८ श्रावण २०८३, शुक्रबार
,
Latest
विद्यार्थीको विदेश मोह : सेडाको अनुसन्धान वामपन्थी दलहरू राजनीतिक विकृतिबाट मुक्त छैनन्, विगतको आत्मसमीक्षा आवश्यक छः माधवकुमार नेपाल ऐतिहासिक तथा कलात्मक सम्पदा पुनर्निर्माणमा मौलिकता र गुणस्तर कायम गर्न प्रधानमन्त्रीको चासो प्रचण्डको टिप्पणी–‘हाम्रा कमजोरीमाथि टेकेर नेपाली जनतालाई ‘अफिम’ खुवाए’ मुलुकको आर्थिक समृद्धिका लागि निजी क्षेत्र लगानी गर्न तयारः निर्यात व्यवसायी महासंघ सरकारका गतिविधिका कारण न्यायिक स्वतन्त्रता जोखिममा रहेको अन्तर्राष्ट्रिय मानवअधिकारवादी संस्थाको दाबी प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर नगराएपछि रामारोशन गाउँपालिकाका निमित्त प्रमुखको आर्थिक तथा प्रशासनिक अधिकार मन्त्रालयद्वारा रद्द आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र कम्युनिस्टहरू सत्ता केन्द्रित हुँदा वैरीले दीर्घकालीन रणनीति बनाए : प्रचण्ड प्रचण्डको आह्वान– प्रतिक्रान्तिको प्रतिवाद गर्न वामपन्थीले साझा कार्यक्रम बनाउनुपर्छ
तपाईं के खोज्दै हुनुहुन्छ ?

मासिक ८२ हजारको जागिर छाडेर गुल्मीमा घाँसखेती गर्दै गोपाल



अ+ अ-

तम्घास । गुल्मीको मदाने गाउँपालिका–३ सिर्सेनीका गोपाल खत्री क्षेत्रीको दैनिकी आजकाल घाँसखेतीमा कट्ने गरेको छ । उनान्चालीस वर्षीय उहाँ बिहान उठेदेखि रातिसम्म समयलाई बारीमै सदुपयोग गर्नुहुन्छ । उहाँले भन्नुभयो, “अब घाँसखेतीबाटै जीविकोपार्जन गर्ने सोच बनाएको छु । २१ रोपनी आफ्नो र ८९ रोपनी छिमेकीको जग्गा भाडामा लिएर घाँसखेती गरेको छु ।

जग्गामा किम्बु, राइखन्यु, बडर, मरिङ्गा, रसियन कम्फे, नेपियर, रेड नेपियर, फोरजी बुलेज, जेइन्ड किङलगायत गरी ५० भन्दा बढी जातका घाँसका बिरुवा उत्पादन गरिरहेको छु । रसियन कम्फे विशेषगरी बङ्गुर र कुखुराको आहाराका लागि प्रयोग हुने गर्दछ । अन्य घाँस पनि गाईभैँसीलाई फाइबर, प्रोटिन र भिटामिनयुक्त रहेका छन् । यसका कारण गाईभैँसीलाई दान कम दिएर पनि दूध बढी उत्पादन हुने गर्दछ । ”

गत वर्षदेखि बिरुवा बिक्री गर्न सुरु गर्नुभएका उहाँले हालसम्म रु १० लाख ५० हजारभन्दा बढीको बिरुवा बिक्री गर्नुभएको छ । उत्पादन गरेका बिरुवा गुल्मीका साथसाथै अर्घाखाँची, पाल्पा, बुटबल, रुपन्देही, कपिलवस्तु, स्याङ्जा, पोखरा, रुकुमपश्चिम, रोल्पा, दाङ, हेटौँडा, मोरङलगायत स्थानमा बिक्री हुने गर्दछ । अधिकांश बिरुवा उहाँले अनलाइन मागका आधारमा पठाउने गर्नुभएको छ । प्रतिबिरुवा रु दुईदेखि ५० सम्मका बिरुवा उहाँसँग छन् । अहिलेको वर्षायाममा बिक्री गर्नका लागि उहाँसँग रु ४० लाख बराबरका घाँसका बिरुवा रहेको छ । उहाँले गत वर्षभन्दा अहिले १० रोपनी जग्गामा थप घाँसखेती विस्तार गर्नुभएको छ ।

मासिक ८२ हजारको जागिर छाडेर आएँ

खत्रीले १३ वर्ष दुबईको कम्पनीमा काम गर्नुभयो । उहाँले भन्नुभयो “दुबईमा मेरो मासिक रु ८२ हजार आम्दानी हुन्थ्यो । प्रत्येक शुक्रबार र शनिबार विभिन्न ठाउँमा घाँसखेती र बाख्रापालन गरेको ठाउँमा घुम्न जान्थे । त्यही देखेर गाउँमा घाँसखेती गर्न मन लाग्यो ।”

रु सात लाखबाट सुरु गरेको घाँसखेती व्यवसाय अहिले झण्डै रु ४० लाखको भएको छ । अहिले घाँसका साथसाथै होलिस्टिन जातका तीन गाई र तीन भैँसी पनि पाल्नुभएको छ । साथै एक सय ३० वटा बाख्रा अट्ने खोर पनि निर्माण गर्नुभएको छ । अबको केही समयपछि बाख्रापालन गर्ने सोच बनाएको खत्रीले बताउनुभयो । “घाँसलाई मल चाहिन्छ, त्यो बाख्रा, गाईभैँसीबाट प्राप्त हुन्छ”, उहाँले भन्नुभयो, “गाईबाख्रालाई आवश्यक घाँस आफ्नै बारीमा उत्पादन हुन्छ ।”

व्यवसायका लागि उहाँले श्रीमतीका साथ पाइरहनुभएको छ । “विदेशको पैसाभन्दा यहाँको दु:ख धेरै प्यारो छ”, खत्रीले भन्नुभयो, “अब विदेश नजाने गरी व्यवसाय सुरु गरेको हुँ ।” उहाँले अन्य युवाहरूलाई स्वदेशमा प्रशस्त सम्भावना रहेको भन्दै गाउँमै कर्म गर्न सुझाव दिनुभयो ।

घाँखखेती गर्नका लागि उहाँले कतैबाट पनि अनुदान लिनुभएको छैन । “अनुदानले मानिसलाई परनिर्भर गराउँछ”, उहाँ भन्न्नुहुन्छ, “ सरकारले अनुदान बाँड्ने होइन, बजारीकरणमा सहयोग गर्ने हो ।” जग्गाको भाडामात्र वार्षिक रु एक लाख बुझाउने उहाँले प्रत्येक वर्ष एक हजार पाँच सयले रोजगार पाएको बताउनुभयो । मदाने –३ का वडाध्यक्ष चेतबहादुर सेनले आफूहरू खत्रीकोजस्तै व्यावसायिक किसानलाई प्रोत्साहन गर्न लागिपरेको बताउनुभयो । रासस




भर्खरै