१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

युवतीहरुमा चिन्ताजनक रुपले स्तन क्यान्सर बढ्दैछ



अ+ अ-

आज फेबरुअरी ४ का दिन विश्वभर विश्व क्यान्सर दिवस मनाइन्छ । नेपालमा पनि विभिन्न कार्यक्रम गरी आज यो मनाइदैछ । यहाँ खासगरी क्यान्सर रोगबाट बच्ने उपायहरुका बारेमा जनचेतना अभिवृद्धि गर्ने विभिन्न कार्यक्रमहरु गर्ने गरिएको छ । 
क्यान्सर सामान्यतया हाम्रो शरीरका कोषहरु विभिन्न कारणले एकाएक बढ्ने गर्छन् यसका कारण शरीरमा उत्पन्न हुने समस्या नै क्यान्सर हो भनिन्छ ।
तर यो रोेग अरु रोगजस्तो हुदैन किनभने यो शरीरको एउटा अंगबाट अर्को ठाउँमा सर्न थाल्छ र ती अंगहरु नै सखाप पार्न थाल्छ । क्यान्सरको नराम्रो पक्ष भनेको शरीरको त्यसरी एक अंगबाट अर्को अंगमा फैलिनु हो र यसलाई मेटास्टासिस भनिन्छ ।
क्यान्सर के कारणले हुन्छ भन्ने यकिन एउटै तथ्य अझै पत्ता लागेको छैन । यो शरीरको जुनसुकै अंगमा पनि हुन सक्छ । पुरुषहरूमा फोक्सोको क्यान्सर, मुखको क्यान्सर धेरै भेटिन्छ भने महिलाहरूमा भने पाठेघरको मुख र स्तनको क्यान्सर हुने गर्छ ।
केही क्यान्सर वंशाणुगत हुन्छन् भने फोक्सो, मुख आदिमा हुने क्यान्सरको धेरैजसो कारण चुरोट र खैनी हो । क्यान्सरका बिरामीमध्ये अधिकांशको त चुरोट वा खैनी खाने गरेकाकारण हुने गरेको पाइएको छ । 
विश्वमा प्रमुख समस्याका रुपमा देखा परिरहेको यो क्यान्सर रोग गराउने अन्य जोखिमहरूमा मोटो शरीर, प्रदुषित वातावरण, खानामा खराबी, शहरीया जीवन शैली आदि पनि पर्दछन् । 
कतिपय क्यान्सरहरु अपरेशन गरेर काटेर फ्याल्न मिल्ने खालको हुन्छ भने कतिपय क्यान्सर काटेर निकाल्न नसकिने अवस्थामा नै भेटिन्छ । टाउको, घाँटी, रगत वा अरु निकाल्नै नमिल्ने भागमा क्यान्सर भएको छ भने शल्यक्रिया सम्भव हुँदैन । 
क्यान्सरको अहिलेको औषधि किमोथेरापी हो । क्यान्सरका सेलहरु मार्नका लागि आजकल सयौं प्रकारका किमोथेरापीहरु बनेका छन् । कतिपय क्यान्सरहरु किमोथेरापीबाट सजिलै निको हुन्छन् भने केहीलाई यो औषधि पद्दतिले छुँदा पनि छुँदैन । हरेक किमोका राम्रा र नराम्रा असर हुन्छन् अनि किमोले अरु साइड इफेक्टहरु पनि देखाउँछ जस्तो कि सामान्यतया कपाल झर्ने, वाकवाकी लाग्ने आदि । 

नेपालमा स्तन क्यान्सरको अवस्था 
स्तन क्यान्सर नेपालमा निकै बढ्दो रुपमा देखिएको छ । सहरी भूभागमा धेरै देखिएको छ । जस्तो कि टिचिङ अस्पतालमा नै धेरै आएका छन् । ती मध्ये ४० वर्ष मुनिका केटीहरु धेरै छन् । पहिले पहिले  स्तन क्यान्सर ५० देखि ६० वर्षका महिलालाई हुने गरेकामा अहिले यो कम उमेरमा सर्दै आएको छ । 
नेपालमा हुने पूरै स्तन क्यान्सरमध्ये एक तिहाई त ४० वर्ष मुनिका केटीहरुमा भएको देखिएको छ । यसलाई ‘ट्रिपल नेगेटिभ ब्रेस्ट क्यान्सर’ पनि भनिन्छ । यसरी केटी मानिसमा देखिएको यो किन बढी खतरनाक हुन्छ भने यो बढी मात्रामा फैलिने सम्भावना पनि हुन्छ । त्यसैले गर्दा यस्तो अवस्थादेखि डराउनुपर्छ, समयमै स्वास्थ्य जाँच गराउनुपर्छ । 

किन बढ्दैछ स्तन क्यान्सर ? 
खासमा त कम सक्रिय जीवन शैली, तयारी खाना खाने प्रवृत्ति, व्यायामको अभाव, सुर्तीजन्य र मादक पदार्थको सेवनजस्ता कारणले नेपालमा क्यान्सरका बिरामीको संख्या बढिरहेको देखिएको छ । तर यतिमात्र कारणहरु भने क्यान्सरका छैनन् तर पनि क्यान्सरका कारणहरुमा यी प्रमुख भने हुन् । 
पछिल्लो समयमा नेपालमा सहरी नागरिकमा स्तन क्यान्सको अवस्था बढेको देखिएको छ । यहाँ ४० वर्ष मुनिका केटी मान्छेहरु उपचारमा आउने गर्छन्, यो संख्या दिन प्रतिदिन बढ्दो देखिएको छ । यो पनि खासमा त सन्तुलित खानाको कमी, सहरी जीवन शैली, अस्वस्थ खाना, व्यायामको कमी, स्ट्रस्फुल बसाई तथा जीवन शैली आदि हुन् । त्यस्तै ढिला विहे गर्ने, पहिलो सन्तान ३० वर्षपछि जन्माउने, १२ वर्ष अघि नै महिनामारी शुरु हुने र महिनामारी ढिला सुक्ने, गर्भनिरोधक या अन्य औषधिका रुपमा चक्कीको प्रयोग गर्ने आदि पनि यसका कारण हुन् । तर वंशाणुगत भने यो १० देखि १५ प्रतिशत मात्र हुने गर्दछ । तथा समयमै स्वास्थ्य जाँचको अभाव पनि यसका धेरै मध्येका केही कारणहरु हुन् ।  

स्तन क्यान्सरबाट कसरी बच्ने ? 
बेलैमा उपचार गरे क्यान्सर रोग निको हुन्छ । पछिल्लो समयमा नेपालमा खाना नली र स्तन क्यान्सरको समस्या पनि बढिरहेको देखिन्छ । स्तन क्यान्सर नदुख्ने गाँठो आएको थाहा पाउने बित्तिकै त्यो क्यान्सर रोगको लक्षण हो कि होइन भनेर जाँच गराउनु पर्छ । स्तन वा अन्य अंगको गाँठो ठूलो भएर रगत बग्न थालेपछि जाँच्न आउने होइन । तर यहाँ त्यस्तो होइन कि अन्तिम परेपछि मात्र आउने प्रवृत्ति छ । 
यसबाट बच्ने अन्य उपायहरुमा महिनाको एकपटक आफैले स्तनको जाँच गराउने, ४० वर्ष मुनिका केटी मान्छेले कम्तीमा पनि तीन वर्षमा १ पटक स्तन र छातीको भिडियो एक्सरे गराउने, त्यो भन्दा बढी उमेरका महिलाले वर्षमा १ पटक मेमोग्राम (स्तनको एक्सरे) गराउने गर्नाले पनि यो रोगबाट बच्न सकिन्छ । यसो गर्दा समयमै यो रोग लागेको कुरा थाहा भयो भने समयमै उपचार हुन्छ र समयमै उपचार भयो भने निको हुने पूरै सम्भावना पनि हुनसक्छ ।  

(टिचिङ अस्पतालमा कार्यरत स्तन क्यान्सर रोग विशेषज्ञ डा.सुजिता हिराचनसँगको कुराकानीमा आधारित)