२३ भाद्र २०८३, मंगलवार
,
Latest
होर्मुज खुलाउनेबारे इरान–ओमान वार्तामा ‘महत्त्वपूर्ण प्रगति’ हड्तालका कारण बन्द आइफेल टावर पुनः सञ्चालनमा जेनजी युवाका अधिकार र माग पूरा गर्न सरकार प्रतिबद्ध छः गृहमन्त्री गुरुङ अन्नपूर्णको किम्रोङखोला थुनियो, मोदी तटीय क्षेत्रमा सर्तकता अपनाउन आग्रह लागुऔषधसहित दुई भारतीय नागरिक पक्राउ हरेक नेपालीको आशा पूरा गर्ने जिम्मेवारीमा छु, पदको घमण्ड र स्वार्थ छैन : गृहमन्त्री गुरुङ कृष्णभीरमा ट्रक महासंघको चासो, ७–१० दिनभित्र नयाँ ट्र्याकबाट गाडी चलाउने तयारी एक करोड २० लाखमा विद्यालय भवन निर्माण गरिँदै कांग्रेसको विधान मस्यौदा समितिमा सदस्य मनोनयन बिपी जयन्तीमा क्यान्सर अस्पतालद्वारा नियमित सेवा सञ्चालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

काँग्रेस–एमाले सत्ता सहकार्यलाई साथ दिएर अघि बढ्दा नै प्रधानमन्त्रीको हित हुन्छ: योगेश भट्टराई



अ+ अ-

काठमाडौँ । नेकपा (एमाले) का सचिव एवं पूर्वमन्त्री योेगेशकुमार भट्टराईले काँग्रेस–एमाले सत्ता सहकार्यलाई साथ दिँदा नै प्रधानमन्त्री पुष्पकमल दाहालको हित हुने बताउनुभएको छ ।

शान्ति प्रक्रियालाईसही निष्कर्षमा पुर्‍याउन, संविधानलाई गतिशील बनाउन, मुलुकलाई सही दिशामा अघि बढाउन र स्वयं आफ्नै हितका लागि पनि प्रधानमन्त्री दाहालले दुई ठूला दलबीचको सहकार्यलाई साथ दिएर अघि बढ्नुको विकल्प नरहेको उहाँको जिकिर थियो ।

सोमवार संघीय संसद भवन परिसरमा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा सचिव भट्टराईले माओवादी केन्द्रलाई साथमा लिएर आफूहरुले सर्वसम्मतिको बाटोबाट संविधान संशोधन कार्य अघि बढाउने पनि स्पष्ट पार्नुभयो । उहाँले काँग्रेस–एमालेबीचको सहकार्यविना संविधान संशोधनको काम सहज नहुने भएकाले पनि संविधानलाई सही ढंगले अघि बढाउन माओवादी केन्द्रले पनि संविधान संशोधनका बाटोमा आफूहरुलाई साथ दिने तर्क गर्नुभयो । सचिव भट्टराईले नयाँ सत्ता समिकरणसँग टाढिएर प्रधानमन्त्री दाहालले अन्यत्रै बाट अघि बढ्ने बाटो नभएको दाबी समेत गर्नुभयो । उहाँले प्रधानमन्त्री दाहाल अहिले रिसाएको अवस्थामा रहेकाले आफूहरुले जिस्क्याउन नचाहेको पनि बताउनु भयो ।

सचिव भट्टराईले भन्नुभयो, ‘संविधान संशोधन गर्न त्यति सहज छैन । त्यो सहज छैन भनेर नै हामी काँग्रेस–एमले एक ठाउँ आएका हौं । हामी दुई एक ठाउँ नआई त यो सम्भावना नै छैन । किनभने दुई तिहाई बहुमत एमालेले कुनै कोलिएशन बनाए पनि पुग्दैन । गाह्रो छ । काँग्रेसले अलग्गै कोलिएशन बनाए पनि पुग्दैन । त्यो पनि सम्भावना देख्या छैन भने माओवादीको त झन त्यो सम्भावना छैन । त्यसैले संविधानमा पुनरावलोकन गर्नुपर्ने र आवश्यकता भए संशोधन पनि गर्नुपर्ने हामीलाई जुन आवश्यकता महशुस भयो । त्यो आवश्यकताले नै नेपाली काँग्रेस र हाम्रो बीचमा एउटा सहमती बनेको हो । त्यो सहमतीले संघीय संसदमा दुई तिहाई कमाण्ड गर्छ । दुई वटा पार्टीले मात्रै संख्या पुग्दैन । त्यो ठिक छ । हामी अरु पार्टीको पनि त्यसमा साथ लिन्छौँ । हाम्रो भनाई त के छ भने माओवादीले पनि संविधान संशोधनमा हामीलाई साथ दिन्छ भन्ने छ । हिजो पनि चुच्चे नक्शा जारी गर्दा पनि संविधान संशोधन भयो । सर्वसम्मतबाट त्यो काम भएको हो । भनेपछि संविधान संशोधन हामी सकेसम्म दुई तिहाई बहुमतबाट गर्ने बाटोमा लाग्दैनौं । सर्वसम्मत ढंगले गर्ने बाटोमा लाग्छौं । र, त्यो बाटोमा लाग्दा नेकपा (माओवादी केन्द्र) को पनि समर्थन हामीले लिन्छौं । रिसाएको बेलामा, आक्रोश भएको बेलामा मान्छेलाई धेरै जिस्क्याउनु हुँदैन । प्रचण्ड कामरेड अहिले रिसाउनुभएको छ, आक्रोशित हुनु भएको छ । त्यसकारणले उहाँलाई जिस्क्याउन गयो भने झम्टिनु पनि हुन्छ । अहिले उहाँलाई जिस्क्याउने होइन । अहिले उहाँलाई सम्झाउने हो । मैले हिजो उहाँलाई संसदमा सम्झाएको छु । हामीले पुष्पकमल दाहालजीको व्यक्तित्वलाई सम्मान गरेर प्रधानमन्त्रीमा समर्थन गरेको हो ।’

‘माओवादीको संख्यालाई समर्थन गरेको होइन । यो शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्‍याउनु छ । यावत कामहरु गर्नुछ । त्यसकारणले यो सबै प्रक्रियाका मुख्य नेता मध्येको एक हुनुको नाताले, मुख्य नेता धेरै छन । त्यस मध्येको एउटा मुख्य नेता हुनुको नाताले उहाँलाई ३२ सिटको पार्टीको नेता हुँदाहुँदै पनि काँग्रेसले पनि, हामीले पनि प्रधानमन्त्री स्विकारेको उहाँको व्यक्तित्वले हो । माओवादीको आजको संख्याले होइन । त्यसैले उहाँजस्तो एउटा व्यक्ति, जसले यो समग्र प्रक्रियामा भाग लिँदै आउनुभएको छ । नेतृत्व गर्दै आउनुभएको छ । उहाँ उत्तेजनामा, आक्रोशमा आएर गलत बाटो लिनुहुन्छ भन्ने हामीलाई लाग्दैन । अव गलत बाटोमा गएर पनि कुनै उपाय छैन । कुनै निष्कर्ष निक्लिदैन । कुनै निष्कर्ष उहाँले दिन सक्नुहुन्न । त्यसैले यो सम्पूर्ण प्रक्रियामा काँग्रेस र एमालेले चालेको प्रक्रियामा सँगै बसेर हिँड्दा नै उहाँको कल्याण छ । त्यसले नै शान्ति प्रक्रियालाई पनि सही निष्कर्षमा पुर्‍याउँछ । संविधानलाई गतिशील बनाउँछ । मुलुकलाई सही दिशामा अघि लैजान्छ । त्यसका हामी कामरेड प्रचण्डलाई सम्झाउँछौं । झम्टिन जाँदैनौं ।’

त्यस अवसरमा सचिव भट्टराईले प्रधानमन्त्री दाहालको व्यक्तित्वका कारण आफूहरुले सानो दल भएर पनि प्रधानमन्त्रीमा स्वीकार गरेको पनि उल्लेख गर्नुभयो ।