२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
रोल्पामा बोलेरो जिप दुर्घटना : ३ जनाको मृत्यु जातीय भेदभाव र छुवाछुत उन्मूलनका लागि संसद प्रतिवद्ध छः सभामुख अर्याल औषधि आपूर्ति सुधारमा मन्त्रालय–विभाग छलफल, विवरण उपलब्ध गराउन निर्देशन भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा सामाजिक चेतनाको अभावले जातीय भेदभाव विरुद्धका कानून कार्यान्वयनमा चुनौतीः महान्यायाधिवक्ता कँडेल नयाँ दिल्लीको एक होटलमा भीषण आगलागी, २१ जनाको मृत्यु ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ७६ हजार राजस्व संकलन भक्तपुरको विद्यालयमा भीषण आगलागी, दुई तला क्षतिग्रस्त दक्षिण लेबनानमा इजरायली हवाई आक्रमणः बालबालिकासहित १२ जनाको मृत्यु इजरायली आक्रमणमा तीन प्यालेस्टिनीको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘पुजार सार्की’मा मैत बहादुर बने प्रदीप, जन्मदिनमा पात्र परिचय दिने फोटो सार्वजनिक



अ+ अ-

पोखरा। यति बेला अभिनेता त्रय आर्यन सिग्देल, प्रदीप खड्का र पल शाहले एकसाथ अभिनय गरिरहेको चलचित्र ‘पुजार सार्की’को छायाङ्कन चलिरहेको छ । यसैबिच अभिनेता प्रदीप खड्काको आइतबार जन्मदिन परेको छ । उनको जन्मदिनको शुभ अवसर पार्दै चलचित्रमा उनको भूमिकाको पात्र परिचय गराइएको छ ।

निर्देशक दिनेश राउतले उनले नाम ‘मैत बहादुर’ रहेको जनाउँदै पात्र परिचय दिने दुई वटा फोटो सार्वजनिक गरेका छन् । फोटोमा खड्का लामो कपाल पालेका, कालो टोपी पछाडि ढल्काएर लगाएका र पञ्चेबाजामा प्रयोग हुने प्रमुख बाजा ‘दमाहा’ बजाउँदै गरेको देखिएका छन् । फोटोले उनी बाजा बजाउने पात्रको रूपमा परिचय दिएको छ ।

निर्देशक राउतले यो चलचित्रलाई जातीय विभेद विरुद्ध समाजका तीन पात्रहरूले गर्ने साझा सङ्घर्षको कथा रहेको बताएका छन् । तर, निर्देशकले मैत बहादुरको थर भने खुलाएका छैनन् । यसको अर्थ प्रदीपले निभाएको चरित्र पहिचानको सङ्घर्षमा रहेको हुनसक्ने अनुमान गर्न सकिन्छ ।

यो चलचित्रलाई विकास सुवेदीले लेखेका छन् । यसअघि विकास र दिनेशले चलचित्र ‘प्रकाश’मा सहकार्य गरेका थिए । महत्त्वाकाङ्क्षी चलचित्र ‘पुजार सार्की’को कास्की जिल्लाको कास्कीकोमा छायाङ्कन भइरहेको छ ।

यस चलचित्रमा अभिनेत्री द्वय अन्जना बराइली र परीक्षा लिम्बुले पनि प्रमुख भूमिकामा अभिनय गर्दैछन् । बराइलीले यसअघि चलचित्र ‘महापुरुष’मा अभिनय गरेकी थिइन् । परिक्षाले ‘जारी’ र ‘छक्का पन्जा ४’मा अभिनय गरेकी छन् । साथमा, मोहन निरौला, लोकेन्द्र लेखक, सुवास गजुरेल, विद्या कार्की, तारा शर्मा, शङ्कर आचार्य, प्रेम सुब्बा, गोविन्द रमण पराजुली, राजेश बिसुराल लगायतको अभिनय रहनेछ ।

दर्शकको रोजाइका तीन स्टारहरू एकसाथ चलचित्रमा आउन लागेको खबर बाहिरिएदेखि नै ‘पुजार सार्की’ चर्चामा रहँदै आएको छ । यो चलचित्रले दर्शकमा छोड्ने छाप पनि स्मरणीय हुने अपेक्षा गरिएको छ । ‘प्रसाद’, ‘क्लासिक’, ‘नोभेम्बर रेन’, ‘प्रकाश’ लगायतका सफल चलचित्रका निर्देशक राउतले हालसम्म दर्शकलाई निराश बनाएका छैनन् । उनले यस चलचित्रलाई विषयगत र व्यापारिक दुवै दृष्टिकोणबाट ब्लकबस्टर बनाउन घनिभूत लागेका छन् ।

चलचित्रलाई सङ्गीतकार सुवास भुसालले निर्माण गर्दैछन् । एक दर्जन चलचित्रमा सङ्गीत दिएका भुसालले पहिलो पटक चलचित्र निर्माण गर्न लागेका हुन् । भुसालले सङ्गीत गरेको सुपर हिट गीत ‘लै लै’ र ‘बनकी चरी’ दिनेशले निर्देशन गरेको चलचित्र ‘प्रसाद’मा समावेश थिए भने अर्को सुपर हिट गीत ‘जिन्दगीको के छ र भर’ दिनेशकै चलचित्र ‘सेल्फी किङ्ग’मा समावेश थियो ।