२ कार्तिक २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

मधेस प्रदेशका जनताकै कारण देशमा संघीयता आएको हो: मुख्यमन्त्री यादव



मधेशका मुख्यमन्त्री सरोजकुमार यादव ।
अ+ अ-

जनकपूरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले देशमा संघीयता मधेस प्रदेशका जनताकै कारण आएको बताउनुभएको छ ।

उहाँले प्रदेश र स्थानीय तहको प्रभावकारी समन्वयले मात्र संघीयता सबल हुने बताउनुभएको हो । उहाँले शुक्रवार जनकपुरधाममा सम्पन्न प्रदेश र स्थानीय सरकारको प्रभावकारी समन्वय र सहकार्यको वर्तमान अवस्था र भावि रणनीति विषयक अन्तरक्रिया कार्यक्रममा मुख्यमन्त्री यादवले नेपालको संविधानले तीन तहको सरकारको परिकल्पना गरे पनि प्रदेश र स्थानीय तह बीचको समन्वयलाई व्याख्या नगरि संघीयतालाई नै कमजोर गर्ने काम गरेको बताउनु भयो । उहाँले संघीयता भएपनि संघ सरकारल अधिकार हस्तन्तरण नगरेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘देशमा संघीयता ल्याउने मधेस प्रदेश नै हो । मधेस प्रदेशका हामी सम्पूर्ण जनताले आन्दोलन गरेबापत यो देशमा संघीयता आएको हो । संघीयता आएपछि यो मधेस प्रदेशमा जुन विकास भएको छ नि, संघीयता आएपछि नै भएको हो । नत्र बहुदल व्यवस्था ३२ वर्ष बढी भइसक्यो यो देशमा २५ वर्षमा मधेसमा बहुदलिय व्यवस्था भएपनि विकास हुन सकेको छैन । बहुदल आएपनि मधेस प्रदेशका जनतालाई विभेद गरेर राखेकै हो त । आज पनि संघीयता भएपनि संघ सरकारले जुन प्रकारको अधिकार दिनुपर्ने हो, उनीहरुले नै बनाएको संविधान हो, अधिकार दिएका छैनन् । अहिले बनेको संविधान मधेस प्रदेशका जनताले स्वीकार गरेको संविधान होइन । हामीमाथि लादेको हो । त्यही कार्यान्वयन गर्न पनि सरकारको कठिनाइ छ ।’

उहाँले संघीयता सबैलाई चाहिने भएपनि कार्यान्वयन गर्न नसकेको जिकिर गर्नुभयो । संघीयता मधेसलाई नै चाहिएको उल्लेख गर्दै उहाँले स्थानीय तह र प्रदेश सरकारलाई एक जुट भएर अघि बढ्नुपर्ने बताउनु भयो । स्थानीय तहको परिषद बैठकमा समेत प्रदेशसभा सदस्यहरुलाई प्रतिनिधित्व गराउन आग्रह गर्दै मुख्यमन्त्री यादवले प्रदेशको प्रतिनिधित्व गराईए स्थानीय तहलाई फाइदै हुने बताउनु भयो ।