२५ चैत्र २०८१, सोमबार
April 7, 2025 Monday

22.27°C

काठमाडौं

22.27°C

Kathmandu

Feels-like: 22.01

Wind: 2.06

Humidity: 56

Latest
अन्नपूर्ण क्षेत्रमा आठ महिनामा एक लाख ४० हजार पर्यटक त्रिभुवन विमानस्थलबाट गाँजासहित भारतीय नागरिक पक्राउ योगामा नेपाल २ स्वर्णसहित ६ पदक प्रधानमन्त्रीद्वारा शिक्षक समुदायका मागबारे सम्बन्धित मन्त्री र सचिवहरुसँग छलफल नेपाली बक्सिङ टोली ‘फोर नेसन्स कप’का लागि भुटान प्रस्थान जापानी सम्राटद्वारा द्वितीय विश्वयुद्धको युद्धस्थल इवोजिमाको भ्रमण ‘अञ्जिला’को गीत ‘यो देशको झण्डा’ सार्वजनिक, निर्देशकले चाम्सले मागे ‘स्पोर्ट्स एन्थम’को मान्यता धरानवासीलाई खानेपानीको प्रबन्ध गर्ने प्रक्रिया अघि बढ्योः प्रधानमन्त्री उच्चस्तरीय न्यायिक आयोग गठन गर्न राप्रपा नेपालको माग नेपालमा राजसंस्था पुनःस्थापनाको लागि भारतले उचाल्यो भन्ने हल्ला झुटो होः सभापति देउवा
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘लेसर ग्रे स्राइक’ जातको नयाँ चरो भक्तपुरमा देखियो



अ+ अ-

भक्तपुर ।  युरोप, दक्षिण तथा पश्चिम एसियाको रैथाने पन्छी ‘लेसर ग्रे स्राइक’ पहिलोपटक भक्तपुरको मनोहरामा देखिएको छ ।

तापक्रम वृद्धिसँगै गर्मी भेगमा मात्रै हुने यो पन्छी असार लागेपछि भक्तपुरको मनोहरास्थित मिनि कोशी टप्पुमा भेटिएको चरा अन्वेषणकर्ता सञ्जय थाश्रेष्ठले राससलाई जानकारी दिनुभयो । उहाँले काठमाडौँ उपत्यकामा पहिलोपटक भक्तपुरको मनोहरामा देखिएको बताउनुभयो ।

पन्छी पथ प्रदर्शक शङ्कर तिवारीले मनोहरामा ‘लेसर ग्रे स्राइक’ भेटेपछि तस्बिर कैद गर्दै काठमाडौँ उपत्यकासँगै नेपालको पहाडी भेगका लागि पहिलो अभिलेख गरिएको जानकारी दिनुभयो ।

नेपालमा पहिलोपटक गत वर्षको वैशाख अन्तिम साता राष्ट्रिय प्रकृति संरक्षण कोषका वन्यजन्तु प्राविधिक देवराज जोशीले शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको पूर्वी तटीय क्षेत्रमा यो चरा देख्नुभएको थियो । उक्त चरालाई राष्ट्रिय एवं अन्तर्राष्ट्रिय विज्ञहरूको टोलीले नेपालका लागि पहिलो भएको पुष्टि गरेको पन्छी अनुसन्धानकर्ता थाश्रेष्ठले जानकारी दिनुभयो ।

गौथलीझैँ देखिने, निधार र टाउकोमा कालो रङ तथा कालो पखेटाको मध्य भागमा सेतो रङ हुने र लामो दूरीसम्म उड्न सक्ने यो चरा भक्तपुरमा असार लागेपछि जोडीनै देखिएको उहाँले बताउनुभयो ।

युरोप र पश्चिम एसियाका पानी कम पर्ने स्थान मरुभूमि आसपासका भेग र भारतको राजस्थान, पाकिस्तान, अफगानिस्तानका सुक्खा भेगमा लेसर ग्रे पाइने उहाँले जानकारी दिनुभयो । यो सँगै मनोहरामा पन्छीका करिब तीन सय प्रजाति अभिलेख भएका छन् ।

एक महिनाअघि मनोहरामा ‘जल कुखुरा’ पनि देखिएको थियो । नेपालका अन्य भेगमा प्राय: नपाइने ‘ठूलो कस्दरी’  जलपन्छी २०७९ भदौमा, सोही वर्ष ७ भदौमा मनोहरामा सेतो पङ्खे फ्यालफ्याले र २०७८ असोज अन्तिम साता मनोहरा खोला किनारमा एक सय ९२ वर्षपछि पानी गौथली देखिएको अनुसन्धानकर्ता थाश्रेष्ठले जानकारी दिनुभयो ।  रासस