११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार News Polar पितृपक्ष (सोह्र श्राद्ध) सुरुः आज प्रतिपदा तिथि श्राद्ध News Polar मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह News Polar पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता News Polar वडा कार्यालयबाट मालपोत कर तिर्ने व्यवस्था लागू News Polar जर्मनीमा बस दुर्घटनामा दुई फिलिपिनी पर्यटकको मृत्यु News Polar भारतमा बाढी–पहिरोमा ५६ जनाको मृत्यु, उत्तर प्रदेश सबैभन्दा प्रभावित News Polar संकटको बेला जुनसुकै नियतले फैलाइने भ्रामक प्रचार पूर्ण रूपमा अस्वीकार्य: प्रधानमन्त्री वालेन्द्र शाह News Polar चाडपर्व नजिकिँदै गर्दा सहुलियत दरमा चामल बिक्री News Polar कोरला सडक पूर्ण रूपमा अवरुद्ध News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छः पर्यटनमन्त्री News Polar मुख्यमन्त्री थापाद्वारा शङ्खधर साख्वा सङ्ग्रहालयको अवलोकन News Polar फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन News Polar बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा News Polar ‘सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण’ News Polar चोलेन्द्र पक्राउ प्रकरण: भोलि सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने

सदनभित्र तथ्यगत बहस र पैरवी गर्नुपर्छः सांसद सापकोटा

सदनभित्र तथ्यगत बहस र पैरवी गर्नुपर्छः सांसद सापकोटा
अ अ+ अ-
यो मेरो पहिलो संसदीय अनुभव हो । बाहिरबाट हेर्दा संसद्भित्र जे देखिन्छ संसदीय अभ्यासभित्र आउँदा हरेक विषयमा बाहिर देखेजस्तो नहुँदो रहेछ । बाहिरबाट हेर्दा सदनभित्र एकअर्कासँग झगडा गरेजस्तो देखिए पनि दल र सांसदबीच हार्दिकता र सौहार्दपूर्ण सम्बन्ध हुने रहेछ ।
मेरो अनुभवमा संसद्मा समय र विषयको व्यवस्थापनमा निकै मेहनत गर्नुपर्दछ । थोरै समयमा धेरै कुरा प्रभावकारी र सशक्त ढङ्गले राख्नुपर्ने हुन्छ । अनुसन्धान तथा तथ्याङ्कको आधारमा संसद्भित्र बोल्दा आफ्नो समय बचाउन सकिन्छ । आफूले राखेको विषयवस्तुमा आकर्षण र रुचिकर पनि हुनुपर्छ । कहीँ न कहीँ एउटा विचारसँग हामी बाँधिएका छौँ । त्यो विचार–दर्शनमा रहेर आफ्ना तर्कहरु प्रस्तुत गर्नुपर्ने सांसदलाई बाध्यता हुन्छ ।
मनमा लागेका कतिपय कुराहरु निर्धक्कसँग भन्न केही बन्धनहरु पनि हुन्छन् । सुरुका चरणहरुमा प्रतिनिधिसभाको बैठकभित्र छिरेपछि मलाई आफ्नो प्रस्तुति नै प्रभावकारी होला कि नहोला भनेर दबाब हुन्थ्यो । पछि विस्तारै अभ्यस्त हुँदै गएपछि सहज अनुभव हुँदै गएको छ ।
संसद्मा भूमिका निर्वाह गर्ने क्रममा केही चुनौती पनि सामना गर्नुपर्ने हुन्छ । म उमेरको हिसाबले युवा पनि भएँ । अनि उपस्थितिको हिसाबले पनि यो मेरो संसद्मा पहिलो पटकको अनुभूति हो । संसदीय अभ्यासभित्र पञ्चायतकालदेखि सांसद हुनुभएका पनि त्यहीँभित्र हुनुहुन्छ । सुरुका चरणमा नयाँ सांसदलाई गरिने सम्पर्क, सम्बन्ध र व्यवहारमा फरक हुने रहेछ ।
अहिले संसद्मा आफ्नो प्रस्तुति प्रभावकारी रुपमा राख्न थालेपछि सम्पर्क, सम्बन्ध र व्यवहारमा फरक पाएँ । संसद्मा सक्रिय र प्रभावकारी रुपमा उपस्थिति हुँदा मात्रै समग्र सम्बन्धहरुको विस्तार हुँदै जाने रहेछ । सांसदको भूमिका प्रभावकारी हुन सकेन भने हामी आफैँ गुमनाम हुने रहेछौँ । तसर्थ संसदीय अभ्यासमा छिर्दा अवसर र चुनौती दुवै छन् ।
मैले यो ठाउँसम्म आइपुग्दा राजनीतिमा धेरै सङ्घर्ष गर्नुपर्यो । बाल्यकालदेखि म राजनीतिमा होमिएँ । २०५० साल तिरको कुरा हो । मलाई त्यसबेला नेपाल कम्युनिष्ट पार्टी  (माओवादी)निकट अखिल क्रान्तिकारीको विद्यार्थी सङ्गठनमा बसेर काम गर्न मन भयो । सङ्गठनमा बस्न खोज्दा अहिले नै उमेर पुगेको छैन भनेर विद्यार्थी सङ्गठनमा बस्न दिइएको थिएन । त्यसपछि म आफैँले आफ्नो उमेर समूह मिल्नेसँग बालसमूह बनाएको थिएँ । त्यसको एक वर्षपछि बाल सङ्गठनको व्यवस्था गर्ने भनेर निर्णय भयो । पछि मलाई उमेर पुगेपछि विद्यार्थी सङ्गठनमा लिइयो ।
माओवादीको सशस्त्र युद्ध सुरु हुनुअघि म पढ्ने विद्यालयमा झडप भएर एक जना प्रहरीको मृत्यु भएको थियो । त्यसपछि त्यहाँ प्रहरी प्रशासनबाट ठूलो दमन भयो । त्यतिबेला मलाई नेपाल प्रहरीले गिरफ्तार पनि गरेको थियो । सात दिनसम्म उँधोमुन्टो लगाएर बेस्सरी यातना दिइयो । प्रहरी देखेपछि यसैगरी पिट्छ भनेर डर लाग्थ्यो । मलाई प्रहरीले यातना दिन्छ कि भन्ने मात्रै त्रास हुन्थ्यो । २०५५ सालमा फेरि मलाई पक्राउ गर्न आएपछि म भागेको थिएँ । यसपछि स्वतः पार्टीमा भूमिगत भएर सक्रियरुपमा लागेको थिए । सिद्धान्त बुझेरभन्दा पनि मेरो परिवार पनि राजनीतिक पृष्ठभूमिको भएर राजनीतिमा लागेको थिएँ । त्यसबेला हाम्रो गाउँमा माहोल नै त्यस्तै थियो ।
युद्धमा लाग्दा म दुई पटक गम्भीर प्रकृतिको घाइते नै भएको थिएँ । देब्रे कोखा र दाहिने खुट्टामा गोली लागेको थियो । झन्डै १० ठाउँमा लागेका गोलीका छर्राहरु अहिले पनि छन् । सानै उमेरमा भूमिगत आन्दोलनमा लागियो । पछि विस्तारै विचार र राजनीति बुझ्दै गइयो । मैले एसएलसीसम्म पनि पढेको थिइन । शान्ति प्रक्रियामा आएपछि मैले आफ्नो औपचारिक अध्ययनलाई जोड दिएँ । त्यसपछि मात्रै एसएलसी दिएको हुँ ।
संसदीय अभ्यासमा छिरेपछि मात्रै मैले स्नातकोत्तर तहको अध्ययन पूरा गरेँ । सँगसँगै अनुसन्धानको क्षेत्रलाई पनि अगाडि बढाएँ । अहिले पनि मलाई विभिन्न विषयमा लेखिएका पुस्तकहरु पढ्न मनपर्छ । आजको दिनसम्म पूर्णकालीन राजनीतिबाट विश्राम लिएको छैन ।
कतिपय युवाले संसदीय अभ्यासमा छिर्नका लागि धेरै मिहेनत गर्नुपथ्र्यो । तर मेरो क्षेत्रमा भने माओवादी केन्द्रका उपाध्यक्ष अग्नि सापकोटा, जो नाताले मेरो काका पनि हुनुहुन्छ, उहाँले नै नयाँ पुस्तालाई अगाडि ल्याउनुपर्छ भनेर टिकट हस्तान्तरण गर्नुभएको हो । म आफैँ सङ्घर्ष गरेर राजनीतिक कार्यकर्ताको रुपमा विकसित भएकै थिएँ । उहाँको पारिवारिक सदस्य भएकै कारण सांसदको टिकट पाएको भने होइन । राजनीतिमा मेरो पनि योगदान छ । तर उहाँको व्यक्तित्वले मलाई सहज गरायो ।
संसदीय अभ्यासमा सुशासनका कुरा पनि छलफलका विषय बन्ने गरेको छ । सुशासन भन्नेबित्तिकै आर्थिक पारदर्शिताका कुराहरु स्वतः उठ्छन् । हामी जिम्मेवार हुने, व्यवस्था बदलेसँगै हामीले आफ्नो संस्कार बदल्ने, हाम्रा कार्यशैली बदल्ने कुराहरु संसदीय अभ्यासभित्र अपुग छन् भन्ने मलाई लाग्छ । मानिसको आदत भनेको त मानिसको आफ्नो निजी सत्ता हो । निजी सत्ता हत्तपत्त बदल्न गाह्रो हुन्छ । यसले एक हिसाबले पुस्तान्तरणको माग गर्दछ । त्यसैले हामीकहाँ सुसंस्कृत हुने, सुशासनलाई जोड दिने, समानतामुलक हुने, संस्कारयुक्त हुनेजस्ता कुराहरु समकालीन राजनीति र संसदीय अभ्यासभित्र कमै देखिन्छ । पछिल्लो चरणमा संसद्मा विधायिकीको काम भन्दा पनि राजनीति बढी हाबी भयो भन्ने मलाई लाग्छ । यो पक्षमा संसद्मा अझै घनीभूत बहस पैरवी गर्नुपर्ने खाँचो छ । यस्तो छलफल र संवाद कसैको छवीमाथि हमलाका लागि र हिलो छ्याप्ने गरी प्रयोग गर्नुभन्दा राम्रो संस्कार स्थापनामा केन्द्रित हुनुपर्दछ ।
सांसद माधव सापकोटाको परिचय 
माधव सापकोटा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का युवानेता हुनुहन्छ । उहाँ २०७९ सालमा सिन्धुपाल्चोक–१ बाट प्रतिनिधिसभामा निर्वाचित हुनुभएको हो । निर्वाचनमा उहाँले तीस हजार चार सय आठ मत प्राप्त गरी विजयी बन्नुभएको थियो । उहाँ २०५६ सालमा माओवादी केन्द्रको जिल्ला उपाध्यक्ष र २०५६ सालमा जिल्ला समिति अध्यक्ष तथा २०५७ साल पूर्वी पहाड क्षेत्रीय समन्वय समितिका संयोजक हुनुहुन्थ्यो ।
(‘सांसदसँग रासस संवाद’का लागि प्रतिनिधिसभा सदस्य माधव सापकोटासँग राससका उप–समाचारदाता प्रगति ढकालले गर्नुभएको कुराकानीको सम्पादित अंश ।)