविधा पुगेको छ । 

दुई वर्षअघि जिल्लाका अन्य सबै वडा सडक सञ्जालमा जोडिँदासमेत नर्जा मात्र एउटा गाउँ थियो जहाँका सर्वसाधारण मोटर भेटाउन तीन घण्टा पैदल हिँड्नुपथ्र्यो । अहिले अवस्था फेरिएको छ । वर्षौँसम्म राज्यको नजरबाट छिपेको नर्जा गाउँलाई सडक सुविधाले केही सुगम बनाएको छ । 

“बाटो आउला, गाउँबाटै मोटर चढ्न पाइएला भन्ने लागेको थिएन”, ६० वर्षीया लालकुमारी छन्त्यालले भन्नुभयो, “विकास पनि देख्न पाइयो, अब कोही पनि घर छाडेर बाहिर अरुको देशमा जानु नपरोस्, परिवारसँगै बसेर यतै केही इलम गर्ने, गाउँमै रमाउने अवस्था बनोस् ।”