१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar गोकर्णेश्वर–४ का महाधिवेशन प्रतिनिधि उम्मेदवार श्रेष्ठद्वारा कांग्रेसको निर्वाचन प्रक्रिया छानबिन गर्न माग News Polar पोर्चुगलमा एनआरएनए राष्ट्रिय समन्वय परिषद्को कार्यालय सञ्चालनमा आउने News Polar कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशनः तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न News Polar बाँध भत्किएपछि जलेश्वर जलमग्न News Polar भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय समितिको कार्यविधि पारित News Polar कोरला सडक अवरुद्ध हुँदा भन्सारमा १५० बढी कन्टेनर रोकिए News Polar ३५ वर्षीया युवा महिला नेतृ बसन्ती भाट कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्विरोध News Polar नेपाल टेलिकमले ल्यायो भर्चुअल सेट–टप बक्स News Polar नापी कार्यालय कलङ्कीका सर्भेक्षक श्रेष्ठविरुद्ध चार करोड ७४ लाखको बिगोसहित आरोपपत्र News Polar क्यान-११ सँग भुटानको राष्ट्रिय क्रिकेट टोली पराजित News Polar सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति News Polar करेन्ट लागेर गम्भीर घाइते भएका तामाङलाई १७ लाख ७८ हजार क्षतिपूर्ति News Polar दुग्ध विकास संस्थानले किसान भुक्तानी अवधि एक महिनामा झार्‍यो News Polar फिर्के खोलाको खोलाघरभित्रका संरचना हटाउन थालियो News Polar काङ्ग्रेस महाधिवेशनमा ‘कन्टेन्ट कम्पिटिसन’, उत्कृष्ट भिडियोलाई ५० हजार पुरस्कार News Polar स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षामा सखुवा प्रसौनी जिल्लामै प्रथम News Polar हिम्लुङ हिमपहिरोमा थप आठ जनाको शव भेटियो News Polar सवारी साधन दर्ता प्रक्रियाका समस्या समाधान गर्न काठमाडौं प्रशासन र नाडाबीच छलफल News Polar परराष्ट्रमन्त्री खनाल ‘प्रि–कोप लिडर्स इभेन्ट’मा भाग लिन फिजी र टुभालु जाँदै News Polar वन व्यवस्थापनबाट तनहुँमा तीन हजार ३३४ क्युफिट काठ उत्पादन

लाहुरेको सहर धरानको पहिचान मेटिँदै

लाहुरेको सहर धरानको पहिचान मेटिँदै
अ अ+ अ-

धरान ।आधुनिक सहरका रुपमा परिचित धरान सहर कुनै समय घना जङ्गलले ढाकिएको थियो । जङ्गल फँडानीका क्रममा काठ चिर्ने आरावालाहरुले तयार गरेको धरान (धराप)बाट यसको नाम रहन गयो । आरावालाहरुको मेहनतले खारिएको यो ठाउँ कालान्तरमा ‘लाहुरेको सहर’का रुपमा उभियो, र उनीहरुकै नाम र कर्मले चिनियो पनि । समयक्रममा धरान कहिले ‘फेसनेबल सहर’ले त अहिले बुढासुब्बा मन्दिरले पनि परिचित भयो । त्यति मात्रै होइन, तराई र पहाड जोड्ने सङ्गम भएकाले मानिसहरु चहलपहल अधिक हुन थाल्यो ।

जेजस्तो भए पनि आधुनिक सहरको जग भने लाहुरेहरुको मेहनतले बसेको हो । लाहुरेहरुको पूँजी, सीप र पौरख पोखिएर उभिएको धरानले लाहुरेको सहरका रुपमा नयाँ पहिचान पायो । विसं २०१० मा ब्रिटिस गोर्खामा भर्ती भई ३७ वर्ष सेवा गरेका झप्तमान लिम्बू सामान्य गाउँ धरान सहरका रुपमा विकास हुँदै गरेको देख्ने थोरै मध्येका एक हुनुहुन्छ । उहाँ भर्ती हुने समयमा धरानमा ब्रिटिस घोपा क्याम्प स्थापना भइसकेको थिएन । धनकुटामा जन्मिनुभएका उहाँ लाहुरे बन्न कैयौँ दिन हिँडेर दार्जिलिङ पुग्नुभएको थियो । “हामी लाहुरे बन्ने समयमा धरान सुनसान जङ्गल जस्तै थियो, लाहुरबाट बिदामा फर्कंदा धरानमा खान र बस्ने ठाउँ पनि भेटिन्नथ्यो”, उहाँले विगत सम्झनुभयो ।

त्यो बेलासम्म ब्रिटिसले भारतको दार्जिलिङबाट गोर्खा भर्ती गराउँदै आएको थियो । “उच्च पदमा पुगेका केही लाहुरेहरुले धरानमा पक्की घर बनाएर बस्न थालेपछि लाहुरेको सङ्ख्या बढ्दै जाँदा यसले सहरको रुप लिएको हो”, उहाँले भन्नुभयो, “ती लाहुरेहरुको भीडमा म पनि एक थिएँ, तर अहिले धरानबाट लाहुरेहरु पातलिँदै गएका छन् ।”

उहाँका अनुसार धरानमा कुनै समय छ हजार पाँच सय लाहुरे अर्थात् भूतपूर्व सैनिक थिए, तर अहिले त्यो सङ्ख्या तीन हजारको हाराहारीमा सीमित भएको छ । पछिल्लो समय भर्ती भएर लाहुरे हुनेहरुका लागि ब्रिटिस सरकारले उतै बस्ने वातावरण बनाइदिएपछि नेपाल फर्कनेहरु घट्दै गएको उहाँको बुझाइ छ ।

लिम्बूले सुरुमा मलेसियाबाट सेवा सुरु गरेर सिङ्गापुर, बु्रनाई, हङकङ, बेलायत, जर्मनी, इटाली, बेल्जियमलगायत देशसम्म पुगी ३६ वर्ष बिताउनुभयो । नेपाल फर्केपछि धरान क्याम्पमा गोरखा मेजर भएर काम गरेको उहाँले सुनाउनुभयो । उहाँले भन्नुभयो, “मलाई बेलायतभन्दा नेपाल नै राम्रो लाग्यो, नेपालमा जति साथीभाइ पाएको छु, त्यहाँ कसरी पाउनु, त्यसैले बेलायत गएर बस्न कहिल्यै मन लागेन ।”

धरानलाई लाहुरेको सहर बनाउन भर्ती केन्द्रको स्थापना हुनु प्रमुख कारक रहेको धरानका बूढापाका बताउँछन् । भर्ती केन्द्र स्थापना भएपछि धरानका आर्थिक र सामाजिक गतिविधिहरु बढ्दै गए । लाहुरेहरुले विदेशमा सिकेको रहनसहनलाई अपनाए र यहाँको सामाजिक संस्कार पनि बिस्तारै सहरमय हुन पुग्यो । धरान–१३ फुस्रेमा भारतीय पेन्सन क्याम्प स्थापना भएपछि त भारतीय लाहुरेका लागि पनि यो आकर्षक केन्द्रका रुपमा स्थापित भयो ।

पूर्वी पहाडी भेगका युवाहरू भर्ती हुनका लागि ब्रिटिस गोर्खा सैनिक कार्यालय ९भर्ती केन्द्र० मा सयौँको सङ्ख्यामा आउने गरेको भूतपूर्व लाहुरेहरु बताउँछन् । विसं २०१६ मा धरानमा गोरखा भर्ती केन्द्र मलाय क्याम्प स्थापना भएपछि धरानमा लाहुरेको सङ्ख्या ह्वात्तै बढेको समाजसेवी राजेन्द्र शर्माको भनाइ छ । उहाँले भन्नुभयो, “तत्कालीन समयमा १६ वटा जिल्लाबाट भर्ती हुनका लागि युवाहरु आउँदथे, त्यो बेला धरान धेरैका लागि सपनाको सहर जस्तै बनेको थियो ।”

सन् २००४ देखि पूर्व गोेर्खाली र उनीहरुका परिवारलाई बेलायत, सिङ्गापुर, बु्रनाईलगायत देशमा बस्न पाउने अनुमति पाएपछि धरानमा लाहुरेको सङ्ख्या घट्दै गएको शर्माको बुझाइ छ । अहिले धरानमा १० देखि १२ प्रतिशत जति मात्र लाहुरे रहेको उहाँको भनाइ छ । “बेलायत र सिङ्गापुर बस्ने नेपालीले पठाउने विप्रेषण घट्न थालेपछि धरानको रौनकता पनि हराउँदै गएको छ”, उहाँले भन्नुभयो ।

लाहुरे घट्दै गएपछि एकातिर धरानमा पछिल्लो समय व्यापार पनि घट्दै गएको छभने अर्कोतिर लाहुरेहरुले नेपालमा रहेको सम्पत्ति बेचेर बेलायत लैजाने क्रम पनि बढेको छ । “धरानबाट लाहुरेहरु पलायन भए पनि उहाँहरुले छाडेका निसानीले बेलाबेलामा उहाँहरूलाई नै सम्झाउने गर्दछ”, उहाँले भन्नुभयो, “भूपूसैनिकहरूले धरान उपमहानगरपालिका–२० विष्णुपादुकमा निर्माण गरेको ब्रिटिस गोर्खा स्मृति पार्क धेरै पर्यटकका लागि गन्तव्य समेत बनेको छ ।”

धरान–१० स्थित सैनिक भवन, धरान–१९ स्थित ब्रिटिस सामुदायिक हल, धरान–१३ स्थित वेलफेयर अफिस, धरान–१८ स्थित डिपोट हाई स्कूल, भानुचोकस्थित गोर्खा कम्प्लेक्सलगायत संरचना लाहुरेहरुकै देन हुन् । लाहुरेहरुले धरानलाई नयाँ पहिचान मात्रै दिएनन् उनीहरुले पुस्तौँसम्म स्मरण गर्ने संरचना पनि बनाएर धरानको पहिचान बलियो बनाए । आधुनिक धरान बनाउन महत्वपूर्ण योगदान दिएका लाहुरेहरु अहिले कमै भेटिन्छन् । यद्यपि उनीहरुका योगदान भने पुस्तौँसम्मका धरानवासीले स्मरण गरिरहनेमा शर्माको विश्वास छ ।

आजभन्दा झन्डै ४०/४५ वर्षअगाडि पहाडी जिल्लामा यातायातको सुविधा नहुँदा हिँडेर ढाकर बोकेर नुन, चामल लिनेहरु धरान झर्दथे, तर त्यो क्रम विस्तारै कम हुँदै गयो यातायातको सुविधा पुग्दै गयो । पहाडी भेगका जिल्लाबाट मानिसहरु धरान झर्दा धरानको शान बेग्लै हुन्थ्यो, तर अहिले धरान झर्नेहरु पनि घटे भने धरानको जग बसाल्ने पनि पातलिँदै गए ।

सङ्खुवासभामा जन्मिनुभएका क्याप्टेन पूर्ण लिम्बू सन् १९८० सालमा ब्रिटिस लाहुरे भई २८ वर्ष बिताएपछि सन् २००८ सालमा निवृत्त भई नेपाल फर्किएको बताउनुभयो । उहाँले नेपाल फर्केपछि धरान उपमहानगरपालिका–१३ मा रहेको ब्रिटिस वेलफेयर कार्यालयमा वरिष्ठ एरिया वेलफेयर अफिसरका रुपमा १६ वर्ष सेवा गरेपछि करिब एक वर्षअघि मात्रै रिटायर हुनुभएको हो ।

लिम्बुले भन्नुभयो, “पहिलेको तुलनामा अहिले ब्रिटिस, सिङ्गापुरेलगायत लाहुरेको सुविधा राम्रो छ । म पनि परिवार लगेर उतै बस्न सक्थेँ, तर आफू जन्मेको देश यो उमेरमा किन छाड्ने भन्ने लाग्यो र यतै बस्ने निधो गरेँ ।” उहाँ अहिले सामाजिक काममा पनि उत्तिकै सक्रिय हुनुहुन्छ ।

पछिल्लो समय युवाहरु भर्ती भएपछि नेपाल फर्कनेहरु निकै कम छन् । अहिले लाहुर लागेर गएको केही वर्षमै उतै बस्ने सुविधाले पनि होला धरानका युवाहरु उता गएपछि फर्कन मान्दैनन् । लिम्बूले भन्नुभयो, “हाम्रो पालामा लाहुर लागेकाले नेपाल फर्केर चिटिक्क परेका घर बनाए विदेशमा सिकेका संस्कारलाई पछ्याउन थालेका थिए । धरान लाहुरेको सहरका रुपमा अघि बढ्दै थियो, चिटिक्क परेको सफासुग्घर घरहरू भएको सहर बन्न थाल्यो त्यो समय धरानमा लाहुरेको उपस्थिति सहरको व्यापार वृद्धि र चमकधमकको मुख्य आधार नै बनेको थियो, तर अहिले त्यस्तो छैन ।”

हाल चुम्लुङका जिल्ला अध्यक्ष मोहनकुमार हुक्पाचोङबाङ सन् १९७३ सालमा ब्रिटिस लाहुरे भएर बेलायत र बु्रनाई गरी करिब २७ वर्ष जागिर गरेर नेपाल फर्किएको सुनाउनुभयो । उहाँका शब्दमा लाहुरेहरु नभएको भए धरानको विकास यो स्तरमा सायदै हुने थिएन होला, तर पछिल्लो समय नेपालको सम्पत्ति बिक्री गरेर लाहुरेहरु बाहिरिने क्रमले धरानको साख खस्कँदो रहेको उहाँको बुझाइ छ । “हामीले त लाहुरेकै कारण बनेको धरान र लाहुर कम हुँदै गएपछि हराउँदै गएको यहाँको रौनकता दुवै भोग्नेमा पर्‍र्यौं, अहिले पहिले जस्तो लाहुरेको सहर छैन ।”

बेलायत सरकारले राम्रो सुविधा दिएकै कारण पछिल्लो समय लाहुरेहरु नेपाल छोडेर विदेशमै बस्न थालेको धरानका पत्रकार हर्ष सुब्बाको भनाइ छ । उहाँले भन्नुभयो, “पेन्सनबाहेक पनि अतिरिक्त थप राम्रो भत्ता पाउन थालेसँगै पनि धेरै लाहुरे विदेश पलायन हुन थाले, पछिल्लो आन्दोलनपछि बेलायती सरकारले घर बनाउने र परिवार लैजान पाउने सुविधा पनि दिएपछि यहाँका लाहुरेहरु सम्पत्ति बेचेर जान थालेका हुन् ।”

पछिल्लो समय धरान मात्र नभएर नेपालका अधिकांश ठाउँका लाहुरेहरुले नेपालमा भएको आफ्नो जग्गा जमीनहरु बेचेर विदेश जानेको सङ्ख्या बढ्दै गएकाले बर्सेनि २५ देखि ३० करोडभन्दा बढी रकम बेलायत जाने गरेकाले देशलाई पनि घाटा हुने गरेको पूर्वसांसद जयकुमार राई बताउनुहुन्छ । ब्रिटिस सेनामा कार्यरत रहँदा सिकेको सीपलाई नेपालमै आएर उपयोग गर्नुपर्छ भन्ने उहाँको भनाइ छ । रासस