२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
बजेटले निजी क्षेत्रलाई सम्बोधन गर्न सकेन, हामी फेरि भिड्छौँः उपाध्यक्ष डाँगी तराईमा ‘लू’को जोखिम, कसरी बच्ने ? राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो राज्य सञ्चालकको सोच नफेरिएका कारण दलित समुदायको अवस्था बदलिएनः अध्यक्ष विश्वकर्मा बजेटमा आएका ऊर्जा क्षेत्रका व्यवस्था कार्यान्वयनमा जोड दिनुपर्छः इप्पान अध्यक्ष कार्की काठमाडौँ महानगरद्वारा सहकारी संस्थाले बहालमा लिएका घर/कोठा तथा फ्ल्याट १५ दिनभित्र खाली गर्न निर्देशन मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण मधेश प्रदेशका अर्थमन्त्रीसँग नाडाको भेटवार्ता, अटोमोटिभ क्षेत्रका नीतिगत विषयमा केन्द्रित छलफल ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय… सुनचाँदीको मूल्यमा सामान्य गिरावट, सुन तोलामा २०० र चाँदी ८५ रुपैयाँ घट्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

शक्ति राष्ट्रबीचको टकरावले साना मुलुकको अस्तित्वको चुनौती: प्रधानसेनापति शर्मा



अ+ अ-

काठमाडौँ । प्रधानसेनापति प्रभुराम शर्माले नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रियता, स्वाधीनता, स्वाभिमान, सीमा सुरक्षा, आर्थिक समुन्नति र समृद्धिका लागि साझा प्रयास र प्रतिबद्धताको खाँचो रहेको बताउनुभएको छ । रक्षा मन्त्रालय र नेपाली सेनाद्वारा सैनिक कमाण्ड तथा स्टाफ कलेजमा आयोजित सिसं ९ उच्चस्तरीय राष्ट्रिय सुरक्षा तालिम उद्घाटन गर्दै उहाँले त्यसका लागि समान धारणा, बुझाइ, एकता र समन्वय आवश्यक रहेको उल्लेख गर्नुभयो ।

प्रधानसेनापति शर्माले भन्नुभयो, “बाह्य तथा आन्तरिक सुरक्षा वातावरणको अध्ययन र विश्लेषण गर्दै राष्ट्रिय हित तथा स्वार्थको संरक्षणका लागि महत्वपूर्ण नीति तर्जुमा र कार्यान्वयन गर्नुपर्ने आवश्यकता छ ।” प्रत्येक राष्ट्र आफ्ना आधारभूत मूल्यमान्यताको संरक्षणसहित राष्ट्रिय पहिचान, सार्वभौमसत्ता र अखण्डता कायम गर्दै जनतालाई सुरक्षित, भयरहित एवं आत्मसम्मानपूर्ण जीवन जिउन दिनेतर्फ सचेत रहनुपर्ने आवश्यकता उहाँले औँल्याउनुभयो ।

“राष्ट्रले पनि जनतालाई भौगोलिक, सामाजिक, आर्थिक एवं राजनीतिक रुपमा पूर्ण सुरक्षित राख्न विभिन्न नीति तथा रणनीति अख्तियार गर्दै आइरहेको छ”, प्रधानसेनापति शर्माले भन्नुभयो । अन्तर्राष्ट्रिय मञ्चमा हाल भइरहेको द्वन्द्व एवं युद्धका घटनाले शक्ति राष्ट्रबीचको ध्रुवीकरण बढ्दै गएको आभाष भएको उल्लेख गर्दै उहाँले विश्वका शक्ति राष्ट्रबीचको प्रत्यक्ष/परोक्ष टकरावले साना मुलुकलाई आफ्नो अस्तित्वलाई अक्षुण्ण राख्न चुनौती थपिएको बताउनुभयो ।

प्रधानसेनापति शर्माले नेपालको सन्दर्भमा, संवेदनशील भूराजनीति, खुला सिमाना र विभिन्न शक्ति राष्ट्रको स्वार्थ पनि राष्ट्रिय सुरक्षा चुनौतीको रुपमा हेरिने गरिएको बताउनुभयो । आन्तरिकरुपमा बढ्दै गइरहेको धार्मिक तथा साम्प्रदायिक विवादका साथै सुषुप्त अवस्थामा रहेका केही विखण्डनवादी वा पृथकतावादी समूहका गतिविधिले राष्ट्रिय सुरक्षामा प्रभाव पारिरहेको उहाँको भनाइ थियो ।

प्रभावकारी सुरक्षा वातावरण निर्माण गर्न परम्परागत एवं अपरम्परागत सुरक्षाका विविध पक्ष एवं आर्थिक, सामाजिक विकासको नक्सालाई राम्रोसँग बुझी सबै संयन्त्रले राष्ट्रियरुपमा तर्जुमा गरिएका नीति नियमलाई इमानदारीपूर्वक कार्यान्वयन गर्नु आजको प्रमुख आवश्यकता रहेको प्रधानसेनापति शर्माले उल्लेख गर्नुभयोे । उहाँले भन्नुभयो, “विश्वको बदलिँदो सुरक्षा परिस्थितिलाई मध्यनजर गर्दै राष्ट्रिय सुरक्षा नीति तथा रणनीतिलगायत योजना तर्जुमा र परिमार्जन गर्न अपरिहार्य छ ।”

रक्षा मन्त्रालयका सचिव किरणराज शर्माले सुरक्षा बहुआयामिक, अन्तर सम्बन्धित र बहुनिकायसँग सरोकार राख्ने विषय भएकाले सुदृढ सुरक्षाका लागि राज्यका निकायबीच संवाद, समन्वय र सहकार्य आवश्यक रहेको बताउनुभयो । उहाँले देशको सुरक्षामा खलल पुर्‍याउन सक्ने विभिन्न आन्तरिक तथा बाह्य चुनौतीलाई एकीकृतरूपमा समन्वयात्मक ढङ्गबाट सामना गरिएमा मात्र समग्रमा देशको प्रतिरक्षा क्षमता, सीमा व्यवस्थापन, प्रकोप नियन्त्रण, राष्ट्रिय एकता, क्षेत्रीय तथा अन्तर्राष्ट्रिय सम्बन्ध र कूटनीतिसमेत प्रभावकारी हुने बताउनुभयो ।

कलेजका शिक्षाध्यक्ष बाबुराम श्रेष्ठले २०७२ सालदेखि सुरु भएको सुरक्षासम्बन्धी उच्चस्तरीय तालिममा हालसम्म १९३ जना प्रशिक्षित भइसकेका जानकारी गराउनुभयो । आजदेखि सुरु भएको नवौँ संस्करणको तालिम आगामी चैत १६ गतेसम्म सञ्चालन हुनेछ । तालिममा विभिन्न मन्त्रालय, संवैधानिक निकाय, विश्वविद्यालय, सरकारी तथा गैरसरकारी संस्था, सञ्चार जगत्, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल तथा राष्ट्रिय अनुसन्धान विभागका गरी ३० जनाको सहभागिता रहेको छ । रासस