• २९ बैशाख २०८१, शनिबार
  •      Sat May 11 2024
  •   Unicode
Logo
Latest
★   दाङमा दुई महिलाको हत्या ★   नेपाली भाषा र संस्कृतिको संरक्षण र संवर्द्धनमा जोड ★   वीरगञ्ज महानगरले अनधिकृत सटर भत्कायो ★   ‘क्यान्सरको उपचार गर्न’ हरिवंशले जसरी अरु विरामीले घर बेच्नु पर्दैन… ★   म्यान्चेस्टर सिटी प्रिमियर लिगको शीर्षस्थानमा उक्लियो ★   रातो मछिन्द्रनाथ रथ तान्न सुरू ★   बुढानीलकण्ठ चिनाउन ‘प्रधानाध्यापकसँग पदयात्रा’ ★   रारामा रिसोर्ट बन्ने भएपछि कर्णालीको पर्यटनमा विकासको अपेक्षा ★   जापान – नेपाल फुटबल संघको उद्घाटन असार २ मा, च्यारिटी फुटबल पनि हुने ★   प्रधानमन्त्रीको प्रश्ताव नमानेपछि उपप्रधानमन्त्री लामिछानेमाथि काँग्रेसले सहकारी ठगीको आरोप लगायोः ओली

उपराष्ट्रपति यादव र अमेरिकी राजदूत थम्प्सनबीच शिष्टाचार भेट



काठमाडौँ : उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत डीन आर थम्प्सनले शिष्टाचार भेट गर्नुभएको छ ।

लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा आज भएको भेटमा उहाँहरुबीच शुभकामना आदानप्रदानपश्चात् दुई मुलुकबीचको सम्बन्ध, विकास सहायता, व्यापार र साझा चासोलगायत विषयमा छलफल भयो ।

उपराष्ट्रपति यादवले सन् १९४७ मा नेपाल र अमेरिकाबीच कूटनीतिक सम्बन्ध स्थापना भएयता सुमधुर सम्बन्ध रही आएको बताउनुभयो । “हाम्रो सम्बन्ध पारस्परिक सम्मान र सहयोगमा आधारित छ”, उहाँले भन्नुभयो, “लोकतन्त्र, मानवअधिकार, स्वतन्त्रता हामी दुई मुलुकका साझा मूल्यमान्यता हुन् ।”

उहाँले सन् १९५१ देखि अमेरिकी सरकारले नेपाललाई विकास सहायता उपलब्ध गराउँदै आएको कुरा उल्लेखनीय रहेको बताउनुभयो । “नेपालको विकासमा अमेरिकी सहयोगको नेपालले उच्च कदर गर्दछ”, उहाँले भन्नुभयो, “अमेरिकासँगको सम्बन्धलाई नेपालले सदा उच्च महत्वका साथ हेर्ने गरेको छ ।” उपराष्ट्रपति यादवले नेपालको संसद्ले एमसिसी अनुमोदन गरेपछि नेपालको पूर्वाधार विकासमा अमेरिकी सहयोगको सुनिश्चितता अझ बढेको बताउनुभयो ।

“नेपाल अतिकम विकसित मुलुकबाट विकाशील मुलुकमा स्तरोन्नतिको प्रक्रियामा रहँदा अमेरिकीलगायतका विकास साझेदारबाट निरन्तर सहयोग प्राप्त हुनेमा हामी आशावादी छौँ”, उहाँले भन्नुभयो, “नेपालको व्यापार तथा वाणिज्य प्रवद्र्धनका लागि प्राप्त अमेरिकी सहयोगका लागि हार्दिक धन्यवाद दिन चाहन्छु ।”

उपराष्ट्रपति यादवले नेपालको आर्थिक–सामाजिक विकास तथा लोकतन्त्रको सुदृढीकरणमा अमेरिकाले गरेको सहयोगका लागि राजदूतमार्फत अमेरिकी सरकारलाई धन्यवाद व्यक्त गर्नुभयो । “अमेरिकाबाट प्राप्त विकास सहायताले स्वास्थ्य, शिक्षा, यातायात, सञ्चार, कृषि र वातावरणलगायत विभिन्न क्षेत्रमा योगदान पु¥याएको छ”, उहाँले भन्नुभयो, “अन्तर्राष्ट्रिय मञ्चहरुमा पनि अमेरिका र नेपालले मानवकल्याणसँग सम्बन्ध राख्ने साझा चासोका विषयमा सहकार्य गर्दै आएकामा खुसी लागेको छ ।”

भेटमा नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत डीन आर थम्प्सनले अमेरिकाले नेपालसँग बलियो सम्बन्ध बनाउन चाहेको बताउनुभयो । उहाँले संयुक्त राष्ट्रसङ्घको चार्टरलाई नेपालले समर्थन गर्नु सकारात्मक रहेको उल्लेख गर्दै नेपालमा एमसिसी परियोजना राम्रोसँग सञ्चालन भइरहेकामा खुसी व्यक्त गर्नुभयो ।

“नेपाल एउटा शान्तिप्रिय देश हो । नेपालले रक्षाका क्षेत्रमा संयुक्त राष्ट्रसङ्घ शान्ति मिसनमा सयौँ देशमा राम्रो नेतृत्व गरेकामा सराहना गर्न चाहन्छु”, उहाँले भन्नुभयो । रासस