७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar मधेस प्रदेशद्वारा प्रहरीलाई ३५ थान मोटरसाइकल हस्तान्तरण News Polar साउदी अरबको ९६औँ राष्ट्रिय दिवस मनाइयो News Polar मौसममा उच्च सतर्कता, कार्यवाहक प्रधानमन्त्री वाग्लेले लिए पूर्वतयारीबारे जानकारी News Polar हिमालय टेलिभिजनका पत्रकार अर्याल र पोखरेलसहित चार जनालाई हेम-सुनिल जोखिमपूर्ण पत्रकारिता पुरस्कार News Polar प्रधानमन्त्री शाह न्यूयोर्कमा News Polar फ्लाई दुबईको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण News Polar आर्थिक विकासमा लघु, घरेलु तथा साना उद्योगको विकास अपरिहार्य: अर्थमन्त्री डा वाग्ले News Polar पत्रकारिताको व्यावसायिकता र संस्थागत गरिमा जोगाउन आत्मसमीक्षा आवश्यक छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ‘सीप तथा रोजगार मेला’मा भाग लिने प्रत्येक युवाले आफ्नो भविष्यको स्पष्ट मार्गचित्र भेट्टाउन सकोस् भन्ने उद्देश्य हो – युवा,श्रम तथा रोजगार मन्त्री यादव News Polar कार्यवाहक प्रधानमन्त्री वाग्ले र कृषि मन्त्री चौधरीबीच भेटवार्ता News Polar मन्त्री बादी र आइएफआरसी क्षेत्रीय निर्देशकबीच भेट News Polar बिपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने News Polar कांग्रेसका ५१२ पालिकामा अधिवेशन, बाँकी २४१ मा असोज ८ र ९ गते जारी रहने News Polar १८ वर्ष नपुगेकालाई कांग्रेसको सदस्यता नदिइने, सुजल चापागाईँको क्षेत्रीय प्रतिनिधि जिम्मेवारी स्थगित News Polar अध्यक्षमाथि मात्रै दोष नथोपरी एमाले एकढिक्का भएर चुनावमा जानुपर्छ : सूर्य थापा News Polar एमाले एकढिक्का भएर सरकारका गलत कामविरुद्ध उभिनुपर्छ : बडाल News Polar भोटेकोशी बाढीले क्षतिग्रस्त पिमलटार–जागाराम झोलुङ्गे पुल पुनः सञ्चालन News Polar भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँदै News Polar रैथाने बाली सङ्कटमा News Polar महामारीजन्य पशुरोग नियन्त्रणका लागि नयाँ कानुनी ढाँचा आवश्यक : मन्त्री चौधरी

अम्बर सिम्फोनी

अम्बर सिम्फोनी
अ+ अ-

आज देशको शेयर सूचीमा कति अंक माथि वा कति अंक तल त्यो हिसाब स्टक एक्सचेन्जमा देखिएला, कति घाटा वा कति नाफा बैँकको खाताको मौज्दातमा पुष्टि होला ।
आज राष्टको कराडौँ करोड मूल्यको सम्पत्ति सकाएर म घर फर्किँदा मैले आफ्नो स्वजनको सूचिमा श्रद्धेय अम्बर गुरूङको नामको अगाडि स्वर्गीय थप्ने दुस्साहस सम्म गरेँ ।
स्वर्गीय अम्बर गुरूङसितको आजको ७ घन्टा लामो यात्रा आर्यघाटमा गएर दुई घन्टा चानचुनमा सकिएको छ ।

यो विगतको ११ घन्टामा मैले अम्बर गुरूङका बारे ७ प्रश्न यी यी सम्झेँ ।

पहिलो
१. अम्बर नेपाल किन आए ?
अम्बर गुरूङका पिता उजीरसिंह अनि उनका बुबा नेपालको रिसिंगबाट कामको खोजीमा भारतको दार्जीलिँग गए । दार्जीलिँगमा उनको व्यवसायिक बसाई भयो , त्यही अम्बर जन्मिए गुरूङ परिवारमा ।

पूर्व सैनिकको परिवारमा जन्मिएका अम्बरले पहिलो प्राक्कथनमै नेपाली जातिलाई चुनौति दिएर अगमसिंह गिरीको गीत गाए,

नजाऊ फर्की नेपाल उठेर भन्छ देउराली
हामीलाई माया लाग्दछ हाम्रै पाखा चियाबारी

यो गीत उनले समयमा रेकर्ड गर्न नसके पनि यस गीतको जवाफ उनलाई नेपालबाट पुष्प नेपालीको आयो,

फर्क है फर्क नेपाली
तिमीलाई डाक्छ नेपाली

पुष्प नेपालीको यो गीत पछि अम्बरले अगमसिंह गिरीकै संगीतमा फेरि जवाफ दिए,

नसम्झ आज नेपाली सञ्चोले यहाँ बाँचेको
छैन र कहाँ पहाडी फूल काँडाको माझ हाँसेको

नौलाख तारा गीतको वीचको यो गीतको पंक्तिले जनकवि धर्मराज थापाले पहिले प्रश्न लेखिसकेका थिए,

'..नेपालीले माया मार्यौ बरि लै
जन्मेको देशलाई नेपाली भेषलाई…'

तर वास्तवमा अम्बरको जवाफको मूल पक्ष धर्मराज थापा, पुष्प नेपालीले बुझे पनि नबुझे पनि तत्कालीन राजा महेन्द्रले बुझे । राजा महेन्द्रले यो गीत दार्जीलिँगमा अम्बरको होइन, अर्कै मान्छेको स्वरमा सुनेर अचम्भित भएका थिए ।

पछि अम्बर काठमाण्डूमा आएर जमलको प्रभा हलमा यो गीत गाउँदा राजा महेन्द्रले फर्मायस गरे, फेरि अम्बरले यो गीत दोहोर्याएर गाए ।

यसपछि राजाले उनलाई यो भेटमा नेपाल मै बसेर काम गर्न आग्रह गरे, तर उनले त्यो आग्रह स्वीकार्न सकेनन् किनकि त्यतिवेला अम्बर पश्चिम बँगाल सरकारको आर्ट एकादेमीका निर्देशक थिए । आफ्नो जिम्मेवारी र पद छोडेर उनी आउन सकेनन् र आएनन् पनि ।

पछि राजा महेन्द्रले हेलिकोप्टर पठाएर उनलाई नेपाल ल्याए जुन उनको जीवनको ठूलो परिवर्तन हुन पुग्यो ।

राजा महेन्द्रसित उनको भेट हुनु अगि नेपालबाट दार्जीलिँग पुगेका शंकर लामिछाने, कवि भूपी शेरचन, भाषाविद् चित्तरञ्जन नेपालीसित उनको भेट भइसकेको थियो । नेपालबाट उनी यी साहित्यिक व्यक्तित्वबाट प्रभावित भइसकेका थिए ।

नेपाल आउनु त्यतिवेला उनका लागि ठूलो चुनौति थियो तर डर पनि थियो अर्को अर्थमा , उनको बन्दै गरेको सुदूर भविष्य अनि भारतमा नेहरुको डक्टरायन । र नेहरु र महेन्द्रको फरक फरक स्वदेश प्रेम ।

उनी नेपाल आए  अरु जस्तो काम खोज्न होइन , उनलाई काम गर्न बोलाइएको थियो ।

२. प्रज्ञा प्रतिष्ठान नै किन ?

नेपाल प्रज्ञा प्रतिष्ठान राजा महेन्द्रको बर्न चाइल्ड थियो यसले दशवर्षे बालखको रुप ग्रहण गर्दै थियो तर अवस्था यसको लयबद्ध थिएन । अम्बर गुरूङलाई यहाँ संगीत निर्देशक पद सिर्जना गरेर कलमी सारियो ।

प्रज्ञा भवनको प्राँगणमा लगाइएको अम्बर नामको कलमी तत्कालीन राजा महेन्द्रको गीत गर्न होइन, त्यतिवेला प्रज्ञा प्रतिष्ठानको भवन टिकाउन र नाटक मञ्चनको इतिहास कोर्न अम्बरलाई एक पिलरको रुपमा प्रयोग गरियो ।

फर्केर हेर्दा, पहाड चिच्याइरहेछ, जब घाम लाग्छ जस्ता नाटकमा उनले पहिलो पटक प्रज्ञा प्रतिष्ठानभित्रै बसेर प्रतिभा देखाए , यही नाटकको सफलता पछि प्रज्ञा प्रतिष्ठानले कुलपति चढ्ने रातो भ्यान किन्यो । अम्बर त्यसका एक कारिगर थिए ।

एक समीक्षकका दृष्टिले प्रज्ञा प्रतिष्ठानमा सारिएको अम्बर नामक् कलमीको खेर गएको समय पनि त्यही दशक हो भनेर ठोकुवा गर्दा म भूलमा पर्दिनँ ।
प्रज्ञा प्रतिष्ठानमा प्रवेश गरेको अर्को साल अम्बरलाई गोरखा दक्षिण वाहु दिइयो ।

(अम्बर गुरूङका साथ लेखक प्रकाश)

३ त्यो गोरखा दक्षिण वाहु को पीडा

उनले गोरखा दक्षिण वाहु पाएको साल नेपालको राष्टिय दैनिक गोरखापत्रमा छापिएको समाचार उनका बाबु उजिर सिंह गुरूङले आफनी छोरीबाट सुने तर उनले पत्याएनन् , भारतबाट गएको मान्छेलाई नेपालका राजाले के तक्मा देलान् ? त्यो अर्कै नेपालकै अम्बर भन्ने कोही होला ।

यो अम्बरका पिताको अविश्वासलाई उनले पछि जिते, उनी साँच्चै नेपालकै अम्बर भए ।

गोरखा  दक्षिण वाहु पाएको उनको यो खुशी केही वर्ष पछि नाश भयो जब उनले नालायक भनेका संगीतकारलाई पनि यो पदक दिइयो । उनले आफ्नो डेराको झ्यालबाट यो तक्मा मकै बारीमा हुत्याइदिए ।

तर विहानतिर उनलाई डर जस्तो लाग्यो ।

उनले फ्याँकेको तक्मा कतै राजाका सेनाले पाएर उनलाई डण्डी लगाए भनें । उनी तक्मा खोज्न मकैबारीमा पसे तर पाएनन् ।
उनलाई ज्वरो जस्तो आयो, तीन चार  दिन यही पीरले उनी थलिए पनि ।

उनकी पत्नी  वीणाले उनलाई हाँस्दै सोधिन् , किन के भयो र सञ्चो नभए जस्तो छ ?

जवाफमा अम्बरले भने, त्यही गोरखा दक्षिण वाहुको कुरा गरे जुन उनले बारीमा फ्याँकेका थिए ।

अम्बर  पत्नी वीणाले भनिन् , किन चिन्ता लिएको त्यो तक्मा मैले राखिदिएको छु दराजमा ।

अम्बर नेपालमा दक्षिण वाहु पाउन र राजाको गीत गर्न आएका थिएनन् तर उनी कता कता खुम्चिए जस्तो भए । उनले मेजर वर्क त गर्न पाएनन् तर …

४ अम्बरको मेजर वर्क

अम्बर गायक, संगीतकार वा गीतकार त छँदैथिए तर उनी एक कुशल संगीत संयोजक पनि थिए । उनले कैँयौ कालजयी गीतमा आफैँ संगीत गरेका छन् । उनी एक कुशल वाद्यवादक पनि ।

नेपाली जातिमा स्टाफ नोटेशन लेख्न जान्ने विरलै नेपाली संगीतकारमा अम्बर एक हुन् । उनले नेपालमा क्वायर गर्ने सपना देखे र त्यो पूरा पनि गरे विसं २०४९ मा ।
अम्बरले क्वायर बाहेक मिनी सिम्फोनी, क्यान्टटा पनि गरे , यी सबैमा यिनको खूबी एक संगीतकारको रुपमा कम एक संगीत परिकल्पनाकारको रुपमा धेरै देखिन्छ ।

५ अम्बर एक स्कुल थिए कि इन्स्टिच्युशन ?

स्कुलिँगको अर्थ विद्यालयीय भाषामा विद्यार्थी जन्माउनु र हुर्काउनु हो तर अम्बरको सांगीतिक पाठशालको शैली फरक थियो , स्वतन्त्रता । अर्थात् आफूलाई फरक अस्तित्वमा स्वीकार्नु ।

अम्बर गुरूङले दार्जीलिँगको लोक मनोरञ्जन शाखामा हुँदै एक हुल शिष्यलाई आफ्नो सांगीतिक विरासत दिइसकेका थिए, शरण प्रधान, रञ्जित गजमेर, कर्म योञ्जन, गोपाल योञ्जन, रुद्रमणी गुरूङ, अरुणा लामा, पिटर जे कार्थक त्यसका विम्ब थिए र तिनैले पछि अम्बरको सांगीतिक छविमा प्रतिविम्ब थपे । अम्बर त्यहीँनेर इन्स्टिच्युशनको रुपमा देखिए ।

पछि उनले नेपालमा पनि कलाकार प्रशिक्षणको सिलसिलामा शक्तिवल्लभ, बुलु मकारुँग, निलम श्रेष्ठ, जयनन्द लामा,  महेशराज ठाकुर, बसन्त खड्का, ठूले राई, राजेन्द्र श्रेष्ठ आदि जन्माए भने भने पछि पनि उनका शिष्य यो जगतमा देखिए ।

५. चलचित्र संगीतमा अम्बर किन एक्लै ?

चलचित्रका निम्ति अम्बरले धेरै कममा संगीत दिए , मेरो देश, सपना कतिपय, जीवन रेखा र मनको बाँध ।

यी सबै फिल्म फरक फरक विधाका थिए तर जीवन रेखाको पाश्र्व संगीत र मनको बाँध को पृष्ठ संगीतले उनलाई जीवनभर परिचित बनायो ।

उनले गर्न चाहेका र गर्न खोजेका सिनेमायी संगीतको विशाल क्षितिज यहाँ साँघुरो अर्थमा टेम्पररी म्युजिक मात्र थियो जुन उनको लक्ष्य थिएन र भएन पनि ।
अम्बरले वृत्तचित्र आदिकवि भानुभक्तमा गरेको संगीत आजसम्मकै उत्कृष्ट संगीत पनि हो ।
थारुभाषाको फिल्म कर्म मा उनले गरेको संगीत पनि यादगार मान्न सकिन्छ ।

६ म अम्बर हुँ तिमी धरति

अम्बरले नेपाली संगीतमा शुरु गरेको आत्मकथात्मक गायनको यो एक युगान्तकारी पुष्टि हो जसलाई पछ्याउन अझै एक पुस्ता बाकी नै छ । अर्थको दुर्दान्त प्रभाव के छ भने समयले अम्बरलाई सदैव आफ्ना र आफ्नो ठानिएकाबाट परै राख्यो । यो उनको गीतमा र जीवनमा बारम्बार देखिन्छ ।

उनका सांगीतिक शिष्यहरुले उनीसित अनेक काम गरेका छन् र उनले आफ्ना शिष्यका निम्ति योगदान पुर्याएका छन्, कसैलाई पाठ सिकाएर कसैलाई जीवन ज्यूँने बाटो देखाएर ।

तर उनको गीतमा भनिए जस्तै एक किसिमको अनौठो सम्बन्ध रह्यो उनका शिष्यहरु सित । कोही शिष्यले मुम्बई लगेर उनको गीत बेचेर खाए ।कोही शिष्यले उनलाई मुद्दा लड्ने सम्म पनि बनाए ।

तर सम्बन्ध त उनको अम्बर र धरतीको नै रह्यो टाढा र नजीक ।

७ दुई साथीसितको जीवन्तता

अम्बरको जीवनको ७९ वर्षमा उनले चिनेका र चिनेर मनपराएका दुई स्रष्टा छन्, शंकर लामिछाने र  भूपी शेरचन ।

यी दुईलाई भेट्नु र नेपाल चिन्नुमा नै उनको सौभाग्य खुलेको उनी ठान्छन् ।

भूपीले उनलाई नजन्मेका कलाकार भनेका छन् भने शंकरले उनलाई भविष्यका सिम्फोनी मेकर मानेका छन् । तर दुवै गइसकेपछि उनले कैयौ काम गरे, कैँयौ इतिहास रचे ।
अम्बरले नेपाल आउनु अगि उतै हुँदा कवि ईश्वरवल्लभ, कवि बैरागी काइँला पनि नचिनेका होइनन् तर भूपी, शंकर ले बनाएको यिनको निम्तिको बाटो कठिन त थियो तर अस्पष्ट थिएन त्यसैले उनी भूपीको कविता र शंकरको निवन्धमा देखिने नेपालको मोन्टाज खोज्न नेपाल आए ।

नेपाल यिनका निम्ति अगमसिंह गिरीले भने जस्तो पराई पीडा भएन । अम्बरका धुनहरु यहाँ कालकालसम्म दिगन्त भएर गुञ्जिरहनेछन् यो कुरा शंकरले चालीसवर्ष अगि नै भनिसकेका थिए ।

म अम्बर हुँ उनले त्यही सही भनेका रहेछन् गीतमै भएपनि ।