२० मंसिर २०८२, शनिबार
,
Latest
नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय
तपाईं के खोज्दै हुनुहुन्छ ?

दुर्गा मन्दिर: परियारले बनाए, गैरदलितले सघाए



अ+ अ-

तनहुँ । व्यास नगरपालिका–१३ बेलवासका परियार गैरदलितको सहयोगमा दुर्गा भवानीको मन्दिर स्थापना गरी हिन्दू धर्म संरक्षण अभियानमा जुटेका छन् ।

बेलवास बेनिकोट परियार समाजमा आबद्ध ३७ घरका आफूहरुले हिन्दू धर्मको सारलाई भावी पुस्तासम्म बचाइराख्न गरेको अभियानमा स्थानीय गैरदलितबाट साथ र सहयोग मिलेको समाजका प्रमुख सल्लाहकार धनबहादुर परियारले बताउनुभयो । मन्दिर निर्माणका लागि आफूहरुले करिब छ आना क्षेत्रफललाई संरक्षण गरेकोसमेत परियारले जानकारी दिनुभयो ।

“सदियौँदेखि मान्दै आएको हिन्दू धर्म छाडेर अन्य धर्म अँगाल्न चाहनेहरुको चाप समाजमा बढ्दै गयो”, प्रमुख सल्लाहकार परियारले भन्नुभयो, “त्यसैले परियार समाजका सबै भेला भई हिन्दू धर्मलाई नै बचाई राख्नुपर्छ भनेर दुर्गा मन्दिर बनाउन जुट्यौँ ।”

वडाध्यक्ष वसन्त आले, स्थानीय वर्च्याङ्दी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष यमबहादुर आलेबाट, सचिव सिर्जना तिवारी र स्थानीय मिलन टोल विकास संस्थाका अध्यक्ष सुमित्रा बगाले लगायतबाट समेत मन्दिर बनाउन साथ र सहयोग पाएपछि आफूहरु मन्दिर बनाउन अघि बढेको परियार समाजका अध्यक्ष मनबहादुर परियारले बताउनुभयो ।

उक्त मन्दिर निर्माणका लागि हालसम्म करिब रु पाँच लाख खर्च भएको समाजले जनाएको छ । नगरपालिकाको कार्यालय र वडा नं १३ कार्यालयबाट रु ५०/५० हजार प्राप्त भएको र अन्य रकम स्वऐच्छिक चन्दाबाटै जुटाइएको अध्यक्ष परियारको भनाइ छ ।

“सनातनदेखि मान्दै आएको हिन्दू धर्मको संरक्षणमा हामी पनि जुट्नुपर्छ भनेर मन्दिर निर्माणमा अग्रसर भएका हौँ”, समाजका अध्यक्ष परियारले भन्नुभयो, “मन्दिर निर्माणको अभियानमा टोलका सबै गैरदलितले साथ र सहयोग मिल्दा निकै खुसी लागेको छ ।”

परियार समाजले गरेको मन्दिर निर्माण कार्यमा आफूले पनि रु एक हजार पाँच सय चन्दा प्रदान गरी ऐक्यबद्धता जनाएको मिलन टोल विकास संस्थाका अध्यक्ष सुमित्रा बगालेले बताउनुभयो । परियारले समुदायले मन्दिर निर्माण गरे पनि सबै जातजातिका मानिसले सहभागी भई पूजापाठ गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

“परियारहरुले मन्दिर बनाएर रचनात्मक काम गर्नुभएको छ”, टोल विकास संस्थाका अध्यक्ष बगालेले भन्नुभयो, “अब सबै मिलेर संयुक्त पूजापाठ गरी धार्मिक एकताको सन्देश दिन आवश्यक छ ।” आफूहरुले मच्छिन्द्रनाथ रथ यात्राको दिन पारेर शनिबार नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेलगायतको सहभागितामा पञ्चेबाजासहित बजार परिक्रमा गरी दुर्गाको मूर्तिमा प्राणप्रतिष्ठा गरिएको थियो ।

नगर प्रमुख न्यौपानेले समाजमा विभेदमा परेको समुदायलाई उत्थानका लागि नगरपालिकाले विभिन्न कार्यक्रम ल्याएको बताउनुभयो । “दलित समुदायले मन्दिर बनाउने प्रस्ताव ल्याएपछि हामीले सहयोग नगरी बस्न सकेनौँ”, नगर प्रमुख न्यौपानेले भन्नुभयो, “मन्दिर निर्माणपछि मानिसलाई सत्मार्गमा लाग्न प्रेरणा मिल्ने हाम्रो बुझाइ हो ।”

व्यास–१३ का वडाध्यक्ष वसन्त आले, नगरप्रमुख न्यौपाने, राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष विश्व बाँस्तोलालगायतले विभेदमा परेको समुदायबाट मन्दिर निर्माण हुनु सकारात्मक कुरा रहेको बताउनुभयो ।