१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

असार २८ गतेसम्म मन्त्रालय भागबण्डाको विषय टुंगो लगाउँछौः प्रमुख सचेतक बर्तौला



file photo
अ+ अ-

काठमाडौँ । नेकपा (एमाले) का प्रमुख सचेतक महेशकुमार बर्तौलाले नयाँ सरकार गठनका लागि केही समय लाग्ने बताउनुभएको छ ।

आईतवार संघीय संसद भवन परिसरमा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उहाँले सो कुरा बताउनुभएको हो । प्रमुख सचेतक बर्तौलाले काँग्रेससँगको समझदारी अनुसार पहिलो चरणमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले सरकारको नेतृत्व गर्ने भएपनि मन्त्रालय भागबण्डाको विषय भने टुंगोमा पुगिनसकेको बताउनु भयो ।

उहाँले काँग्रेससँग प्रारम्भिक छलफल भएपनि राष्ट्रिय सहमतीको सरकार गठनका लागि आह्वान गरिएकाले काँग्रेससहितका अन्य राजनीतिक दलहरुसँग फेरि छलफल गरेर मात्रै मन्त्रालयको भागबण्डामा टुंगो लगाउने बताउनु भयो । प्रमुख सचेतक बर्तौलाले प्रधानमन्त्री पुष्पकमल दाहालले आगामी असार २८ गते विश्वासको मत लिने भएकाले सोही दिन बेलुकासम्म मन्त्रालयको भागबण्डा टुंगो लगाउनेगरी काँग्रेस सहितका दलहरुसँग छलफल हुने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘पहिलो कुरा नेकपा (एमाले) र नेपाली काँग्रेसको बीचमा आलोपालो पहिला नेकपा एमालेका श्रद्धेय अध्यक्षको नेतृत्वमा सरकार बनाउने । त्यसपछि नेपाली काँग्रेसका सभापति संसदीय दलको नेताजीको नेतृत्वमा सरकार बनाउने भनेर यसरी सहमती भएको छ । सहमती यति भयो । सरकारको नेतृत्व हाम्रो दलका नेता केपी शर्मा ओलीले गर्नुहुन्छ । त्यो भन्दा बाहेक मन्त्रालयको बारेमा यस बीचमा हामीले छलफल गर्नेछौं । त्यो छलफल प्रारम्भिक रुपमा त केही अघि बढेको छ । तर, निर्णयमा हामी पुगेका छैनौं ।

मेरो विचारमा भोली–पर्सीसम्ममा एउटा हुन्छ । र, मूलतः २८ गते सम्माननीय प्रधानमन्त्रीजीले तत्कालै आज भोलीनै राजीनामा दिएर एउटा सहज मार्ग प्रशस्त गर्नु भयो भने हामी तयारी अवस्थामा नै रहन्छौं । अन्यथा २८ गतेसम्म नै जानुपर्ने भयो भने २८ गते बेलुकासम्म कसरी जाने भन्ने मन्त्रालयको भागबण्डाको बारेमा हामी टुंगो लगाउँछौं ।

अहिले चाहीँ केही छलफल भएको छ । टुंगो कुनैपनि लागेको अवस्था रहेन । कति दलहरु हाम्रो यो प्रक्रियामा सहभागी हुन्छन्, राष्ट्रिय सरकार निर्माणको प्रक्रियामा भन्नेकुरा त्यो पनि हामीले सबै दललाई आह्वान गरेको कारणले पनि अन्य दलको रेसपोन्सको आधारबाट पनि मन्त्रालय भागबण्डा गर्नेकुरा हुन्छ । त्यसकारण केही दिन यसले समय लिन्छ भन्ने लाग्छ । ’

प्रमुख सचेतक बर्तौलाले राष्ट्रिय सहमतीको सरकार बनाउने भएकाले पनि मन्त्रालय भागबण्डाको विषय टुंगिन केही समय लाग्ने बताउनु भयो ।