१९ असार २०८३, शुक्रबार
,
Latest
सामुदायिक शिक्षाको गुणस्तर सुधार गरी दक्ष जनशक्ति उत्पादन गरिने शिक्षामन्त्रीद्वारा विश्वविद्यालयका नवनियुक्त उपकुलपतिको शपथ    जगदुल्ला जलविद्युत् आयोजनाको सुरुङ निर्माण सुरु, ऊर्जामन्त्री श्रेष्ठद्वारा शुभारम्भ ३६ लाख मूल्यका भन्सार छलीका सामान बरामद हेलिकप्टरबाट यात्रु र सवारी खोजी गर्न निर्देशन बर्डफ्लु सङ्क्रमणबाट सचेत र सुरक्षित हुन आग्रह प्रहरीसँग गोली हानाहान, लागुऔषध कारोबारी पक्राउ बैतडीमा बस दुर्घटना : घाइतेको सङ्ख्या २० पुग्यो एमालेको नजरमा सरकारको १०० दिन: सुशासनको आवरणमा प्रतिशोध र स्वेच्छाचारिता जनअपेक्षा सम्बोधन गर्दै सुशासनको जग बसाल्न सरकार सफल भयोः सभापति लामिछाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

तीन देशलाई जाेड्ने किमाथाङ्का सडक कहिले सम्पन्न हाेला ?



अ+ अ-

– मोहम्मद सदरुल

विराटनगरः नेपालको आर्थिक विकासमा महत्वपूर्ण योगदान दिने विश्वास लिइएको किमाथाङ्का सडक सरकारको उच्च प्राथमिकतामा पर्नुपर्ने आवश्यकता देखिएको छ ।

देशको आयआर्जनमा महत्वपूर्ण योगदान रहने विश्वास लिइएको यो मार्गले नेपाल, भारत र चीनसँगको सम्बन्धलाई अझ फराकिलो बनाउन सहयोग पुग्ने विश्वास निजी क्षेत्रको छ । भूपरिष्ठित नेपाललाई भूजडित गर्न मद्दत पुग्ने यो बाटोले सङ्खुवासभा, तेह्रथुम, धनकुटा जिल्ला मात्रलाई नभइ पूरै नेपाललाई पनि उत्पादन एवं समृद्धिको ढोका खोल्ने अनुमान गरिएको छ । नेपालको सीमावर्ती बजार भारतको जोगबनीदेखि उत्तर चीनसँग जोडिने यो बाटो लगभग २०० किलोमिटर लामो छ ।

सङ्खुवासभाको खाँदबारीदेखि चेम्पाङसम्म १३४ किमी बाटो बनिसकेको छ भने चेम्पाङदेखि माथि सीमासम्मको १४ किमी बाटोको ट्रयाक खोल्ने जिम्मा नेपाली सेनाले लिएको सडक डिभिजन कार्यालय सङ्खुवासभाका प्रमुख गौतमकुमार श्रेष्ठले जानकारी दिनुभयो । चीनसँग जोडिने यो बाटोको चीनतर्फबाट नेपालतर्फ आउने करिब १० किमी बाटोको काम भएको छ । नेपाल क्षेत्रको बाँकी १४ किमी बाटोको खुल्ने वित्तिकै यो बाटोले पूर्णता पाउने उहाँले बताउनुभयो ।

उहाँले यो बाटोका काम तत्काल भौगोलिक कठिनाइ र अत्याधिक चिसोको कारण रोकिएको भएपनि आगामी माघ १५ देखि नेपाली सेनाले काम शुरु गर्ने र अहिले तत्काल बाटोमा आवश्यक पर्ने सामान वा सामग्री जुटाउनमा नेपाली सेना जुटेको जानकारी दिनुभयो । खाँदबारीदेखि शिरानतर्फ ८० किमी बाटोमा साना सवारी साधन सजिलैसँग सञ्चालनमा आएको र त्यहाँभन्दा माथि चेम्पाङसम्म ट्रयाक्टरबाट आवतजावत तथा ढुवानीको काम भइरहेको डिभिजनल इञ्जिनीयर श्रेष्ठले बताउनुभयो ।

सङ्खुवासभाका प्रमुख जिल्ला अधिकारी जीवन आचार्यले किमाथाङ्का बाटोको माथितर्फ ट्रयाक खोल्न नेपाली सेनाले जिम्मा लिइसकेको अवस्थामा यो काम छिट्टै हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले यो बाटोको निर्माणसँगै पहाडी जिल्ला वा विकट क्षेत्रमा हुने अभावलाई हटाउन मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

नेपालको सीमावर्ती बजार भारतको जोगबनीदेखि उत्तर चीनसँग जोडिने यो बाटो लगभग २०० किमीको छ । विराटनगरको रानीदेखि सुनसरी, धनकुटा, खाँदवारी तेह्रथुम हुँदै चीनसम्म जाने यो बाटोले विश्वका दुई शक्तिशाली राष्ट्र चीन र भारतको व्यापारलाई नजिक बनाउनुका साथै यसबाट नेपालले प्रशस्त लाभ लिन सकिने अनुमान गरिएको छ । चीनको सबैभन्दा ठूलो बजार भारत र भारतका लागि पनि सबैभन्दा ठूलो बजार चीन भएकाले यो सडकको प्रयोगबाट त्रिदेशीय फाइदा पुग्ने यहाँका उद्योगीव्यापारीको भनाइ छ । यसकारण नेपाल सरकारले मुलुकमा पर्ने विभिन्न समयको अप्ठ्यारालाई पार गर्न यो अवधारण ल्याएको र यो बाटोको काम उत्तर दक्षिण व्यापारिक विस्तार आयोजना निर्देशनालयबाट भइरहेको छ ।

गएको मङ्सिर ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले पनि अनुगमन एवं निरीक्षण गर्नुभएकाले यो बाटो छिट्टै निर्माण हुने जनप्रतिनिधिको विश्वास छ । भारतको चिनियाँ बजार र चीनको भारतीय बजारमा सजिलो एवं सरल पहुँच हुने यो बाटो बन्नुपर्ने विराटनगरका व्यापारीले अढाइ दशक अगाडिदेखि उठाइ रहेका छन् । यो निर्माण भएपछि सञ्चालनमा आएमा प्रदेश नं १ को राजधानी विराटनगर एक महत्वपूर्ण ट्रान्जिटप्वाइन्ट बन्न सक्ने र यसबाट सबै क्षेत्रले बराबारी लाभ लिन सकिने अनुमान निजी क्षेत्रका उद्योगी एवं व्यापारीको भनाइ छ ।

    गिरिजाप्रसाद कोइराला पहिलोपटक प्रधानमन्त्री हुँदादेखि वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीसम्म यस सडक आयोजनालाई विशेष प्राथमिकताका साथ चर्चा गर्दै आएको नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्वकेन्द्रीय उपाध्यक्ष किशोर प्रधानले जानकारी दिनुभयो । अहिले किमाथाङ्का बाटोको शिरानतर्फबाट दुई लेनको ट्रयाक खोल्ने काम शुरु भएपनि यो बाटो चार लेनकै बन्नुपर्ने सुझाव उहाँको छ । आर्थिक, सामाजिक, सांस्कृति दृष्टिले पनि यो बाटो महत्व निकै छ । यसबाट दुई देशको हुने व्यापारबाट नेपालले प्रशस्त लाभ लिन सकिने उपाध्यक्ष प्रधानको भनाइ छ ।

    नेपाल ट्रान्जिट प्वाइन्ट भएकाले यो मार्गको प्रयोग एवं उपयोगले यहाँका होटल व्यावसाय, पर्यटन, आवतजावतमा वृद्धि, सडक प्रयोग गर्ने सवारी साधनबाट कर सङ्कलन हुनुका साथै यहाँका उत्पादन, संस्कृति परस्पर आदानप्रदान हुने अनुमान लगाउन सकिन्छ । समुन्द्री मार्ग प्रयोग गरेर चीनका सामान भारतको कोलकता र भारतको सामान कोलकताबाट समुन्द्री मार्ग हुँदै चीन जाने अवस्थामा यो बाटो अत्यन्त छोटो र लाभदायी हुने भएकाले यी दुबै देशले बाटो निर्माणमा चासो देखाउनु पर्ने आश्यकता देखिएको छ ।

    नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य राजेन्द्र राउतले यो बाटोको निर्माण भएपछि चीनसँग नेपालको सम्पर्क र सम्बन्ध विस्तार हुने भन्दै भारतसँग पनि जोड्न मद्दत पुग्ने यो बाटो नेपाल र प्रदेश न.१ कै समृद्धि र विकासमा कोशेढुङ्गा सावित हुने बताउनुभयो । उहाँले यो बाटो बन्नुपर्ने विषयमा निजी क्षेत्रले ३० वर्ष अगाडिदेखि आवाज उठाइरहेको बताउँदै यो बाटो निर्माण गर्न प्रदेश वा सङ्घीय सरकारले अरु तिर बजेट कटौती गरेर भएपनि यसको निर्माण गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।

    केन्द्रीय सदस्य राउतले उद्योग व्यापारलाई आवश्यकता पर्ने कच्चा पदार्थ ल्याउन र तयारी बस्तु वा सेवा क्षेत्रमा सहयोग पु¥याउन तथा यी बस्तुहरुको अभावको समस्यालाई पनि निराकरण गर्न यो बाटो समयमै सम्पन्न हुनुपर्नेमा जोड दिनुभयो ।

    मोरङ व्यापार सङ्घका अध्यक्ष प्रकाश मुन्दडाले यो किमाथाङ्का जोड्ने बाटो मात्र नभएर प्रदेश नं. १ को विकास र समृद्धिको आधारशिला हो भन्नुभयो । उहाँले यो बाटो निर्माण भएमा प्रदेश नं.१ देशभरिमै सबैभन्दा नमूना प्रदेश बन्न कसैले पनि रोक्न नसक्ने दाबी गर्नुभयो ।

    नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का केन्द्रीय सदस्य महेश रेग्मीले किमाथाङ्का बाटोले हाम्रा मित्र राष्ट्र चीन र भारतसँगको सम्बन्धलाई अझ प्रगाढ गर्नुका साथै प्रदेशमा पर्यटक भित्र्याउन, यहाँका सुन्दरता र चेतनालाई विस्तार गर्न पनि मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो । नेपालको पूर्वी क्षेत्रलाई गुल्जार बनाउन र आर्थिक रुपमा बलियो बनाउन तथा धार्मिक, सांस्कृतिक र सामाजिक सद्भाव बढाई यी दुबै विकासित राष्ट्रबाट प्रयाप्त फाइदा लिन किमाथाङ्का बाटो प्राथमिकतामा पर्नुपर्ने उहाँको भनाइ छ ।

संखुवासभा चैनपुर नगरपालिकाका प्रमुख भरतकुमार खत्रीले सिङ्गो मुलुकको हितमा हुने यो बाटो पूर्वी पहाडी जिल्लाको लोकमार्गसँग पनि जोडिने भएकाले नेपालका लागि विशेष महत्व राख्ने बताउनुभयो । उहाँले २०७२ सालमा आएको महाभूकम्प र केही वर्ष पहिले नेपाललाई भारतले लगाएको नाकाबन्दी जस्ता कार्यलाई निस्तेज पार्न र आफ्ना आवश्यकताका सामानहरु सजिलैसँग तेस्रो मुलुकबाट आयात गर्न यो बाटोले निकै मद्दत गर्ने बताउनुभयो । नेपाली जनता र राजनीतिक दलकोे आँखा खुलेकै कारण रक्षा मन्त्रालयमार्फत हुन लागेको यो काम नेपाली सेनाको जिम्मामा आएको र समयमै सम्पन्न हुने विश्वास प्रमुख खत्रीको छ ।

    तराईको उत्पादन, सेवा वा बस्तु पहाड र पहाडको उत्पादन, सेवा वा बस्तु तराईमा सजिलै पु¥याउन मद्दत गर्ने यो बाटोको निर्माणमा ढिलाइ गर्न नहुने यहाँका बुद्धिजीवीहरुको भनाइ छ ।