१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अध्यक्ष र कर्मचारीमाथी भएको दुर्व्यवहारबारे प्रेस काउन्सिलको ध्यानाकर्षण News Polar वर्षाले पाल्पाका सडक क्षतिग्रस्त, पुलसमेत जोखिममा News Polar प्रधानमन्त्री बर्नहमद्वारा बेलायतका लागि ‘विशेष’ योजना ल्याउन लागेको दावी News Polar मुख्यमन्त्री पाण्डेद्वारा बाढी प्रभावित क्षेत्रको निरीक्षण News Polar छ दिनदेखि अवरुद्ध कालीगण्डकी करिडोर अझै सञ्चालन हुन सकेन News Polar हिमालय एअरलाइन्सको काठमाडौँ–सांघाई–काठमाडौँ सिधा उडान पुनः सञ्चालन News Polar लामो दूरीका सवारीसाधनमा दुई चालक अनिवार्य News Polar न्वागी पर्व मनाउँदै आठपहरिया News Polar किसान सूचीकरणमा उल्लेखनीय वृद्धि, करिब ३ लाख किसान थपिए News Polar पशु, बधशाला तथा मासु जाँच ऐन संशोधन विधेयक संसद्मा पेश गर्न स्वीकृति News Polar खाद्य नोक्सानी र खाद्य खेर जाने प्रवृत्ति न्यूनीकरणका लागि राष्ट्रिय पहलमा जोड News Polar चर्चित उपन्यास ‘एक चिहान’ मा आधारित नाटक १६ गतेदेखि काठमाडौँमा मञ्चन हुँदै News Polar पहिरोले लामाबगरका चार घर र दुई गोठ पुरिए, एक जना घाइते News Polar सङ्घीय निजामती सेवासम्बन्धी विधेयक संसद्मा पेस गर्ने सरकारको निर्णय News Polar बाढी–पहिरोबाट अवरुद्ध टेलिकमका १३० साइट अझै सञ्चालनमा आउन बाँकी News Polar लमजुङको राइनास नगरपालिकाका १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा News Polar रसुवाको स्वास्थ्य सेवा व्यवस्थापनका लागि १२ बुँदे निर्णय News Polar राष्ट्रपति पौडेलसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट News Polar चोलेन्द्र शमशेर राणालाई पक्राउ नभई सुरक्षा दिइएको सरकारको स्पष्टोक्ति News Polar स्वास्थ्य क्षेत्र सुधारका लागि अमेरिकाको २ करोड ७ लाख डलर अनुदान स्वीकार गर्ने सरकारको निर्णय

किल्चोकको धार्मिक पर्यटनलाई प्रवर्द्धन गर्दै हाइकर्स क्लब

किल्चोकको धार्मिक पर्यटनलाई प्रवर्द्धन गर्दै हाइकर्स क्लब
अ अ+ अ-

गण्डकी । तनहुँको म्याग्दे गाउँपालिका-३, किलचोकस्थित अकला मन्दिर यस क्षेत्रमा प्राचीनकालदेखि धार्मिक पर्यटकीय गन्तव्यका रुपमा परिचित तीर्थस्थलमध्येको एक हो । प्राकृतिकरुपमा शिलामा कुँदिएका देवीका मूर्तिसँगै रहेका सिंह र नन्दी एवं विभिन्न देवी देवताका मूर्तिका आकृति नै यहाँका विशेष आकर्षण हुन् ।

विशेषत: रातिको समयमा मन्दिर परिसरमा शङ्खघण्ट बज्ने गरेको विश्वासले यहाँको गरिमा र महत्व अझै बढाएको स्थानीयवासी बताउँछन् । अकला मन्दिरलाई धार्मिक पर्यटनको गन्तव्य बनाउनका लागि पछिल्ला समयमा सरकारी चासो र चर्चा बढिरहेको छ भने विभिन्न सामाजिक सङ्घसंस्थाले यसको प्रवद्र्धन र विकासलाई जोड दिएका छन् ।

पोखरा र आसपासका पर्यटकीय गन्तव्यलाई हाइकिङका माध्यमबाट प्रवद्र्धन गर्दै आएको हाइकर्स क्लब नेपालले आफ्नो ४४औँ शृङ्खला किल्चोकस्थित अकला मन्दिर र आसपासका पर्यटकीय गन्तव्यलाई लक्षित गरी सम्पन्न गरेको क्लबका अध्यक्ष कृष्ण रानाभाटले बताउनुुभयो ।

“हामी प्रत्येक महिनाको अन्तिम शनिबार पोखरा र आसपासका पर्यटकीय गन्तव्यलाई हाइकिङका माध्यमबाट प्रवद्र्धन गरिरहेका छौँ”, उहाँले भन्नुभयो, “सम्भावना भएर पनि प्रवद्र्धनका दृष्टिले पछाडि परेका गन्तव्यलाई उजागर गर्नु हाम्रो अभियानको मुख्य उद्देश्य हो ।”

पोखरामा रही विभिन्न सेवा पेसा र व्यवसायमा आबद्ध व्यक्ति क्लबमा आबद्ध भएको बताउँदै उहाँले पछिल्ला समयमा हाइकिङप्रतिको आकर्षण दिनानुदिन बढ्दै गएको बताउनुुभयो । हाइकिङको ४४औँ संस्करणमा ३७ जना सहभागी बनेको जानकारी दिँदै अध्यक्ष रानाभाटले पृथ्वीराजमार्गअन्तर्गत म्याग्दे गाउँपालिका–३ धयेँरे चोकबाट सुरु भएको हाइकिङ बडगाउँ, किल्चोक अकला, बहपुर गाउँ, थानतिङ हुँदै जामुने कमलकोटीसम्म गरिएको बताउनुभयो । स्थानीयको जागरुकता हुने हो भने एकदिवसीय हाइकिङका लागि धयेँरेदेखि जामुने कमलकोटीलाई उपयुक्त गन्तव्य बनाउन सकिने उहाँको भनाइ छ ।

प्राचीनकालदेखि यस क्षेत्रकै महत्वपूर्ण धार्मिक आस्था एवं विश्वासको केन्द्र बनिरहेको अकला मन्दिर र आसपासका क्षेत्रलाई उजागर गर्न हाइकिङ महत्वपूर्ण बनेको उल्लेख गर्दै उहाँले पछिल्ला समयमा रमणीय गाउँहरू मानवविहीन बन्दै जानु गम्भीर चुनौतीका रुपमा रहेको बताउनुुभयो ।

यहाँस्थित मन्दिरभित्रको विशाल शिलालाई परापूर्वकालदेखि नै अकलादेवीका रुपमा पूजाआजा गर्ने गरिएको स्थानीयवासी बताउँछन् । मनले चिताएको पुग्ने विश्वासका कारण तनहुँसहित कास्की, स्याङ्जा, लमजुङ गोरखालगायत स्थानबाट दर्शनार्थी आउने गरेका छन् । परापूर्वकालमा यही किल्चोक अकला हुँदै सेती नदी बग्न थाल्दा देवीको शक्तिका कारण यहाँबाट रोकिएर अर्को मार्गबाट बग्न थालेको किंवदन्ती रहेको स्थानीय समाजसेवी हरेराज बगालेले बताउनुुभयो ।

मन्दिरको महिमा र गरिमालाई प्रवद्र्धन गर्ने उद्देश्यका साथ २०५५ मा योगी नरहरिनाथले ८५औँ कोटीहोम लगाउनुभएको थियो । समय–समयमा अकला मन्दिरमा आउने साधुसन्तले यस तीर्थस्थलको विशिष्ट महत्व एवं धार्मिक शक्ति रहेको बताउने गरेको स्थानीय बताउँछन् ।

गत वर्ष पुन:निर्माण गरिएको अकला मन्दिरको उद्घाटन समारोहमा भारतको काशीदेखि आउनुभएका जगद्गुरु शङ्कराचार्य अनन्त श्रीविभूषित स्वामीनरेन्द्रनन्द सरस्वतीले यस तीर्थस्थलको विशिष्ट महिमा रहेको बताउनुले पनि यसको धार्मिक महत्वलाई थप उजगार गरेको स्थानीयवासीको तर्क छ ।

रातको समयमा मन्दिरको घन्टा आफैँ बज्नु, मन्दिर परिसरस्थित कटहरको बोटमा बाह्रैमहिना कटहर फल्नु, मन्दिरको पारी रहेको रुद्रदेवी मन्दिरको विशाल शीलालाई जो कोहीले पनि हल्लाउन सक्नुलाई स्थानीयले यहाँको दैवी शक्तिका रुपमा लिने गरेका छन् ।

मन्दिरको दर्शन गरेमा मनले चिताएको पुग्ने जनविश्वासका कारण तनहुँसहित आसपासका कास्की, स्याङ्जा, लमजुङलगायतका स्थानबाट दर्शनार्थी भाकलसहित पूजाआजा गर्न आउने गरेको बगालेले बताउनुुभयो ।

परापूर्वकालदेखि व्यक्तिगत वा पारिवारिक जस्तोसुकै समस्यामा पनि अकलादेवीलाई सम्झेपछि समस्या समाधान हुने, बोली आउन नसकेका बालबालिकाको बोली आउने आदि विश्वासका कारण पनि यस तीर्थस्थलप्रतिको आस्था एवं विश्वास निरन्तर बढ्दै आएको स्थानीयवासीको तर्क छ ।

मन्दिरको संरक्षण र विकासमा जोड दिँदै पछिल्लो समयमा मन्दिरसहित शिवालय, सत्तल आदि निर्माण गरिएको छ । धार्मिक महत्वका गन्तव्यहरूको प्रवद्र्धन गर्न सकेमात्रै पनि धार्मिक पर्यटनका गतिविधि बढ्ने र त्यसलेस्थानीयलाई फाइदा पुग्ने पत्रकार सञ्जय आचार्यले बताउनुुभयो ।

“हामीले हाम्रा ऐतिहासिक एवं धार्मिक सम्पदालाई अझै पनि पर्यटनसँग जोड्न सकेका छैनौँ”, आचार्यले भन्नुभयो, “आफ्ना स्थानको महत्वलाई उजागर गर्दै पर्यटकीय प्रवद्र्धनका लागि पहिलो सक्रयता त्यहाँ बसोबास गर्ने स्थानीयवासीको नै हुन्छ ।”

पछिल्लो समय अधिकांश रमणीय गाउँ बस्तीविहीन बन्दै जानु गम्भीर चुनौती बनेको बताउँदै उहाँले धार्मिक एवं ऐतिहासिक सम्पदालाई पर्यटनसँग जोड्दै उत्पादन बढाउनसके बढ्दो युवा पलायनलाई रोक्न सकिने धारणा राख्नुुभयो । रासस