२१ असार २०८३, आईतवार
,
Latest
सीमा बन्द र मध्यपूर्व तनावले अफगानिस्तानको अटो व्यापार प्रभावित कोरला सडकलाई पर्यटकीय राजमार्ग बनाउने सरकारको योजना कर्णालीमा पूर्वराष्ट्रिय खेलाडीबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता हुने मौद्रिक नीतिप्रति निजी क्षेत्रको उच्च अपेक्षा, कर्जा प्रवाह र उत्पादनमुखी नीति ल्याउन महासंघको आग्रह अर्थमन्त्री डा. वाग्लेका १०० दिन: कानुनी सुधारदेखि डिजिटल सेवा विस्तारसम्मका उपलब्धि सार्वजनिक बीउ उत्पादन कार्यक्रम ५८ स्थानीय तहमा सञ्चालन कानुनी विवादमा परेका बालबालिकासँग मन्त्री बादीको संवाद : सुधार, पुनर्स्थापना र बालमैत्री व्यवस्थापनमा जोड सञ्चार क्षेत्रका समस्या समाधानका लागि रचनात्मक सुझावसहित संवादमा आउन महासंघलाई सञ्चारमन्त्रीको आग्रह थाइल्यान्डबाट ल्याइएको २.८ केजी गाँजासहित भारतीय नागरिक त्रिभुवन विमानस्थलबाट पक्राउ किसान सूचिकरण अभियानले लियो तीव्र गति, २६ लाख ४५ हजार किसान परिवार सूचीकृत
तपाईं के खोज्दै हुनुहुन्छ ?

गोठमा बाँधेका जनावर चितुवाले खान थालेपछि लक्ष्मीपुरवासी चिन्तित



file photo
अ+ अ-

कञ्चनपुर । चितुवाले दैनिक घरपालुवा जनावर गोठबाटै लगेर खान थालेपछि शुक्लाफाँटा नगरपालिका–२ लक्ष्मीपुरका बासिन्दा निकै चिन्तित भएका छन् । गाउँजजिकैको लक्ष्मी मध्यवर्ती सामुदायिक वनबाट राति आउने चितुवाले स्थानीय बासिन्दाका गोठमा बाँधेका जनावर खान थालेको छ । बाख्रा, बङ्गुर र गाईलगायतका जनावर चितुवाले खान थालेको परदेशी चौधरीले बताउनुभयो । उहाँका अनुसार दुई साताको अवधिमै चितुवाले स्थानीयवासीको गोठमा बाँधेका एक दर्जनभन्दा बढी बङ्गुर र बाख्रा खाएको छ ।

“गाउँका बासिन्दाले पालेका कुकुरसमेत बाँकी राखेको छैन”, उहाँले भन्नुभयो, “राति कुन बेला आउँछ, पत्तो लाग्दैन । सामुदायिक वन छेउमा खाएको अवशेष मात्रै फेला पार्छौँ ।” गए राति मात्रै रु ३५ हजार हालेर खरिद गरेको जर्सीगाई चितुवाले गोठमै छिरेर मारेको अवस्थामा फेला परेको स्थानीयवासी धनबहादुर चौधरीले बताउनुभयो । “चितुवाका कारण निकै नोक्सानी व्यहोर्नुपरेको छ, यसलाई नियन्त्रण नगरे मानवीय क्षतिसमेत निम्त्याउन सक्छ”, उहाँले भन्नुभयो ।

चितुवाको डरका कारण रातिको समय गाउँका बासिन्दाले हिँडडुलसमेत बन्द गरेका छन् । “दैनिक गाउँमै छिरेर घरपालुवा जनावर मारेर खान थालेको छ”, अशोक चौधरीले भन्नुभयो, “स–साना बालबालिकालाई समेत आक्रमण गर्ने सम्भावना भएकाले निकै त्रसित भएका छौँ । गाउँमा चितुवाको त्रासले बस्न नसकिने अवस्था आउन थालेको छ ।” 

सामुदायिक वन संरक्षण गरी उपभोक्ताले हराभरा बनाएपछि चितुवालगायतका जनावर आउन थालेका हुन् । सम्बन्धित निकायसँग यस क्षेत्रका बासिन्दाले चितुवा नियन्त्रण गरी मानवीय क्षति हुनबाट जोगाउनका लागि माग गरेका छन् ।
 




भर्खरै